सबै भुलेछु

- श्रवणकुमार ढुंगाना

एक दशकपछि
डम्म हुस्सुले ढाकेको
विदाको दिन
शिशिरको विहान
आज
अहो, कहाँबाट फेरि
यहिंनेर
भेट हुन पुग्यो हाम्रो !

तिमी त मोटाएर
मेरा आँखामा नअटाउने भइछौ
एकछिन रोकिएर
टुक्रा, टुक्रामा हेरें तिमीलाई
तिमीले मलाई हेरे जस्तै ।
तिमी मुस्कुरायौ
छेवैको बगैंचामा पूmल मुस्कुराए जस्तै
( हो त साँच्ची तिम्रो मुस्कान त फुलको फक्राई जस्तै छ नि !) ।
एक दशक पछि
फेरि,
यहाँबाट फुलको बासना आयो
अहो, मैले त फुलको वासना पनि बिर्सेछु
हुस्सुले ढाकेको तराईको त्यो चिसो विहान
स्यू– स्यू, स्यू–स्यू...... काम्दै आइरहेकी तिमी............
आज त तिमीलाई समाउने हातहरू पनि रहेछन्
आज त तिमीले समाउने हातहरू पनि रहेछन्
त्योे बेलाको तिम्रो तातो हातको याद र
कुहिरोको गन्ध आयो
अहो, मैले त तिमीले झैं कुहिराको गन्ध पनि बिर्सेछु

टाप लगाएर
घोंडाको चालमा
(यो बाटो
फलामको पाता भएको भए
उहिल्यै प्वाल परिसक्थ्यो !)
अफिस र घर
घर र अफिस गर्दै
हिसाब भुल्ने डरले
ग्राहकसँग हाँस्न पनि नभ्याएको
बनियाँ जस्तै !
स्कुलको फिस
डेराको भाडा
घडेरीको रिन
..... ....... .......
हँुदै
दरवारको रंग
गाडीको मोडल
श्रीमतिको गहना .........
फेर्दै,
दाईँमा नारिएको गोरुझैं
हिंड्दा हिंड्दै
अहो, मैले त तिमीले झैं विहानीको रंग पनि भुलेछु !
अधबैसे अनुभव र विदाको उमंग पनि भुलेछु !
भुलेछु — चिसो हावाको स्पर्श
माटोको गन्ध
प्रेमको सुवास
निश्चल मुस्कान
मायालु बोली
र खुसीको आँशु पनि !
भुलेछु — सबै सबै
पैसाले किन्न नसकिने
तिमीले जस्तै,
— सबै भुलेछु ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 21 पौष, 2068

लेखकका अन्य रचनाहरु