युगकविको तुलना अरु कसैसित हुन सक्दैन

- कालीप्रसाद रिजाल

हाम्रो रिजाल परिवारमा उच्च अध्ययनका लागि काठमाडौँ आउने म पहिलो व्यक्ति हुँ । पूर्वी तराईका प्रायः सबै उच्च अध्ययनका लागि त्यसबेला भारत जाने गर्थे । त्यसमा पनि हाम्रो हजुरबुबा-हजुरआमा काशीबास गरिरहनु भएकाले मेरा काका, दाइ सबैले वनारसमा अध्ययन गर्दै आएका थिए । तर, मैले विद्रोह गरेँ । काठमाडाँैबाहेक अरू ठाउँ गएर म पढ्दै नपढ्ने भएँ । लाख सम्झाउँदा पनि कसैको केही चलेन । आखिर २०१३ सालमा म काठमाडाँै आएरै छाडेँ ।

काठमाडाँैप्रति यतिसारो मोह हुने कारण थियो- साहित्य । मैले स्यानै उमेरमा आमाको मुखबाट लेखनाथ, देवकोटा, सम, सिद्धिचरण आदि मुर्धन्य कविहरूको कविता सुनेको थिएँ । उनीहरू मेरा लागि आदर्श पुरुष थिए । काठमाडाँै मेरा लागि स्वर्गको इन्द्रपुरी थियो । मेरो माहिला काका शङ्करप्रसाद रिजाल त्यसबेला अदालतमा सुब्बा हुनुहुन्थ्यो । नक्साल चारढुङ्गेमा डेरा थियो । काठमाडाँै उत्रिएकै दिन बाहिर निस्केर पहिलो काम वरिपरिका मान्छेबाट कविहरूको निवासबारे जानकारी लिएँ सबैभन्दा नजिक बालकृष्ण समको निवास रहेको थाहा पाएपछि भोलिपल्टै म उहाँको ढोकामा पुगँे । त्यसपछि ओमबहाल पुगेर सिद्धिचरणज्यूसित भेट गरेँ । यी दुई कवि दुई विपरीत ध्रुवका मान्छेजस्तो लागेको थियो त्यसबेला । सिँगारपटार गरेको समज्यूको व्यक्तित्व कुनै नाटकको पात्रजस्तो लाग्थ्यो । संवाद पढेजस्तो उहाँको बोल्ने शैली पनि विचित्रको थियो । समज्यूको बैठकमा म खुम्चिएर बसेको थिएँ । त्यस्तो भव्य बैठक कोठा मैले जीवनमा देखेको थिइनँ । जङ्गीपोसाकका तस्बिर, भित्तामा टाँसिएका बाघ र अर्नाका जीवन्त मुख, चित्रकला कृति, सजाएर राखिएका विभिन्न कलात्मक वस्तु देेखेर म अवाक् भएको थिएँ । तर, त्यसको विपरीत सिद्धिचरणज्यूको व्यक्तित्त्व अति नै साधारण र सरल प्रतीत हुन्थ्यो । उहाँको घर र कोठा पनि सामान्य थियो । पलेँटी मारेर दरीमाथि राखिएको चकटीमा बसेको थिएँ । मैले कापीमा भएका सबै गीत, कविता गाएर सुनाएँ । बीचबीचमा दोहोर्‍याउन लगाउनुभयो । म त्यसबेला ११ वर्षको थिएँ । सायद त्यो उमेरको केटोले त्यस्ता गीत, कविता लेखेको होला भन्ने कुरामा उहाँलाई पत्यार भएन । त्यसबेला काठमाडाँैमा फाटुफुट्ट हैजाको प्रकोप चलेको थियो ।

प्रत्येक दिनजसो मान्छे मरिरहेका थिए । मलाई जाँच्ने हिसाबले होला उहाँले हैजा शीर्षकको कविता लेखेर ल्याउन भन्नुभयो । तीन दिनपछि कविता लिएर म ओमबहाल पुगेँ । मलाई पूरै कविता अहिले याद छैन । केही सुरुका पङ्क्तिहरू यसप्रकार थिए ः

ए हैजा ।
मान्छेलाई नलैजा
एउटा मान्छे नहुँदा पनि
टोल-छिमेक नै शून्य हुन्छ
रुवाबासी मच्चिन्छ
यहाँको अभाव दुःखलाई लैजा
झगडा वैमनश्यतालाई लैजा
तर मान्छेलाई नलैजा
ए हैजा ।
मान्छेलाई नलैजा

कविता सुनेर उहाँ गद्गद् हुनुभयो मलाई धाप दिनुुभयो र भन्नुभयो, ''नयाँ कविता लेखेपछि मलाई सुनाउनुहोला । जहिले जुनबेला आए पनि हुन्छ । आˆनै घरजस्तो ठान्नुहोला ।'' यो सुनेर मेरो हर्षको सीमै रहेन । मेरा लागि त्यो सबैभन्दा खुसीको दिन थियो । कसैलाई नभन्नु भनेर यो कुरा सबैलाई सुनाएँ ।

यसपछि काजीदाइसित म धेरै नजिक हुँदै गएँ । त्यसबेला काठमाडाँैमा मलाई कसैले चिन्दैनथे । गोष्ठीको खबर पनि काजीदाइबाटै पाउँथेँ र हस्याङ्फस्याङ् गर्दै सुन्न पुगिहाल्थँे । ती सङ्घर्षका दिनहरूमा सिद्धिचरणज्यूको सामिप्यले मलाई निकै ठूलो आधार प्रदान गरेको थियो । कविता सुनेर उहाँ मलाई सुझाव पनि दिनुहुन्थ्यो ।

सिद्धिचरण श्रेष्ठ बाहिर हेर्दा साधारण देखिने एक असाधारण व्यक्ति हुनुहुन्थ्यो । बडप्पन नभएको सबैसित मिल्ने उहाँको स्वभाव थियो । उहाँका सबै कविता स्तरीय छन् । सामान्य मान्छेका अनुभूति, समस्या, सुख-दुःख र जीवनका भोगाइलाई उहाँले कविताको विषय बनाउनुभयो । प्रकृति माटोप्रतिको माया र अन्तरमनको ध्वनिलाई उहाँले वाणि दिनुभयो । मलाई सबैभन्दा मन पर्ने कुरा उहाँको कवितामा पाइने स्वाभाविक, स्वच्छन्द र निर्वाध प्रवाह हो । पहराबाट छङ्छङ् गर्दै निस्केको सलिल सरिता जस्तै उहाँका कविता सहज र स्वाभाविक ढङ्गबाट अविरल बगेजस्तो लाग्छ । मैले थाहा पाएसम्म उहाँ परिमार्जन र परिस्कारमा पनि विशेष ध्यान दिनुहुन्थ्यो । तर, स्वाभाविक प्रवाहलाई कायम राखेर सुधार गर्ने भएकाले त्यसमा कृत्रिमता झल्कँदैनथ्यो । सिद्धिचरणज्यूका सबै कविता स्तरीय हुने कारण पनि यही नै हो । कोही मस्तिष्कका कवि हुन्छन् । विचार, तर्क र ज्ञानका कविता लेख्ने कोही मनका कवि हुन्छन् मनका भावना तरङ्ग र अनुभूति प्रतिध्वनित गर्ने । सिद्धिचरण श्रेष्ठज्यूमा मन र विचार दुवैको समायोजन भएको भन्न सकिन्छ । उहाँलाई प्रायः आˆना सबै कविता कण्ठस्थ हुन्थ्यो । बीचमा रोकिनुभयो भने अगाडिका केही पङ्क्ति दोहोर्‍याएपछि फेरि धाराप्रवाह पाठ गर्न सक्नुहुन्थ्यो । यद्यपि, उहाँको कविता वाचन शैली त्यति आकर्षक भने थिएन । उहाँको कविता सुन्नभन्दा पढ्न बढी आनन्द आउँथ्यो । युगकवि सिद्धिचरणको कविता लेख्ने प्रक्रिया पनि अलि भिन्दै थियो । उहाँको घरको ढोका सधैंँ खुला हुने आश्वासन पाएकाले कतिपल्ट त म कविता लेख्तालेख्दै पनि पुगेको छु । तमाखु खाँदै आˆनै सुरमा मग्न भएर कविता लेख्नुहुन्थ्यो । उहाँजस्तो एकाग्रता भएको व्यक्ति मैले आजसम्म देखेको छैन । कुनै बाहिरी क्रियाकलाप, होहल्ला या आवतजावतले उहाँको लेखनमा बाधा पार्दैनथ्यो । होहल्ला, बाह्य क्रियाकलापबीच पनि एकाग्रतासाथ आˆनो लेखन क्रिया जारी राख्न सक्ने अद्भुत क्षमता थियो । कोही आगन्तुक आएमा ऊसित भलाकुसारी गर्दै सामान्य शिष्टाचार पूरा गर्दै बीचबीचमा गफ गरेर पनि तमाखु खाँदै आˆनो काव्य सिर्जनालाई निरन्तरता दिने सक्नुहुन्थ्यो । उहाँको यसप्रकारको विशेष क्षमताबाट म धेरै प्रभावित छु ।

सिद्धिचरणज्यूले नेपाली साहित्यलाई धेरै दिनुभएको छ । उहाँको तुलना अरू कसैसित हुन सक्दैन । नेपाली काव्यको एउटा धाराको प्रतिनिधित्व गर्नुहुन्छ कवि सिद्धिचरण । उहाँले आˆनो काव्यधारालाई वैशिष्ट्यसाथ शीर्षस्थानमा पुर्‍याइदिनुभयो । उहाँ आˆना कविताहरूमा अमर हुनुहुन्छ । नेपाली साहित्य आकाशका एक जाज्वल्यमान तारा सिद्धिचरण श्रेष्ठप्रति म हार्दिक श्रद्धाञ्जलि अर्पण गर्छु ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 7 माघ, 2068

लेखकका अन्य रचनाहरु