भावपूर्ण सलाम : प्रगतिवादी साहित्यकार घनश्याम ढकाल

- डा. सुधा त्रिपाठी

रात त रात नै थियो तर त्यो रात पूणिर्माको थियो। अन्धकार हटाउन बाँकी नै थियो र पूणिर्माको जूनले निकै मिहिनेत गर्नु परिरहेको थियो। यसैले त्यस अन्धकारलाई हटाउन निकैवटा जूनहरू एकसाथ प्रयत्नरत थिए। तिनैमध्येका एउटा जून अचानक मध्यआकाशबाट एक्कासि अस्तायो र अन्य जूनहरू पनि सहकर्मी जून अस्ताउँदा विलखबन्दमा परे। संसार एकैचोटि अँध्यारो भयो। दिन र रातमा फरक छुट्टयाउन सक्ने सामथ्र्य कसैमा बाँकी रहेन। श्वेत एक्कासि श्याममा परिणत भयो र त्यो श्याम पनि घना थियो। सहयात्रीहरू अचेत भए, यात्रा अवरुद्ध भयो र बाटो एक्लै लडिरहृयो।

हो, भृकुटीमण्डपको बाटामा वरिष्ठ प्रगतिवादी साहित्यकार घनश्याम ढकाल फागुन १ गतेको बिहान पौने एघार बजे एक्लै लडिरहनुभएको थियो र उठाउने आत्मीयजनका हातहरू त्यहाँ थिएनन्। मृत्यु यति एक्कासि आयो कि त्यसको पूर्वाभास पनि उहाँले पाउनु भएन। उहाँको मृत्युले हामीलाई मात्र होइन, उहाँलाई समेत चरम झुक्यानमा पारिदियो। त्यस अन्तिम क्षणमा अनचिना हातहरू उहाँलाई काम लागे, सधैँभरि प्रेमपूर्वक मिलाइने गरेका हाम्रा हातहरू उहाँलाई काम लागेनन्। अध्यात्मवादीहरू भए यसलाई दैवको लीला मान्दा हुन्, हामीले यसलाई परिस्थितिको खेल मान्यौँ। आफूप्रतिका अरूका प्रेमपूर्ण दृष्टि देखेर उहाँले ढुक्क भएर मर्न पाउनु भएन। जनयुद्ध दिवसको कार्यक्रममा सँगै भेटिने भनेर गरेका हाम्रा सल्लाह काम लागेनन्, हामीले उहाँको निर्जीव देहमात्रै सुम्सुम्याउन पायौँ। अब हामी उहाँसँग प्रेमपूर्वक न्याना हात मिलाउन कहिल्यै नपाउने भयौँ, घनश्याम ढकाल नाम गरेको एउटा आत्मीय अनुहार अभाव हाम्रा परिसरमा सधैँ खट्किइरहने भयो।

हाम्रो एक-अर्काप्रति अत्यन्त भरोसा थियो र यसको उमेर त्यस्तै एक दशक जति मात्रै रहेको छ तापनि आत्मीयताको गहिराइले गर्दा हामीलाई त्यसको आयु युगौँ-युग पुरानो लाग्थ्यो। यस वियोगले त्यस समयलाई अझै लामो अनुभव गराइरहेको छ र प्रेम अझै बढिरहेको छ। उहाँका छोरीहरू त्यसै पनि पि्रय थिए, अब त झन् ती आप\mनै छोरी भएका छन्। म्याडम हाम्रा पि्रय मित्रले छाडेर गएको एउटा नासोका रूपमा रहनुभएको छ।

मलाई अहिले २०५९ सालको एउटा घटनाको सम्झना खुब आइरहेको छ। देशमा सङ्कटकाल थियो र उहाँ राज्यको निशानामा हुनुहुन्थ्यो। उहाँले एक बिहान आएर हाम्रा घरमा सेल्टर लिने चाहना व्यक्त गर्नुभएको थियो तर हामीले त्यो चाहना पूरा गरिदिन सकेनौँ। त्यतिबेला म पनि प्रतिकूल परिस्थितिमा थिएँ। म तिनताका आफू आबद्ध रहेको पार्टी एमालेका नकामहरूका बारेमा कान्तिपुर आदि पत्रपत्रिकामा निरन्तर लेखिरहेकी थिएँ। मेरो घोचपेचले तै नेतृत्व वर्गको आँखा खुल्छ कि भन्ने आस लागिराखेको थियो तर पार्टीप्रतिको मेरो प्रेमलाई नेतृत्वले बुभ\mन नसकेर उल्टो अर्थ लगाइराखेको थियो। खेदो नै गरेको भए त अहिले पनि झन् त्यसो गर्न मन लाग्नुपर्ने हो तर मलाई अहिले सरोकारै लाग्दैन। मैले एमाले पार्टी छाड्ने कुरा सपनामा पनि चिताएकी थिइनँ तर पार्टीका केन्द्रीय नेताहरू नै मेराविरुद्ध उत्रिएका थिए। उनीहरू 'माओवादीमा जान खुट्टा उचालिसकेको', 'माओवादीले आप\mनो भन्न थालिसकेको' जस्ता लान्छना लगाइराखेका थिए। हुँदाहुँदा उनीहरूले मलाई अलि बचेर हिँड्ने गर्नोस् है भन्न पनि थालेका थिए। मलाई उनीहरूले नै मेराविरुद्ध राज्य पक्षलाई उचालिराखेका छन् कि जस्तो पनि लागिराखेको थियो। त्यसो हुनसक्ने सम्भावना र आधार पनि प्रशस्तै थिए। एमालेमा हुँदैमा माओवादीले गरेका राम्रा कामका बारेमा लेख्नै हुँदैन भन्ने मलाई कहिल्यै लागेन पनि। माओवादीका राम्रा कामको प्रशंसा र एमालेका नराम्रा कामको आलोचना सँगै भइराख्दा उनीहरू मसँग क्रुद्ध बनेका थिए। मलाई भने आलोचना गरेर एमालेलाई सपार्नु र प्रशंसा गरेर माओवादीलाई जनपि्रय काम गर्नतिरै उत्प्रेरित गर्नु थियो। यसपछि मैले पत्रपत्रिकामा लेख्ने काम छाडिदिएँ। म यति धेरै आतङ्कित थिएँ कि मैले उहाँलाई सही तथ्य बताउने हिम्मतसमेत पनि जुटाउन सकिनँ। उहाँलाई सेल्टर दिनु भनेको हामी दुवैथरिका निम्ति हितकर थिएन। उहाँको हामीप्रतिको भरोसा तैपनि घटेको थिएन। भोलिपल्ट बिहान सपत्नी आएर उहाँले हामीलाई आफूलाई केही भइहालेमा आप\mना दुई छोरीको अभिभावकत्व लिन आग्रह गर्नुभयो। अर्कोचोटि छोरीहरूसमेत ल्याएर परिचय गराउनुभयो। पछि कान्छी छोरी वन्दना कीर्तिपुर क्याम्पसमा हाम्री चेली हुन आइपुगिन्। उनी मायालु पनि छन् र मैले उनलाई 'छोरीचेली' भनेर सम्बोधन गर्ने गरेकी छु।

हामीबीच घनिष्ठता त यसै पनि थियो तर पालुङटार बैठकपछि भने त्यो आत्मीयता चुलिएको थियो र हामी एकै आँतका दाजुबहिनीजस्ता भएका थियौँ। हाम्राबीचमा एक-अर्कासँग लुकाउनुपर्ने कुरा केही पनि हुन छाडे। त्यस बैठकपछि आत्मीय मित्रहरू पनि अनात्मीय बन्न पुगेको परिस्थितिमा हामी एक-अर्काका भारी बिसाउने चौतारी बनेका थियौँ। हामीबीच खुलेरै ख्यालठट्टा पनि चल्ने गथ्र्यो। उक्त दुर्घटना हुनु दुई दिनअगाडि पनि ख्यालठट्टाकै साथमा उहाँले एकेडेमीबाट पाउनुभएको विद्वत्वृत्तिका निम्ति बधाइ पनि दिएकी थिएँ र उहाँ भ्याएमा त्यही दिन -जुन दिन उहाँको दुर्घटना भएको थियो) उक्त अनुसन्धानका लागि चाहिने हामीसँग भएका पुस्तक लिन आउने हुनुभएको थियो। उहाँ यसपालिदेखि प्रगतिशील लेखक सङ्घलगायत सङ्घ-संस्थाका जिम्मेवारी घटाएर लेखपढमा लाग्ने योजनामा हुनुहुन्थ्यो। आप\mना योजनाका काम पाँच वर्षजति खट्न पाए सकिन्थ्यो भन्ने उहाँले सोच्नुभएको थियो। आजसम्मकै उहाँको योगदान पनि साङ्गठनिक र साहित्यिक दुवै दृष्टिले अत्यधिक महत्त्वपूर्ण एवम् बहुआयामिक रहेको छ र राष्ट्रले त्यो गुण कसरी चुकाउँछ थाहा छैन।

मेरा घनिष्ठ मित्र घनश्याम सज्जनका लागि अत्यन्त सरल एवम् दुष्टका निम्ति अत्यन्त जटिल हुनुहुन्थ्यो र यो हाम्रो आत्मीयताको महत्त्वपूर्ण आधार बनेको थियो। उहाँको स्वभावमा घमन्डको छायाँसम्म पनि थिएन र जीवनशैली सर्वहारा प्रकृतिकै थियो। अतुल सम्पत्ति जोड्ने चाहना उहाँमा थिएन। प्राज्ञिक काम नै उहाँको जीवनको उद्देश्य थियो। हेर्दा र व्यवहार गर्दा अत्यन्त सरल रहे पनि वैचारिक कुरामा भने उहाँलाई हल्लाउन सक्ने ताकत कसैमा हुँदैनथ्यो। मैले 'माओवादी पनि कतै एमालेजस्तै त बन्ने होइन' भनेर शङ्का व्यक्त गर्दा उहाँ 'कहाँ त्यसो गर्न पाउँछन् र म्याडम, सहिद परिवारले नै यिनलाई छाड्दैनन्' भनेर मलाई आश्वस्त तुल्याउनुहुन्थ्यो। मलाई पनि उहाँको कुराले ढाडस मिल्थ्यो। पालुङटार बैठकपछि भने उहाँ पनि कहिलेकाहीँ साथीहरू देखेर विचलित बन्नुहुन्थ्यो, आस्था आप\mनो ठाउँमा छँदै छ अब साहित्यिक काम गरेर बस्ने भन्नुहुन्थ्यो र योजना पनि त्यही किसिमले बनाउनुभएको थियो।

काठमाडौँको महँगी धान्न पनि उहाँलाई हामी जागिरेलाई भन्दा पनि असजिलो थियो। म आफूले निर्देशन गरेका एमएका शोधकार्यको अन्तर्वार्तामा उहाँलाई बाहृय परीक्षक बन्न बोलाउँथेँ र उहाँ खुसी भएर आउनुहुन्थ्यो। 'अरूले त कसले पो बोलाउँछ र म्याडम, तपाईंले यसरी सम्झना गर्नुभएकोमा धन्यवाद पो भन्छु। सङ्गठनका काममा हिँड्न केही दिनलाई बसभाडासम्म भए पनि चल्छ,' भन्नुहुन्थ्यो। आफू बाहृय परीक्षक भएको एउटा शोधकार्यमा सही गर्न त्यसै दिन उहाँले भृकुटीमण्डपमा बोलाएको विद्यार्थी भाइ सही गराउन नपाई मलामीचाहिँ आउनुपर्दा शोकमग्न थिए।

घनश्याम सर ! तपाईंले दिनुभएको आत्मीयताको मूल्य कसरी चुक्ता गरूँ ? तपाईंकी अर्धाङ्गिनी तथा छोरीहरूलाई माया गरेर र आफू बाँचुन्जेल प्रेमपूर्वक तपाईंको सम्झना गरेकै भरमा मूल्य तिरिएला त ? अनि हाम्रा जीवनमा भएको तपाईंको अभाव पूर्ति हुन सक्ला त ? क्रान्तिप्रति निष्ठावान् सामाजिक रूपान्तरणका अभियन्ता, वरिष्ठ साहित्यकार र एकजना अत्यन्त सज्जन व्यक्तिका रूपमा तपाईं हामीसँग सदा जीवित रहनुहुनेछ। प्रगतिवादी साहित्यिक फाँटले तपाईंलाई कहिल्यै भुल्ने छैन।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 21 फागुन, 2068

लेखकका अन्य रचनाहरु