प्राज्ञ सभा सदस्य कवि रमेश श्रेष्ठसँग कुराकानी

- निकुञ्ज तिवारी

१.के लेख्दै हुनुहुन्छ ?
भरखरै लामो कविता चोक र तमसुक प्रकाशित भयो । त्यस्तै लामो कविता अग्निनृत्यमा व्यस्त छु ।

२.कविता र माटोको सम्बन्ध ?
विशेषत म आफूलाई माटो र मान्छेको कवि भन्न रुचाउँछु । मान्छेले जन्मे देखि नै ग्रहण गर्नु पर्ने प्रेम, घृणा, अभाव र आन्दोलन – माटो बग्दा दुख्नु र माटोको बासनाको सिमाहिन बन्दना गर्नु – जसरी जीवनसँग माटोको सम्बन्ध गाढा छ माटोसँग पनि कविताको सम्बन्ध उस्तै गाढा छ ।

३.कवितामा वाद जरुरी छ ?
हामी कहाँ पनि कवितालाई वादको कठघरा उभ्याएर व्याख्या गर्ने परम्परा सुरु भैसकेको छ । तर नेपाली कविता राजनैतिक वाद र साहित्यिक हल्ला वादले प्रदुषित नहोस् भन्ने कामना गर्छु ।

४.सुख के हो दुःख के हो ?
सुख र दुःख दुवै अनुभूति र भ्रमको उपस्थिती हुन ।

५.प्रेम के हो ?
प्रकृतिले दिएको अनुपम उपहार –जो अनुभूतिको सर्वाेच्चतामा संगितमय हुन्छ ।

६.जिवन के हो ?
जिवन कोलाज हो – रङहरूको अवतार र सपनाहरूको ।

७.कविता र जिवनमा के फरक छ ?
कविता उज्यालो हो जिवन त्यसको उर्जा ।

८.राजनिति के हो ?
सभ्यताको परिचय युक्त कला हो । जसले एकता र सर्वभौमिकताको वकालत गर्छ ।

९.वालककालमा कस्तो हुनुुहुन्थ्यो ?
चित्र बनाउने फुटवल खेल्न रुचाउने अलि चञ्चल खालको थिएँ ।

१०.दिनमा के गर्नु हुन्छ ?
राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा जागिर खान्छु ।

११.विश्व कवितामा नेपाली कविताको स्थान ?
विश्व कवितामा नेपाली कविताको स्थान अब्वल छ । भाषाका कारणले मात्रै पछि परेको हो । अनुवाद गरि प्रस्तुत गर्न सकियो भने नेपाली कविताले विश्वलाई नै चकित बनाई दिनेछ ।

१२.नेपाली कविताका पाठकहरू ?
झ्वाट्ट हेर्दा कविता लेख्नेहरू मात्र पाठक हुन कि भन्ने भ्रम हुन्छ । नेपाली कविताका निख्खर राम्रा पाठकहरूको म ठूलै लर्को देख्दछु ।

१३.तपाईं नेपालमै टिकटमा एकल कविता वाचन गर्ने प्रथम प्रयोक्ता हुनुहुन्छ । यसको उद्देश्य ?
२०६२ साल असारमा पहिलो चोटी कविताको मुूल्य र मान्यताको लागि मैले शुरु गरेको हुँ । आजसम्म आई पुग्दा यसले आफ्नो व्याप्ती निक्कै बढाई सक्यो । म खुशी छु ।

१४.पाठकहरू कस्ता कविता खोजिरहेका छन् ?
जुन कविताले मनलाई छोएर वा धोएर स्नीग्ध बनाउँछ ।

१५.कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
डा. तिलकप्रसाद लुईटेलले अनुवाद गर्नु भएको ऋग्वेद पढ्दै छु ।

१६.मन परेको कवि ?
रिमाल, भूपि, कटुवाल, वल्लभ, काँईला थुप्रै छन् ।

१७.मन परेको कविता ?
रिमालको आमाको सपना ।

१८.संरक्षण कविता यात्राको उद्देश्य ?
संरक्षण क्षेत्र र वरपरका जन समुदायमा कविताको माध्यमबाट संरक्षण चेतना जगाउनु ।

१९.जिवन प्रति सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्टीको सिमाना छैन । समय सापेक्ष परिभाषा पनि फरक फरक हुन्छ । तर ठिकै छ ।

२०.कवितामा कला, राजनिति वा प्रकृति कुन पक्ष भएको राम्रो ?
समयको आवाजलाई शिल्पमा बाँध्न समय सापेक्ष यी तीनै कुराको आवश्यकता पर्छ ।

२१.अबको कविता कस्तो हुनु पर्दछ ?
प्रकृति र मानवताको वकालत गर्ने शिल्पयुक्त हुनुपर्दछ ।

२२.रमेश श्रेष्ठ किन लेख्छ ?
रमेश श्रेष्ठ आफ्नै लागि लेख्छ , लेखि सके पछि सबैका लागि भैदिओस् भन्ने कामना गर्छ ।

२३.स्नातक प्रथम वर्षकको अनिवार्य नेपालीमा समेटिएको कविता सुनाई दिनुस न ?
.....................
आफैसँग विश्वस्त छु
म बुद्घको नाममा बन्दुकको व्यापार गर्दिन ।

२४.रमेश श्रेष्ठ अमुर्त शब्दको खेती गर्छ भन्छन नी ?
अक्षरको खेत भन्ने पुस्तकलाई सम्झिए मैले । सबैले आ–आफ्नो मस्तिष्कको तौल अनुसार सोच्ने हो । पाठक स्वतन्त्र छ ।

२५.लेखनबाट सन्तुष्ट हुनुहुन्छ ?
लेखकको सन्तुष्टी उसको सृजनशीलताको उज्यालोमा प्रतिबिम्बित हुन्छ । म जिवनको प्रत्येक पल उज्यालो कृति भएर जन्मन चाहन्छु ।

२६.एउटा कवि वा कलाकारले आफ्नो क्षमता वृद्घिका लागि के गर्नु पर्दछ ?
यहाँ ढाँट्नेहरू धेरै छन् , समयलाई नढाटिकन निरन्तर साधना गर्नु पर्दछ ।

२७.कवितालाई तपाई के मान्नहुन्छ ?
कविता उच्च तहको मृत्यु हो , यसले सँधै उज्यालोको सर्वाेच्चता खोज्छ ।

२८.लेख्ने कुनै समय तालिका छ कि ?
छैन, तर एकान्त प्रिय लाग्छ ।

२९.तपाईको कविताको लेखनको प्रभाव कसको छ ?
मैले भोगेको मेरो आफ्नै जिवनको प्रभाव मेरो कवितामा प्रतिबिम्वित छ । म आफूलाई रिमालधारको कवि भन्न रुचाउँछु ।

३०.तपाई र तपाईका कविताका आलोचकहरूका बारेमा तपाईको राय ?
आलोचना विना प्रगतिका मार्गहरू खुल्दैनन्, स्वस्थ र सृजनशील आलोचना सबै लेखककालागि आवश्यक छ ।

३१.नेपाली कावितामा विदेशी कविताको प्रभाव बारे केही बताई दिनु हुन्छ कि ?
कोही कोही विदेशी कविताको हुवहु नक्कल गर्छन् र नक्कली बन्न तिर उन्मुख हुन्छन् । तर नेपाली कविताको विकास क्रमलाई हेर्ने हो भने यो आफ्नै वासनामा मग्मगाएको छ ।

३२.तपाईलाई कविताले के दिएको छ ?
जिवनका तमाम क्षणहरूमा आफ्नै परिभाषा सहित उभिन सक्ने उत्सर्गको प्रेमिल संसार दिएको छ ।

३३.नेपाली कवितालाई विश्वस्तरमा पु¥याउन के गर्नुपर्ला ?
नेपाली कविता विश्वस्तरमा नै छ , मात्र पाठकका लागि भाषान्तरका कारणले पछि परेको हामीले स्वीकार्नु पर्छ । राम्रा अनुवादकहरूलाई सम्बन्धित ठाउँबाट राम्रो वातावरण दिन सकियो भने यो पनि ठूलो कुरो होईन ।


प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 4 कार्तिक, 2069

लेखकका अन्य रचनाहरु