साहित्यकार प्रा. गीता उपाध्यायसँग कुराकानी

- ॠतु आसीक

अनुवाद गरेर नेपाली निवन्ध विधालाई पुष्ट पार्ने मध्ये प्रा. गीता उपाध्यायलाई विर्सिन मिल्दैन । उनको आत्म संस्मरणात्मक निबन्ध एन फ्रैङ्कको डायरी (१९७२) अनुवाद उल्लेख योग्यमात्र होइन मूल्यवान पनि छ । १४ फ्रेब्रुअरी १९३९ मा माझगाउँ विहानी शोणितपुर जिल्ला असममा जन्मनु भएकी गीता उपाध्याय भारतीय नेपाली साहित्य तथा नेपाली साहित्यकारहरू एवम् असमीया लेखकहरू माझ सम्मानित व्यक्तित्व हुनुहुन्छ । नेपाली मूलका भएर पनि असमीया जन जीवनसँग गाँसिएर, असमीया भाषा, साहित्यको उत्थानमा उहाँको योगदानलाई असमले कहिले पनि भुल्न सक्तैन । राजनीति विज्ञानमा एम ए गरेर शिबसागर कलेजमा शिक्षण पेशा गरी १९३९ मा वहाँ सेवानिवृत्त हुनुभयो । सङ्घ–संस्था सङ्गठनसँगको संलग्नता अध्यक्ष नेपाली साहित्य परिषद् असम, अध्यक्ष असम लेखिका सङ्घ, अध्यक्ष भारतीय गोर्खा परिसङ्घ असम जनसभा, असम साहित्य सभाको मनोनित सदस्य, अध्यक्ष सेवा सङ्घका संस्था (स्वेच्छासेनी अनुष्ठान) । आदिमा वहाँको संलग्नता छ । नेपालीमा अनुवाद सहित ७ पुस्तक तथा असमीय भाषामा ‘मुनामदन’ समेतको अनुवाद गरेर ९ वटा पुस्तक वहाँका कृति रहेका छन् । समकालीन भारतीय नेपाली साहित्यका अग्रज एवम् प्रतिष्ठित साहित्यकार सुश्री गीता उपाध्याय समक्ष उहाँकै चाँदवारी तेजपुरस्थित निवासमा नेपालका स्वतन्त्र पत्रकार ऋतु आसीकद्वारा लिइएको अन्तर्वार्ता–
१) तपाईंका दृष्टिमा साहित्य भनेको के हो ? साहित्य किन लेखिन्छ ? साहित्य कसका लागि लेखिन्छ ?
साहित्यलाई समाजको दर्पण भनिन्छ । मानवीय अनुभूतिमा उत्रेको जीवन र जगतको स्वरूपको अक्षरी प्रकाश नै साहित्य हो । समाज, स्थान कालभित्र जीवनको भोगाइ अक्षरको माध्यमबाट प्रकाश गर्ने भावनाले साहित्य लेखिन्छ । साहित्य पहिला त आफ्नो लागि नै लेखिन्छ । पछि समाजमा पु¥याउने चाहना हुन्छ ।

२) साहित्य लेखनका लागि प्रेरणा कसरी पाउनु भयो ?
पिताजीबाट पाएँ भन्नुपर्छ । हामी सानै छँदा पिताजीले अङ्ग्रेजीका श्रेष्ठ कृतिहरू पढेर कथा सुनाउनुहुन्थ्यो । उहाँ एकजना अनुवादक पनि हुनुहुन्थ्यो । १९५३ मा असमीया भाषामा उहाँले अङ्गे्रज नाट्यकार विलियम शेक्सपियरको नाटक जुलियस सीजरको नेपाली अनुवाद गर्नुभएको थियो । मैले पनि अनुवादबाटै साहित्यमा प्रवेश गरेकी हुँ ।

३) जीवनको उत्तराद्र्धमा आफूभित्र साहित्यकार हुने सपना कतै पाल्नु भएको थियो ?
शैशवमा कल्पनाको पखेटा लगाएर उड्ने गरिन्थ्यो । सवै नै गर्छन् । त्यसमै लुकेको थियो होला केही लेख्ने सपना । आफूलाई अझै साहित्यकार भएँ भन्ने लाग्दैन ।

४) लेखन साहित्य र कलाले वर्गीय स्वरूपको प्रतिनिधित्व गरिरहेको हुन्छ कि हुँदैन ?
साहित्यले समाजमा रहेको वर्गीय स्वरूपको केही मात्रामा प्रकाश गर्छ नै । शोषित, पीडित र नारीको व्यथा कथालाई प्रतिनिधित्व गर्ने साहित्य रचनाप्रति आधुनिक साहित्यकार सचेत देखिन्छन् ।

५) साहित्यकारले कुनै आस्था र विश्वास बेगर कुनै जीवन्त साहित्य लेख्न सक्छ ?
जीवनप्रति गहिरो आस्था र विश्वास नभै कुनै लेखकले साहित्य सृष्टि गर्न गाह्रो पर्ला ।

६) जीवनको उद्देश्य, मूल्य र अवसान यी ३ वस्तुलाई कसरी हेर्नुभएको छ ?
जीवनको उद्देश्य र केही हदसम्म मूल्य पनि निर्णयमा व्यक्तिको आफ्नो करणीय रहन्छ तर जीवनको अन्तिम परिणति हो, यसमा व्यक्तिको केही हात हुँदैन । अवश्य आत्महत्याको पक्ष लिए भिन्नै कुरा ।

७) साहित्यकारले देशमा भइरहेको विकृति बिसङ्गति विरुद्धमा कलम चलाउनुपर्छ आदि मान्यताबारे कत्तिको अडिग हुनुहुन्छ ?
साहित्यले समाजलाई झल्काउँछ भने विकृति सुकृति आदि समाजमा भएका कुरा स्वतः आउँछन् । साहित्यकार स्रष्टा मात्रै होइनन् द्रष्टा पनि हुन । विकृति–बिसङगतिको परिणाम बारे समाजलाई सचेत गराउनु आवश्यक हो । तर मूल्यवोधको भाषण भएछ भने पाठकले नरुचाउन सक्छन् ।

८) भारतीय नेपाली साहित्यमा प्रगतिवादी साहित्यको प्रभावको असर भविष्यमा कसरी पर्ला र त्यसमा स्थायित्वको बारेमा तपाईंको धारणा ?
भारतीय नेपाली साहित्य धेरै अध्ययन गर्ने मौका पाएकी छुइन । तर साहित्य प्रायः नै प्रगतिवादी रहेको हुन्छ र समयको परिवर्ननलाई अँगाली अघि बढेको छ झै लाग्छ ।
ड्ड महिला वर्गको शोषण उत्पीडनका लागि अश्लील साहित्यले झन–झन गहिरो प्रभाव पार्दै गरेको परिप्रेक्ष्यमा त्यसका विरुद्व कस्तो आन्दोलनको आवश्यकता देख्नुहुन्छ ?
महिला वर्गको शेषण–उत्पीडन प्राचीन कालदेखि समाजमा चलिआएको छ । पुरुष प्रधान समजले आफ्ना सुविस्ताका लागि चलाएको यो शोषण अश्लील साहित्यले स्थायी पार्ने प्रयास गर्लान र यसका विरोधमा केही गर्नुपर्दा नारीप्रति समाजले पालेको भेदभावपूर्ण सोचलाई बदलाउने प्रयास हुनु जरुरी छ र शिक्षित सचेतन वर्गले यो काम गर्न सक्छन् ।

९) तपाईं आफूले रचना गरेका कृतिहरूमा सबैभन्दा बढी मनपर्ने रचना कुन होला ?
मलाई सबैभन्दा बढी मनपर्ने रचना अझै भन्न सकेकी छैन ।

१०) तपाईंंको जीवनमा सबभन्दा बढी प्रभावित पार्ने कुन पुस्तक हो ?
धेरै किताबले प्रभावित पारेका छन् ।

१२) जीवित नेपाली साहित्यकारहरूका कुन साहित्यिक रचनाले बढी हृदय छोएको छ ?
अध्यापक लीलबहादुर क्षेत्रीको बसाईंले धेरै वर्ष अघि जसरी प्रभावित पारेको थियो अरू कुनैले त्यसरी प्रभावित नपारे पनि कृष्ण धरावासीको शरणार्थीले मन छोएको छ ।

१३) भारतीय नेपाली साहित्य सम्बन्धी साहित्यिक सङ्गठनको भूमिकाको महत्व यसबेला तिनीहरूको सक्रियतालाई कसरी हेरिरहनुभएको छ ?
साहित्यको सम्बद्र्धन साहित्य सङ्गठनभन्दा बढ्ता साहित्यिकको रचना र प्रतिभामा निर्भर गर्दछ । साहित्यिक सङ्गठनले समाजमा साहित्य चेतना बढाउने, उचित मूल्यांकन गराउने इत्यादिहरूमा साहित्य सृजनाका प्रेरणादायी परिवेश निर्माण गर्न सक्दछ ।

१४) भारती नेपाली समाजमा गोर्खाभाषा र नेपाली भाषा कृतिम बबाल खडा गरेर धमिलो पानीमा माछा मार्ने कुरा सुनिएकोछ नि ?
सुरुमै भन्नुभयो– यो कृत्रिम बबाल हो । त्यस्ता स्वार्थ भएकाको फुटाएर आफ्नो दुनो सोझ्याउने कौशल ।

१५) जीवनको यो दौडमा आइपुग्दा आफूले लेखेको साहित्यबारे कतै आत्म निरीक्षण गर्नुभएको महसुस गर्नुभएको छ ?
आत्म निरीक्षण गर्ने इच्छा त प्रत्येक रचनापछि नै भइरहन्छ ।

१६) तपाईं बसेको परिवेशमा असमीया बङ्गाली साहित्यको नेपाली साहित्यमा परेको प्रभाव बारे केही भन्न चाहनुहुन्छ कि ?
असममा असमीया भाषा, साहित्य, समाज, परिवेश इत्यादिको प्रभाव केही मात्रा परेकै हुन्छ । यहाँको नेपाली समाजले पचाइसकेका शब्दहरू नेपाली वाङ्गमयमा भित्रिनु पर्छ । त्यसो गर्दा नेपाली वाङ्मयको सम्बद्र्धन नै हुनेछ ।

१७) तपाईंंको बाल्यकालका क्षणबारे केही भन्न चाहनुहुन्छ ?
मेरो बाल्यकालमा हाम्रो घर असममा मूर्धन्य स्वतन्त्रता सेनानीको जमघटको स्थान । हजुरबा छविलाल उपाध्याय एकजना प्रख्यात स्वतन्त्रता सङ्ग्रामी हुुनुहुन्थ्यो । घरमा आउने पाहुनालाई पानी, चिया, तामुल दिनु दौडनु, सेशनमा हिंड्नु, ठूलाले गरेझैं गर्ने कोशिस गर्नु त्यस्तै थियो मेरो बाल्यकालको समय ।

१८) साहित्यमा प्रेम र यौनको महत्वका बारेमा कसरी व्याख्या गर्नुहुन्छ ?
दुइटै कुरा जीवनसित सम्पर्क र स्वभाविक हुँदाहुँदै पनि भोगवादी बजार सँस्कृतिको बृद्धिले अतिरञ्जन ल्याएको छ ।

१९) तपाईंको दृष्टिमा अश्लील साहित्य र श्लील साहित्यको मापदण्ड के हो ?
श्लील–अश्लील केही हदसम्म दृष्टिकोण मान्न सकिन्छ । चरित्र विकासको प्रयोजन र परिस्थिति सापेक्षताले ल्याएको आवश्यकताको तघारो नहुनाले दृष्टिकोणले प्रस्ट्याउँछ ।

२०) तपाईंं वैवाहिक जीवनमा प्रवेश नगरेरै पनि भारतीय नेपाली साहित्यको जुन उचाइमा पुग्न भएको छ त्यसका लागि आफू कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
विवाहित या अविवाहित रहनुसँग साहित्य सेवाको सम्पर्क नहोला । अविवाहित रहनु निजी सिद्धान्त हो र मलाई केही अप्ठ्यारो या बाधा आएको छैन ।

२१) नेपाली साहित्यमा मानव अधिकार पक्षपोषणको उद्घोषले ल्याएका सन्देशहरू र विकसित राष्ट्रहरूद्वारा मानव अधिकार दोहनका विरुद्धमा भएका क्रियाकलापलाई कसरी हेर्नु भएको छ ?
साहित्यले मानव अधिकार पक्षलाई प्रष्ट्याउने काम गरी आएको छ । जहाँ पनि मानव अधिकार र मर्यादाको विरोधमा भएका कामहरू बारे जनचेतनाका लागि आफ्ना प्रधान्य कायम राख्नका लागि मानव अधिकार विरोधी काम गरिरहेका हुन्छन् ।

२२) महिला जातिको अपमानका लागि अश्लील साहित्य तथा चलचित्रमा महिलाका संवेदनशील अङ्गको प्रदर्शन झन्–झन् भइरहेको परिप्रेक्ष्यमा त्यसका विरुद्ध के कस्ता कारवाहीको आवश्यकता महशुस गर्नुभएको छ ?
भोगवादी सँस्कृतिले सबैथोक पाच्य अर्थात् बजारमा बेचिने चीज बनाएकोले नारीको अङ्ग प्रदर्शनमा द्रव्यको बजार मोल बढाउने काम भैरहेको छ । निर्वोध र उच्चकाङ्क्षी नारीलाई चहक महकको लोभ देखाएर शोषण कायम राख्ने यो एउटा अत्याधुनिक तरिका बनेको देखिन्छ । यसको विरोधमा नारी मात्रै होइन समाजले नै प्रतिवाद गर्नु अति आवश्यक छ ।

२३) माक्र्सवादी साहित्यप्रति आफ्नो धारणा बारे बताउनुहुन्छ कि ?
माक्र्सवादी साहित्य भनेर छुट्टै साहित्य भन्दा प्रगतिशील साहित्य भित्र नै परिवर्तनकामी चिन्तनलाई समावेश गराई लेखिएको साहित्य यथेष्ट होला भन्छु ।

२४) संसारका विभिन्न भेगमा छरिएका नेपाली साहित्यको एउटा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमको आयोजना र त्यसका उपलब्धिलई निर्देशकका रूपमा मानिनु पर्ने सोचलाई कस्तो ठान्नु हुन्छ ?
नेपाली साहित्यकारले अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमको आयोजना गर्नु राम्रो कुरा हो, त्यसले धेरै कुरा प्रष्ट पार्न सक्छ ।

२५) भारतका विभिन्न प्रान्तमा छरिएका नेपालीहरूको खास खास समस्या के होलान् ?
छरिएर बसेका नेपालीहरूको पहिलो समस्याा त गाँस, बास, अधिकार र पहिचान नै हो ।

२६) नेपाली साहित्यकारहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
यताको पुस्तक पत्र–पत्रिका बारे त्यताका साहित्यिकले केही चासो लिइदिए राम्रो हुन्छ ।
ड्ड तपाईंको तर्फबाट केही जिज्ञासा भए अभिव्यक्तिका लागि अनुरोध गर्दछु ।
नेपाल–भारत टेलिफोन सेवा विश्वको अरु देश सरह थोरै खर्चमा पार्न सकिँदैन ? त्यो भए सम्पर्क सजिलो र सस्तो हुने थियो । कम्प्युटर सबैका लागि सुलभ भएको छैन अझै ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 19 आश्वीन, 2069

लेखकका अन्य रचनाहरु