साहित्यिकार श्रीओम श्रेष्ठ “रोदन”सँग भेटवार्ता

- होमशंकर बास्तोला

(वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ “रोदन”को जन्म झम्सिखेल ललितपुरमा भएको हो । उहाँका ललिता (कवितासङ्ग्रह) २०४५, सरगम (सं. कवितासङ्ग्रह) २०४७, अर्थहीन अर्थहरू (निबन्धसङ्ग्रह) २०५५, संवेदनाका स्वरहरू (संयुक्त निबन्धसङ्ग्रह) २०५८, आँखीझ्याल (लघुकथासङ्ग्रह) २०५८, समयका संभावनाहरू (निबन्धसङ्ग्रह) २०५९, समुन्द्रवारि समुन्द्रपारि (नियात्रासङ्ग्रह) २०६०, नबिर्सने दिनहरू (नियात्रासङ्ग्रह) २०६२, भ्रममार्ग (लघुकथासङ्ग्रह) लगायत एक दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित भइसकेका छन् भने उहा“ले नेपाली साहित्यको उन्नयन गरे वापत उत्तम शान्ति पुरस्कार, युवावर्ष मोती पुरस्कार, शंकर लामिछाने युवा निबन्ध पुरस्कार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पुरस्कार, वीरगञ्ज साहित्य परिषद् सम्मान, महाकवि देवकोटा शतवार्षिकी सम्मान लगायत पुरस्कार र सम्मानबाट सम्मानित भइसक्नुभएको छ ।)

तपाईं त मधुपर्कको सम्पादकसमेत भएर लामो समयसम्म काम गर्नुभयो, रचना प्रकाशित गर्न कतिको दवाव आउ“थ्यो ?
– रचना प्रकाशनको लागि दबाब होइन अनुरोध बढी आउँथ्यो । साहित्यमा नै लाग्नेहरू दबाब दिने खालका हुँदैनन् । मौसमी लेखकहरू आफ्नो अनुकूल अवस्थामा केही दबाब दिन खोज्थे तर सिर्जनामा शक्ति नभएको रचना हामी छाप्थेनौँ ।
सरकारीस्तरबाट पत्रिकाको प्रकाशन कठिन नभए पनि पाठकको अवस्था कस्तो रहेको पाउनुभएको छ ?
– हो, सरकारी स्तरबाट प्रकाशन कठिन हुँदैन । तर पाठकको सङ्ख्या भने दयनीय नै छ । लेखकको सङ्ख्याको अनुपातमा पाठक बढ्न सकेको देखिदैन । सबैभन्दा ठूलो समस्या लेखक पाठक बन्न सकेको छैन । नियात्रा र निबन्ध तपाईंका सफल लेखन विधा हुन् । यी विधा लेख्नको लागि कठिन छैन ?
नेपाली सहित्यमा नियात्रा लेखनको विकास भएको कतिको पाउनुभएको छ ?
– लेख्ने सजिलो काम होइन । साहित्यिक सिर्जना एक तुलनात्मक रूपमा आत्मपरक निबन्ध लेख्न गाह्रो हुन्छ । नेपाली साहित्यमा नियात्रा लेखनको विकास राम्रै गतिमा भइरहेको मान्नुपर्छ । नियात्रामा स्थान विशेषको जानकारी र लेखकको आफ्नो अनुभूति पनि हुने भएकोले पढ्नेको सङ्ख्या पनि बड्दो छ ।

लघुकथाको विकासमा तपाईंंको लगाव शसक्त छ । लघुकथा समाजले के गरिरहेको छ ?
– लघुकथा लेखनेहरू पहिलेदेखि नै नभएका होइनन् । तर लघुकथालाई नै आफ्नो परियायक विधा बनाउने लेखकहरू पनि बढ्न थालेका छन् । लघुकथा समाजले लघुकथाको विकासको लागि संस्थागत काम गर्दै आएको छ । नेपाली लघुकथाको ऐतिहासिक विकासक्रमको आमलेख निर्माण गर्दै वेभसाइट चलाएको छ । लघुकथासम्बन्धी पत्रिका प्रकाशन गरेको छ ।
अन्तरक्रिया, गोष्ठी, विमोचन, पाण्डुलिपिमाथि छलफल गर्ने काम गर्दै आएको छ ।

साहित्यिक पत्रिका प्रकाशन कार्य कठिन विषय हो । तपाईंको लामो सम्पादनको अनुभवबाट अन्य नेपाली साहित्यिक प्रकाशन र सम्पादकलाई कस्तो सुझाव दिन चाहनुहुन्छ ?
– साहित्यिक पत्रिका प्रकाशन पञ्चायत कालमा भन्दा पनि कठिन बनेको छ । यस्तो जटिल कार्यमा हात हाल्नु पूर्व दुई पटक बिचार गर्नुपर्छ । प्रकाशन प्रारम्भ गरेपछि सकेसम्म निरन्तरताको लागि ध्यान दिनुपर्छ ।

नेपाली लेखक र पाठकप्रति तपाईंलाई चित्त बुझेको छ ?
– लेखकहरूप्रति ठूलो प्रतिस्पर्धा बढेको कारण सिर्जना, प्रकाशनमा सचेतता बढ्न थालेको छ । पाठकहरू भने अखवारले गरेको प्रचारको आधारमा मूल्याङ्कन गर्दैछन् र यसले लेखक र पाठक बीचको ... घटाउन सकेको छैन ।

लेखन र सम्पादनमा कस्तो सम्बन्ध रहन सक्छ ?
– लेखन र सम्पादनबीच अनोन्याश्रित सम्बन्ध हुनैपर्छजस्तो लाग्छ । साहित्य लेख्ने मान्छेले मात्र अरूको सिर्जनामाथि न्याय गर्न सक्छ । साहित्य लेख्ने र नबुझ्ने साहित्यिक पत्रिकाको प्रकाशक बन्न सक्छ तर कुशल सम्पादक बन्न गाह्रो हुन्छ ।

साहित्यिक पत्रिकाको सम्पादन गर्ने कला के होला ?
– साहित्यिक पत्रिकाको सम्पादन कला नै हो । सबैभन्दा पहिला त साहित्य बुझ्ने हुनु जरुरी हुन्छ । अरूको राम्रो तर अमिल्दो रचनालाई छरितो बनाउनका लागि भाषा र व्याकरणमा राम्रो पकड हुनैपर्छ । त्यस बाहेक साहित्यकारहरूसँग हार्दिक सम्बन्ध कायम गर्न सक्ने, नयाँ प्रतिभालाई प्रोत्साहन र स्थापितहरूलाई सम्मान गर्ने सकारात्मक मानसिकता पनि हुनु जरुरी हुन्छ । तर अहिले त ह्रस्वदीर्घ सच्याउन जान्नासाथ सम्पादकको योग्यता पुगेको ठान्ने अवस्था छ ।

हाल तपाईं युवामञ्चमा हुनुहुन्छ । युवामञ्च र मधुपर्कबीच सम्पादन गर्दा कस्तो फरक पाउनुभएको छ ?
– म युवामञ्च सम्पादन समूहमा छु । मधुपर्क पूर्ण साहित्यिक पत्रिका र युवामञ्च युवा केन्द्रित विविध सामाग्रीको पत्रिका हो । त्यसैले दुबैको उद्देश्य नै फरक भएकोले फरक त हुन्छ नै । तर जस्तै पत्रिका भए पनि सम्पादन कार्य त एउटै हो नि ।

साहित्यिक पत्रिकाहरूका सम्पादकहरूलाई तपार्इंको केही सुझाव छ ?

– अहिले ठूला अखवारहरूका कारण साहित्यका पाठक अलमलमा परेका छन् । साहित्यका राम्रा सिर्जनाभन्दा बढी सुनियोजित प्रचार गरेर धेरै बिकाइएका किताब राम्रो भन्ने भ्रम फैलाउने काम भएको छ । यसले राम्रा र इमान्दार नेपाली साहित्यको इतिहास नै बिग्रन सक्ने खतरा बडेको जस्तो लाग्छ ।


प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 27 आश्वीन, 2069

लेखकका अन्य रचनाहरु