साहित्यकार नव सापकोटासँग कुराकानी

- ॠतु आसीक

२५ जनवरी १९४८ मा बारगाउँ झालुकबारी गौहाटीमा जन्मनुभएका नव सापकोटा यसबेला गुहावटीको ‘कविता निकेतन’ देवकोटा नगरमा बस्दै आउनुभएको छ । शैक्षिक योग्यता बि.ए. गरेर असम सरकारको उच्च पदस्थ कर्मचारी पदमा कार्य गर्दै यसबेला असम मानव अधिकार आयोगमा कार्यरत हुनुहुन्छ ।
साहित्यकार नव सापकोटाको पहिलो कविता १९६९ मा प्रकाशित भएको थियो । उहाँका कविता सङ्ग्रह इकालिप्टस ः आउने पींढीलाई आशीर्वाद (१९८०) काव्यान्तर (१९९६) का साथै पाठ्यपुस्तकका लेखक तथा अनुवादक एवम् सम्पादन समेत गरेको पुस्तकको सङ्ख्या १० भन्दा बढी रहेको छ ।
अखिल भारत नेपाली भाषा समितिको असम (१९८६–१९९१) सदस्य नेपाली भाषा परामर्श समिति साहित्य अकादेशी (१९९८–२००२) एवं हाल अध्यक्ष ।
साहित्यकार नवसापकोटाले कवि पुष्पलाल उपाध्याय स्मृति पुरस्कार प्राप्त गर्नुका साथै सिक्किम, काठमाडौं, विराटनगर र धरानबाट विशेष सम्मानित हुनुभएको छ ।
समकालीन असम भारतीय नेपाली साहित्यमा साहित्यकार नवसापकोटाको योगदानलाई नकार्न सकिन्न । भारतीय नेपाली साहित्यमा उहाँलाई अलग–थलग गरेर राख्न पटक्कै मिल्दैन । साहित्यिक फाँटमा भन्दा पनि साहित्यिक संस्थालाई मलजल गरेर टिकाइराख्नु यो निकै कष्टकर छ । ती कष्टकर कार्यहरूलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा निरन्तर दिइरहनु भएको छ । साहित्यकार नवसापकोटासँग गुवाहाटीको प्रवासकालमा स्वतन्त्र पत्रकार ऋतु आसीकद्वारा लिइएको अन्तर्वार्ता–

१) तपाईंंको दृष्टिमा साहित्य भनेको के हो ? साहित्य किन लेखिन्छ ? साहित्य कसका लागि लेखिन्छ ?
साहित्य समाजको दर्पण हो । यसमा समाजका विभिन्न पाटा र कथा प्रतिविम्बित हुन्छन् । त्यसैले साहित्य समाजकै लागि लेखिन्छ । स्वहिताय सः साहित्य र स्वान्त सुखायः भन्ने कुरा कसैका निम्ति प्रत्यक्ष हो भने कसैको निम्ति परोक्ष । प्रत्यक्ष कोटिको साहित्य स्वान्त सुखाय चाहिँ हुन्छ तर सर्व हितायः नहुन पनि सक्छ ।

२) साहित्य लेखनका लागि प्रेरणा कसरी पाउनुभयो ?
समाजका लागि लेख्नेले समाजबाटै लेख्ने प्रेरणा पाउँछन् । मेरो पनि त्यस्तै हो ।

३) जीवनको उत्तरार्धमा आफूभित्र साहित्यकार हुने सपना कतै पाल्नु भएको थियो ?
साहित्यकार हुने सपना चाहिँ थिएन तर, कुनै राम्रा लेखकका रचना पढेर आफूलाई पनि त्यस्तै राम्रा रचना रच्ने प्रेरणा चाहिँ बेला–बेलामा पाइन्थ्यो ।

४) तपाईंंका बाल्यकालका क्षणहरू बारे केही भन्न चाहनुहुन्छ ?
बाल्यकालका क्षण साह्रै रमाइला थिए । गाउँमा पढ्ने व्यवस्था थिएन । विद्यालय स्थापना हुन्जेलसम्म बा र दाइबाट बाह्रखरी सिकेर अनि ससुराली केही दिन बस्न आएका एकजना पढेका गाउँले भिनाजुबाट ए.बी.सी.डी. सिकेर बसेको केटोले गाउँघरका गोठालाहरूसित दिनभरि गौचरनमा गएर नौरङ्गे, डाँफे र प्रेमलहरीका गीत गाएर मस्त भएका ती सुखद क्षण सम्झिदा अहिले पनि मन रमाउँछ ।

५) जीवनका उद्देश्य, जीवनका मूल्य, जीवनका अवसान यी तीन पहलुलाई कसरी हेर्नु भएको छ ?
जीवन अनमोल छ । यसको शतप्रतिशत सदुपयोग गर्न सक्नु नै लक्ष्य हुनुपर्छ । उद्देश्य सकारात्मक हुनुपर्छ । यसो हुनु भनेको जीवनको सही मूल्यबोध हुनु हो । सकारात्मक उद्देश्ययुक्त जीवनको मूल्यबोध पनि सकारात्मकै हुन्छ भने त्यसको अबसान नकारात्मक हुने पृथ्वीकै काखमा हुर्केको मानिसले स्वर्गका कुरा नसोचेर जीवन जगतकै कुरा सोची सम्पूर्णमा जीवन जगतकै निम्ति समर्पित हुने हो भने उसले त्यही इश्वररत्न प्राप्त गर्दछ ।

६) साहित्यकारले विकृति बिसङ्गतिका विरुद्ध कलम चलाउनु पर्छ आदि मान्यता बारे आफ्ना विचार के छन् ?
जनसाहित्यिकले जनताका लागि साहित्य लेख्नुपर्छ । विकृति बिसङ्गतिका विरुद्ध मात्र कलम चलाउनु भनेको छुच्याइ गर्नु मात्र हो । यसको विरोध आफ्ना रचनात्मक लेखमा स्वतः हुने गर्दछ । नारा साहित्य गर्नु स्वास्थ्यकर हुँदैन ।

७) महिला वर्गको शोषण, उत्पीडनका लागि अश्लील साहित्यको झन–झन गहिरो प्रभाव पारेको परिप्रेक्ष्यमा त्यसका विरुद्ध जुझ्न कस्तो रणनीति आवश्यकता होला ?
महिला वर्गको शोषण, उत्पीडन रोक्नका लागि पहिला टी.भी. सिरियलका यौनोत्तेजक कार्यक्रमको उत्पादन प्रसारण बन्द गरिनुपर्छ । महिलाहरूको पहिरनमा सुधार गरिनुपर्छ । अर्धनग्न रमणीको टी.भी. द्वारा प्रदर्शन अन्य वा शहर बजारमा रमण गराइले यौन शोषण उत्पीडनको निम्तो दिएको जस्तो होइन र ? फेशनको नाममा रमणीहरू नाङ्गै देह प्रदर्शन गराउँदै हिंड्छन् भने तन्नेरीहरूको मतिभ्रम हुनु स्वभाविक हुन जान्छ । पछि शोषण उत्पीडन भयो भनेर पुरुषलाई मात्रै दोस्याएर
हुँदैन । महिला समाजले पहिला आफ्ना चेलीबेटीको आङ ढाकेर हिंड्न सिकाउनु
पर्दछ । टी.भी. सिनेमामा नग्न प्रदर्शन बन्द हुनुपर्छ । विज्ञापनमा पनि नारीको देह प्रदर्शन बन्द होस् । यस्तो अवस्थामा अश्लील साहित्य लेख्न पनि आफ–आफै बन्द
हुन्छ । असलमा यस्तो साहित्य पुस्तक विक्रेता÷प्रकाशकहरूले सस्ता लेखकहरूबाट लेखाउने गर्दछन् । कुनै स्वस्थ लेखकले अश्लील साहित्य लेख्दैन ।

८) तपाईंं आफूले रचना गरेका कृतिहरूमा सबैभन्दा बढी तपाईंंलाई मन पर्ने रचना कुन होला ?
युकलिप्टस ः आउने पींढीलाई आशिर्वाद ।

९) तपाईंंलाई आफ्नो जीवनमा सबभन्दा बढी प्रभाव पार्ने पुस्तक कुन हो ?
गीता ।

१०) नेपाली साहित्यकारहरूमा तपाईंंलाई कुन साहित्यकारको रचनाले बढी हृदय छोएको छ ?
धेरै छन् । कुनै एकजनाका सबै रचनाले हैन । बरु धेरैवटा मूर्धन्य लेखकका भिन्न भिन्न रचनाहरूले अध्ययनमा हृदय छोएका छन् ।

११) साहित्यकारले कुनै आस्था र विश्वास बेगर जीवन्त साहित्य लेख्न सक्छ ?
आस्था र विश्वास भनेका उसको लेखनको जग हो । जसको जस्तो जग हुन्छ यस पनि यस्तै हुन्छ ।

१२) भारतीय नेपाली समाजमा गोर्खा भाषा र नेपाली भाषाको साँध लगाएर कतै धमिलो पानीमा माछा मार्ने कुरा सुनिएको छ नि ?
भारतीय नेपाली समाजमा भाषा नाम होइन जाति नाममा नेपाली र गोर्खामा राजनीतिकरण हुँदैछ । मेरो विचारमा र विश्वासमा नेपाली एउटा सम्पूर्णता हो । भाषा, जाति र सँस्कृतिको । सारा पृथ्वीमा नेपाली भाषा मातृभाषा भएका नेपाली सँस्कृतिलाई मान्नेहरू ‘नेपाली हुन’ जसका धर्म, विश्वासपंथा अनेक छन् । नेपाली मूलका चारजात, छत्तिस वर्ण, त्यति नै रीति रिवाज, भाषा–भाषिका र वैदिक–बौद्ध परम्पराले पुरिपुष्ट सँस्कृति नै वृहत्तर नेपाली जातिको मौखिक चिनारी हो । गोर्खा एउटा प्रान्तीय धारणा मात्र हो । जसलाई राजनीतिकरण गरिँदैछ । प्रबुद्ध जनताले समयमा कसका लागि यसो गरिँदै छ भन्ने कुरा आफैं बुझ्ने छन् । अनि आफ–आफ्नै बाटो सोझिने छ ।

१३) गोर्खा भाषा भन्नाले गोर्खा स्थान विशेषको मात्र इङ्गित गर्ने बुझिदैन र ? या यसका भित्र लुकेका अन्य कुराहरू पनि छन् ?
विछिन्नवादी मनोदशाको मनोबल बढेपछि जता जे गरे पनि आफ्नो ताउर माउरले प्रभाव पार्छ नै । तर साउनको भेलको प्रवल रूप बाह्रै महिना रहिरहन्छ भन्ने स्थिति रहँदैन भन्ने कुरा बिर्सनु हुँदैन ।

१४) संसारको जुनसुकै भेगमा बसेका नेपालीहरूको पहिचान नेपाली जातिले बोलेका भाषा भेषप्रति गर्व गर्नुपर्नेमा कतै अवरोध खडा गरिनु कतिको न्यायसङ्गत लाग्छ ?
नेपाली जाति विश्वका महाजाति, जाति, उपजाति मध्ये एउटा सोलो डोलो नेपाली महाजाति हो । यसलाई भारतमा राजनीतिको खिचडी पकाउने एउटा वर्गले चलाएको गोर्खाकरणको तथाकथित जमर्काले कुनै अवरोध प्रदत्त गर्न सक्छ भन्ने कुरा मेरो विश्वास छैन ।

१५) जीवनको यो दौडमा आइपुग्दा आफूले लेखेको साहित्य बारे कतै आत्मनिरीक्षण गर्ने महशुस गर्नुभएको छ ?
छैन, किन भने म आवेशमा साहित्य रचना गर्दिन ।

१६) साहित्यमा प्रेम र यौनमा महत्वको बारेमा कसरी व्याख्या गर्नुहुन्छ ?
प्रेमहीन रचना निरस वकवास हो । ‘बसुधैव कुटुम्वकम र सर्बे भवन्तु सुखिन, सर्वे सन्तु निरामया’ सर्वश्रेष्ठ साहित्य हो जो मानव प्रेम तथा विश्व प्रेमले भिजेको
हुन्छ । यसको विपरीत यौनको महत्व साहित्यमा अति निम्नस्तरको तत्व हो ।

१७) तपाईंं जहाँ जुन परिवेशमा हुनुहुन्छ त्यहाँ त्यस क्षेत्रमा कुन भाषाले नेपाली साहित्यमा परेको प्रभाव बारे भनिदिनुहुन्छ कि ?
म बस्ने ठाउँ असमको गुवाहाटी महानगर भएकाले यहाँ असमीया भाषाको प्रभाव छ । अतः असमको नेपाली साहित्यमा असमीया साहित्यको परोक्ष प्रभाव परेको छ भन्दा अत्युत्ति हुने छैन । किनभने असमीया भाषा, साहित्य अधिकांश असमेली नेपालीहरूको स्कुले जीवनको पठित भाषा साहित्य हो ।

१८) तपाईंंको दृष्टिमा अश्लील साहित्य र श्लील साहित्यको मापदण्ड के हो ?
जुन साहित्यले श्लीलताको गुण गुमाएको हुन्छ त्यो नै अश्लील साहित्य हो ।

१९) भारतीय नेपाली साहित्यमा मानव अधिकार पक्षपोषणको उद्घोषले ल्याएका सन्देश र विकसित राष्ट्रहरूद्वारा मानव अधिकारको दोहन विरुद्धमा भएका कृयाकलापलाई कसरी हेर्नुभएको छ ?
अन्याय र विषमताको विरोधमा र आफ्नो जातिको अस्तित्वको सुरक्षामा उठेका भाव र विद्रोहले भरिएको भारतीय नेपाली साहित्यमा मानवअधिकारका स्वच्छ भावको पोषण कमै भएको छ । जबसम्म अल्प संख्यकको अस्तित्वको सुरक्षाको ग्यारेन्टी कुनै देशमा हुँदैन, त्यहाँ मलाई लाग्छ त्यो जाति आफ्नो अस्तित्वको सुरक्षाको पीरबाट माथि उठेर बहुसंख्यक जनताका साहित्यिकहरूका समदृष्टिकोणले साहित्य रचना गर्न सक्दैन । भारतेली नेपाली साहित्य पनि त्यसबाट पर छैन ।

२०) भारतीय नेपाली साहित्य विधामा आफूले आफैंलाई मूल्याङ्कन गर्नु पर्ने स्थितिमा आफूलाई के भन्नु हुन्छ ?
नेपाली भाषा साहित्यको एकजना दुब्लो पातलो सेवक ।

२१) गोर्खाल्याण्ड आन्दोलनको गन्तव्य बारे तपाईंंको जिज्ञासामा के होला ?
यसको आवश्यकता छ । अतः होस भन्न चाहन्छु ।

२२) नेपालको दक्षिणी भेगमा “सम्पूर्ण मधेश एक प्रदेशको स्वरहरू आउनुलाई के भन्नु हुन्छ ?
भारतले भाषिक क्षेत्रको रचना गरेर ठूलो भूल गरेको छ । आज दिन–दिनै नयाँ–नयाँ भाषिक प्रदेशको रचना भैरहनु त्यही भूल नीतिको फल हो । जो राष्ट्रिय ऐक्यवद्वताका निम्ति खतरनाक छ । भारतका नेपालीहरूले पनि त्यही पूर्ण स्थापित भाषिक भूल नीतिको आधारमा आफ्नो सुरक्षाका निम्ति गोर्खाल्याण्डको माग गरी आएका छन् । तर यस खतरनाक नीतिबाट राष्ट्रलाई बचाउँनु पर्छ । भाषिक एकाइको गठन नगरेर प्रशासनिक एकाईको गठन गरिनु पदर्छ । अष्ट्रेलिया, अमेरिका र दक्षिण अफ्रिकामा जस्तो । अनि सवै जाति, जात, वर्ण भाषा, सँस्कृति, रीति रिवाजको पूर्ण राष्ट्रिय सुरक्षा र सम मर्यादा हुनु पर्दछ । शिक्षाको माध्यम राजभाषा र अरू भाषाहरू मातृभाषाका रूपमा सवैले स्कुल÷कलेजहरूमा फेदैदेखि पढ्न पाउने व्यवस्था हुनु पर्दछ । त्यस्तो अवस्थामा भाषिक क्षेत्रको मागको कुनै औचित्य रहदैन र त्यो आफ–आफै सेलाएर जान्छ ।

२३) जीवनमा भोग्नु भएको आनन्दको क्षणबारे भनि दिनु हुन्छ कि ?
प्रेमिकालाई विहे गरेर भिœयाएको दिन र नेपाली भाषाले भारतीय संविधानमा स्थापना पाएका क्षण मेरो जीवनका सबैभन्दा बढी आनन्दका क्षण हुन् ।

२४) तपाईंंले भोग्नु भएको जीवनमा दुःखदायी क्षणबारे बताउन चाहनुहुन्छ ?
मेरी ममतामयी आमाले मलाई छोडेर गएको क्षण मेरो जीवनको सबैभन्दा ठूलो दुःखदायी थियो ।

२५) तपाईंंका तर्फबाट थप कुराहरू भए अभिव्यक्तिका लागि अनुरोध गर्दछु ।
धेरै भनिसकें । अतिरिक्त केही छैन ।

२६) असम गोर्खा छात्र सङ्घमा उठाइएको गोर्खा काउन्सिल माग के कति जायज छ ?
असम झील पोखरी नदी, नालाको प्रदेश भएको हुनाले जलाहारीले माछा मार्न पानीका दहहरूमा जाल हान्दै हिंड्छ । कतै माछा जालमा पर्छन् । कतै पर्दैनन् । हाम्रा भाइहरूले पनि सबैले जाल हानेका ठाउँमा जाल हानेका छन् । माछा जालमा पर्नु, नपर्नु भनेको बेग्लै कुरा हो ।

२७) नेपाली साहित्यकारहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
नेपाली साहित्यकारहरूले महाकवि देवकोटाको पथ अवलम्बन गर्नु पर्छ दैनिक सात आठ घण्टा अध्ययन गरेर एक दुई घण्टा लेख्नु पर्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 27 आश्वीन, 2069

लेखकका अन्य रचनाहरु