ईश्वर मानन्धर र 'म, आकाश र ताराहरु'

- लारा

मात्रै ३ वर्षअघि मैले चिनेकी साहित्यकार तथा कवि ईश्वर मानन्धरबारे लेख्दैछु म । बेलायती नेपाली समाजप्रतिको ईश्वर मानन्धरका विगतका योगदान तथा कार्यहरुप्रतिको लेखाजोखा आदि/ईत्यादि थप/घट सबै उनीहरुले लेख्लान् जस्ले, वहाँलाई त्यहि पेशा तथा परिचयको माध्यमबाट नजिकबाट चिनेका छन् ।

ईस्वी सन् २००९ साल—मेरो बेलायत आगमनपश्चात् मात्रै वहाँलाई मैले चिनेको हुँ । हाम्रो पहिलोभेट लण्डनकै एउटा साहित्यिक कार्यक्रमा भेट भएको थियो । कथाकार जयालक्ष्मी दिदिले पहिलो परिचय गरिदिनुभएको फरासिला कवि मानन्धरसँग । पछिल्ला साहित्यिक कार्यक्रमा बाक्लै भेट भयो । सबैले वहाँलाई “ईश्वर दाई” भनेर सम्बोधन गरेको सुन्थें । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका कवि काङमाङ नरेशलेमात्रै “बडा” भनेर सम्बोधन गरेको सुनेको छु । मेरो भने आफ्नै सम्बोधन— “ईश्वर बुवा” नामसँगै वहाँलाई बुवा भनेर म सम्बोधन गर्छु । वहाँले पनि मेरो सम्बोधनलाई आत्मियताका साथ, भेटघाटमा “नानी” भनेर बोलाउनुहुन्छ । अनेसास, बेलायत च्याप्टरको पछिल्लो कार्यकलमा आजिवन सदस्य तथा वरिष्ठ सल्लाहकार बन्नुभएपछिको ई्श्वर बुवासँगको साहित्यिक नाता झन् प्रगाढ बन्दैगयो ।

केहि हप्ताअघिमात्रै, सल्लाह भएको थियो नेपालमा विमोचित वहाँको कृति “म, आकाश र ताराहरु” सँगै ठट्यौली भाग—२ अनि, सुमल गुरुङ दाजुको पनि नेपालमा नै विमोचित “युरोप यात्राका अनुभूतिहरु” अजि हंङकङमा विमोचित मेरो कथासंग्रह “पात्रहरुसँग एकसाँझ” को संयुक्त कृति—परिचयात्मक कार्यक्रम, २८ जनवरी तारिकका दिन “दिलसे” रेष्टुरेण्ट, ह्यारोमा सम्पन्न गर्ने तय भएको थियो । सोहि दिन ई्रश्वर बुवाले बेलायती नेपाली भाषा, साहित्यक तथा वाङमयका लागि आफ्नो स्वर्गीय वुवाको नाममा बार्षिक पुरस्कारको घोषणा पनि गर्ने योजना बनाउनु भएको थियो । दुभाग्र्यवश वहाँ अस्वस्थ्य हुनुभयो । स्वास्थ्यका कारण वहाँ उक्त दिन कार्यक्रममा उपश्थित हुन नसक्ने अवस्थादेखि अस्पतालबाट नै ईश्वर बुवाले शुभकामना सन्देश, आफ्नो कृति तथा पुरस्कार स्थापनाको घोषणाबारे बोल्ने कुरा २ पाना लेखेर तयार बनाउनु भएको कुरा वहाँकी छोरी (सविता दिदीले हो क्यार) डा. रुपक श्रेष्ठलाई जानकारी दिनुभएको खबर उक्त कार्यक्रमका दिन डा. श्रेष्ठले सबैलाई सुनाउनुभएको थियो । वहाँको उपश्थिति निश्चित नै खट्कियो कारण, कार्यक्रमको सोहि सुअवशरमा अनेसास बेलायत च्याप्टरले किनभने, १९६० का दशकदेखि बेलायत प्रवासमा रहँदैदेखि नेपाली साहित्य लेखन तथा निरन्तरताप्रतिको कदर गर्दै वहाँलाई “बेलायती—नेपाली डायस्पोराका आदिकवि” भनेर सम्मान गर्ने पनि योजना रहेको थियो । वहाँप्रतिको माया, कदर र सम्मानको प्रसंग आउँदा, नेपाली प्रतिभा प्रतिष्ठानद्वारा वहाँलाई २००९ गरेको “स्रष्टा—सम्मान” पनि मैले भुल्नु हुँदैन यतिबेला। वहाँलाई अग्रज तथा अभिभावक ठानेका थियौं हामी सबैले ।


ईश्वर बुवालाई चिनेको धेरै समय नभएता पनि संझन लायक केहि प्रसंगहरु भए । एकदिन, थेम्स एकाडेमीमा साहित्यिकि कार्यक्रमको समापन पश्चात् वहाँले “नेपाली कसरी टाईप गर्ने नानी?” भनेर मलाई जिज्ञासा राख्नु भयो । जवाफमा मैले—“बुवा हिजोआज त युनिकोडमा जस्ले नि गर्नसक्छन्, म हजूरलाई सिकाईदिउँला नि !” त्यसपछि डा. रुपक श्रेष्ठजीको अफिसको कम्प्युटरमा हामी दुवै झुम्मिन पुग्यौं । हाम्रो संवाद छेवैमा उभिएर सुनिरहनुभएको डा. रुपक श्रेष्ठले भन्नु भयो, लाराजीको घर टाढा छ, वहाँलाई जान दिनुहोस्, बाल—बच्चा भएको वहाँलाई हतार पनि होला । तपाईलाई त हतार छैन नि घर जान, आउनुस् म सिकाईदिन्छु । थाहा भएन के, कति डा. रुपक श्रेष्ठले सिकाउनु भयो तर सोहि साँझ—नेपालीमा दुइ लाईन टाईप गरेर मलाई पठाउनु भयो— जस्ताको तस्तै यहाँ राखेकी छु ।

लारा नानी
काफी कबिता जमघट नामता बड़ो घतलाग्दो छ तर अनेसाका कार्यसमितिर आजीवन सद्यासहरुको सहित्यक मन लाए अनेसा आकर्षित गर्न ठूला परिषम गर्नुपर्ला लारा जास्ती योग्य लगनशील पर्श्र्मीक महासचिब अनेसाले पाउनु शोऊभाग्य हो
ईश्वर Ishwar Manandhar
यो आत्मियता नै त होला यदि महिले जवाफ लेख्न नभ्याउँदा वहाँले पठाउनुभएको अर्को उदाहरणः

Reply
लारा नानी
मैले इमेल गरेको पढेको होला तेस्बबरे कुनै प्रतिक्रया लेखेनौ
मेरो कताब पढ़ने समय पयको चैन होला पड़ी आफ्नो प्रक्रिया अबश लेखानु
मैले नेपाली लेखनी क्लास लेयको छुं
ईश्वर

वहाँको हौसला तथा अभ्यासका लागि मैले पनि नेपालीमा नै लेखेर जवाफ दिएँ—“बुवा, बधाई! मलाई सधैं नेपालीमा नै लेख्नुस् है ! ” नभन्दै वहाँले नयाँ वर्ष, दशैं अथवा हरेक खबर ईत्यादी यतिसम्म गत सेप्टेम्बर नेपाल भ्रमणबताका पनि नेपालीमा नै ईमेल लेख्नु भएको थियो । वहाँको त्यो अदम्य ईच्छाशक्ति, लगनशिलताबाट म अत्यन्तै प्रभावित भएँ ।

कार्यकममा भेट्दा या छुट्ने समय ईश्वर बुवा हामी सबै —जया दिदि, शशी दिदी लगायत मलाई अंकमाल गर्नुहुन्छ । एकदिन कवि जगतजी नबोदितले मलाई मात्रै ब्यंग्य गरेर जिस्काउनु भयो— “क्या हो ! ईश्वर मानन्धरजीले तपाईंलाई निक्कै माया गर्नुहुँदोरहेछ ।” जवाफमा मैले पनि जिस्काएँ—“किन तपाईलाई आहरिस लाग्यो?” सैन्य जीवनको ब्यस्तताले गर्दा पछिल्ला दिनहरुमा जगतजीसँग प्रत्यक्ष्य भेट हुन सकेन । जहिले पनि तर मौका पाउँदा फोनमा, त्यहि अंकमालको कुरा कोट्याएर मलाई चिढ्याउनु हुन्थ्यो । जगतजीको चिढ्याई, मैले तर सधैं नै सुखद “कम्लिमेंटरी” को रुपमा लिएँ ।
जीवनको सफरमा
परिचय भयो तिमीसँग
रहरै, रहरमा
माया गाँसे तिमीसँग ।
(“म, आकाश र ताराहरु”—मायाको परिभाषा, पृष्ठ.१९)

प्रेमको परिभाषा अथ्र्याउने मेरो भागको काम होईन । निश्चित हो, यो कविताको हरफजस्तै साहित्यिक सफरमा हाम्रो भेट भयो । परिचय भयो । अगाध माया गाँसियो सायद । कवि मानन्धरको ८० वर्षिय उमेरको सकरात्मक तथा सिर्जनशील सोचलाई मैले प्रेम गरें त, कस्को के लाग्छ ! सम्मानित प्रेम गर्नलाई निर्दिष्ट आयु तोकिएको ब्यक्ति हुनुपर्छ र? त्यसैले वहाँ जिउँदो हुँदा नै वहाँलाई किन प्रेम तथा सम्मान नगर्ने भन्ने प्रसंगमा रम्फोर्ड, विकल आचार्यजीको निवासस्थानमा भएको अनेसास, बेलायत च्याप्टरका पारावारिक जमघटमा विशेषतः डा. रुपक श्रेष्ठजीले बेलायती नेपाली डायस्पोराका “आदीकवि” नै भन्छु म......त्यतिबेला ईश्वर बुवा मुसुक्क हाँस्नुभएको हिजो जस्तै लाग्छ ।

तर आज— विहानै डा. रुपक श्रेष्ठको टेक्सट म्यासेज आयो, “साहित्यकार/कवि/समाजसेवी श्री ईश्वर मानन्धर हामी माझ रहनु भएन ।” यो समाचार म स्तब्ध भएँ ।

चिनेको वर्षको गणनको हिसाबले भन्दा पनि सामिप्यताको सम्बन्धले प्रगाढ बनाउँदो रहेछ सम्बन्धहरु ।
३ वर्ष नपुग्दै बुवाको छाँयाबाट बञ्चित मैले आफ्नो सहोदर बुवाको अनुहार तथा सामिप्यता संझना गर्न कहिले पाईन । विहेको तुरुन्तै सुरु भएको प्रवासी जीवन, यदाकदा नेपाल जाँदा या वहाँहरु हामीलाई हङकङ÷बेलायत भेट्न आउनुभएको बखत मेरा ससुरा बासँगको भेटघाट तथा सामिप्यता सधैं सुमधुर तथा न्यानो छ । मेरा ससुराबा वाहेक यतिका उमेरको वुर्जुग ब्यक्तित्वसँगको मेलमिलाप, गफ मिल्ने अन्यसँग भने कमै थियो । यसरी ८० वर्षिय उमेरको हाराहारीमा पनि तन्दुरुस्त, सकरात्मक तथा सिर्जनशील सोचका कारण सबैसँग मित्रवत ब्यवहार गर्ने यी जोशिला ब्यक्तित्वसँग म अत्यन्तै प्रभावित थिएँ । त्यसकारण पनि “ई्रश्वर बुवा” लाई मैले साँच्चै प्रेम गरें ।

सोच्दछु, कसैसँग प्रेम गर्नुको मापदण्ड पनि लागू हुन्छ र ! नत्र, यो मध्यरातमा झ्यालनेर एकटक आकाश हेर्दै ईश्वर बुवालाई संझनुको के अर्थ रहन्छ र?

कसैको मृत्यु पश्चात् भंगेरे अक्षरले लेखेर पाउनु केहि छैन तैपनि, साँझ जगतजीलाई टेक्सट गरेकी थिएँ—

जगतजी,
अबोप्रान्त तपाईले, ईश्वर मानन्धरको नाम लिएर मलाई चिढ्याउनुबाट सदालाई वञ्चित हुनु’भो किनभने, वहाँ हामी माझ रहनु भएन।
तर ईश्वर बुवासँगको छोटो समयको गहिरो संझनाहरु भने आकाशका ताराहरुसँग सधैं जगमगाईरहनेछन् ।
यदि त्यस्तो हुँदो हो र, त्यति सजिलो हुँदो हो.......सधैं राति ९बजेभित्र ओछ्यानमा घुस्रन नपाउँदै निदाउने शशी दिदिले मध्यरातमा फोन गरेर किन भन्नुहुन्थ्यो—

लारा,
सुत्न सकिन हौ! टेबलमा फिंजारेर हेरिरहेकी छु—“म, आकाश र ताराहरु” ।
शुन्य, शान्त आकाशमा
जगमगाईरहेका ताराहरु
एकटक हेरिरहेको हुन्छु
ती झिलिमिली ताराहरु
एक, एक गरेर गन्न खोज्दछु
कोहि ओझेल हुन्छन्
प्रकाशविहिन हुन्छन्
भूलभूलैया जस्तो ।
(“म, आकाश र ताराहरु”— पृष्ठ.९)

कतै झिलिमिलि ताराहरु छैनन् आज । टाढा, टाढासम्म नियाल्छु । साँच्चै ओझेल छन् ताराहरु । आकाश प्रकाशविहिन छ । अनायसै यो मध्यरातमा, “म, आकाश र ताराहरु” हातमा लिएर बेपत्तासँग आकाश नियाल्नुको के अर्थ हुन्छ?

र संयोग ! यतिबेला मेरो हातमा पनि कवि ईश्वर मानन्धरको कबिता कृति “म, आकाश र ताराहरु” छ । नेपालमा बिमोचन गरेर केहि महिनाअघिमात्रै बेलायत भित्र्याउनु भएको यो साहित्यिक कोशेली महिनादिन अघि, रमफोर्डस्थित बिकल आचार्यजीको घरमा भएको अनेसास, बेलायत च्याप्टरको पारावारिक जमघटमा वहाँले हस्ताक्षर गरेर मलाई दिनुभएको थियो । वहाँले दिनुभएको अन्य किर्तिहरुसँगै यो किर्ति पनि मैले संगालेर राखेकी थिएँ । सुरुमा एकाधपटक यो नयाँ किर्ति पढें तर ध्यान दिएर अर्थ केलाउने प्रयास गरेकी थिईंन । एउटा सृष्टाको अन्र्तमनका भावनाहरुलाई मैले त्यसो त सधैं नमन गर्दै आएकी छु ।
दोहोर्याएर पढें उहि शिर्षक कबिता—
..........................
शुन्य, शान्त आकाशमा
जगमगाईरहेका ताराहरु
ईश्वर बुवा पनि अन्ततः शुन्य, शान्त आकाशमा तारा भएर जानुभयो । तपाईका सुकर्महरु सदैव हामी माझ जगमगाईरहने छ झिलिमिली ती ताराहरु जस्तै—हार्दिक श्रद्धाञ्जली !

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 3 फागुन, 2068

लेखकका अन्य रचनाहरु