पटाक्षेप

- विजय सापकोटा

टाउको छुट्टिएको गिँड खोल्साको देब्रे आडमा अडेस लगाइएको छ । टाउको केही तल फ्याँकिएको छ । सम्भावना यस्तो हुनसक्छ तिनीहरूले बाटोमा हिँड्दा हिँड्दै ‘अभियुक्त’लाई खोल्सातिर धकेले र ऊ भित्ताको बुट्यान समाएर उठ्न नपाउँदै आरामले छप्क्याए खसी छप्क्याएझैँ । हुनसक्छ, छुट्टिएको टाउकोलाई लात्तेभकुण्डो हाने । यो पुष्टि हुनसक्ने एउटा आधार के थियो भने गिँडदेखि टाउकोको दुरीसम्म रगत लत्पतिएको थियो ।
दोहोरो मान्छे हिँड्न नहुने साँघुरो गोरेटोभरि मान्छेहरू कोयर लागेर उभिएका थिए । यतिले पनि नपुगेर पाखाका बुट्यान समातेर ती अप्ठ्यारोसँग बुट्यान जसैगरी उभिएका थिए । खोल्साको पल्लो भित्तामा ऊ उभिएको थिये । मृत्यु अझ भनुँ यो हत्या उसको समझभन्दा बाहिर थियो । यो यति विभत्स थियो कि सामान्य संवेग भएकालाई समेत यसले तत्कालै विचलित बनाइदिन सक्थ्यो । तैपनि उसलाई भने त्यसले पटक्कै छोएको थिएन । सुरुमा त त्यो विभत्सता देख्दा उसको मानसिकता पनि विचलित नभएको होइन । ऊ त्यस्तो अकल्पनीय दृश्य देख्दा रिङ्गटा लागेर भाउन्निएको थियो । तर एक घण्टा लामो त्यस ठाउँको उभ्याइले त्यो विभत्सतासँग ऊ अभ्यस्त भइसकेको थियो र खसी काटेको समेत हेर्न नसक्ने उसको अन्तस्चेत लाशका दुई भागमा बरोबर यसरी आँखा नचाइरहेथ्यो मानौँ त्यो कोही मान्छेको लाश नभएर एउटा निर्जिव वस्तु हो ।
भीडमा चूप बस्नुको अर्थ रमिते बन्नु हो । ऊ यस्तै रमिते बनेको थियो, कसैसित बोलेको सम्म पनि थिएन । भीड साउने खहरेझैँ उर्लिरहेको थियो । चर्को कल्याङमल्याङको बीचमा उभिएर ऊ हरेक उपस्थितहरूप्रति आफ्नो दृष्टि प्रक्षेपण गरिरहेको थियो । भीडमा कोही पिलपिलाइरहेका थिए, कोही टोलाइरहेका थिए । कसैको अनुहारमा आतङ्ककको नीलो छाप स्पष्टै देखिन्थ्यो । तिनीहरू सकेसम्म कम बोलिरहेका थिए । तर त्यो मौनताले पनि केही न केही भने जनाई नै रहेको थियो । तीनजना त परतिर बेहोश नै भएर लडे रे भन्ने पनि गाइँगुइँ सुनिँदै थियो । तर यो भीडमा ऊ भीडभन्दा बाहिर थियो । अर्थात्, ऊ माथिका कुनै पनि क्रियाकलाप गरिरहेको थिएन; फगत् रमिते बनिरहेको थियो ।
उसलाई अनौठो लागेको थियो–मृत्युसँग मान्छेको अप्रत्यासित पराजय देखेर । यद्यपि यो स्वभाविक मृत्यु थिएन तैपनि ऊ दार्शनिकरूपले मान्छेको सीमाबद्धताको अङ्कन गरिरहेको थियो । कठै, नारान शिव, विचरा आदि आवाजहरूले कोलाहलसँगै निरवता छरिरहेका थिए । यी सबै किसिमका आवाजबाट बचेर ऊ भने घरि लाशको रक्तमुच्छेल टाउको हेथ्र्यो घरि भित्ताको आड लिएर पसारिइरहेको घाँटी मुन्तिरको गिँड हेथ्र्यो ।
मृतक गाउँको ‘सर्वमान्य नेता’ थियो । पहिले ऊ सर्वघोषित जनमान्य थियो पछि स्वघोषित भयो । सर्वघोषितदेखि स्वघोषित सम्मको उँधोयात्रामा उसले धेरै पण्यलाभ गरिसकेको थियो । झ्वाट्ट विचार्दा जनघोषितबाट स्वघोषितमा पुग्नु व्यक्तित्वको क्षयीकरण देखिन पनि सक्छ । तर उसको सन्दर्भमा यो गलत सावित हुन आउँथ्यो । जतिखेर ऊ जनघोषित थियो ऊ शक्तिशाली थिएन, गरीब थियो । त्यसैले ऊ आफूभन्दा माथिका नेताहरूझैँ स्वघोषित बन्न चाहन्थ्यो । यही दाउमा उसले आफ्नो सम्पूर्ण राजनीतिक आयु खर्च ग¥यो र आर्थिकरूपले पूर्ण सम्पन्न भइसकेपछि घोषणाको तयारीमा लाग्यो कि ऊ को हो ?
उसले पार्टीमा आफूले गरेको लगानीको हिसाब किताब निकाल्यो र आफू र पार्टीबीच नङमासुको सम्बन्ध भएको भावुकता ओकलेर आफ्नो पहुँच र साँसद मन्त्री बन्नेसम्मको सपना बताएपछि ऊ सर्वमान्य बन्यो । समर्थन भित्र थिएन र बाहिर विरोध पनि थिएन । किनकि राजनीति पृथकरूपमा गर्नु थियो त ऊ जत्तिकै सम्पन्न बन्नु थियो । ओहोदामा नपुगी प्रजातान्त्रिक व्यवस्थामा सम्पन्न बन्ने कुनै आधारै थिएन । त्यसैले मौन बस्नुमा कल्याण देखियो ।
र, त्यो सर्वमान्य हुनुको पीडाको सबैभन्दा भागीदार ऊ बन्यो । नेताले उसको नाममा पुस्तौनी जग्गालाई सार्वजनिक साबित ग¥यो । यसको बूताले भ्याएसम्म जोडदार विरोध जनाउको परिणामस्वरूप बाउ र बाजेको भागसमेतको कालोमोसो उसलाई दलियो र ताली बजाएर त्यसको स्वागत गरियो । मुद्दा लड्न जाने उसको हुती थिएन । विचरो सोझो थियो उसमाथि पितृभक्त । मर्नेबेलामा बाउले भनेका थिए–“बाबु, आफ्नो सोझो गरेर खानु, मुद्दामामिलामा भुलेर’नि नफसेस् ।”
पितृभक्तभन्दा पनि ठूलो कुरा त अज्ञानता र निम्छरोपनले गर्दा उसले आफूले भोगचलन गरिआएको जग्गालाई चूपचाप सार्वजनीकरण ग¥यो र सर्वमान्यको नेतृत्वमा त्यहाँ पार्टी कार्यालय बनाउने र वृक्षारोपण गर्ने कार्य सुसम्पन्न भयो । पछि गाउँमा डोजर आउने भयो । संयोगले हो वा केले बाटोको नक्शा उसकै खेतको छेउबाट तय भयो । फेरि जग्गा सार्वजनिक गर्नुपर्ने डरले बाठी पत्नीको सल्लाहले एक साँझ ऊ नेताकहाँ गयो र बाटोको ‘इस्टिमेट’ अन्तैबाट गर्न आग्रह ग¥योे । तर रक्सीले मातेर मत्थू भएको सर्वमान्य उसको कुरा सुन्ने हालतमै थिएन । अन्त्यमा रोइकराइ गरेर पाउ पक्डिने काम समेत भइसकेपछि उसले गमदारी पाराले बीस हजार रूपियाँ पाए कुरो मिलाइदिने वचन दियो । धेरै जग्गा गुमाएर बुङ्गो हुनुभन्दा त सर्त मान्नु नै उपर्युक्त थियो । त्यसैले उसले छोरीको बिहेलाई भनेर जोगाड गरी राखेको बीस हजार टक्र्यायो र प्रतिक्रियास्वरूप कसैलाई थाहा दिएमा नराम्रो हुने चेतावनीसहित ऊ घर फर्कियो ।
प्रजातन्त्रमा आर्थिक हैसियतको निमुखोपन जिउनका लागि अत्यन्तै हानिकारक र कष्टप्रद हुने यथार्थलाई झेल्दै तमाम अहम्हरू मनको कुनै कुनामा थन्क्याइदिएर बाँच्ने यत्नमा थियो ऊ । यसरी बाँच्दाबाँच्दै पनि क्रमशः उत्तीस हल्केझैँ बढ्दै गएकी छोरीको थामिनसक्नु जवानीले उसलाई निद्रामा समेत ऐँठन गराउँथ्यो । यसबाट मुक्त हुन उसले छोरीको बिहे गर्ने प्रयत्न त गरेथ्यो तर दुनियाँमा सबै केटा र तिनका नातेदार छोरीको साथमा ‘दाइजो’ नाउँको यस्तो वस्तु माग्दथे जसलाई दिने सामथ्र्य उसले कहिल्यै राखेन । यो पराजयले सधैँ ग्रसित उसलाई छोरीको हल्कँदो शरीरको भारले मनमुटुसम्मै थिचिरहेको थियो र गौँडा र मोड ढुक्नेहरूका दर्जनौ गिद्दका जस्ता आँखाले छोरीका साटो आफैँ लखेटिएर उमेर नपुग्दै बुढिएको थियो । उता छोरीको जोवन भने बाउको पीडालाई बेवास्ता गरी द्रूततर गतिमा उँभो लाग्दै थियो ।
हुँदाहुँदा यस्तो दिन पनि आयो कि छोरी धेरै समय घरबाहिरै हुन थाली–मेलापात या यस्तै केही वाहानामा । घरबाहिर छोरी निस्कने बेलामा ऊ आफ्ना आँखालाई खबरदारी गराउन छोरीको निधारमै टाँसेर पठाउँथ्यो तैपनि कसोकसो मोड र गल्छेडाहरूमा छोरीका आँखालाई उसले खबरदारी गर्न सकेन । छोरी घरमा कम र बाहिर धेरै बोल्ने, हाँस्ने लगायतका क्रियाकलाप गर्न थाली । घरमा आँगनको डिलमा बसेर किन हो एक्लै टोलाउने, एक्लै हाँस्ने, लामो सास फेर्ने यस्तै यस्तै क्रियाकलापहरू गर्न थाली– शृङ्गारिक काव्यकी विप्रलम्भा नायिकाले जस्तै । अनि त यस्तो स्थिति आयो कि बाबुचाहिँ घण्टौँ कराइराख्ने र छोरीचाहिँ मौन सुनिराख्ने !
एकदिन छोरीले ‘वाक्क’ गरेर बाबुचाहिनेका सबै प्रश्नहरूको जवाफ दिइहाली । आमाचाहिँ डाँको छाडेर रुन थाली, ऊचाहिँ टाउको थिचेर बस्यो । रिस उठिरहेको थियो । उसले कसेर छोरीलाई दुई थप्पड लगाइदियोे तर उसले चूपचाप त्यसलाई पचाई ।
परिवारका सामु दुई विकल्प थिए–छोरीको आत्महत्या वा दान । दान गर्नलाई ग्रहणकर्ताको नाम थाहा हुनु जरुरी थियो । तर छोरीले यस्तो पात्रको नाम लिइदिई जोईपोइ दुवैले टाउको समातेर सुस्केरा हाल्नुबाहेक अर्को उपाय थिएन । सो पुरुष अरू कोही नभएर सर्वमान्यकै लायकी पुत्र थियो ।
सर्वमान्यकहाँ यो कुराको सुनुवाइ हुने सौभाग्य त सोचिएको थिएन । तैपनि ऊ जानै पथ्र्यो, गयो, जाहेर ग¥यो, आग्रह अनुनयका समय प्रचलित हरेक भावमुद्राहरूको कुशलतापूर्वक प्रदर्शन पनि ग¥यो । जवाफमा सर्वमान्य हाँस्यो र भन्यो– “हेर्, रूखमा पाकेको फल मेरो छोराले टिपेर खाइदियो, उल्ले नटिप्या भए कुहेर झथ्र्यो । यसैमा खुशी हो ।”
जवान छोरीको बाउले सहन नसक्ने कुरो थियो यो । उसले पनि सकेन । तर समस्या यो थियो कि सर्वमान्यको छोरोचाहिँ बिदेश पुगिसकेको थियो प्लेन चढेर । ऊ दाबी पनि गर्न सक्दैनथ्यो तैपनि रिसले दाह्रा किटेर करायो – “गरिपको नि इज्जत हुन्छ... ... ।”
“नापियो... !” सर्वमान्यले अनुहार नै अश्लील बनाएर भन्यो– “दशजनासँग सल्केकी तेरी छोरीले तँ तीननाङ्गेको इज्जत त पेटीकोटभित्र छोपिसकेकी छे... ...।”
“बोल्न पाएँ भन्दैमा धेरै नबोल... .... ।” उसको बोलीभन्दा आँसु छिटो झर्न लागिरहेको थियो ।
“म समाजका अगाडि बोल्छु, जिल्लाँ रिपोट गर्छु... ...।”
“जा जा, जे जे नापे पनि हुन्छ ।”
जीवनमा पहिलोपटक आक्रोशित भएर गुनासो पोख्न ऊ विपक्षी नेताकहाँ गयो जसलाई अघिल्लो चुनावमा उसले भोट दिएको थियो । त्यो नाताले पनि उसलाई आड पाउने आशा थियो । तर भरोसा नाउँको चिज उसले त्यहाँ पनि पाएन । विपक्षी नेताले उसलाई छोरी कसैलाई भिराएर पठाउने सल्लाह दियो ।
अनुनय–विनयका चौसठ्ठीवटै कला प्रस्तुत गर्दा पनि हात लागी शून्य भएपछि ऊ रन्थनिएर घरतिर आयो । स्वास्नी छोराछोरी सबै शोकसभाको मुद्रामा बसिरहेका थिए । ऊ सरासरी छोरीका अघिल्तिर पुग्यो र उसको कपाल भुत्ल्याएर जमिनमा गाड्दै भन्यो–‘रण्डी...! मार्दे हाम्लाई नि ...।’ ढोकाको गजबारको शस्त्रास्त्र प्रयोग गर्ने उद्वेलन बढिरहेको थियो तर रुदै स्वास्नीले रोकी ।
‘मर्न किन सक्दिनस् ए रण्डी ! यो पापको अनुहार बोकेर किन बाँचिरहन्छेस् हाम्रा अगाडि ?’
आँखाबाट बलिन्द्रधारा आँसु झारेर खुट्टा बजार्दै ऊ आफ्नो ओछ्यानमा गएर घुस्रियो ।
छोरीचाहिँ आफ्नो जीवनमा पहिलोपटक आज्ञाकारी देखिई अर्थात्, बाउचाहिँले आज्ञा दिएको चार पाँच घण्टा पनि नहुँदै उसको भनाइलाई आत्मसात गरी ।
छोरी त मरेर गई र सँगसँगै एउटा उपहार पनि छाडेर गई । चिलाउनेको रुखमा झुण्डिएको उसको लाशको महान् रमिते बनेको सर्वमान्यले ऊतिर कटाक्ष गरेर पिच्च थुक्दै भन्यो–“कुलंघार्नी कसको पाप बोकेर मरी !” सर्वमान्यको यो महान्वाणी सँगसँगै रमितेहरूको ‘कठै’ को सहभाव क्षणभरमै घृणामा परिणत भयो । केही बोल्न सकेको थिएन ऊ । बरु सर्वमान्यलाई धन्यवाद दिनुपर्ने स्थिति पो देखियो– ‘धन्न, आत्महत्यालाई हत्या बनाएर उसलाई हत्यारो साबित गरिदिएन उसले ।’
अहिले झलक्क सम्झिन्छ ऊ मान्छेहरू यसैगरी नै कोयर लागेका थिए । यद्यपि रुनेधुने क्रियाकलाप उसका स्वास्नी छोराछोरीले मात्रै गरेका थिए । सबै कौतूहलतापूर्वक छोरीचाहिँको लाशलाई हेरेर अनेकौँ किसिमका लख काट्न अग्रसर थिए । ...र यो ...यसका कुटिल आँखा ऊतिर हेरेर मुसुमुसु हाँसेका थिए ।
उसको जिउ एक्कासी तातेर आयो । थाम्नलाई उसले कटकटट दाँत किट्यो ।
“ए आततायी हो ! किन मा¥यौ नि निहत्था मान्छेलाई ? पापीहरू गाउँको सेवक, गाउँकै बत्ती नै निभाइदियौ होइन ?” दुई पहाडको बीचमा ठोक्किएर आएको यो आवाजले उसको ध्यान आकर्षित ग¥यो । उसले जिज्ञासाले आवाज आएतिर हे¥यो–विपक्षी नेता भुइँमा लडिबुडी खेल्दै थियो र सकेसम्म बढी आँसु झार्ने प्रयत्नमा थियो । यो मान्छे त्यही थियो जसले त्यो ‘बत्ती’लाई आफैँ निभाउन खोजेको थियो । पोहोरको चुनावमा ऊ खुकुरी बोकेर सर्वमान्यका अगाडि एउटा योद्धाको रूपमा उभिएको थियो ।
घृणाले फनक्क टाउको फर्कायो उसले । आँखा फेरि त्यही लाशमाथि गएर रोकिए ।
उसलाई तथानाम भन्ने ती ओठै गायव थिए रगतले पुरिएर । कुटिलताले हेर्ने आँखा अनौठोसँग च्यातिएका थिए त्रासले । हेर्दाहेर्दै उसलाई हाँसो पनि उठ्यो–सिँहजस्तै गर्जने त्यो मान्छे आज अरूद्वारा मारिएर पसारिएको छ ।
“पापको फल !” लाशतिर हेर्दै घृणाले पिच्च थुक्यो उसले । फेरि त्यतिले पनि चित्त बुझेन । हेरी नै रह्यो उसले ।
“यसलाई त मैले नै उहिल्यै मार्नुपर्ने ।” कहाँकहाँबाट यो विचार उसको मनमा आयो । उसले लुत्रुक्क परेको त्यसको गिँडलाई हेरेर सोच्यो– “हो, भूल भएछ यो अपराधीलाई त मैले पो मार्नुपर्ने ।”
उसलाई आफूले यो कार्य सम्पन्न गर्न नसकेकोमा पश्चाताप लागेर आयो । यसलाई कस्तो पो मान्छेले मा¥यो होला ? उसले कल्पना गरिहे¥यो । कल्पनामै त्यसलाई मार्नेप्रति उसमा आह्रीसे भावना जाग्यो । ऊ आफ्नो अधिकार हनन भएकोमा क्रूद्ध भएर दुई पाइला अगाडि सा¥यो र त्यसको उटिट्टिएको टाउकोनिर उभियो । घाँटीका मासु र नली देखिन्थे । प्रकृति हेर्दा तीनचार पटक हानी छिनालिएको देखिन्थ्यो । उसले गाउँको अम्बरेले खसी छिनालेको सम्झियो । अनि... उसले आफैँले त्यसको गर्धनमाथि खुकुरीले छप्काएको सम्झियो ।
‘मैले नै यसलाई अम्बरेले खसी छिनाले झैँ छिनाल्न पाएको भए !’ कल्पनामै ऊ रोमान्चित भयो र एकपटक ‘खुक्क’ गरेर हाँस्यो । शोकको सानोतिनो खोल्सी नै बगेको बेला निस्किएको यो बेमौसमी हाँसोले सबैको आँखा ऊतिर शंकास्पद दृष्टि दिलायो । तर उसलाई भने कसैप्रति पनि वास्ता थिएन ।
ऊ भुइँमा टुसुक्क चाक नअड्याई बस्यो र निहुरिएर लाशको घाँटी हेर्न थाल्यो– “कताबाट काट्यो होला ?... अगाडिबाट कि पछाडिबाट कि... ।” एक्कासी उसलाई टाउकाको पछाडिको भाग हेर्न मन लाग्यो र उसका हात अनायासै त्यतातिर बढे ।
“ए, नछोऊ...।”
“ए, छुन नदेऊ त्यहाँ...।”
“त्यो मान्छेलाई त्यहाँबाट हटाऊ ।”
उसले आफ्नो यत्नलाई अगाडि बढाउँदा बढाउँदै तीनचारवटा आचारसंहिता उसका अगाडि फुत्रुक्क झरे । उसलाई त झन् रिस पो उठ्यो । आफूले गर्नुपर्ने काम अरूकसैले गरिदिएर उसको अधिकार हनन गरिदिएको छ... त्यति भएर पनि अब हेर्न समेत बन्देज ?! जीवनमा सबैभन्दा बढी आक्रोशित भयो ऊ । उसलाई सबै मान्छेलाई खुकुरीले छपछप काटेर तिनका टाउकाको लात्ते भकुण्डो खेलूँ झैँ लाग्यो । ऊ जुर्मुराएर उठ्यो र रिसको झटारोले भीडलाई हानी पठायो । भीडका आँखा उसलाई टुलुटुलु हेरिरहेका थिए । उसलाई भने ती सारा आँखाले आफ्नो नामर्दीपनलाई गिज्याइरहे झैँ लाग्यो ।
रिसको पारो झन झन माथि चढ्यो । शरीरभरि तातो सल्बलायो । नशाहरूमा रगत छाल उठाउँदै प्रवाहित भएको उसलाई महसुस भयो । मुटु जोड जोडले ढुकढुक गर्न थाल्यो । भीडका मान्छेहरू कमिलाका छरिएका किरिङमिरिङ देखिन थाले । उसले अब आँखा देख्न छाड्यो । खाली आँखा अघिल्तिर एउटै कुटिल अनुहार मात्र आइरह्यो । एक्कासी उसले कसेर एक लात टाउकोमाथि बजा¥यो , टाउको उछिट्टिएर कान्ला तल झ¥यो ।
“ए... समात् त्यसलाई...।”
मान्छेहरू एक्कासी किन बहुलाझैँ चिच्याए उसले पत्तो पाएन । तर जब कसैले उसको कठालोमा च्याप्प समात्यो ऊ अतालिन पुग्यो । सबै उसलाई छोप्दै कुदे । न्वारानदेखिको बल लगाएर ऊ जबर्जस्ती सबैलाई घँचेट्दै कुद्यो । ऊ अन्धाधुन्द कुद्यो, कसैलाई नहेरिकन । उसको मुटु खलाँती जस्तै भइरहेको थियो । शरीरको तातो खलखलती बगेको पसिनामा मिसिएर ऊ आफैँलाई हुत्याएर लैजाला झैँ भइरहेको थियो । तैपनि ऊ कुद्यो ।
भीरपाखा सबै उसको पछिपछि उसलाई लखेट्दै आइरहेका थिए । मान्छेहरूका अनौठा चिच्याहटले उसलाई छुँलाछुँला झैँ गरेर लखेटिरहेका थिए ।
अन्त्यमा, ऊ थाकेर लड्यो । कसैले उसको हात समात्यो । उसलाई कुनै गह्रौँ चीजले थिचेझैँ भयो । अचानक उसमा ठूलो शक्ति उत्पन्न भयो र त्यो मान्छेलाई जोडले घँचेटिदिएर ऊ आँखा चिम्लिँदै त्यो डरलाग्दो पहराबाट हामफाल्यो । उसलाई आफ्नो पछिपछि पहरो पनि हाम फालेझैँ लाग्यो । त्यसपछि के भयो उसले थाहा पाएन अर्थात् थाहा पाउनु नै परेन ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 पौष, 2068

लेखकका अन्य रचनाहरु