साहित्यकार विजय मल्ल

- जयदेव भट्टराई

दरबार हाइस्कुलमा कक्षा ७ मा पढ्दा तत्कालीन प्रभावशाली शिक्षक वासुदेव भट्टराईको चित्र कोर्दा झपारसँग प्रशंसित हुने विजय मल्ल ठूलै कलाकार हुनुपर्ने । भाष्बाण गर्दै, जेल सजायँ पाउँदै युवा अवस्था बिताउने विजय मल्ल ठूलै नेता हुनुपर्ने हो । नाटकको पछि लागेर रङ्गमञ्चमा पर्दा चलाउने विजय मल्ल अभिनयमा पनि ठूलै मान्छे बन्नुपर्ने हो । टोल टोलका केटाहरू अघिपछि लगाएर हिँडने त्यतिबेलाका विजय मल्ल 'हुल्याहा' बन्नुपर्ने पनि हो । फुटबल, क्यारेम बोर्डमा च्याम्पियन बनेर साथीभाइ बीच धाक जमाउन सक्ने विजय मल्ल नाम चलेको खेलाडी पनि बन्नुपर्ने हो । जीवनका कैयौं वर्ष कैयौं क्षेत्रमा बाँडिए पनि अन्ततः विजय मल्लको चिनारी बन्यो 'ठूला साहित्यकार'का रूपमा ।

साहित्यकार पनि सक्कली साहित्यकार । न त दुई चार जनाले उचालेर उचालिएको, न त पार्टीको झण्डा बोकेर माथि पुगेको । आफै लागिपरेर आसेपासेको आडमा आफै चर्चित बन्न पुग्नुभएको होइन उहाँ । विजय मल्ल लेखेरै 'ठूलो' बन्नुभएको हो । अचेल यस्तो छैन, लेखेरभन्दा लेखाएर ठूलो हुने चलन बढेको छ । प्रचार र तामझामले उमि्रँदै तीनपात भनेजस्तै हुन थालेको छ । स्रष्टा सिर्जनाको आडमा कमै चिनिन्छ वा चिनाइन्छ, स्रष्टा चिन्ने माध्यम फरक भएका छन् । कुनै पाठकले सिर्जनाको पात्रसम्म सम्झना सक्तैन, कतिले कथावस्तु, विषय पनि सम्झन सक्तैन र पनि चर्चित कृति बन्दैछन् वा बनाइने होड चलेको छ, हेर्दै हाँस उठ्दो अवस्था ।

विजय मल्ललाई यसो गर्नै परेन । 'अनुराधा' एउटैले उहाँको उचाइ बढाइदियो, कोही किन बरबाद होस् एउटैले मन मनमा बस्ने नाटककार बनिदिनुभयो, परेवा र कैदी एउटैले उत्कृष्ट कथाकार बनिदिनुभयो । बम खसाल, बम खसाल, छोरीलाई मानचित्र पढाउँदा जस्ता कविताले शिखर छुनुभयो । विजय मल्ललाई माथि पुग्न कसैको वैशाखी चाहिएन ।

विना वैशाखी आˆनै लेखनीले माथि उठेकाले विजय मल्ल अचेल बिर्सिन थालेका छन् । मरेर गएको १२ वर्ष पुग्दासमेत उहाँको त्यति सम्झना भएजस्तो लाग्दैन । बिना वैशाखीको यात्रा गर्ने महान् स्रष्टाहरूको हविगत हो यो । यस्तो बेलामा विजय मल्ललाई सम्भिmनु पनि जोखिम मोल्नुजस्तै हो ।

त्यसो त प्रश्न उठ्न सक्छ किन सम्भिmने त विजय मल्ललाई भनेर । थुप्रै आधार छन् विजय मल्ललाई सम्झने । कलाकारिता, राजनीति, चलचित्र क्षेत्र, खेलकुद, साहित्य क्षेत्र सर्वत्र बाँड्नु भयो विजय मल्लले आफूलाई । प्रजातान्त्रिक आन्दोलनमा दुई दुई पटक जेल सजायँ पाउनु भएका विजय मल्ललाई कमैले सम्झेका छन् उहाँको योगदान । इतिहास अचेल इतिहास नहुनेको लेखिन थालेको छ, विगतै नहुनेको प्रशस्ति र प्रशंसा, चर्चा परिचर्चा हुन थालेको छ । विजय मल्लले लेखनमा खासगरी उपन्यास, नाटक, कथा, कवितामा 'विजय' नै प्राप्त गर्नुभयो, त्यसैले हो सम्भिmने उहाँलाई । वि.सं. १९८२ सालको असार १० गते काठमाडौँको ओमबहालमा जन्मी वि.सं. २०५६ सालको साउन ८ गते काठमाडौ मै निधन भयो उहाँको । ७४ वर्षको उमेरमा उहाँले यो राष्ट्रका लागि दिएको योगदान सम्झेर सम्भिmने हो उहाँलाई ।

७४ वर्षको उमेर, ५८ वर्षको साहित्यिक यात्रामा विजय मल्लले नेपाली साहित्यलाई ठूलो गुन लगाउनुभयो । नेपाल भाषामा पनि कलम चलाउने विजय मल्लको विविध व्यक्तित्व भए पनि उहाँ मूलतः साहित्यकारको रूपमा चिनिनुहुन्छ । 'अनुराधा', 'कुमारी शोभा' -उपन्यास), शारदा दिदी -उपन्यास, २०५६ को समकालीन साहित्यमा प्रकाशित) विजय मल्लका कविता -कविता सङ्ग्रह) एक बाटो अनेक मोड, परेवा र कैदी -कथा सङ्ग्रह) नाटक एक चर्चा -समीक्षा) जिउँदो लास, कोही किन बरबाद होस्, बहुलकाजीको सपना, भित्तेघडी, भुलैभुलको यथार्थ, सृष्टि रोकिदैन, मानिस र मुखुण्डो, नाम नभएको मानिस, यो कस्तो दन्त्यकथा, दोभान भोलि के हुन्छ । पहाड चिच्याइरहेछ, पत्थरको कथा -नाटक, एकांकी सङ्ग्रह) उहाँका प्रकाशित कृतिहरू हुन् । सात एकाङ्की, शासदा -मासिक), कविता -त्रैमासिक) नेपाल पुकार -साप्ताहिक) को सम्पादन गर्नुभएका विजय मल्ल नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उप कुलपति, नेपाल लेखक सङ्घ सचिव, साहित्य संस्थानका उपाध्यक्ष, गौरीशंकर नाट्य समुदायका सचिव समेत भएर साहित्य क्षेत्रमा सक्रिय हुनुभयो उहाँ ।

साउन ७ गते -२०५६) अर्थात् मृत्युको एकदिन अघि मात्र वेदनिधि पुरस्कार पाउने विजय मल्लले 'एक बाटो अनेक मोड' का लागि २०२७ को साझा पुरस्कार, २०४० मा गो.द.वा. दोस्रो, २०४९ मा गंकी बसुन्धरा पुरस्कार, २०५३ को भूपालमान सिंह प्रज्ञा पुरस्कार पाउनुभयो ।

साहित्य क्षेत्रमा खासगरी नाटक विधामा बढी कृति प्रकाशित गराउनु भएका विजय मल्ल सबै विधाको उत्तिकै महत्त्व ठान्नुहुन्थ्यो र पनि नाटक विधाप्रति उहाँको झुकाव बढी थियो । सबै विधाको आ-आˆना ठाउँमा उत्तिकै महत्त्व छ तापनि नाटकलाई म सर्वसाधारणसम्म पुग्ने सजिलो माध्यम ठान्दछु । अक्षर पढ्न नजान्नेलाई पनि नाटकले छुन्छु, रङ्गमञ्चमा प्रदर्शित नाटकलाई हेर्दा ती प्रभावित हुन्छन् । सो आफँले लेखेको कुरालाई रङ्गमञ्चमा हेर्दा आफैँलाई निकै रमाइलो लाग्छ । कहिलेकाहीं त सफल कलाकारको अभिनय देख्दा यो मैले लेखेको हो र भनेजस्तो पनि भान हुन्छ । तर के भने नाटक जनसाधारणसम्म पुग्ने उपयुक्त माध्यम भएकोले यस माध्यमको क्षुद्र राजनीतिक स्वार्थ वा त्यस्तै अन्य किसिमको स्व्ार्थ पूर्ति गर्न प्रयोग गर्नु हुँदैन । मेरा विचारमा नाटकले मानवताप्रति अनास्थालाई होइन आस्थालाई, युद्धलाई होइन शान्तिलाई बल पुर्‍याउनुपर्छ । मानवका महत्तर गुणहरूको अभिवृद्धि गर्नु मान्छेलाई महामानवका स्थितिमा उठाउन राम्रो नाटकको काम हो । -'रश्मि' का लागि सम्पादक घनश्याम कँडेल)

साहित्यमा बोलेर, लेखेर, सम्पादन गरेर, सङ्घ संस्थामा आवद्ध भएर सक्रिय जीवन बाँच्ने विजय मल्ललाई रोगले ७४ वर्ष मात्र बाँच्न दिए पनि नेपाली साहित्यमा उहाँ नाटककार, कथाकार, उपन्यासकार, कविका रूपमा, सफल स्रष्टाका रूपमा बाँचिरहनु हुनेछ ।
गोरखापत्रबाट

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 8 श्रावण, 2068

लेखकका अन्य रचनाहरु