साहित्यकार शान्ति थापा

- लीला लुइटेल

१. परिचय
शान्ति थापाको जन्म सन् १९६१ जनवरी ९ मा भारतको असम राज्यअन्तर्गत पर्ने गुवाहाटीको शान्तिनगर भन्ने ठाउँमा भएको हो । यिनले गुवाहाटी विश्वविद्यालयबाट हिन्दीमा एम्.ए. गर्नुका साथै पीएच्.डी.उपाधि पनि हासिल गरेकी छन् । हाल आर.जी. बरुवा कलेजमा प्राध्यापन पेसामा संलग्न थापा गौहाटी विश्वविद्यालयको नेपाली स्नातकोत्तर कार्यक्रमको संयोजक पनि रहेकी छन् । वि.सं. २०३७ तिर असममा भएको साहित्यिक अभियान कोलाज आन्दोलनमा पनि सक्रिय सहभागीका रूपमा देखापरेकी यिनी गीत लेखन र गायनमा रुचि राख्ने व्यक्तित्व हुन् ।

नेपाली, हिन्दी, असमिया, अङ्ग्रेजी आदि विविध भाषाका ज्ञाता शान्ति थापाको कलम नेपाली, हिन्दी र असमियामा समान रूपले चलेको पाइन्छ । साहित्यका विविध विधामा कलम चलाउने थापाका निम्नलिखित पुस्तकाकार कृति प्रकाशित छन् ः
गीत : माया (२००४)
कथा : आवर्तन (२००७)
उपन्यास : मोहनी डट कम (२००९)
सम्पादन : असमेली नेपाली कथायात्रा (२००८)
लोहित घाटीकी कहानिया (२००८, कथा)
अनुवाद : नामघरे (१९९७, उपन्यास)
अस्तराग (२००२, उपन्यास)
विविध : भारतके स्वाधीनता आन्दोलन में पानवारी रेलदुर्घटना काण्ड (२००३)
लामो समयदेखि सिर्जना, अनुवाद एवं सम्पादनमा सक्रिय रहेकी शान्ति थापा सञ्चयनारायण प्रधान स्मृति स्वर्णपदक (सन् १९९८), साहित्य अकादमी अनुवाद पुरस्कार (२००२), आवत्र्तन कथा सङ्ग्रहका लागि टङ्कनाथ स्मृति पुरस्कार (२००८) तथा नेपालबाट गुञ्जन नवप्रतिभा पुरस्कार (वि.सं.२०६६) जस्ता पुरस्कारबाट पुरस्कृत पनि भइसकेकी छन् ।

२. विषयविस्तार ः साहित्यकार शान्ति थापा
शान्ति थापा सिर्जन, अनुवाद एवं सम्पादनका माध्यमबाट साहित्यका क्षेत्रमा सक्रिय व्यक्तित्व हुन् । यिनको लेखकीय व्यक्तित्वका विविध पाटाको विश्लेषण गर्नु यस लेखको अभीष्ट रहेको छ ।

(१) गीतकार शान्ति थापा
शान्ति थापाको माया नामक गीत सङ्ग्रह प्रकाशित छ । यसमा समाविष्ट गीतमा विषयवस्तुगत विविधता पाइए पनि अधिकांशचाहिँ प्रेम विषयक छन् । मानवीय प्रेम, राष्ट्रप्रेम, प्रकृतिप्रेम, ईश्वरीय प्रेम, जातीय प्रेम आदि प्रेमका विभिन्न स्वरूपको प्रस्तुति पाइने यिनका गीतमा अभिव्यञ्जित प्रेमको एउटा मुख्य पाटो मानवीय प्रेमको अभिव्यक्ति हो । यस खालका गीतमा युवासुलभ प्रेमप्रणयको प्रस्तुति पाइन्छ । प्रेम, प्रतीक्षा, आशा, निराशा, पीडा, मिलन, विछोड, विरह आदि विभिन्न सन्दर्भको अभिव्यक्ति पाइने यिनका गीतमा एकअर्कामा हृदय साटेर सँगै जिउने आग्रह गरिएको पाइन्छ । वात्सल्यभाव पनि यिनका गीतमा अभिव्यक्त प्रेमको अर्काे रूप हो । राष्ट्रप्रेम एवं जातीय प्रेमको भाव अभिव्यञ्जित यिनका गीतमा माटोप्रतिको प्रेमलाई पनि प्रस्तुत गरिएको छ । यिनका केही गीतमा ईश्वरीय प्रेम पनि अभिव्यञ्जित छ । सङ्ग्रहको पहिलो गीत नै ईश्वरीय वन्दना अर्थात् कामाख्या माईको अर्चनामा आधारित छ ।

प्रेमसम्बन्धी विषयवस्तुबाहेक शान्ति थापाका गीतमा पुर्खाहरूको महिमागान पनि गरिएको छ । आशा एवं प्रतीक्षामा बाँच्नुपर्ने भावको प्रस्तुति पाइने यिनका गीतमा कतकतै निराशाका अभिव्यक्ति पनि पाइन्छन् । नेपालीका जातीय एवं विशिष्ट कवि भानुभक्तप्रति सम्मानको प्रस्तुति पनि यिनका गीतमा भएको छ । सरल, सरस, सम्प्रेषणीय भाषिक प्रयोग पाइने यिनका रचनामा वर्णनात्मक, सम्बोधनात्मक र निर्देशनात्मक शैलीमा सुकोमल भावनाको हार्दिक अभिव्यञ्जना गरिएको छ । गीति ढाँचामा कतै अनुप्रासको संयोजन गरी तथा कतै अनुप्रासविहीन ढङ्गले प्रस्तुत गरिएका यिनका रचना लयात्मक, सङ्गीतात्मक र श्रुतिमधुर छन् ।

(२) कथाकार शान्ति थापा
१९९९ मा प्रकाशित ‘अलमल’ शीर्षक कथाबाट कथायात्रा आरम्भ गर्ने शान्ति थापाको आवर्तन शीर्षक कथा सङ्ग्रह प्रकाशित छ । विभिन्न वर्ग र अवस्थाका नारीले विषम एवं विसङ्गत परिस्थितिमा भोग्नुपरेका मानसिक सङ्कटबाट उत्पन्न संवेदनालाई विषयवस्तु बनाएर कथा सिर्जना गर्ने थापाका कथामा मूलतः नारीका दुर्दशा, वेदना, छटपटी, उकुसमुकुस, सन्तानप्रतिको मोह, सङ्कटमा परेको मातृत्व आदिलाई कथावस्तुको रूपमा समेटिएको छ । यिनका कथामा पाइने मूल स्वर नारी संवेदना नै हो । नारी संवेदनाबाहेक यिनका कथामा सामाजिक क्षेत्रमा देखापरेका विकृति तथा विसङ्गतिलाई पनि देखाइएको छ । तथाकथित इज्जतका लागि यौनदुव्र्यवहारलाई दबाउनु पर्ने बाध्यतामा परेको मातृत्वको पीडादायी अवस्थाको चित्रण पाइने यिनका कथामा टुप्पाबाट पलाएकाहरूले आप्mनोपन बिर्सेका कारण हुनपुगेको सामाजिक एवं मानसिक दुर्घटनाको पनि प्रस्तुति पाइन्छ । पुरुषले नारीप्रति गरेको शोषण देखेर विद्रोही हुनपुगेको मानसिकता देखाइएका यिनका कथामा पुरुषले नारीप्रति गरेको यौनशोषणको अपराधबोध गर्दै पश्चात्ताप गरेको स्थितिलाई पनि देखाइएको छ । यिनका कथामा सामाजिक संस्कार, रीतिथिति पनि पैसाका आधारमा मूल्याङ्न हुने सामाजिक विकृतिप्रति व्यङ्ग्य पनि प्रहार गरिएको छ । न्यून घटना र कथानकहीनता भएका यिनका कतिपय कथा परम्परित बिम्बका माध्यमबाट व्यक्तिको क्षणिक मनोवेगमा मात्र आधारित छन् । गरिबीको पराकाष्ठाका कारण भौतिक तथा मनोवैज्ञानिक दुवै रूपले गिरेको मानसिकता चित्रित यिनका कथामा शिक्षित एवं चेतनशील नारीमा पनि मानवीय कमीकमजोरी हुन्छन् भन्ने भाव अभिव्यञ्जित छ । सन्तानप्रतिको जिम्मेवारीबाट पुरुष हट्नसक्ने तर नारी हट्न नसक्ने यथार्थको प्रस्तुति पाइने यिनका कतिपय कथामा लेखकीय चाहना पनि मुखरित भएको छ । यिनका कथामा प्रयुक्त प्रायः सहभागी शिक्षित, बौद्धिक हुनाका साथै आफ्नो अस्तित्वप्रति सचेत छन् । पुरुषभन्दा नारी सहभागीको आधिक्य पाइने यिनका कथामा प्रयुक्त पुरुष सहभागीहरूलाई खासै भूमिका दिइएको छैन । यिनका कथामा विशेषतः संवेदनशील नारी सहभागीको प्रयोग पाइन्छ । यिनका नारी सहभागीहरू आपूmमाथि परेको अन्यायको विरोध गर्नसक्ने, आफ्नो हकहितका लागि डटेर सङ्घर्ष गर्नसक्ने, आÇनो लक्ष्यमा पुग्नसक्ने सशक्त र निर्णाकक शक्ति भएका नभई अत्यन्त संवेदनशील र पिलन्धरे खालका छन् । विभिन्न उमेर एवं वर्गका नारी संवेदनालाई प्रस्तुत गर्ने प्रयासका कारण यिनका कतिपय कथाहरू तार्किक एवं बौद्धिकभन्दा बढी भावुक र संवेदनशील बन्नपुगेका छन् ।

शान्ति थापाका कथामा परिवेशसूचक समय र स्थानभन्दा वातावरणको प्रस्तुति सशक्त ढङ्गमा भएको छ र त्यो आन्तरिक र बा≈य दुवै पक्षबाट सुखदभन्दा बढी दुखद र त्रासद रहेको छ । स्थान र समयलाई कम महत्व दिएर दुखद एवं त्रासदीय वातावरणमा कथाको अन्त्य गर्ने परिपाटी यिनका कथामा पाइन्छ । सामाजिक विकृति–विसङ्गतिको चित्रणका साथै नारीमाथि हुने गरेका विभिन्न प्रकारका अन्याय, अत्याचार र शोषणको अन्त्य गर्र्दै समतामूलक समाजको चाहना राख्नु यिनका कथाको अभीष्ट रहेको देखिन्छ । घुमाउरो नभई सोझो, सरल र अभिधात्मक भाषाको प्रयोगमा रुचिराख्ने शान्ति थापाका कथामा स्थानीय नेपाली भाषाको प्रयोग पाइन्छ । तत्सम शब्द, अङ्ग्रेजीका शब्द, पदावली आदिको प्रयोग पाइने यिनका कथामा कतैकतै क्रियापदहीन वाक्यात्मक अभिव्यक्तिका कारण गद्यकविताको छनक पनि पाइन्छ । वर्णनात्मक, प्रश्नात्मक, संवादात्मक शैलीको प्रयोग पाइने शान्ति थापाका कथामा एकालापीय शैलीको पनि प्रयुक्त छ ।

प्रायः छोटाछोटा अजटिल संरचनाका कथा सर्जक शान्ति थापाका कथामा मूलतः विविध प्रकारका नारी समस्याको दिग्दर्शन पाइन्छ । वैयक्तिक र सामाजिक स्तरमा समतामूलक स्वस्थ्य समाजको चाहना यिनका कथा सिर्जनाको उद्देश्य रहेको देखिन्छ । नारीवादी कथाकारका रूपमा देखापरेकी थापाका कथामा कोरा नारीवादी नभई सापेक्ष नारीवादको प्रस्तुति पाइन्छ । दुखद वातावरणमा मार्मिक रूपले सरल भाषाशैलीमा नारी संवेदनालाई प्रस्तुत गर्ने कथाकार शान्ति थापा भारतीय नेपाली कथाका क्षेत्रमा प्रयोगशीलताका साथ निजी पहिचान कायम गर्न सक्षम समसामयिक पुस्ताकी उल्लेखनीय कथाकार हुन् ।

(३) उपन्यासकार शान्ति थापा
शान्ति थापाको मोहनी डट् कम उपन्यास २० परिच्छेद वा भाग र १९२ पृष्ठमा संरचित छ । विभाजन सङ्केतकका रूपमा अङ्कको प्रयोग गरिएको यस उपन्यासमा प्रसङ्ग परिवर्तनमा आधारमा परिच्छेदहरूको उपविभाजन पनि गरिएको छ । यसमा उपविभाजनको सङ्केतका लागि खाली ठाउँ छोडिएको छ । असमेली नेपाली जनजीवनका विविध सन्दर्भको विशृङ्खल रूपमा प्रस्तुति पाइने यस उपन्यासमा सन् १७७९ मा असममा भएको ‘बहिरागत हटाओ’ आन्दोलन र त्यसको परिणामलाई केलाइएको छ । जातीयताका नाममा भएका सङ्कीर्णता तथा मानवताविरोधी क्रियाकलापको विरोध पाइने यस उपन्यासमा मानवतावादी अवधारणा मुखरित छ । नेपाली जातिमाथि गौरवबोध अभिव्यक्त यस उपन्यासमा जातीय प्रेम पनि अभिव्यञ्जित छ । यसमा प्रकृतिमाथि निर्वाध रूपमा मानव अतिक्रमण भएकोमा चिन्ता प्रकट गर्दै आपूmमाथिको आक्रमण प्रकृतिले पनि एउटा सीमासम्म मात्र सहन गर्ने कुरालाई भावुक पाराले अभिव्यक्त गरिएको छ । नेपाली तथा अन्य भाषाका साहित्यकारप्रति आस्थाभाव व्यक्त गरिएको यस उपन्यासमा लोकप्रिय नेपाली कवि हरिभक्त कटुवालको मृत्यु प्रसङ्गको उल्लेख गरेर साहित्यकारको नियतिलाई देखाइएको छ । पुरुषको स्वेच्छाचारी प्रवृत्तिलाई प्रस्तुत गरिएको यस उपन्यासमा नेपाली नारीको त्याग, निस्वार्थीपन आदिलाई देखाउँदै नारीशक्तिको महिमागान गरिएको छ ।

सहभागी प्रयोगका दृष्टिले उल्लेखनीय वैशिष्ट्य नरहेको यो उपन्यास परिवेश चित्रणका दृष्टिले भने सघन र व्यापक रहेको छ । सन् १९७९ को आन्दोलन र हरिभक्त कटुवालको मृत्युका प्रसङ्गको उल्लेखबाट यसमा चित्रित समय स्पष्ट हुन्छ । असमका विभिन्न क्षेत्रको उल्लेख पाइने यस उपन्यासमा असमेली नेपाली जनजीवनको स्पष्ट चित्र उतारिएको छ । बहुजाती, बहुधर्मी, बहुभाषीको बसोवास भएको असममा विविध जातजाती, भाषाभाषी मिलेर रहेको देखाइएको यस उपन्यासमा नेपाली, नेवारी, असमिया, सन्थाल आदि जातिगत संस्कृतिका साथै इसाईका सांस्कृतिक सन्दर्भ पनि प्रस्तुत भएका छन् । असमका विभिन्न क्षेत्रका प्राकृतिक परिवेशको चित्रण पनि यस उपन्यासमा भएको छ । असमेली नेपाली जीवनका विविध पाटालाई यथार्थमूलक ढङ्गले प्रस्तुत गर्नु यस उपन्यासको उद्देश्य रहेको छ । प्रथम र तृतीय पुरुष दुवै दृष्टिबिन्दुको मिश्रित प्रयोग पाइने यस उपन्यासमा असम क्षेत्रमा बोलिने नेपाली भाषाको प्रयोग गरिएको छ । कम प्रचलनमा रहेका तत्सम शब्दको बहुलताले गर्दा यसको भाषा सापेक्ष रूपमा त्यति सरल र सहज छैन । यसमा आवश्यकताअनुसार असमिया, हिन्दी, अङ्ग्रेजी भाषाका शब्द, पदावलीका साथै वाक्य प्रयुक्त छन् । यसप्रकारको भाषिक प्रयोगले उपन्यास स्वाभाविक बन्नपुगेको छ । कम प्रचलनमा रहेका तत्सम शब्दको बहुलता, प्रकृति, पुराण, इतिहास आदिबाट टिपिएका बिम्ब र प्रतीकको प्रयोगका कारण यो उपन्यास साधारण पाठकका लागि सहज ग्रा≈य नभई बौद्धिक पनि बन्नपुगेको छ ।

यस उपन्यासको शीर्षक ‘मोहनी डट कम’ प्रतीकात्मक रहेको छ । यसमा प्रयुक्त ‘मोहनी’ शब्दले कसैलाई वशीकरण गर्नु भन्ने बुझाउँछ । यसको प्रमुख पुरुष सहभागीलाई भर्खरै भेट भएकी नारी सहभागीका क्रियाकलापले वशीकरण गरेको छ । वर्तमान समयमा विद्युतीय सञ्चारका क्षेत्रमा अधिक प्रचलनमा रहेको ‘डट कम’ मा ‘मोहनी’ शब्द जोडेर यसको शीर्षक चयन गरिएको देखिन्छ । अर्काेतिर यसकी नारी सहभागीले आफ्नो ‘मोहनी महल’ को परिकल्पना पनि पुरुष सहभागीलाई जानकारी गराएकी छ । यसै ‘मोहनी महल’ बाट ‘मोहनी’ शब्द लिएर ‘डट कम’ जोडिएका सन्दर्भबाट पनि यो शीर्षक उपयुक्त देखिन्छ । यसरी विविध सन्दर्भबाट हेर्दा यस उपन्यासको शीर्षक प्रतीकात्मक भए पनि सार्थक, सामञ्जस्यमूलक र आकर्षक रहेको छ । समग्रमा असमेली नेपाली जनजीवनलाई समेटिएको मोहनी डट कम यथार्थवादका निकट रहेको उल्लेखनीय औपन्यासिक कृति हो ।

(४) सम्पादक शान्ति थापा
नेपाली साहित्यका विविध विधामा कलम चलाउने शान्ति थापा सम्पादकका रूपमा पनि परिचित छन् । यिनले विभिन्न पुस्तक एवं पत्रपत्रिकाको सम्पादन गरेकी छन् । यिनीद्वारा सम्पादित असमेली नेपाली कथायात्रामा असम क्षेत्रको कथा साहित्यको इतिहास प्रस्तुत गर्नुका साथै चालीसजना असमेली नेपाली कथाकारका कथा यसमा समाविष्ट गरिएको छ । यस कृतिको सम्पादनमा उनको समालोचकीय व्यक्तित्व पनि देखापरेको छ । यिनले ७७ जना असमिया महिला कथाकारका कथाको हिन्दी अनुवाद लोहित घाँटीकी कहानियाँ नामक सङ्ग्रहको पनि सम्पादन गरेकी छन् । असमबाट नेपाली भाषामा प्रकाशित हुने हाम्रो ध्वनि नामक पत्रिकाको सम्पादन कार्यमा यिनको सक्रिय संलग्नता रहेको छ । यसैगरी यिनले अन्तरङ्ग पत्रिकाको नेपाली कथा विशेषाङ्कको अतिथि सम्पादक भएर काम गरेकी छन् । यसमा २१ जना भारतीय नेपाली कथाकारका कथा हिन्दी अनुवादका साथ समाविष्ट गरिएको छ । रङ्गघर नामक हिन्दी पत्रिकाको नेपाली साहित्य संस्कृति विशेषाङ्कको सम्पादनमा पनि यिनको भूमिका रहेको छ । यिनले हिन्दी भाषामा प्रकाशित हुने शोधमूलक पत्रिका पूर्वा पनि सम्पादन गर्नुका साथै हिन्दी त्रैमासिक दस्ताबेजको असम विशेषाङ्कमा सहयोगी सम्पादकका रूपमा काम गरेकी छन् । यसका साथै बहुभाषी शोध पत्रिका मृण्मयको पनि यिनले सम्पादन गरेको जानकारी पाइन्छ ।

(५) अनुवादक शान्ति थापा
शान्ति थापाले सन् १९९७ मा असमिया उपन्यासकार अतुलानन्द गोस्वामीको नामघरीया शीर्षक उपन्यासको अनुवाद नेपाली भाषामा नामघरे नाम दिएर गरेकी छन् । यसै कृतिका माध्यमबाट यिनले सन् २००२ मा साहित्य अकादमी अनुवाद पुरस्कार पनि प्राप्त गरेकी हुन् । यसैगरी यिनले होमेन बरगोहाइँको अस्तराग शीर्षक उपन्यास पनि असमियाबाट नेपाली भाषामा अनुवाद गरेकी छन् । यसका अतिरिक्त यिनले लोहित घाँटीकी कहानियाँमा समाविष्ट असमिया महिला कथाकारका कतिपय कथाको हिन्दी अनुवाद पनि गरेको जानकारी पाइन्छ । माथि उल्लेख गरिएबाहेक श्री महदानन्द देव गोस्वामीको भारतके स्वाधीनता आन्दोलन में पानवारी रेलदुर्घटना काण्ड शीर्षक आत्मकथात्मक कृतिको हिन्दी अनुवादमा पनि यिनको संलग्नता रहेको देखिन्छ ।

३. उपसंहार
नेपाली, हिन्दी तथा असमिया भाषामा समान रूपले कलम चलाउने शान्ति थापा सिर्जना, समालोचना, अनुवाद, सम्पादन आदिका माध्यमबाट विविध भाषाका साहित्यको उन्नयनमा क्रियाशील व्यक्तित्व हुन् । लगभग तीन दशकदेखि साहित्यका क्षेत्रमा क्रियाशील थापाले भारतीय नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पु¥याएकी छन् । कविता, कथा तथा उपन्यासको सिर्जना गरेकी थापाका रचनामा नारीवादको प्रभाव पनि पाइन्छ । नेपाली जाति, भाषा र साहित्यको उन्नयनमा निरन्तर लागिरहेकी कुशल सर्जक र सफल अनुवादकका रूपमा परिचित शान्ति थापाको योगदान असमेली नेपाली साहित्यमा उल्लेखनीय रहेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 8 भाद्र, 2068

लेखकका अन्य रचनाहरु