समालोचक तथा कवि पुरुषोत्तम सुवेदीसँग कुराकानी

- राजेश राई

१)हिजोआज के लेख्दैहुनुहुन्छ ?
राष्ट्रिय बिमा संस्थानको सेवाबाट भर्खरै अवकाश पाएँ । हाल नेपालको प्रगतिशील साहित्यिक आन्दोलन प्रारम्भ हुनु अघिको वस्तुस्थितिको बारेमा लेख तयार गर्दै छु । लामो समय बिमामा बिताएको कारणले अहिले त्यही अनुभवको सदुपयोग गर्न बिमासम्बन्धी पुस्तकसमेत लेखिराखेको छु ।

२)लेखक रहरले बन्नुभएको कि बाध्यताले ?
मेरो घरमा पूर्ण रूपमा सबै सदस्यको लागि साहित्यिक वातावरण थियो । तर, म मात्र साहित्यमा आएँ । यस अर्थमा मेरो साहित्यमा आगमन रहर र प्रतिबद्धताकै कारण थियो । साहित्यमा सामेल हुनु सजिलो कुरो होइन । यसमा लागिसकेपछि साधना र प्रतिबद्धताको निरन्तर यात्रा मा हिड्नु पर्दछ ।

३)तपाई बढी समाचोलक कि कवि ?
म मूलत: कवि नै हुँ । कवि भयको कारणले नै समालोचनामा हात हाल्न पुगेँ । कविका रूपमा लगभग ३८ वर्ष बितिसकेको छ भने समालोचकका रूपमा पनि करिब २२–२३ बितेछ । कविका रूपमा सिर्जनाको आनन्द समालोचनामा पाइँदैन ।

४)समालोचक पुरुषोत्तम सुवेदी आफैँले हेर्दा कवि पुरुषोत्तम सुवेदीका कविताको स्तर कहाँ छ ?
आफ्नो बारेमा बोल्नुजस्तो संकटपूर्ण काम अरू केही हुँदैन । म नेपाली कविताको प्रतिबद्ध र ‘जेन्युन’ कवि हुँ भन्ने कुरामा म स्पष्ट छु । यद्यपि, प्रत्येक कविमा आलोचनात्मक चेत हुनुपर्छ । तर, आफ्नै पक्ष वा विपक्षमा लेख्नु उपयुक्त नदेखेकाले मेरो बारेमा अरू समालोचक नै लेखून् वा बोलून् ।

५)कविताको सबैभन्दा ठूलो शत्रु झुर कवि हो कि, झुर समालोक ?
कवितामा आउने ठूलो समूहबाट मात्र युगको आवाज सुन्ने उत्कृष्ट कविको जन्म हुन्छ । यसैले कुनै पनि कवि कविताको शत्रु हुन्छ जस्तो लाग्दैन । समालोचकले कवि बनाउने होइन । बजारमा आउने कविताको रूपगत, विचारगत र सिर्जनाको गहिराइको विवेचना गरी कविताकर्ममा लागेका कविहरूको मूल्यांकन समालोचकले गर्छ । तर, गलत वा सही लेखेकै कारणले मात्र समालोचकलाई शत्रु भन्नुपर्छ जस्तो मलाई लाग्दैन । डा. तारानाथ शर्माको भनाइ छ, ‘कवि चरो हो भने समालोचक भ्यागुतो हो ।’ कविताको शत्रुमा दुवै पर्दैनन् ।

६)यति बेला नेपाली कविताको स्तर माथि छ कि समालोकको ?
नेपाली कविता विश्वका विभिन्न भाषाका पत्र–पत्रिका र पुस्तकमा अनुवाद भई छापिएका छन् । नेपाली गद्य कविता संसारको जुनसुकै भाषाका कवितासँग प्रतिस्पर्धा गर्ने स्तरका छन् । यस कारण नेपाली कविता साहित्यका अन्य कुनै पनि विधाभन्दा अगाडि छ । तर, नेपाली समालोचना शास्त्रीयताको सीमा नाघेर धेरै अगाडि गएकै छैन ।

७)कविता लेख्न सजिलो कि समालोचना गर्न ?
लेखिनुअघि कविताको स्वरूप कविको दिमागमा खेल्दै आफ्नो रूप र आकृति खोज्दै हिडेँर अन्त्यमा नयाँ आविष्कारको रूपमा अवतरण हुनपुग्छ । अत: कविता सिर्जनामा कविको मन, वचन र कर्म पूरै समाहित हुन्छ । तर, समालोचनामा सिर्जनात्मकता त हुन्छ तर मौलिक स्वरूपको स्वतन्त्र तस्विर आवश्यक नहुने हुँदा मूलत: विवेचना, विश्लेषण र मूल्यांनका लागि विभिन्न विचार, दर्शन र आन्दोलनका आधारमा लेख्ने काम हुन्छ । कविता लेख्न स्वरूपका हिसाबले सजिलो होला तर रचनात्मक मूल्यका कारण अत्यन्त कठिन हुन्छ । स्रोत सामग्री विचार, दर्शन र परम्पराका आधारमा अन्य कृतिको विश्लेषण, मूल्यांकन र मूल्यनिर्धारण गर्न समय र श्रम ज्यादा लागे पनि कविताको तुलनामा समालोचना गर्न सरल हुन्छ ।

८)समालोचकको दु:ख बढी हुन्छ कि, कविको ?
कविता सिर्जनामा चेतना, पीडा गर्भधारणजस्तो छट्पटी भोग्दै कवि हिँड्छ र कविता सिर्जनापछि त्यसको रचना गर्भको पीडा बिर्सन्छ । समालोचनामा स्रोतसामग्री, सन्दर्भ र पुस्तक विशेषको मूल्यांकनमा सहायक हुने अनेक सामग्री खोज्नु पर्ने हुँदा समय र श्रम ज्यादा लाग्छ । आफ्नो सिर्जनात्मकताभन्दा पूर्व सन्दर्भको जोडजाड र विश्लेषण गरिने हुँदा समालोचनाका दु:ख सिर्जनात्मकभन्दा पनि प्राविधिक हुन् । कविता सिर्जनाको आनन्द समालोचना लेखनमा नपाइने मेरो अनुभव छ ।

९)एउटा साहित्यकारलाई माथि उठाउँन वा तल झार्न एउटा समालोचकको कति हात हुन्छ ?
सही समालोचनाले रचनाबारे आमपाठकको रुचि परिष्कार गर्न, रचनाले बोक्ने युगीन मूल्य पहिचान गर्न र परम्परामा वर्तमानको लगानी निरूपण गर्न समालोचनाको महत्त्वपूर्ण योगदान रहन्छ । निन्दा– प्रशंसा रचनाको मूल्यसँग जोडिएर आएमा पाठकले बजारमा पुस्तक खरिद गर्न मात्र हो । यसले युगका आवाज टिप्नसमेत सहयोग पुग्नेछ । तर, कुनै पुस्तकको बजार निर्माण गर्नु, कसैलाई उचाल्नु, कसैलाई पछार्नु समालोचनाको मूल अभीष्ट होइन । रामं्रो रचनाको राम्रै मूल्यांकन हुन्छ । त्यसबाट कसैलाई उठाएको अर्थ लाग्छ भने त्यो स्वाभाविक कुरा हो । बजारमा प्रकाशक र केही छोटो सोच भएका व्यक्तिहरू पुस्तक विषेशको अवाञ्छित निन्दा वा प्रशंसा चाहन्छन् । तर, समालोचनाको अभीष्ट त्यो होइन ।

१०)तपाईंको आफ्नै कवितामाथि चाहिँ समालोचकहरूले आग्रहपूर्ण तरिकाले आलोचना गर्दा कस्तो लाग्छ ?
समालोचना वा अन्य कुनै विधाका लेखक कुनै रचनाका लागि बाध्य हुँदैनन् । रचना गर्नु सोख वा आन्तरिक उत्प्रेरणालाई साकार गर्ने प्रतिबद्धता मात्र हो । समालोचना नगर्नु वा कुनै रचना नगर्नुबाट स्रष्टा र पाठक दुवैलाई हानी हुन्छ । तर, बजारको कुनै उपभोक्तासामग्री मूल्यझैँ रचनाको मूल्य तोक्न नसकिने हुँदा रचनाको मूल्य भावनात्मक मात्र हो ।

११)नेपाली समालोचकहरू आग्रह पूर्वाग्रहभन्दा माथि उठ्न सकेका छैनन् भनिन्छ नि, त्यसै हो ?
यस प्रश्नको ठ्याक्कै उत्तर दिन सजिलो छैन । लेखक र समालोचक दुवै यही समाजका अंग हुन् । विचार, दर्शन र कुनै समूह विशेषको संलग्नताले उसले सम्बन्ध राख्ने दूरी वा निकटता निर्धारित हुन्छ । सही समालोचकले व्यक्तिगत आग्रहका आधारमा कुनै पुस्तकको पक्ष विपक्षमा लेख्दैन, लेखेमा समालोचनाको मूल्य निरूपण प्रक्रिया प्रभावित हुन्छ । नेपाली साहित्यमा रहेका गुट–उपगुट र विचार शिविरले सामान्यतया आफ्नो शिविर बाहिरकालाई त्यत्ति महत्त्व दिँदैन भन्ने आमविश्वास रहेको छ । उत्कृष्ट रचनाको प्रशंसा र चर्चा गर्न नेपाली समालोचना चुकेको छैन । फरक यत्ति हो कि रचनालाई हेर्ने दृष्टिका कारण धेरैजसो समालोचनामा विवाद हुने गर्छ ।

१२)तपाईंको आफ्नै कवितामाथि चाहिँ समालोचकहरूले आग्रहपूर्ण तरिकाले आलोचना गर्दा कस्तो लाग्छ ?
मेरो काम लेख्ने हो । मेरा बजारमा आएका रचना सामान्य पाठक र समालोचकका सरोकारका विषय हुन् । कस्तो समालोचना हुन्छ ? त्यो मेरो चिन्ता र सरोकारको विषय ठान्दिनँ ।

१३)कवि पुरुषोत्तम सुवेदी सक्रिय हुँदै गर्दा समालोक पुरुषोत्तम सुवेदीचाहिँ कति सक्रिय हुन्छ ?
कहिलेकाहीँ एउटा विधा विशेषमा समर्पित हुँदा अर्को विधामा ध्यान पुग्दैन । एक विषयमा कलम चलाएको समय अर्को विधामा लेखाइ हुँदैन । लेखनक्रम सिध्दिनासाथ अर्को विधामा लेख्ने गरेको छु ।
तपार्इंको आफ्नै कवितामा चाहिँ कहिले काहीँ समालोचक सुवेदी हाबी हुँदैन ?
कविता लेख्न विशेष सिर्जनात्मक एकाग्रता र आवेग आवश्यक हुन्छ । मैले अघि नै भनिसकेँ, कविता सिर्जनाले आवेग र एकाग्रताको माग गर्छ । कविता एक किसिमको आत्ममुग्ध विषय हो । तर, समालोचना, संयोजन, प्रबन्ध र स्रोतका आधारमा गरिने श्रमशील सिर्जना हो । एक अर्काको चरित्र, प्रकृति र स्वरूपमै भिन्नता भएकाले एक अर्कोमा हाबी हुने प्रश्नै उठ्दैन ।

सौर्य दैनिकबाट

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 14 श्रावण, 2069

लेखकका अन्य रचनाहरु