क्रान्ति र जनताप्रति समर्पित कवि ‘किसान’

- नरनाथ लुइँटेल

अंशबन्डा भागबन्डा यसैमा छ शंका
मेरो देश बन्ने हो कि लेवनान र लङ्का
झगडाले सीमा नाघ्यो देशै अन्त दगुर्छ कि
यो देशको सगरमाथा अर्कैले पो भकुर्छ कि ।

देशको पछिल्लो अवस्थाको यस्तो चित्रण गर्दै आशङ्का र चिन्ता अभिव्यक्त गरिरहने देश र जनताका साँचा कवि केवलपुरे किसानको २०६८ साल असोज २१ गते साती साढे १० बजे देहान्त भयो । साहित्यकार, राजनीतिज्ञ, पत्रकार र आफन्त जनहरूको अपार उपस्थितिमा असोज २२ गते बिहान आर्यघाटमा उहाँको अन्तिम संस्कार गरियो । केही समय अघिदेखि नै मिर्गौलाको समस्याबाट उहाँ पीडित हुनुहुन्थ्यो । ८५ वर्षीय टेक्न लागेको बृद्ध उमेरमा दोस्रो मिर्गौलाले पनि काम गर्न छोडेपछि उहाँको बेलाबेला पिसाव बन्द हुने गरेको थियो । पछिल्लो पटक पिसाव रोकिएपछि अस्पताल भर्ना भई सघन उपचारकै क्रममा ललितपुरस्थित बिएण्डबी अस्पतालको बेडमा उहाँको अवसान भएको हो ।

झलनाथ खनाल, माधवकुमार नेपाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, केशव बडाल, सीपी मैनाली, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, नवराज सुवेदी जस्ता कम्युनिष्ट राजनीतिका हस्तीहरू पशुपति आर्यघाट पुगेर कवि किसानप्रति हार्दिक श्रद्धा व्यक्त गर्नुभयो । तर उहाँ जीवित रहँदासम्म राज्यले उहाँप्रति कुनै सम्मान प्रदान गरेको देखिएन । तथापि ८५ वर्षको यति लामो कालखण्डमा अनवरत निष्ठामा रही कलमको माध्यमबाट राष्ट्रको लागि विशिष्ट योगदान अर्पण गर्नुहुने स्रष्टा किसानलाई मृत्युपछि मात्रै यसरी सम्झनु र श्रद्धा गर्नु न्यायोचित हुन्थ्यो र ? त्यसो त स्वयम् कवि किसानले भन्नु भएको थियो–
मरेपछिपछि श्रद्धाञ्जली सबै दिन जान्ने
बाँचुन्जेल दुख पर्दा राँँगाले झैँ हान्ने
अब यस्तो परम्परा नदेहोरिए हुन्थ्यो ।
यो नेपाली साहित्यले सेतो हिमाल छुन्थ्यो ।

कवि केवलपुरे किसानले धेरै गोष्ठी र समारोहहरूमा यी पङ्क्तिहरूको उच्चारण गर्दा अपार ताली पाइरहे पनि उहाँले नचाहेको यस्तो परम्परा दोहरिन भने छोडेको थिएन र छैन पनि । स्वयम् उहाँ समेत त्यही परम्पराको सिकार हुनुभएको सर्वत्र अनुभूति भइरहेको छ ।
‘मन्त्रीमण्डल गठन गर्न पुग्छन् यिनै दिल्ली
नेपालको शासन गर्ने नेहरूका बिल्ली ।’
(‘किसान हो’, २००९)

२००७ सालको राजनीतिक परिवर्तनपछि बनेको सरकार जनताको चाहना बमोजिम चल्न नसक्नु र भारतले ठोकेको मादलको तालमा नाच्नु दुर्भाग्यपूर्ण हो भन्ने आशय व्यक्त गरिएको माथिको यो गीतिटुक्रा हो कवि केवलपुरे किसानको । २००९ सालमा प्रकाशित ‘बाघ आयो’ सङ्ग्रहमा सङ्कलित ‘किसान हो’ शीर्षकअन्तर्गत यी पङ्क्ति परेका छन् । झण्डै ५८ वर्षअघि कवि किसानले देखेको नेपाल र भारतबीचको राजनीतिक सम्बन्ध र आज हामीले देखिरहेको राजनीतिक सम्बन्धमा कुनै तात्विक भिन्नता छैन । देशमा भएका पछिल्ला केही घटनाहरू नै काफी छन् कि कुटनीतिक मर्यादाका आधुनिक परिभाषा समेतलाई कुल्चिँदै भारतीय सरकार नेपालमाथि दादागिरी गरिरहेको छ । अनि नेपाल सरकार एकदमै निरिह बनेर त्यो दादागिरीलाई चुपचाप सहिरहेको छ । के अहिलेको नेपालको स्थित पनि यस्तै छैन र ?ः–
‘जर्मनी र जापानको साता खाने हामी,
मलाया र हिन्द–चीनमा लाखौँ कटाइरेछ,
तिनैलाई झिका भन्दा विदेशीलाई ल्याउँछ
भारत सर्कार मादल ठोक्छ नेपाल सर्कार नाच्छ ।’
(किसानको बिलौना, २००९)

यति लामो कालखण्डसम्म सार्थक रहने कविता तथा गीत सिर्जना गर्ने कवि किसानको जन्म वि.सं. १९८३ साल चैत २९ गते धादिङको केवलपुरमा भएको हो । न्वारनको नाम देवीप्रसाद पौडेल भए पनि केवलपुरे किसानका नामले उहाँ हामीबीच परिचित हुनुहन्छ । सानै उमेरमा आमा र बुबाको देहान्त भएका किसानलाई जेठाबा र जेठीआमाले हुर्काएका हुन् । केवलपुरको सेरोफेरो बनपात गर्ने र गाईबाख्रा चराउने गर्दै बाल्यवयसँगै सामान्य साक्षर जेठाबाले उहाँलाई अक्षर चिनाएका थिए । उनी टुहुरो किसानलाई गाउँघरमा आतेपाते गर्ने पुरेत बनाउन चाहन्थे । बिहान बेलुका घाँसदाउरा, लेकबेँसी गर्दै भए पनि पंडितपौवामा त्यतिखेर खुलेको सामान्य भाषा पाठशाला धाउँदै रुद्री, चण्डी, लघुकौमुदी घोक्ने काम गर्नुभयो । त्यतिले मात्रै पुरोहित बन्न नसक्ने बुझेपछि उहाँलाई कान्तिपुर सहरले तान्यो । ठूलाबासँग सल्लाह नै नगरी एक प्रकारले भागेर उहाँ १९९८ सालमा राजधानी पस्नुभयो ।

राजधानीले पनि अचिनारू बाहुन ठिटोलाई त्यति सजिलै कहाँ माया ग¥यो र । सुरूका केही वर्ष बाह्र÷तेह्र ठाउँमा भान्से बसेर अध्ययनलाई अगाडि बढाउनुभयो । २००० सालमा प्रथमाको परीक्षा उत्तीर्ण गरेपछि भने छात्रवृत्तिसहित संस्कृत छात्राबासमा बसेर अध्ययनलाई निरन्तरता दिने अवसर उहाँले पाउनुभयो । त्यो बेलासम्म नेपाली जनतामा राणाविरोधी चेतनाले फड्का मार्न थालिसकेको थियो ।

संस्कृत भाषा र साहित्यको औपचारिक अध्ययनले किसानमा एकातिर साहित्यिक अभिरुचि पैदा गरिदिएको थियो भने राजनीतिक आन्दोलनको जोडले जागरण पनि पैदा गरिरहेको थियो । छात्रावासमा बसेर अध्ययन गरिरहेका छात्रहरूमा समेत त्यो जागरणले राम्रैसँग छोइसकेको थियो । त्यसैको परिणामस्वरूप नेपाली विध्यार्थीहरूको पहिलो ऐतिहासिक आन्दोलन– ‘जयतु संस्कृतम् छात्र आन्दोलन’को आरम्भ भयो । २००४ को त्यो छात्र आन्दोलनमा कवि किसान पनि सरिक हुनुभयो । राणाहरूले आन्दोलनलाई दमन गर्दै निकै ठूलो सङ्ख्यामा विध्यार्थीहरूलाई देशनिकाला गरे । कवि किसानसहित छात्रावासका थुप्रै छात्रहरू देश निकालामा परे । केही दिन कालमोचनघाट कुरेर उहाँ कासी बनारस पुग्नुभयो ।

संस्कृत छात्रावासमा रहँदै छन्दोबद्ध कविता सिर्जनातिर अभिमुख किसान वनारसमा महाकवि देवकोटा र युद्धप्रसाद मिश्रजस्ता कवि प्रतिभाहरूसँग चिनजान र सम्पर्कमा पुग्नुभयो । देवकोटाको मुनामदनबाट अत्यधिक प्रभावित किसान मुनामदनकै जस्तो लोकलयमा गीत र कविताहरू सिर्जना गर्न थाल्नुभयो । वनारसबाट २००५ सालमा प्रकाशित ‘युगवाणी’मा ‘आव्हान’ शीर्षकमा छापिएको कविता नै उहाँकोे पहिलो प्रकाशित रचना हो ।

२००७ सालको क्रान्तिले नेपाल र आम नेपालीको आकाङ्क्षालाई सम्बोधन गर्न नसकेको देखी कविको अन्तस्करणमा सल्किएको आक्रोशको आगो यस्तो छ ः–
खेल्छन् गुण्डा पौँठेजोरी
दिउँसै लाग्ने डाँका चोरी
गड्याङ–गुडुङ भो पुग्ने दिल्ली
सात सालको क्रान्ति सिल्ली ।
(‘भुत्रो कविता’, २०१२)

ठेट तथा झर्रो र अनपढ गाउँलेहरूले पनि बुझ्न सक्ने भाषामा लेख्न रुचाउनुहुने कवि किसानको लेखनी दुःखी–गरीव जनताका समस्या, सरकारी बेथिति र रुढीबूढीको चित्रण गर्दै सामाजिक जागरण जगाउनेतर्फ केन्द्रित रहेको छ । बाहुनले हलो जोत्नुहुँदैन भन्ने सामाजिक कुसंस्कारका विरूद्ध २००६ सालमै लामिडाँडा केवलपुरमा हलो जोतेर तत्कालिन ब्राह्मण समाजमा ठूलै हल्लीखल्ली मच्चाउनुभएको थियो उहाँले । साँचो प्रजातन्त्र, विदेशी थिचोमिचो, दिल्ली संझौतामा नेपाली नेताहरूको घुँडा टेकाइ र संझौताका विरूद्ध जनताको आक्रोश, नेपालमा भारतीय सरकारको हेपाहा पवृत्ति र दबाव, २००७ सालको क्रान्ति अधुरो रहेकामा चिन्ता र अर्को क्रान्तिको आवश्यकता परेको जस्ता राजनीतिक विषयमा किसानको ध्यान बढ्ता तानिएको देखिन्छ । ‘बाघ आयो’ (२००९), ‘नेपाल नछो’ (२०१०), ‘समातेर पछार’ (२०१२), ‘छिः छिःः’ (२०१५), ‘सङ्घर्षको ठीक गर’ (२०१६) जस्ता उहाँका कृतिहरूमा उपर्युक्त भावभूमि समेटिएका कविता र गीतहरू सङ्कलित छन् ।

जनताले परिश्रमको मूल्य पाउनुपर्छ, जनताकै साँच्चा प्रतिनिधिले शासनको अधिकार पाउनुपर्छ, दुःखी–गरीबको जुनी फेरिनुपर्छ, आम नेपालीमाथि सामन्तको हैकम र शोषण समाप्त हुनुपर्छ भन्ने प्रगतिवादी चिन्तन र विचार उहाँका रचनाहरूमा व्यक्त भएको छ । तथापि नेपालको इतिहास कवि किसानले सोचेजस्तो वा आम नेपालीले चाहेजस्तो दिशामा गतिशील हुन पाएन–सकेन । पहिलो निर्वाचित भनिने सरकार पनि प्रजातान्त्रिक हकअधिकारलाई संस्थागत गर्नेतर्फ उदासीन रही दलीय स्वार्थ, पद र प्रतिष्ठा प्राप्तिको होडबाजीमा रुमलिँदै गइरहेको अवस्थामा राजाद्वारा २०१७ सालमा फौजीबलको प्रयोग गरी पञ्चायती निरङ्कुशता लादियो । देशको हावापानी र माटो सुहाउँदो भनिएको पञ्चायती तन्त्रप्रति पनि किसानले कवितात्मक धावा बोलिरहनुभयो ः
पैसाको भरमा चुनाव जितिने पञ्चायती तन्त्र यो
ठूलाको गुणगान क्यै त नगरे पञ्चै पनि हुन्छ को ?
सुन्दा भाषण भइरहेछ सबथोक् हेर्दा सबै निस्फल
गाऊँचाहिँ त झन् अघोर चुसियो केको हुनु झल्मल ?
(‘मान्छे हो उठ’, २०३८)

निरङ्कुश पञ्चायती शासनको विपक्षमा बोल्ने जो कसैलाई पनि अराष्ट्रिय तत्व, व्यवस्थाविरोधी र विदेशी तत्वको आरोप लगाएर हत्या गर्ने, पक्राउ गरी जेलमा थुन्ने, अमानवीय यातना दिने गरिएको एकदमै प्रतिकूल परिस्थितिमा पनि कवि किसानको कलमले पञ्चायती निरङ्कुशतालाई एकताबद्ध भई झम्टन आव्हान गरिरह्यो ः
खर्चैखर्च बढेर मानिस अहो घोप्टो परी रून्छ रे
धेरैले दश–आठलाई सहजै ङ्याकिन्छ ङ्याकिन्छ रे
धेरै मर्नुछ क्रान्ति छैन सजिलो हेरेर एताउता
मान्छे लाम कसेर झम्टिन सके टिक्तैन यो टिक्नता ।
(‘टिक्दैन है टिक्नता’, २०३९)

अन्ततः २०४६ सालमा नेपाली जनताको एकताबद्ध भम्टाइको परिणामस्वरूप पञ्चायती निरङ्कुशता समाप्त भयो । तर नेपाली जनताको जीवनदशामा खासै परिवर्तन आउन सकेन । प्रजातन्त्रको पुनप्र्राप्तिमा अत्यन्त हर्षित हुनुभएका कवि किसानको मन विस्तारै कुँडिँदै गयो । यसपछिका रचनामा पनि उहाँले देख्नुभएको अर्को क्रान्तिको सपना विपना नहुँदै तुहिएको कटु अनुभवसँगै क्रान्ति र परिवर्तनको राप पोखिन छोडेन । क्रान्ति र प्रगति पक्षधरहरूको बीचमा एकता कायम हुनुपर्ने, मुखले प्रजातन्त्रको ओठेभक्ति गर्ने तर व्यवहारमा चरम व्यक्तिवादी चरित्र प्रदर्शन गर्ने, निर्वाचन जितेर राजधानी पसेपछि गाउँ बिर्सने र जनताका पिरमर्काको वास्तै नगर्ने नेताहरूको प्रवृत्तिप्रति खेद व्यक्त गर्दै कविता कोर्न कविले छोड्नुभएन । २०६१–६२ को दोस्रो जनआन्दोलनको पृष्ठभूमि तयार गर्न समेत उहाँका कविता सिर्जनाको भूमिकालाई कम आँक्न सकिन्न ।

कवि किसानको व्यक्तित्व र कविताकलाका बारेमा मोदनाथ प्रश्रितले गर्नुभएको मूल्याङ्कन यहाँ स्मरणीय छ– “कविले जनताका सुन्दर भावी सपना, लोकतन्त्र, समाजवाद र साम्यवादका सुनौला आकाङ्क्षाहरूसित आफूलाई गाँसेर युवा उमेर बिताउनुभएको छ । लोभ, लालच, सरकारी नोकरी, पद, पदक, विभूषण, वृत्ति, प्रज्ञा प्रतिष्ठान, रेडयो नेपाल आदि कुनै कुराले उहाँलाई विचलित पारेका छैनन् । सादा रहनसहन, वेसभूसा, रसिलो, रमाइलो, सरल सहज जनबोली उहाँले अँगाली रहनुभएको छ । रसिला, रमाइला, हँसिला, फरासिला र व्यवहारिक कवि आफ्ना गीत कविता आफैँ गाएर आज पनि हजारौँ जनतालाई पुलकित पार्न, जुरूक्क उठाउन र नचाउन सक्नुहुन्छ । ....चिन्तन, सिर्जन र व्यवहारमा समेत समरूप भएर जनताको सपना र भविष्यनिम्ति ६२ वर्षको जीवनयात्रा गरिसकेका कविको जीवन जनताको अमूल्य निधि हो ।” (‘केवलपुरे किसानका गीत र कविताहरू’ (२०४५) नामक कृतिको भूमिकाबाट ।)

‘केवलपुरे किसानका गीत र कविताहरू’– २०४५, ‘बोको खस्यो’ कवितासङ्ग्रह– २०४८, ‘शङ्कैशङ्का’ कवितासङ्ग्रह– २०५४, ‘केवलपुरेका आन्द्राभुँडी’– २०४८ (कविताको सुन्ने चक्का), ‘आँसुको पोखरी’ शोककाव्य– २०५८ आदि उहाँका प्रकाशित अन्य कृतिहरू हुन् । २००९ सालमा प्रगतिशील लेखक सङ्घ नेपालको स्थापनामा श्यामप्रसाद र भवानी घिमिरेसँगै सक्रिय कवि किसान नेपाली साहित्यको प्रगतिवादी आन्दोलनका सिङ्गै इतिहास हुनुहुन्छ । समयको कालखण्डमा एकपटक आन्दोलनका अगुवा बनेकाहरू विचारबाट विचलित भएका छन् । बाटो छोडेका छन् । आत्मसमर्पण गरेर कुशासनको स्तुतिगायक समेत बन्नपुगेका छन् तर किसानको आस्था कहिल्यै गलेन, लत्रिएन । बरू शिर ठाडो पार्दै उहाँ हामीलाई भनिरहनुभएको छ–
मसँगैका कति बिग्रे म बिग्रेको छैन
मैले मात्र नेपालमा दुःख पा‘को हैन ।
(आफ्नै चिनारी ः आफ्नै शब्दमा)
पछिल्लो चरणमा पाको उमेरसँगै देखा पर्ने बूढ्यौतीजन्य स्वास्थ्य समस्याहरू बढ्दै गएका कारण पनि उहाँको लेखनी निकै पातलिँदै गएको थियो । साहित्यिक गोष्ठी र भेलाहरूमा पनि उहाँको उपस्थिति र आतिथ्यतामा निकै कमी आएको थियो । तर नेपाली जनताको साँचो मुक्ति प्रतिको प्रद्धितवद्धता र भावनात्मक समर्पण भने यथावत यथावत् देखिन्थ्यो छ । देश कसरी उँभो लाग्छ, युगौँदेखिको सामन्ती शोषणबाट नेपाली जनताले कसरी मुक्ति पाउँछन् भन्नेतिर उहाँको चासो र चिन्ता गर्दागर्दै कवि किसान हामीबाट भौतिकले रूपमा अलग हुनुभएको छ । तर जनताले चाहे जस्तो परिवर्तन प्राप्त नभएसम्म उहाँको रचना–कर्मले र सिर्जनाले हामीले उत्प्रेरित गरिरहने छ । झकझक्याइरहने छ । अविचलित निष्ठा र जनताप्रति निस्वार्थ समर्पणका पर्याय कवि केवलपुरे किसानप्रति हार्दिक शब्द श्रद्धा ।

कलङ्की

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 25 आश्वीन, 2068

लेखकका अन्य रचनाहरु