भूषणदाइसँगै रोकिएको लहर

- राम्जी तिमल्सिना

कृष्णभूषण दाइसँगै एउटा सुन्दर लहर नेपाली साहित्यिक समुद्रको बीचमा रोकिएको छ ।
बीसको दशकको नेपाली कविताको दुरुहतालाई चिरेर तीसको दशकमा कवितालाई सर्वसाधारणका आवश्यकताका कुरा उनीहरूले पनि बुझ्ने बनाउने प्रयास गर्दा धेरै कविहरूको काव्यकला स्वर्गवास भयो । ती कविहरू केवल सडकमा भाषण मात्र गर्ने गफाडीजस्ता हुन गए कालान्तरमा । त्यस्तो भीडमा काव्यकला सहितको सरल भाषामा विद्रोह बोल्ने असाध्यै थोरै कविहरूमध्येको प्रमुख नाम थियोः कृष्णभूषण बल । ‘काठमान्डू एक्लैले काठमान्डू बोक्न सक्दैन’को सर्वाधिक चर्चा भएपनि त्यो भन्दा निकै धेरै सुन्दर र गम्भीर प्रकृतिका कविताहरू समेतले भरिएको छ ‘भोलिबास्ने बिहान’ कविता सङ्ग्रह । बलका कविताहरू बुझ्नुभन्दा पहिले नै सुन्दर लाग्दछन् । उहाँका प्रत्येक कविता प्रकृतिप्रेम र प्रकृतिबाट टपक्क टिपिएका झर्झराउँदा बिम्बहरूले बनाएको सग्लो चित्र हुने भएकाले यस्तो हुन सकेको हो । २०६८ सालमा मैले बलका कविताहरूमा बिम्बप्रयोग सम्बन्धि एउटा अनुसन्धान गरेको थिएँ । प्रकृति र मानवतालाई पानी र माछाको जस्तो सम्बन्धमा प्रस्तुत गरिएको छ उहाँका प्रायः कविताहरूमा ।
बाल्यकालमा परिवारको खासै ममता नपाउनुभएका कविले दिदी, बहिनी, आमा, हजूरआमा र छोरामाथि कविता लेखेर त्यसको क्षतिपूर्ति गर्नुभएको छ । राज्यले जनता र त्यसमा पनि मोफसललाई गरेको उपेक्षाको चोट पनि कविता लेखेर नै मेट्नु भएको हो । उनीहरूलाई पनि ती चोट मेट्न बलका कविताले उर्जा दिएका र उपाय सुझाएका छन् । अँध्यारो समयमा उज्यालोको कामना र त्यसको प्राप्तिको अपरिहार्यता बलका कविताको प्रमुख भाव भएर आएकै हो । प्रत्येक कविताको पहिलो आधा भागमा बिम्बको संयोजनमा एउटा चम्किलो चित्र तयार पार्नु र दोस्रो आधामा त्यही चित्रले प्रतीकात्मक रुपमा सङ्केत गरेको भावका हरफहरू उभ्याउनु बलका कविताको नितान्त पृथक शैली हो नेपाली कविताको इतिहासमा । ‘मिनिङ’ र ‘म्युजिक’ तथा ‘सेन्स’ र ‘साउन्ड’को सम्बन्धमा उहाँका कविता विशेष छन् । मन हुरुक्क नभइ कविता नलेख्ने कवि हुनुहुन्थ्यो बल भन्नेमा कसैलाई शङ्का छैन ।
व्यवस्थित कविता, व्यवस्थित जीवन र व्यवस्थित काव्यसङ्गठन अबका कविहरूले बलको जीवन हेरेर सिक्नै पर्छ । तीन दशकको यो प्रयासका परिणाम हुन् पूर्वबाट उदाउनु भएका चर्चित कवि मनु मन्जिल लगायत बद्री भिखारी, विवश पोखरेल, मुकुल दाहाल, सुमन पोखरेल, ज्योति जङ्गल, सीमा आभाष, सविता गौतम् दाहाल, लीला अनमोल र हेमन यात्रीहरू । भूषणदाइ जस्तो गाइड पाउँदा पनि कविताको कखरा नबुझी ‘कविता नै हुन् त?’ जस्ता लाग्ने सिर्जना तयार गरेकै भरमा कवि भइहाल्यौँ भनेर फुर्की हिँड्ने साथीहरू त कतिकति थिए र छन् बलका । पूर्व एउटा निरन्तर काव्यउत्सवको भूमि जस्तो थियो बलको प्रेरणा, प्रोत्साहन र निगरानीमा । इटहरी, धरान, मोरङ र झापाका काव्यिक कार्यक्रमहरूका करिबकरिब एक्ला प्रमुखअतिथी हुनुहुन्थ्यो बल साठीको दशकमा । यसले उहाँको काव्यिक छवि प्रस्ट्याउँछ ।
यो समय हामीले वर्तमान नेपाली काव्यजगत्को अवस्थाप्रतिको बलका चिन्ताहरूलाई पनि सम्झनुपर्ने हुन्छ । नेपाली कविता अलि हावादारी र भाषणजस्तो हुँदै गएकामा बललाई चिन्ता मात्र होइन झोँक पनि चल्दथ्यो । कविहरूले कविताको भाषा र सौन्दर्यमा प्रशस्त काम नगरेका र भावनाहरूलाई लामो समयसम्म गहिराइमा राखेपछि मात्र कविता लेख्नु पर्नेमा त्यसो नगरेकामा भोलिको नेपाली कविता फितलो होला कि भन्ने चिन्ताले बलको ब्लडप्रेसर बढाएकै हो । आफू कलात्मक कविता लेख्ने कविहरूले सिकारु कविहरूलाई जस्तो कविता लेखे पनि भयङ्कर लेखेको भनेर नाजायज प्रशंसा गरेको सुन्दा कविहरूको कविताप्रतिको इमानदारिको स्तर देखेर बलको मन खिन्न हुने गरेको कुरा तिनै कविहरू बताउँदछन् । समालोचकहरूले कविको ‘इमोसनल स्टेट’, सौन्दर्य र भावसंयोजनको कला र सङ्गीतलाई समातेर कविताको विश्लेषणात्मक चर्चा गर्न नसकेकाले कवितारचना र समालोचना दुवै सतही हुँदै गएकामा बल निकै गम्भीर हुनुहुन्थ्यो । तथापि कविताको रचना प्रक्रिया र यसको सामाजिक महŒवमाथि कहिल्यै बहस नगर्नु बलको कवि व्यक्तिŒवमा स्पष्ट देखिएको अभाव थियो । चमकदार युवाहरू साहित्य क्षेत्रमा प्रवेश गरेका र गर्दैगरेकामा भने उहाँ निकै प्रशन्न हुनुहुन्थ्यो ।
मान्छेहरूले आफ्नो प्रशंसा गरुन् वा आलोचना, केही पर्वाह नगरी व्यक्तिगत कुराकानी, सामुहिक बहस र औपचारिक कार्यक्रम जहाँ भएपनि कविताको बारेमा साँच्चो कुरा भन्न सक्ने एक मात्र कवि हुनुहुन्थ्यो कृष्णभूषण बल यो समयमा । ‘बिसे नगर्चीको बयान’लाई समेत फगत हल्लाको भरमा उचालिएको कविता भन्नुभएथ्यो पटकपटक दाइले । त्यो आँट कुन नेपाली कविसँग बाँकी छ अब ? यो नेपाली कविताक्षेत्रले बलसँगै गुमाएको सबैभन्दा ठूलो दौलत हो । कविता बरालिइरहेको यो समय बलका असल गुणहरूको विस्तार र उहाँका चिन्ताहरूको रचनात्मक सम्वोधन गर्न सके मात्र हामीले उहाँलाई सच्चा श्रद्धाञ्जली दिएको ठहरिने छ । काम जटिल छ, तर अपरिहार्य पनि ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 25 आसाढ, 2069

लेखकका अन्य रचनाहरु