रमेश विकल मेरो संस्मरणमा

- कृष्ण बजगाईं

वरिष्ठ साहित्कार रमेश विकलसँगको पहिलो भेट नै अन्तिम भेट हुन्छ भन्ने सोंचेको थिइन । नेपाली साहित्याकाशका जाज्वल्यमान नक्षत्रले यो धर्ति छाडेर गएको एक वर्ष भन्दा बढी भै सके पनि उहाँसँगको करिव ३ घण्टा बिताएको समय मेरो मानसपटलमा सँधै ताजै छ ।

उहाँका केही कथाहरु स्कूल जीवनमै पढीसकेको थिएँ । साहित्यिक पत्रपत्रिकामा नियमित छापिने उहाँका जीवनवादी तथा प्रगतिवादी कथाले मनमा ठूलो प्रभाव पारेको थियो । प्रवेशिका परिक्षा उत्तिर्ण पश्चात एकै चोटी उहाँको चर्चित उपन्यास ‘अविरल बग्छ इन्द्रावती’ पढ्न पाएँ । तत्कालीन समयको ज्वलन्त समस्या शोषण, उत्पिडन र अन्याय अत्याचारका बिरुद्ध लेखिएको यो सशक्तउपन्यासको प्रभाव मेरो मस्तिष्कमा अहिलेसम्म पनि परेको छ ।

मेरो मानसपटलमा उहाँको प्रगतिवादी लेखन र उहाँको आफ्नै शैली कहिल्यै नमेटिने गरी बसेको छ । त्यस्ता नेपाली साहित्यका मूर्धन्य ब्यक्तित्वबाट मेरो पहिलो कृति “यन्त्रवत्” लघुकथासंग्रह बिमोचन गराउने पाउने अवसर प्राप्त हुन लागेको खबरले मात्रै पनि म अत्यन्त हर्षित भएको थिएँ । त्यो अवसरको दिन थियो २०६४ पुष ८ गते ।

“उहाँलाई प्रमुख अतिथि बनाउँदा कस्तो होला ?” काठमाण्डौंमा मेरो पुस्तकको प्रकाशनदेखि बिमोचनसम्म सबै कार्यक्रमको चाँजोपाँजो मिलाउनु हुने सहृदयी मित्र साहित्यकार कुसुम ज्ञवालीजीले फोनमा कुरा राख्नु भयो । “उहाँजस्तो कथा सम्राटलाई मैले मञ्चमा पाउनु मेरो अहो भाग्यो हो” मैले भनेँ ।

फेरी कुसुमजीले भन्नु भयो –“तर निकै लामोसमयसम्म बिरामी परेर अस्पतालबाट भर्खरै डिस्चार्ज भएर आउनु भएकोले उहाँको स्वास्थ्य अत्यन्त कम्जोर छ ।” म निराश भएँ । उहाँले फेरी भन्नु भयो– “विकलज्यूले जसरी पनि आउँछु भन्नु भएको छ । पिर नगर्नुस ।” कुसुमजीसँगको यो वार्तालाप म बेल्जियममै हुँदा फोनमा भएको हो । त्यसपछि म काठमाण्डौं पुग्ने दिन गन्दै बसेँ ।

काठमाण्डौं पुगेपछि कार्यक्रमको अघिल्लोदिन फेरी मैले कुसुमजीलाई सोधे । “उहाँ आउन त सक्नु हुन्छ नि ?”

“हो सक्नु हुन्छ,” उहाँले भन्नु भयो ।

२०६४ पुष ८ गतेको दिन पनि आयो । कार्यक्रम दिउँसो गुरुकुलमा थियो । उहाँलाई लिन भावना पोखरेल(श्रीमती ज्ञवाली) ट्याक्सि लिएर उहाँको निवास गोकर्ण आरुवारी जाने हुनु भयो ।

दिउँसो २ बजे गुरुकुलको प्राङ्गणमा एउटा सेतो रंगको ट्याक्सि रोकियो । मोटो चस्मा, टोपी लाएको, एउटा सानो कदको मान्छे उत्रिनु भयो । टिभी पत्रपत्रिकामा प्रसस्त देखेकोले उहाँलाई चिन्न गाह्रो भएन रमेश विकलज्यूलाई । मैले अभिवादन गरे । र आफ्नो परिचय दिएँ । उहाँले मलाई यसरी सुम्सुम्याउनु भयो– पुत्रवत् । म आफू पनि पिताजी गुमाएको ब्यक्ति हुनाले त्यसै भावविभोर भएँ । उहाँले भन्नु भयो– “तपाई कथा लेख्ने ब्यक्ति , त्यो पनि विदेशमा बसेर भाषा सेवा गरिरहनु भएको छ । तपाईको यस्तो उत्साह देखेर आएको हुँ । डाक्टरले घरमै आराम गर्नु हिँडडुल नगर्नु भनेको छ । घरमा छोरा बुहारीले नजानु भन्दा भन्दै आएको हुँ ।” उहाँले आप्mनो स्वास्थ्यको प्रतिकुलताका बावजुद मेरो कार्यक्रममा आउनु भइ म प्रति ब्यक्त गर्नु भएको स्नेह र प्रेम देखेर म अत्यन्त खुशी भएँ । मैले पटक पटक आभार प्रकट गरीरहे उहाँलाई ।

कार्यक्रम शुरु भयो । कार्यक्रम संचालन बिबिसि नेपाली सेवाको लोकप्रिय कार्यक्रम साझा सवालका प्रस्तोता तथा युवा कवि नारायण श्रेष्ठजीले गर्नु भयो । उहाँको वाक् कला, शैली र प्रस्तुती मैले रेडियोमै सुनिसकेको थिएँ । उहाँको प्रत्यक्ष प्रस्तुती पहिलोपटक सुन्दै थिएँ ।

कार्यक्रममा रमेश विकल ज्यू, लेखक म , डा. माधव पोख्रेल, प्रा.मोहन सिटौला, आर आर डंगोल लगायतका विशिष्ट महानुभवहरु मञ्चमा आसिन हुनुहुन्थ्यो । उहाँले बिमोचन गर्ने पालो आयो । मेरो पुस्तक बेरेर राखेको रंगीन जिल्ला खोलेर सार्वजनिक गरिदिनु भयो । म त्यसबेला अत्यन्त खुशी भएँ । त्यो खुशीको सिमा ब्यक्त गर्ने शब्द त्यति बेला पाईन ।

त्यसपछि उहाँले उति नै खेर आफ्नो मन्तव्य राख्नुभयो । पहिले उहाँ पनि लघुकथा लेख्नु हुन्थ्यो रे । उहाँले आफ्नो एउटा लघुकथा हामीमाझ सुनाउनु भयो जुन मुखाग्र रहेछ । बढो चोटिलो थियो उहाँको लघुकथा ।

साहित्य, कथाकारिताका बिषयमा आफ्ना भनाई राख्दै मेरो प्रशंसाको पुल बाँध्दै हौसला प्रदान गर्नुभयो । त्यत्रो नेपाली साहित्यको शिखर पुरुषले बिशिष्ट व्यक्तिहरु अगाडी प्रदान गरेको हौसला स्वरुप नै भन्छु त्यसपछि दुई बर्षको अवधिमा अरु तीन वटा नयाँ कृति लिएर आउँन सफल भएको छु । कतै उहाँकै आर्शिबाद नै त होईन ? कहिलेकाहीं संझन्छु ।

बिभिन्न वक्ताहरुको मन्तव्य पश्चात औपचारीक कार्यक्रम समाप्त भयो । त्यस पछि चिया चमेनाको कार्यक्रम थियो । अघिल्लो दिन खाजाको डिब्बामो मिठाई, फलफुल, समोसा आदी राख्ने निधो गरी कुसुमजी र मैल राम मिष्ठान्न भण्डारमा अर्डर गरेका थियौ । खाजा ख्वाउने क्रममा उहाँ मधुमेहको रोगी भनेर त्यतिबेला अरुले भन्दा पो थाहा भो । त्यसैले मैले खाजाको डिब्बा दिदै भने –“विकल सर, यसमा मिठाई पनि छ हजुरले त खान नमिल्ने रहेछ, मिठाई छोडेर यसभित्रका फलफुल र अन्य चिनी रहित खाजा खानु पर्छ होला ।” त्यसो भन्दा उहाँले भन्नु भयो–“ए केही हुन्न । अब म कति बाँच्छु र ! म त खान्छु ।” यसोभन्दै एउटा मिठाई मुखमा हालि हाल्नु भो । म त एकछिन डराएँ पनि । मेरो कार्यक्रममा आउनु भा छ, त्यो पनि अस्पतालबाट डिस्चार्ज भएको छ–सात दिन मात्र भएको रहेछ । अब के अवगाल आईपर्ने हो ! फेरी अस्पताल जानु प¥यो भने त मलाई पो अफ्ठेरो पर्ने भो भनि डराउँदै थिएँ म । उहाँले भन्नु भो–“आ....केही हँुदैन घरमा छोराबुहारी गुलियो मिठो नखानु भन्छन् मैले त लुकेर कति खाईदिएको छु । खान छोडेर कहाँ हुन्छ ?” उहाँले यसो भन्दा मेरी मावलकी हजूरआमाको संझना भो । उहाँ पनि मधुमेहको रोगी । तर लुकेर पाएसम्म टन्न मिठाई खानुहुँदो रहेछ । पछि मामा–माईजुले थाहा पाउनु भएछ । त्यसो त मेरी आमा पनि मधुमेहको रोगी नै हुनुहुन्छ । तर उहाँ मन गुलियो पदार्थमा त्यति लालच गरेको थाहा छैन ।

विकलज्यूले मिठाई खाईदिएकाले मेरो मनमा डर भैरह्यो । केही होईजाने पो हो कि उहाँलाई ! यस्तै डरमाझ कुरा गर्दागर्दै उहाँलाई आरुबारी घरसम्म पु¥याउर्नु पर्ने ढिला हुन लागेको थियो । उहाँसगको ३ घण्टा बितेको पत्तै भएन । फेरी उहाँलाई पुर्याउन भावना म्याडम नै जानु भयो । उहाँको सहयोग प्रति म सधैं ऋणी छु ।

अब मेरो फर्कने दिन भैसकेको थियो । छोटो समयका लागि आएकोले आफन्त, ईष्टमित्रहरु सबैलाई भेट्नै नपाई हतारमा फर्किएँ । फर्किनुभन्दा अघि एकपटक फेरी विकल ज्यूसँग भेट्ने ईच्छा थियो तर नभ्याएकाले फोनबाटै बात गरेर चित्त बुझाएँ ।

यता फर्किएछि उही पुरानै यान्त्रिकी जीवनको भागदौड शुरु भो । केही समय पश्चात हरेक बिहान कम्प्युटरमा हेर्ने गरेका अखबारहरुमा अचानक उहाँ बिरामी भएको खबरहरु आउन थाले । लाग्दै थियो पहिले जसरी नै अस्पताल बसेरै भएपनि काललाई जितेर आउनु हुने छ । तर दुर्भाग्य ! यसपटक उहाँ पराजित हुनु भएछ । जुन खबरले म असाध्यै मर्माहित भएँ । हतार–हतारमा आफू संलग्न रहेको संस्था अन्तर्राष्ट्रि नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको महासचिव भएको नाताले समाजको तर्फबाट समबेदना सन्देश प्रकाशित गरें । नेपाली साहित्यका त्यस्ता महान स्रष्टा गुमाउनु पर्दा सबै साहित्यप्रेमी तथा साहित्यकारहरु दुःखीत भयौं । अनेसास बेल्जियम च्याप्टरको अध्यक्षको नाताले बेल्जियमको ल्यूभेन शहरमा तुरुन्तै उहाँको शोकसभा मनाउने कुरा साथीहरु माझ राखें । सबै राजी हुनु भयो । साहित्यप्रेमी साथीहरुको एउटा ठूलो जमघटमा उहाँको साहित्यिक योगदानको चर्चा गर्दै उहाँप्रति श्रद्धासुमन अर्पण ग¥यौ । संयोगले त्यो दिन उहाँको बाह्रौं पुण्य तिथिको दिन परेको रहेछ ।

त्यसदिन पछि भने उहाँले मलाई लगाउनु भएको ठुलो ऋणको सानो अंश तिरें कि जस्तो भयो । पुरा ऋण त उहाँले जस्तै मृत्युको अन्तिम क्षणसम्म पनि साहित्य सेवा गर्दै साहित्य लेखन जारी राखें भने तिर्न सक्छु होला ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 8 माघ, 2068

लेखकका अन्य रचनाहरु