जय ! जमाना

- परशुराम पराजुली ‘पराशर’

“आयो जमाना नयाँ ।” यस विषयमा कति कविले कविता लेखे, कतिले जमानाको बखान गरेर नथाक्ने गरी कथा सुनाए । जतातै नयाँ जमाना आएको भनेर भन्दछन् तर केलाई नयाँ जमाना भन्नुहोला ?
जिज्ञासाहरू प्रशस्तै नआएका होइनन् । नयाँ जमाना भनेको ‘आना मानु’ घ्यू खाने जीवित छँदै सय रुपैयाँमा चौथाइ मानु पनि किन्न नपाइने गरी भएको समयको परिवर्तनलाई पो भनेको होला कि ? अथवा सारीको सप्कोले सर्लक्कै मुख छोपेर हिँड्ने महिला जिउमा टमक्क मिलेको जिन्स पाइन्ट र टी–सट लागाएर हाफपाइन्ट (कट्टु) र स्यान्डो गन्जी लगाएकी आफ्नी बुहारीलाई अघि लगाई लामालामा कपाल पालेका नारीरूप नातिहरूलाई डो¥याउँदै हिँडेकोलाई नयाँ जमाना भनिएको हो, केही बुझ्नै सकिएन बा । अथवा कुनै समयको नैतिक, आध्यात्मिक, सामाजिक, परोपकारी मानवमन परिवर्तन भएर अर्कै अनैतिक, अति भौतिक, असामाजिक र स्वार्थी दानवमनमा परिवर्तन भएको समयलाई नै नयाँ जमाना भनिएको होला । विषय वा प्रसङ्गले अन्य अर्थ नलागेमा सभ्यताका नाममा मानिसले आफ्नो वास्तविकता बिर्सेर बकुल्लो बन्न नयाँ केही गर्न थाल्यो भने त्यसलाई नयाँ जमाना भन्न मिल्ने देखिन्छ भन्ने कुरालाई नै यहाँ मुख्य मानेर लेखिन्छ ।
जमानाले मान्छे बङ्ग्याएको हो कि मान्छेले जमाना बङ्ग्याएका हुन्, भन्ने कुरा छुट्याउनु र कुखुरा पहिले कि अण्डा पहिले भन्ने छुट्याउनु उस्तैउस्तै जत्तिको भएको छ । किनभने ‘इयर फोन’ कानमा नहाल्ने ठिटाठिटी कलेजका विद्यार्थी नै होइनन्; गोजीमा मोबाइल नहुने व्यक्ति व्यक्ति नै होइन । अझ चुइङ्गम खाँदा नपड्काउने केटी, लगाउँदा नतन्किने पेटीको के काम ? खाजा खाँदा पिजा नखाने र हाँस्दा गिजा नदेखाउने त सहरिया नै होइन । कपाल नपाल्ने दादा नभएजस्तै जुँगा नफाल्ने लोग्ने मान्छे नै नहुने पो हो कि भन्ने लागेको छ मलाई त अचेल । बोल्दा अङ्ग्रेजी घुसेन भने, खाजा खाँदा बफ मोमो ठुँसेन भने गाउँले अर्थात् पाखे होइन्छ भन्ने डर छ । दिनदिनै ड्रेस फेरेन भने, टी.भी.मा हिन्दी सिरियल हेरेन भने सहरिया आइमाई नै होइन भन्न सकिने गरी कस्तो जमाना आयो बा !
भर्खरै जन्मेको नाबालकको कपाल रातो पारेन भने, कलेज पढ्ने केटाले टाउकाको टुप्पी गर्धनतिर सारेन भने ऊ आधुनिक बन्दैन । अर्थात् जमानाअनुसार चल्न नजान्नेको पगरी लगाइदिन्छन् सबैले । चुरोट तानेर आयु छोट्याएन भने, फाटेको पाइन्टले सभ्यतालाई खोट्याएन भने नवयुवा नै भनिँदैन, नयाँ जमानामा । आफ्नो छाती देखाएर नानाभाँती गफ हाँक्दा केही नहुने महिलाले पुरुषको छातीको टाँक खुस्केको देखी भने लाजले मुखै छोप्छन् । कस्तो जमाना आयो बा !
कुनै जमाना यस्तो थियो– महिलाले पूरै शरीर ढाकेर लुगा लगाउनु उत्तम मानिन्थ्यो अनि पुरुषले चाहिँ शरीर देखाए पनि केही फरक पर्दैनथ्यो । त्यो थियो पुरानो जमाना अब नयाँ जमाना आइसक्यो । अझ पछिल्लो नयाँ जमानामा त झन् केके पो हुने हो । पुरुषले पूरै शरीर छोपेन भने लाजमर्दो हुने होला अनि महिलाले आफ्ना अङ्ग देखाइन भने लजाउनु पर्नेेछ र भन्नुपर्नेछ– “छ्या ! कस्ती नकचरी आइमाई ! लाज भन्ने रत्ति नभएकी ! सबै शरीर छोपिने लुगा के लगाएकी नि ! सायद त्यसको मगज खुस्किएछ कि क्या हो मोरीको !” कस्तो जमाना आउनेभयोे बा !
हुन त अफ्रिकामा कुनै वेला लुगा लगाउँदा लाजले लुक्ने जमाना पनि थियो रे । हामी पनि कुनै समयअघि त्यस्तै नाङ्गै थियौँ होला । ‘बाह्र वर्षमा खोलो पनि फर्कन्छ’ भनेभैmँ त्यही जमाना फर्काएका त होइनन् अहिलेका सभ्यताका पारखी नाङ्गै हिँडेर ? कस्तो जमाना आयो बा !
मान्छेमा नैतिकता हुनु, सत्य बोल्नु, आपूmभन्दा ठूलाको आदर गर्नु, सानालाई माया गर्नु भनेकै सोझो हुनु हो । सोझो हुने भनेकै सबैबाट हेपिने हुनु हो । त्यसैले अहिलेका हरेक सभ्य व्यक्ति सोझो हुन चाहँदैनन्, हेपिन चाहँदैनन् । लोक गीत सुन्दा गाउँले, पाखे भन्छन् भनेर पनि स्वदेशी तथा विदेशी पप गीत सुन्नै पर्ने भएको ठान्छन्, अहिलेका सभ्य । घरमा मस्त लोकगीत सुनेर आएका सुरदास पनि अरूका छेउमा पप, ¥याप गीत नै सुन्न खोज्दछ, भड्किलो फेसन, भड्किलो गीत हेर्नुहुन्न भन्ने लालबुझक्कडले रातीराती एक्लै बसेर फेसन च्यानल हेरेभैmँ ।
“निष्ठा, कर्म धितो दिनोस् ! किनभने आयो जमाना नयाँ” –वरिष्ठ कवि भुवनहरि सिग्देलले भनेको पनि ठीक लागेन मलाई त । धितो दिएको निष्ठा र कर्म त पछिका कुनै न कुनै पुस्ताले निखनेर आपूm निष्ठावान्, सुकर्मी भएर सच्चा नेपाली भइहाल्ला नि भनेर हिजोआजकाले त निष्ठा र कर्म निखन्न नसक्ने गरी धितो राख्नुको सट्टा बेचेरै खान खोजेका छन् । यसमा दुई मत हुँदैन होला पनि । हिजोआज प्रशस्त सम्पत्ति नकमाउनु भनेको निष्ठा र कर्मलाई साथमा लिएर हिँड्नु हो । त्यसैले ‘घोडाले घाँससँग मित्रता गाँस्यो’ भने त्यसको हालत के होला ? निष्ठा र प्रशस्त सम्पत्ति अलग धारका भएकाले दुवै एकै हुन सक्ने कुरै भएन । त्यसैले तीमध्ये एउटा छान्दा म त सम्पत्ति नै छान्दछु । किन कि म पनि नयाँ जमानाको जन्तु (कालेलाई कालु भनिएजस्तै जन्तालाई मायाँ गरेर भनिएको शब्द) ।
गाउँका मुखियाले नै बाटो हगे भने अरूले नहग्ने त कुरै भएन नि । मन्त्री, नेता नै हत्यारा, भ्रष्टचारी, गुन्डाहरूलाई बचाउन लाग्दछन् भने त्यो मुलुकमा शान्तिसुरक्षाको कुन कुरा गर्नु र ! आपूmले जनतासँग के भनेर भोट मागेका थिए । निष्ठा र कर्म कता गायो ती महाशयहरूको ? ठूलाबडाकै निष्ठा र कर्म धुलिसात् भएपछि अरू सर्वसाधारणले केमा के मिसाएर बेचे रे, केके नानाभाँति गरे रे भनेर किन आफ्नै टाउकामास्तिर थुक्नु ? खुट्टा तानातानको खेलमा आफ्नो नैतिकता देखाउन खोज्नेले कि त पदबाट राजिनामा दिनुपर्छ कि त जीवनबाटै ।
तपार्इँ जेसुकै भन्दै गर्नुहोस् । आपूm त निष्ठा र कर्म धितो दिनेमा नपरीकन बेचेर खानेमा पर्नु नै उत्तम हो भन्ने ठान्दछु । नयाँ जमाना भनेको नयाँ जमाना नै हो । नयाँ जमानालाई कसैले नयाँ जमाना भन्दैन भने त्यो नयाँ जमाना नभन्ने सभ्यता मन नपराउने आदि मानव हो । त्यस्ताले नयाँ जमानामा आपूmलाई गाल्दैन भने, नयाँ जमानाको साँचामा आपूmलाई ढाल्दैन भने, गर्धनमा टुप्पी पाल्नैन भने, गुन्युचोलो र दौरासुरुवाल फाल्नैन भने जीवनबाटै राजिनामा दिए हुन्छ भन्ने समाचार सुनाइदिनु होस् है । आपूm त– जय जमाना ! भनिने लालबुझक्कड परियो । जय जमाना !!

जुरोपानी–४, झापा

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 10 आसाढ, 2069

लेखकका अन्य रचनाहरु