एक दूर विगतः कवि कृष्णभूषण बलसँग

- पञ्च विस्मृत

औंला काँपेका छन् यतिखेर, केवल एउटा लेखजत्तिको शब्द दौड दौडनुछ । एक
अपत्यारिलो, एक अस्वाभाविक घटनाले अनौठै छाप छोडेको छ मनभित्र कतै ।
कृष्णभूषण बल, कवि जस्तै कवि, जसको असामयिक स्वर्गारोहणले साहित्यिक मन
शोकाकुल भएका छन् । निष्ठुर कृष्णभूषण बल, यति छिट्टै, ६४ वर्षे उमेरमै,
छोडेर जानुहुनेछ भन्ने सायदै कसैले कल्पना गरेका थिए । यहीं जुन २६ को
मंलवार (२०१२) उहाँले हामी सबैलार्इ छोडेर गए पनि उहाँ हाम्रा मन मनमा
अमर भएर रहनुहुनेछ । मेरो मनमा भने उहाँसँग बिताएका पलहरू आलो भएर आएका
छन् यतिखेर ।

जब मैले विराटनगरको साहित्यिक उर्बरतामा पाइला टेकें, वरिष्ठ कवि
कृष्णभूषण बल मेरा एक आदर्श कविका रूपमा देखिनुभएको थियो । वास्तवमै
भन्ने हो भने, मेरो आँखामा, उहाँभन्दा उच्च कवि व्यक्तित्त्वका, उहाँका
भन्दा पृथक र उत्कृष्ठ कविता लेख्ने कुनै कवि देखा परेनन् — विराटनगरमा
मात्र नभएर सिङ्गै पूर्वञ्चलमा । अझ सिङ्गै देशमा । पठनमा सरलता,
माधुर्य, भावमा गाम्भिर्य उहाँका कविताका विशेषता भए । शब्दकोषका पानाबाट
जबर्जस्ती अप्रचलित, दूर्बोध्य शब्दलार्इ लिएर उहाँले आफ्ना कविताका
‘इन्ग्रीडिएन्टस्’ कहिल्यै बनाउनु भएन । बरू सरल र सरस भाषा शैंलीको बाटो
हुँदै विम्व र प्रतीकको शिखर उक्लनुभयो । र, त्यहीं बाटो हुँदै नै उहाँले
आफ्ना कवितामा संरचनात्मक पृथकता समेत ल्याउनु भयो । फलतः उहाँका कविता
पढ्दै यो कविता कोद्वारा रचित हो भन्ने कुरो स्पष्ट हुन्छ । उहाँका
कविताका संरचनात्मक विशेषता हुन् प्रायः हरेकमा अन्त्यानुप्रस राखिनु ।
यद्यपी, तिनमा पद्यको आदिम गन्ध पटक्कै पाइन्न । त्यसैले समाचार जस्तो
कविता लेख्ने होड चलेको यो समयमा उहाँका कविता स्वाभाविक रूपमा पृथक छन्
र अनुकरणीय रहेका छन् । थोरै लेख्ने तर उत्कृष्ठ लेख्ने उहाँका कविता
वास्तवमा ‘मास्टर पिस’ नै हुन् । उहाँले वनितासँगको एक अन्तरवार्तामा
भन्नु पनि भएको छ — “कहिलेकाहीं त छ महिना पनि जान्छ ।” अर्थात् कविताको
सिर्फ सङ्ख्या बढाउनलार्इ कविता नलेखेर उहाँ ‘कविता’ लेख्नलार्इ कविता
लेख्नुहुन्थ्यो । त्यहीं भएर नै उहाँले पुस्तकको सङ्ख्या उल्लेख्य बढाउन
सक्नु भएन । र, यसैमा उहाँ सन्तुष्ट हुनुहुनथ्यो पनि । वि. सं. २०४१ मा
प्रकाशित उहाँको ‘भोलि बास्ने विहान’ को दोस्रो संस्करण वि. सं. २०५९ मा
साझा प्रकाशनले प्रकाशित गरेको छ । यस अघि अर्थात् वि. सं. २०३४ मा
‘दाज्यू तिम्रो हात चाहिन्छ’ नामक खण्डकाव्य प्रकाशित गर्नुभएको थियो ।

वि. स. २०५९ को उत्तरार्धमा विराटनगरकै माटो कुल्चेर म आफ्नो एक उपन्यास
प्रकाशनको तयारीमा लागें । इटहरीका साहित्यकार डा. बद्री विशाल पोखरेलले
त्यसको पाण्डुलिपी अध्ययनगरिसकेपछि मेरो अनुहारमा हेरेर भन्नुभयो —
“मैले आफ्ना केही रचनाहरू च्यातेर मिल्काएको छु । राखेको भए हुनेरहेछ
लाग्छ अहिले । पुस्तकको रूपमा धेरैबाट उत्कृष्ठ छानेर प्रकाशन गर्नु
राम्रो हो ।” मसित त ‘धेरै’ कहाँ थिए र ? थियो एउटै । थन्काएँ उपन्यास र
लागें कवितातिर ।

जम्मा ३६ वटा कविताहरूको सङ्ग्रह प्रकाशन गर्ने रहर र शाहस दुवै ममा
पलाएर आयो । कृष्णभूषण बल त भन्नुहुन्थ्यो — “एउटा सङ्ग्रह त आउनै पर्यो
भनेर साथीहरूले साह्रै भनेपछि ‘भोलि बास्ने विहान’ को प्रकाशन गर्नुपरेको
हो ।” तर मलार्इ त कसैले त्यसरी कर गरेका थिएनन् । न त कसैले मेरा
कवितालार्इ अब्बल दर्जाको कसी नै लगाएका थिए । हामीबीच यहीं नै भिन्नता
रह्यो कृति प्रकाशन गर्ने मानसिकता निर्माणको । म असफल भएँ । उहाँ सफल
हुनु भयो ।

मैले मेरो प्रथम प्रकाशित कविता सङ्ग्रहको नाम ‘जीवन आँशु र कविता’
राखेको थिएँ । जुन शीर्षकको कवितामा एउटा शब्दावली रहेछ ‘नदेखेको आकाश’ ।
जुन मैले भन्दा पहिल्यै उहाँले देख्नु भयो र त्यसलार्इ ‘नदेखिएको आकाश’
गरिदिनुभयो । त्यहीं नै मेरो सो प्रथम प्रकाशित कृतिको नाम रहन गयो । कवि
सुमन पोखरेलको गीत सङ्ग्रह ‘हजार आँखामा यी आँखा’ को शीर्षक पनि उहाँले
नै राख्नु भएको थियो — पछाडिको ‘धाउँछन्’ शब्दलार्इ काटेर । र, यसरी मेरो
कृतिको न्वारन उहाँबाटै भएको थियो भनेर यहाँ उल्लेख गर्दा गौरवानुभुति
भएको छ मलार्इ ।

नदेखिएको आकाश (वि. सं. २०६०, वैशाख, १३) का कविताहरू पढेर उहाँले — “एक
राम्रा कविको उदय हुँदैछ है यहाँ ।” — भनेर प्रतिकृया दिनुभएको थियो ।
सस्तो भावुकता बोकेका मेरा कविताहरू भन्दा पनि उहाँले मेरो लेखकीयको
तारिफ गर्नुभएको थियो । नदेखिएको आकाशसँगसँगै अन्य दुर्इ कृति पनि
प्रकाशित हुने क्रममा थिए । एक, कवि मुकुल दाहालको ‘सीमातीत सीमान्त’ र
पत्रकार मधु रार्इको ‘नारी आयाम’ । नारी आयामकी लेखिकालार्इ मेरो लेखकीय
देखाउँदै भाँनुभएथ्यो— “यी यस्तो लेख्नुहोस् न लेखकीय ।” किनभने उनी ‘के
लेख्ने के’ को अवस्थामा थिइन् । मरो लेखकीयमा अभिव्यक्त कुरा उहाँले कुनै
एक पत्रिकामा अभिव्यक्त गरेको विचारसँग मेल खान गएको कुरा पनि गर्नुभयो ।
यसले भने मेरो मनमा केही असजिलोपनाको अनुभव भएको थियो । किनभनने मैले
उहाँको त्यस्तो अन्तरवार्ता कतै पढेको थिइन ।

विराटनगरको साहित्यिक उर्वरतामा म आफूलार्इ त्यसरी अभ्यस्त बनाउँदै लगेको
थिएँ । त्यो मेरो साहित्यिक प्रशिक्षणकाल थियो । हरेक साहित्यिक
कार्यक्रम र गोष्ठीहरूमा मेरो सहभागी रहन्थ्यो । र, हरेक ती
सहभागिताहरूबाट एकदुर्इटा कुराहरू सिकेर फर्किन्थें म । वाणी प्रकाशनले
पाक्षिक कवि गोष्ठी गर्थ्यो । अद्यापी छ । ती गोष्ठीका मूख्य आकर्षण थिए,
त्यसताका — कवि मनु मञ्जिल, श्रधर शर्मा र दिनेश पौडेल । उहाँहरू
इटहरीबाट आउनुहुन्थ्यो । गोष्ठी सकेपछि उहाँहरू कृष्णभूषण बलसँग केहीबेर
गफ गर्नुहुन्थ्यो र फर्किनुहुन्थ्यो । म कम बोल्ने मान्छे । त्यो भीडको
एकछेउबाट ती सबै कुरा नियाली रहेको हुन्थें । सिकिराखेको हुन्थें । एक्लै
। र, कहिले आफूले वाचन गरेको कविताको ‘कमेन्ट’ माँगिरहेको हुन्थें ।
कविता कस्तो लेखिनु पर्छ ? अथवा साहित्य सिर्जना कसरी गरे त्यो उत्कृष्ठ
बन्दछ भन्ने कुराको ज्ञान मैले कृष्णभूषण बलबाटै लिएको हूँ ।

कवि मनु मञ्जिलबाट पनि धेरै ज्ञान लिएको छु यस कुरामा । उहाँ भने
कृष्णभूषण बलको एकदमै सच्चा भक्त हुनुहुन्थ्यो । त्यो ताका मनु मञ्जिल
दुर्इ कविको खुबै चर्चा गर्नुहुन्थ्यो । एक कृष्ण भूषण बल र दोस्रो
वैरागी कार्इंला । उहाँ वैरागी कार्इंलाका कविताका टुक्राहरू अक्सर
राम्रा कविताका उदाहरणका रूपमा पेस गर्नुहुन्थ्यो । यता ‘कृष्णभूषण’
शीर्षकमा समेत उहाँले कविता लेख्नुभएको छ ।

मैले मलेसियाबाट दोस्रो कविता सङ्ग्रहको तैयारी गर्न लाग्दा मनु
मञ्जिलबाट एउटा कुरोको अपेक्षा गरेको थिएँ । त्यो थियो सो सङ्ग्रहमा
समाविष्ट सबै कविताको उहाँबाट अङ्ग्रेजीमा अनुवाद होस् । तर त्यो योजना
उहाँको व्यस्तताको कारण सफल हुन सकेन । जति कविता अनुदित भएका छन्
तिनैलार्इ मात्र भएपनि सङ्ग्रहमा राख्नुपर्यो भन्ने मेरो कुरोप्रति
त्यतिबेला उहाँले भन्नु भएको थियो — “ हतारको कामको जस र महत्त्व हुन्न
भन्नुहुन्छ कृष्णभूषण ज्यु ।” अन्ततः सबै योजना असफल भए । आफैंले
अनुवादको काम थालें । कृष्णभूषण बल ज्यु कतिसम्मको प्रभावशाली
हुनुहुनथ्यो भन्ने कुरोको आँकलन यहाँबाट सजिलै गर्न सकिन्छ ।

कम बोल्ने, शान्त र शालीन स्वाभावको कृष्णभूषण बलसँग केवल एउटा यात्रा
गरेको छु । विराटनगरदेखि धरानसम्मको । जनयुद्ध चलिरहेको अवस्था ।
ठाउँठाउँमा चेकिङ् । देशभर अशान्ति फैलिरहेको बेला कवि बद्री पलिखेले
आफ्नो ‘शान्तिस्तूप’ कविता सङ्ग्रहको विमोचन कार्यक्रम राख्नुभएको थियो
धरानमा जहाँ कृष्णभूषण बल प्रमुख अतिथिको रूपमा आमन्त्रित हुनुहुन्थ्यो ।
त्यहीं मौकामा उहाँसँग छोटो र ऐतिहासिक यात्रा गरेको थिएँ । साथमा
हुनुहुन्थ्यो — विवश पोखरेल, देवी पन्थी, महेश मार्सेली, मीन कुमार
नवोदित श्रेष्ठ, सीमा आभास र लावण्य सापकोटा आदि । दुर्इ सालअघि मात्र
झापातिरको एक कार्यक्रममा उहाँकै हातबाट निमन्त्रणा पत्र पाएको थिएँ ।
पत्र लिइसकेपछि हिड्नेदिनको ठीक एक दिन अघिमात्र उहाँलार्इ फोनमा भनें —
“म त जान नपाउने भएँ ।” त्यसरी उहाँसँग यात्रा गर्ने अरू पनि मौका आउला
लागेको थियो । त्यहीं नै अन्तिम मौका थिएछ । चुकाएँ ।

उहाँसित केवल दुर्इ प्रश्न सोधेको थिएँ । मैले नजानेका । ती थिए —
“उत्तरआधुनिकतावाद भनेको के हो ?” र “के गद्यमा पनि खण्डकाव्य लेख्न
सकिन्छ ?” उहाँले प्रथम प्रश्नको जवाफ — “धेरै पछि हुने कुराको बारेमा
लेख्यो भने त्यो उत्तरआधुनिकता हुनजान्छ ।” भनेर दिनुभएको थियो भने
दोस्रो प्रश्नको जवाफ — “ हुन्छ, के तपार्इं लेख्दै हानुहुन्छ ?” भनेर
दिनुभएको थियो । “लेखेर बाँच्न नसकिने अवस्थामा पनि हामी साहित्यलार्इ
किन यति धेरै माया दिइरहेका छौं ?” — तेस्रो प्रश्न मनको, मनमै रह्यो ।

हामीले उहाँबाट लिने सबैभन्दा ठूलो शिक्षा हो — परिवार नै सबैभन्दा
महत्त्वपूर्ण हो भन्ने । उहाँले यस कुरालार्इ प्रमाणित गर्नुभएको छ
मोफसललार्इ आफ्नो साहित्यिक कर्मथलो बनाएर जहाँ वाणी प्रकाशन एक
साहित्यिक आस्थाको रूपमा उभिएर रहेको छ । वनितासँगको एक अन्तवार्तामा
भन्नु पनि भएको छ — “मैले आफ्नो परिवारलार्इ बिर्सेर कहिल्यै साहित्यमा
लागिन ।” आफ्नो दूर सपनाको पछि लागेर परिवार बिर्सनेहरूका लागि यो एक
‘अलार्म’ हो ।

वि. सं. २०६० को उत्तरार्धतिर उहाँ अर्को एक कविता सङ्ग्रह प्रकाशित
गर्ने मनसायमा हुनुहुन्थ्यो । तर अचम्म त के भने सो सङ्ग्रहमा समाविष्ट
हुने कतिपय कविताहरू उहाँका हातमा थिएनन् । ती कविताहरू देशका कुनै
चर्चित पत्र−पत्रिकाकमा प्रकाशित थिए । तर, कुन अङ्कमा प्रकाशित थिए
भन्ने कुरोको उहाँलार्इ हेक्का थिएन । यसको लागि कवि तथा कथाकार विवश
पोखरेल उहाँलार्इ सम्झाइरहेको सुनिनुहुन्थ्यो । यहीं क्रममा एक दिन उहँले
मलार्इ पनि आफ्ना केही कविता पढ्न दिएर प्रतिकृया माग्नुभयो । म अक्क न
बक्क भएको थिएँ — मैले गुरू मानेका कविले आफ्ना कविताको प्रतिक्रिया
माग्दा । उहाँको एक कविताको शीर्षक थियो ‘वातावरण’ जुन शीर्षक मलार्इ
उत्ति मन परेन । प्रतिकृया त दिनै पर्यो र भनें — “यसलार्इ परिवर्तन गरे
कसो होला ?” तर त्यसपछि मेरो बोलि फुट्न सकेन । अर्थात् के कारणले
परिवर्तन ? — को स्पष्टिकरण दिन सकेन ।

यतिखेर म विराटनगरदेखि टाढा छु । कृष्णभूषण बलको देहावसानले विराटनगर झनै
टाढा लाग्न थालेको छ । उहाँको सम्झनामा शब्द दौडनु अनन्त यात्रामा
निक्लनु जस्तै लाग्छ । उहाँको देहावसान भए पनि कृष्णभूषण बल नाम सदा अमर
रहनेछ, उच्च रहनेछ । बस्, अहिलेलालार्इ श्रद्धा सुमन उनै छोडिजाने
कविप्रति ।

दम्माम, साउदी अरेबिया

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 25 आसाढ, 2069

लेखकका अन्य रचनाहरु