प्रगतिवादी साहित्यकार अमर गिरीसँग कुराकानी

- संगीतश्रोता

1)समकालीन नेपाली प्रगतिवादी साहित्यको अवस्था कस्तो छ ?
प्रगतिवादी नेपाली साहित्य समग्रमा आफ्नो इतिहासको सापेक्षमा अहिले सबैभन्दा समृद्ध छ । प्रगतिवादी शिविरमा समस्या नभएका होइनन् । साहित्यका कतिपय विधा कम लेखिएका छन्, जस्तै नाटकमा अपेक्षित विकास हुन सकेको छैन, उपन्यास जति लेखिनुपथ्र्यो, त्यति लेखिन सकेको छैन । सबैभन्दा धेरै लेखिएको विधा कविता हो ।
परिणाममा थुप्रै लेखिएको छ तर स्तरीय लेखनका सन्दर्भमा पनि केही समस्या छन् । सयौँ प्रतिभा आएका छन्, पत्रपत्रिका निस्किरहेका छन्, संघसंस्था क्रियाशील छन् । तर, साहित्यको स्तरले उचाइ पाउन सकेको छैन । यसको मतलब स्तरीय कृति लेखिएकै छैनन् भन्ने होइन । अन्तर्वस्तु र रूपको संयोजन गरेर लेख्ने सन्दर्भमा हामीमा गम्भीर सचेतनता पाइँदैन । अन्तर्वस्तु अथवा विचारले मात्रै र ठूलो उद्देश्यले मात्रै रचना सुन्दर हुँदैन । हामीले भाव, विचार वा उद्देश्यलाई रचनामा कति प्रभावकारी ढंगले अभिव्यक्ति दिइरहेका छौँ भन्ने कुरासँग रचनाको स्तरीयता जोडिन्छ । त्यो भनेको रचनाको कलात्मक पक्ष नै हो । त्यसबाहेक हामीकहाँ निरन्तर लेखनको समस्या, परिमार्जनको समस्या, कलासम्बन्धी चेतको समस्या र निरन्तर प्राज्ञिक बहसको समस्या पनि छन् । यसका लागि संस्थागत र वैयक्तिक प्रयत्न हुनु जरुरी छ । स्रस्टा स्वयं पनि आफ्ना रचनाको गुणवत्ता र त्यसको सामथ्र्यबारे सचेत हुनुपर्‍यो । राम्रा रचना लेख्न त्यसैअनुसारको अध्ययन र साधनाको निरन्तर प्रक्रियाबाट गुजि्रनुपर्‍यो । अनि प्रगतिवादी साहित्यिक संघसंस्थाले पनि त्यस्तो वातावरणको निर्माण गर्नुपर्‍यो, त्यसप्रकारका छलफल/बहसलाई अगाडि बढाउनुपर्‍यो । तर, हामीकहाँ जीवन्त प्राज्ञिक बहसको अभाव छ । कला स्वाभाविक रूपमा राजनीति, दर्शन, मनोविज्ञान, समाजशास्त्रलगायत ज्ञानका अन्य शाखासँग जोडिन्छ । कला/साहित्यलाई यी अन्य विषयका सन्दर्भमा जोडेर पनि जीवन्त बहस गर्दै अद्यावधिक गर्नुपर्ने हो, त्यसको पनि कमी छ । जसले गर्दा हामीले परिणाममा प्रशस्त लेख्दालेख्दै पनि स्तरीयताका हिसाबले सोचेजस्तो परिणाम पाउन सकिरहेका छैनौँ । प्रगतिशील लेखक संघले अहिले नियमित 'डिस्कोर्स'को थालनी गरेको छ । हरेक महिना विभिन्न सैद्धान्तिक विषयमा छलफल चलिरहेको छ । यस्तो छलफलको निरन्तरताले हामीलाई आफ्ना कमीकमजोरी चिन्न र रचनालाई समर्थ बनाउन मद्दत गर्नेछ ।

2)तपाईंले नै प्रगतिवादी क्षेत्रमा स्तरीय लेखनमा समस्या छ भन्नुभयो, गैरप्रगतिवादीहरु त तपाईंहरुलाई 'नारावादी लेखकहरु' नै भन्छन् नि ?
गैरप्रगतिवादीले प्रगतिवादी साहित्य नारावादी छ वा राजनीति अभिप्रेरित छ भनेर गर्ने आलोचना नियत हो । उहाँहरूको प्रगतिवादी साहित्यप्रतिको नियत वा दृष्टिकोण नै ठीक छैन । हेर्नुस्, सिंगो नेपाली कविताको केन्द्रमा प्रगतिवादी कविता नै छ । समकालीन कविताको नेतृत्व पनि प्रगतिवादी कविले गरिरहेका छन् । विषयवस्तु, दृष्टिकोण, शिल्प सबै हिसाबले समकालीन नेपाली कवितामा प्रगतिवादी कविकै केन्द्रीय भूमिका छ । अहिले नेपाली साहित्यको प्रमुख धारा भनेकै प्रगतिवादी धारा हो । तर, प्रचारको ग्ल्यामरले गर्दा बजारमा प्रगतिवादी साहित्यको चर्चा कम भएको छ । नत्र विचार, साहित्य-साधना, सौन्दर्यचेतना, उपादेयता, अन्र्तवस्तु या रूप सबै हिसाबले नेपाली साहित्यको प्रतिनिधि धारा वा मूल धारा प्रगतिवादी धारा नै हो । विरोधीहरूले आरोप लगाएजस्तो प्रगतिवादी धारा 'नारावादी' मात्रै छैन ।

3)प्रगतिवादी धारा नै अहिलेको साहित्यको मूल धारा हो भन्ने आधार के छ ?
यसका मूलतः तीन आधार छन् । पहिलो, सिंगो बजारमा अहिले प्रगतिवादी साहित्य नै सबैभन्दा बढी लेखिएको छ । राजधानी काठमाडौंलाई मात्र हेर्नु भएन, मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्म हेर्दा प्रगतिवादी रचना सबैभन्दा बढी लेखिएका/छापिएका छन् । प्रगतिवादी संघसंस्था र स्रष्टाहरूले नै साहित्यिक पत्रिका प्रकाशन र साहित्यिक गतिविधि सबैभन्दा बढी गरिरहेका छन् । प्रगतिवादी साहित्य लेखनको परिमाणले यो प्रतिनिधि धारा हो भन्ने देखाउँछ । दोस्रो, यो धाराको साहित्यको गुणवत्ता र रचनात्मक सामथ्र्य नै हो । कतिपय कमजोरी हुँदाहुँदै पनि धेरै गहकिला रचना यही धारामा आएका छन् । कविता, उपन्यास, कथा, निबन्ध/संस्मरण माओवादी शान्तिप्रक्रियामा आइसकेपछि झन् धेरै लेखिएको छ । आत्मसंस्मरण र डायरी त थुप्रै लेखिएका छन् । ती अधिकांश कृति अन्तर्वस्तु र रूपका हिसाबले पनि र युद्धसाहित्यका सन्दर्भमा पनि महत्त्वपूर्ण छन् । तेस्रो, साहित्यलाई यसको समाजपरक र सौन्दर्यपरक भूमिकाका हिसाबले मूल्यांकन गरिनुपर्छ । प्रगतिवादी साहित्य
आफ्नो समाजपरक र सौन्दर्यपरक भूमिकामा स्पष्ट छ । समाज, जीवन, स्वतन्त्रता र परिवर्तनसँग जोडिने हिसाबले प्रगतिवादी साहित्य नै सबैभन्दा अगाडि छ । अहिले उत्तरआधुनिकतावादको कोकोहोलो छ । यसका सौन्दर्यात्मक मूल्यहरू जीवनविरोधी र निषेधात्मक छन् । यसले साहित्यको सामाजिक भूमिकालाई अस्वीकार गर्छ । यसका संश्लेषणहरू जीवनजगत्विरोधी र कलाविरोधी छन् । यस्तो अवस्थामा प्रगतिवादी साहित्य नै त्यस्तो साहित्यिक धारा हो, जसले कलाको सोद्देश्यपूर्ण भूमिकालाई आत्मसात् गरेर सुन्दर जगत् र जीवनको निर्माण निम्ति अगाडि बढिरहेको छ । यस अर्थमा प्रगतिवादी धारा नै आजको प्रतिनिधि धारा हो ।

4)तर बजार-चर्चामा वा मिडियामा त गैरप्रगतिवादी धाराकै हल्लाखल्ला बढी छ । प्रगतिवादीहरु मूलधार हुँदाहुँदै पनि किन प्रचारप्रसारमा पछि परेका त ?
ठीक हो, जसलाई हामी मूलधार भनिरहेका छौँ, त्यो चर्चामा छैन । जसलाई मूलधार भनिरहेका छैनौँ, त्यही चर्चा-परिचर्चामा सबैभन्दा अगाडि छ । यो महत्त्वपूर्ण प्रश्न हो । यसमा दुई/तीन कारण छन् । पहिलो, अहिले प्रचारप्रसार गर्ने मिडियाहरू आफ्नो रणनीतिमा सचेत छन् । प्रगतिवादी साहित्यलाई स्थान वा महत्त्व नदिने उनीहरूको रणनीति हुन्छ भन्ने हामीले बुझ्न आवश्यक छ । त्यसले गर्दा प्रगतिवादी साहित्यको जति प्रचारप्रसार हुनुपर्ने हो, त्यति भइरहेको हामी देख्दैनौँ । किनभने दुनियाँमा विचारधारामुक्त कुनै पनि मिडिया हुँदैन । यो बडो सफा छ, लुकाउनुपर्ने कुरा होइन । वेलाबखत प्रगतिवादी साहित्यलाई स्थान दिएजस्तो देखिन्छ । तर, उसको मूल फोकस प्रगतिवादी साहित्यतिर छैन । ऊ त्यसो गर्न चाहँदैन पनि । किनभने विग हाउसका मिडिया पनि विचारधाराबाट मुक्त हुँदैनन् । प्रगतिवादी साहित्य सोद्देश्यमूलक हुन्छ, समाज र जीवनको परिवर्तन चाहन्छ र यो कम्युनिस्ट आन्दोलनसँग जोडिएको हुन्छ । यसका आफ्नै दार्शनिक, वैचारिक, राजनीतिक, सैद्धान्तिक मान्यता हुन्छन् । तसर्थ, आजको उपभोक्तावाद र बजारशास्त्रको दुनियाँमा कम्युनिस्ट आन्दोलनसँग जोडिएको साहित्यलाई स्थान दिन पँुजीवादीले चलाएका मिडिया चाहँदैनन् । यो यहाँको कुरा मात्र होइन, भारत, अमेरिका, इंग्ल्यान्ड हेर्नुस्, या युरोपियन मुलुक, कहीँ पनि उनीहरूको मूल फोकस गैरप्रगतिवादी साहित्यतिरै जान्छ । सपाट भाषामा भन्दा रचनाको दुनियाँमा पनि अहिले बजारशास्त्र हावी भइरहेको छ । यो बजारशास्त्रमा हरेक वस्तु विज्ञापनको भारीभरकम प्रक्रियाबाट गुज्रन्छन् र त्यसले उपभोगको मनोविज्ञान निर्माण गर्छ । अनि वस्तुको गुणवत्ता जतिसुकै कमसल भए पनि त्यसलाई उपभोक्ताले उपभोग गर्न बाध्य हुन्छन् । बजारको यो नियम साहित्यमा पनि लागू भएको छ । आज स्रष्टालाई पनि के परिराखेको छ भने मेरो कृति कमजोरै भए पनि राम्रोसँग प्रचारप्रसार गर्ने हो भने म लेखकमा स्थापित हुन्छु र मेरो कृति बिक्छ पनि । पुस्तक प्रकाशनको काम पनि नाफासँग जोडिएको छ । यसरी हामी नेपालको साहित्यका सन्दर्भमा पनि उपभोक्तावाद हावी हुँदै गएको र बजारशास्त्रका नियमहरू हावी भइरहेको देख्छौँ । यसले साहित्यको पनि वस्तुकरण गर्छ, साहित्यको मूल्य र गरिमालाई विस्थापित गरिरहेको छ । बजारशास्त्रका नियमअनुरूप साहित्यको प्रचारप्रसार गर्ने प्रवृत्तिको प्रगतिवादी शिविरबाटै जमेर आलोचना पनि भइरहेको छ ।

5)नेपालमा त तपाईंले भन्नुभएजस्तो भूमण्डलीकरण, नवउदारवाद र उपभोक्तावादको आलोचना भएको खासै पढ्न, देख्न वा सुन्न पाइएको छैन नि ?
नेपालमा यसबारे सचेतताको कमी छ । यो वैचारिक गम्भीरताको कमी हो । हामी यत्रो भूमण्डलीकरणको प्रक्रियाबाट गुजि्ररहेका छौँ, नवउदारवाद र नवउपनिवेशवाद विश्वमा हावी भएर गइरहेको छ । हामी भूमण्डलीकरण, उपभोक्तावाद र नवउदारवादका सिकार भइरहेका छौँ । तर, यसबारे हामी कति विमर्श गरिरहेका छौँ भन्ने प्रश्नले हाम्रो प्राज्ञिक दशालाई देखाउँछ । बरु हामी यस्ता कैयौँ लेखक छौँ, जो भूमण्डलीकरणको प्रशंसा गरेर थाक्दैनौँ । उपभोक्तावादको चकाचौधमा डुब्ने र त्यसको सिकार हुने प्रवृत्ति स्रष्टाहरूमै देखा परिरहेको छ । हामीमा आत्मसचेतता र वैचारिक गुरु-गम्भीरताको कमी छ, बरु कमसल लेखकै पनि प्रचारको बलमा स्थापित र चर्चित हुन बल गरिरहेका छौँ । यो एकदम गलत 'ट्रेन्ड' हो । हामी प्रगतिवादी यसका विरुद्धमा छौँ । बजारमा कैयौँ उम्दा कृति चर्चामा छैनन्, तर कतिपय कमसल कृति ब्रोडसिट अखबारका पूरै पृष्ठमा विज्ञापन भइरहेको छ । यो अत्यधिक प्रचारमोह हो । जहाँ बजारशास्त्र र उपभोक्तावादले काम गर्छ, त्यहाँ साहित्यको स्तर उठ्दैन । अब बिस्तारै यस्तो प्रवृत्तिको आलोचना सुरु हुन्छ । यो दिशातिर नेपाली लेखक बढ्छन् । अहिलेको नवउदारवाद, भूमण्डलीकरण र उपभोक्तावादका विरुद्ध नेपाली लेखक क्रमशः जान्छन् भन्ने मेरो विश्वास छ ।

6)नेपाली राजनीतिमा वामपन्थीहरु हावी छन् तर साहित्यमा प्रगतिवादी धाराको उपस्थिति किन कमजोरजस्तो देखिन्छ ?
प्रगतिवादी साहित्यको उपस्थिति कमजोर होइन, तुलनात्मक रूपमा प्रगतिवादी साहित्य नै पाठकसम्म सबैभन्दा बढी पुगिराखेको छ । कैयौँ कृति गैरमाक्र्सवादी शिविरका भन्दा पनि बढी बिकेका छन् । तर, गैरमाक्र्सवादी धाराको कृति दश हजार प्रति बिक्यो भने मिडियाले त्यसलाई उछालिदिन्छ । लेखक पनि यति बिक्यो भन्दै स्वयं चर्चा गर्दै हिँड्छ । तर, प्रगतिवादी त्यसो गर्दैनन् । जस्तैः मोदनाथ प्रश्रति, खगेन्द्र संग्रौला र नारायण ढकालका पुस्तक बजारमा अत्यधिक बिकिरहेका छन् । आहुतिकै 'नयाँ घर' उपन्यासका कैयौँ संस्करण बजारमा बिकिरहेकै छ । तर, एउटा गैरमाक्र्सवादी लेखकको कृति पाँच हजार प्रति बिक्यो भने पनि हल्ला सुरु हुन्छ, दश हजार बिक्यो भनिन्छ । लाखौँ आम्दानी गर्‍यो भनिन्छ । प्रगतिवादी भने कृति बिके पनि मौन, नबिके पनि मौन । अर्कोतिर गैरमाक्र्सवादीहरूलाई प्रवर्द्धन गर्ने प्रकाशनगृह र तिनीहरूको नेटवर्क पनि राम्रो छ । वितरणको नेटवर्क पनि प्रोफेसनल छ । तर, हल्लाखल्ला र झुटो प्रचार पनि धेरै त टिक्दैन । कतिपय प्रचारका बलमा मात्रै बिक्री भएका कृति झुर रहेछन् भन्ने प्रतिक्रिया पनि आउन थालेका छन् । नराम्रा कृति प्रचारका बलमा गएका छन् र पाठक-रेस्पोन्स क्रमशः घट्दै पनि गएको छ । कतिपय कृतिबारे पाठकले 'प्रचारमा नआएका कृति पो राम्रा रहेछन्' पनि भन्न थालेका छन् । तसर्थ प्रचारप्रसारलाई मात्रै आधार बनाएर प्रगतिवादी धारालाई कमजोर मान्नु गलत हुन्छ ।

7)प्रगतिवादी शिविर बजारशास्त्रसँग जुध्ने मामिलामा चाहिं पछाडि परेको हो ?
तुलनात्मक रूपमा पछाडि छ । भूमण्डलीकरण, उपभोक्तावाद र नवउदारवादविरुद्ध नेपाली माक्र्सवादी शिविर गम्भीरतापूर्वक वैचारिक संघर्षमा उत्रिनुपर्छ, त्यो हुन सकेको छैन । उत्तरआधुनिकतावादबारेको विमर्शका सन्दर्भमा हामीले केही कुरा उठाएका छौँ । तर, भूमण्डलीकरण, उपभोक्तावाद र नवउदारवादको विरोधमा एकप्रकारले नेपाली माक्र्सवादी देखिँदै देखिँदैनन् । त्यसको विरोध गर्नु जोखिम पनि छ । यिनको विरोध गर्नु भनेको पुँजीवादको विरोध गर्नु हो । पुँजीवादको विरोध गर्नु भनेको अमेरिका र बेलायतको विरोध गर्नु हो । अमेरिका र बेलायतको विरोध गर्नु भनेको अहिले पाइरहेको लाभबाट वञ्चित हुनु हो । अर्थात् विदेशको लोभ र एनजिओको लाभबाट वञ्चित भइने डरले एउटा ठूलो प्राज्ञिक वृत्त भूमण्डलीकरण, नवउदारवाद र उपभोक्तावादविरुद्ध जान सकिरहेको छैन । एकथरी त यो शाश्वत सत्य भन्दै हिँड्छन् । तर, अलिकति आलोचनात्मक चेत राख्नेहरू पनि आलोचना गर्न सक्दैनन् । अहिले माक्र्सवादी शिविरभित्र पनि अरूअरू कुरामा ध्यान बढी छ । कतिपय माक्र्सवादी नै नवउदारवाद र भूमण्डलीकरणको प्रभावमा परिसकेका छन् । एउटा माक्र्सवादीभित्रै माक्र्सवाद मर्दै छ, नवउदारवादले बास गर्दै छ, उपभोक्तावादले घर गर्दै छ ।

8)पछिल्लो समयमा राजधानीमा 'लिटरेरी जात्रा', 'साहित्य सम्मेलन'जस्ता कार्यक्रम भए । मिडियामा त्यसको हल्लाखल्ला बढी नै भयो । त्यसबारे प्रगतिवादीको दृष्टिकोण पढ्न/सुन्न पाइएन नि ?
सामान्यतया यसप्रकारका साहित्यिक कार्यक्रम हुनु रामै्र हो । तर, यी कार्यक्रम मूलतः गैरमाक्र्सवादी शिविरबाट आयोजित थिए । माक्र्सवादी शिविरको त्यहाँ संलग्नता थिएन । त्यो खास संस्थाले आयोजना गरे, खास किसिमका लेखक बोलाइए । त्यसमा एकाध वामपन्थी साथीलाई पनि सहभागी गराउन खोजेजस्तो देखियो तर धेरै राम्रा लेखक बाहिरै पारिए । माक्र्सवादी मात्रै होइन, गैरमाक्र्सवादीभित्रै पनि कैयौँ दिग्गज समालोचक, लेखक त्यहाँ परेका छैनन् । सहभागीको चयनको मापदण्ड के हो, थाहा भएन । यदि साहित्यिक योगदानकै आधारमा चयन गरिएको हो भने त्यो ठीक छैन । यसैले आयोजकको सहभागी छनोटको मापदण्ड वैज्ञानिक र सन्तुलित देखिन्न । फेरि, त्यत्रो कार्यक्रम आयोजनाको स्रोत कुन हो र उद्देश्य के हो, त्यो पनि खुलाइएको छैन ।

9)प्रगतिवादी शिविरभित्र त्यस्ता कार्यक्रम किन नभएका हुन् त ?
प्रगतिवादी शिविरभित्र पनि अलि फराकिलो विषयमा यस्ता बृहत् कार्यक्रम हुनु जरुरी छ । नेपाली प्रगतिवादी लेखकको साझा संस्था प्रगतिशील लेखक संघ भएको हुनाले त्यसको नेतृत्व सोही संस्थाले गर्नुपर्छ । त्यसो त प्रगतिशील लेखक संघले विगतदेखि नै विभिन्न गोष्ठी, अन्तक्रिर्या र छलफल कार्यक्रम गर्दै आएको छ । प्राज्ञिक बहस/अन्तक्रिर्याको कार्यक्रम पनि प्रलेसकै आयोजनामा हरेक महिना भइरहेकै छ । सबाल्टर्न अध्ययन, नारीवाद, प्रगतिवादी साहित्य र गैरप्रगतिवादी साहित्यलगायतका विषयमा अन्तक्रिर्या भइसकेको छ । प्रलेसका अध्यक्ष -घनश्याम ढकाल)ले केही महिना अघिदेखि नै अन्तर्राष्ट्रिय माक्र्सवादी साहित्य गोष्ठी गर्ने सोचिरहेको बताउनुभएको थियो । सम्भवतः उहाँहरूले त्यसको तयारी पनि गरिरहनुभएको होला । मलाई लाग्छ, निकट भविष्यमै विश्व माक्र्सवादी साहित्य र त्यसका समग्र पक्षबारे छलफल चलाउने खालको अन्तर्राष्ट्रिय साहित्य गोष्ठी काठमाडौंमा आयोजना हुनेछ । अहिलेको विश्व साहित्यको 'ट्रेन्ड' तथा माक्र्सवादी साहित्यका चुनौती र सम्भावनाबारे त्यहाँ छलफल हुनेछ ।
नयाँ पत्रिकाबाट

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 8 आश्वीन, 2068

लेखकका अन्य रचनाहरु