साहित्यकार तथा कुटनीतिज्ञ दुबसु क्षेत्रीसँग कुराकानी

- व्याकुल पाठक

लामो समयदेखि नेपाल सरकारको कूटनीतिक सेवामा रहेका डा. दुर्गाबहादुर सुवेदी क्षेत्री साहित्यमा दुबसु क्षेत्रीका नामले परिचित छन् । कूटनीतिक कर्म र साहित्यिक धर्म दुवैलाई एकसाथ अघि बढाइरहेका क्षेत्रीको हालै विशालकाय कवितासंग्रह साझा प्रकाशनबाट प्रकाशित भएको छ— अश्वमेध यज्ञका घोडाहरू । झन्डै ५ सय पृष्ठको यस कवितासंग्रहबारे अहिले राजधानीमा चर्चा–परिचर्चा र टिप्पणीहरू भइरहेका छन् । कवितासंग्रहका रुपमा ‘अश्वमेध यज्ञका घोडाहरु’ दुबसुको तेस्रो कृति हो । यसअघि उनका २०४७ सालमा ‘दुबसु क्षेत्रीका प्रारम्भिक कविता’ र ‘दुबसु क्षेत्रीका केही कविता’ नामक कविता संग्रह प्रकाशित भएका थिए । त्यसो त २०४३ सालमा साहित्यिक पत्रिका ‘रुपरेखा’ले ‘दुबसु क्षेत्रीका केही कविता’ शीर्षकमा १७ वटा कविता समावेश गरेर विशेषांक प्रकाशित गरेको थियो । कविता संग्रहबाहेक गजल, गीत र मुक्तक विधाका गरी उनका सातवटा कृति यस अघि नै प्रकाशित भइसकेका छन् । उनले मानवाधिकारका लागि नेपाली कविता, समकालीन नेपाली कविता, समकालीन नेपाली कविताको रुपयात्रा, समसामयिक नेपाली गजल, प्रतिनिधि नेपाली गजल, म्यान्माली नेपाली कविता, प्रतिनिधि म्यान्माली नेपाली कविता, अमेरिकाली नेपाली कविता र जापानेली नेपाली कविताजस्ता एकदर्जनभन्दा बढी प्रतिनिधि ग्रन्थ सम्पादन तथा प्रकाशन गरेका छन् । साहित्यिक पत्रकारितामा पनि लामो समयदेखि संलग्न रहँदै आएका दुबसु अहिले जापानस्थित नेपाली दूतावासमा नियोग उपप्रमुख छन् । चर्चामा रहेको उनको नयाँ कवितासंग्रह, समसामयिक साहित्यिक प्रसंग र नेपाल–जापान साहित्यिक–सांस्कृतिक सम्बन्धमा केन्द्रित रही पत्रकार व्याकुल पाठकले कवि एवं कूटनीतिज्ञ डा. दुबसु क्षेत्रीसँग गरेको ई–वार्ता :

1) निकै लामो समयपछि अश्वमेध यज्ञका घोडाहरु कविता संग्रह प्रकाशनमा ल्याउनु भएको रहेछ र यो निकै मोटो पनि रहेछ । यो संग्रह तयार पार्न कति समय लाग्यो ?
२०४६ सालदेखि २०६६ सालको वीसवर्षको अवधिमा लेखिएका कविताहरूमध्ये पाठक, समालोचक र समकालीन साथीहरुले मन पराएका कविताहरु यस संग्रहमा छन् । त्यसो त केही कविता २०३६ र २०४६ सालका बीचमा लेखिएका पनि परेका छन् । यसमा मलाई मन परेका कविताहरु पनि छन् । चुनिएका, छानिएका कविताहरु नै छन् भन्नु प¥यो ।

2) तपाईका कवितामा पूर्वीय र पाश्चात्य क्षेत्रका धार्मिक, ऐतिहासिक अनि पौराणिक मिथकहरुका प्रशस्त प्रयोग भएका रहेछन् । यसका लागि गहन अध्ययनको आवश्यक्ता पर्ने नै भयो । जागिरे जीवनको ब्यस्तताबीच अध्ययनको समय कसरी निकाल्नु हुन्छ ?
म लेखक र पाठक बराबर हुँ । अझ भन्ने हो भने म लेखक भन्दा बढी पाठक र विद्यार्थी हुँ ।
लीड्स विश्वविद्यालयमा स्नातकोत्तर गर्न बेलायत बस्दा र न्यूयोर्क विश्वविद्यालय एवं लुजियाना स्टेट विश्वविद्यालयमा विद्यार्थी भएर अमेरिका बस्दा मैले पाश्चात्य साहित्य र संस्कृतिको अध्ययन गर्ने अवसर पाएँ । आफू लेखक भएकाले धर्म, दर्शन, साहित्य र सभ्यताका कृतिहरु पढ्ने रुचि पनि भयो, बानी नै भयो । म पेशाले नेपाल सरकारको एक कुटनीतिज्ञ भएकाले सेवाका क्रममा बर्मा, संयुक्त राज्य अमेरिका र जापानमा लामो समय रहन पाएँ । विभिन्न सेमिनार, गोष्ठी र सम्मेलनहरुमा भाग लिने सिलसिलामा पचासभन्दा बढी मुलुकहरु घुम्न पाएँ । त्यहाँको साहित्य, संस्कृति र सभ्यताको अध्ययन र अवलोकन गर्न पाएँ । ती अध्ययन र अवलोकनको प्रतिविम्ब मेरा सिर्जनाहरुमा परेका छन् । सरकारी जागिरे हुँदा पनि मैले मेरो अध्ययन, सिर्जनात्मक लेखन र साहित्यिक सांस्कृतिक क्रियाकलापमा असर पर्न दिएको छैन । बरु मलाई मेरो कुटनैतिक पेशाले केही देख्न, सिक्न र लेख्न प्रेरित नै गरेको छ, सहयोग नै गरेको छ ।

3) तपाईंले लेखेका अहिलेसम्मका पुस्तकहरुमध्ये यसमा धेरै मेहेनत गर्नुभएको देखिन्छ । यो कविता संग्रहबाट के अपेक्षा गर्नुभएको छ ?
म कुनै पनि कुरा अध्ययन गर्दा त्यसको अन्तर्वस्तुसम्म पुग्ने प्रयत्न गर्दछु । त्यसैगरी लेख्दा पनि म विषयवस्तुको गहिराइसम्म पुगेर लेख्छु । म जहिल्यै पनि लेख्न बस्दा मभन्दा मेरा पाठकहरु बढी बौद्धिक, विवेकी र प्रबुद्ध छन् भन्ने सोच्दछु । ‘अश्वमेध यज्ञका घोडाहरु’ मूलतः उज्यालोको पक्षमा, आस्थाका पक्षमा लेखिएका कविताहरुको संग्रह हो । यसमा मान्छेको निर्बन्धताका पक्षमा, स्वतन्त्रताका पक्षमा र मान्छेको सार्वभौमिकताको पक्षमा लेखिएका कविताहरु छन् । मान्छेको निरन्तरता र मान्छेको निर्बन्धता अश्वमेध यज्ञका घोडाहरु कविता संग्रहका अभीष्ट हुन् । यी कविताहरु अँध्यारोविरुद्ध उज्यालोका युद्धहरु हुन् । बन्धनविरुद्ध निर्बन्धताका युद्धहरु हुन् । विभीषिकाविरुद्ध जिजीविषाका युद्धहरु हुन् । पाठकहरुले, समालोचकहरुले र बौद्धिक प्राज्ञिक वर्गले शैलीका दृष्टिले, भावका दृष्टिले मिथक र विम्बका दृष्टिले एउटा नयाँ र गहकिलो कृति नेपाली साहित्यले पाएको छ अश्वमेध यज्ञका घोडाहरु मार्फत् भनिदिनुहुन्छ भन्ने मेरो विश्वास रहेको छ ।

4) अश्वमेध यज्ञका घोडाहरुका अधिकांश कविताहरुमा लोकतन्त्र र स्वतन्त्रताको वकालत गरिएको पाइन्छ । तपाईं कवितामार्फत् कुनै दर्शन वा राजनैतिक दर्शनलाई पृष्ठपोषण गर्न चाहनुहुन्छ कि ?
अश्वमेध यज्ञका घोडाहरुका अधिकांश कविताहरु अँध्याराका विरुद्धमा छन् । यी कविताहरु युद्धका विरुद्धमा छन्, बम, बारुद र बन्दुकका विरुद्धमा छन् । विध्वंश र विनाशका विरुद्धमा छन् । यस संग्रहका कविताहरु यन्त्रका विरुद्धमा छन्, यन्त्रणाका विरुद्धमा छन् । हिंसाका विरुद्धमा, निमानवीयताका विरुद्धमा र बन्धनका विरुद्धमा लेखिएका मेरा यी कविताहरु मूलतः मान्छेलाई निर्बन्ध, स्वतन्त्र र सार्वभौम बनाउने दिशामा प्रतिबद्ध छन् । कुनै शासन, दुःशासनभन्दा शान्ति, स्वतन्त्रता, मानवता र विश्वबन्धुत्वका निम्ति सिर्जनात्मक आह्वानहरु हुन् अश्वमेध यज्ञका घोडाहरु ।

5) अश्वमेध यज्ञका घोडाहरुको वैशिष्ट्य के हो कविको रुपमा भन्नु पर्दा ?
मान्छेको मूल्य, मान्छेको मर्यादा र मानवसभ्यताको निरविच्छिन्नताका पक्षमा कलात्मक अभिव्यक्ति हो अश्वमेध यज्ञका घोडाहरु । मान्छेको निर्बन्धता र मान्छेको निरन्तरताको पक्षमा कवितात्मक उद्बोधन हो अश्वमेध यज्ञका घोडाहरु । मान्छेको निम्ति उसको स्वतन्त्रता र निर्बन्धताभन्दा ठूलो अर्को सम्पत्ति हुन सक्दैन भन्ने आस्था र आभाको आक्षरिक आवाज बोकेको छ यस संग्रहले । मान्छेलाई कुनै पनि भूगोल, धर्म, राजनीति, सम्पत्ति आदि कुनै सिमानाले छेक्न सक्दैन र छेक्न हुंदैन भन्ने आस्था र आदर्शमा अश्वमेध यज्ञका घोडाहरुका कविताहरु अडिग उभिएका छन् । एक वाक्यमा भन्नुपर्दा मान्छेको निरन्तरता र निर्बन्धता, मान्छेको स्वतन्त्रता, स्वाभिमान र सार्वभौमिकता एवम् मान्छेको शान्ति र मानवताका लागि कवितात्मक अन्तिमेत्थमहरु हुन् अश्वमेध यज्ञका घोडाहरुका कविताहरु । कवितामा शब्द र विम्बहरुको नूतनता, शिल्पचातुर्य, बौद्धिकताको प्रक्षेपण, संरचनाको नयां ढांचा र अभिव्यक्तिको नवीन शैली यस संग्रहका वैशिष्ट्य हुन् भन्ने मलाई लाग्छ ।

6) कुटनैतिक क्षेत्रको जागिरको सिलसिलामा तपाईं लामो समयदेखि देशबाहिर रहनु भएको छ । यसले मुलुकभित्रको वस्तुस्थिति नजिकबाट बुझ्न अनि त्यसलाई कवितामा व्यक्त गर्न कठिनाइ हुँदैन?
कुटनैतिक पेशामा भएकाले थुप्रै देशहरु घुम्ने र बस्ने अवसर पाएँ । तर त्यसरी ती मुलुकहरुमा बस्दा पनि आफ्नो देशबाट कहिल्यै टाढा भइएन र भइँदैन । साथीभाइ, इष्टमित्र, परिवार र समकालीन साहित्यिक साथीहरुसँग निरन्तर सम्पर्कमै भइन्छ । त्यसो त आजको इन्टरनेटको युगमा विश्वको जुनसुकै कुनामा रहे पनि कहाँ बेखबर रहिन्छ र । अर्कोतिर नेपाल सरकारको कुटनीतिज्ञका रुपमा नेपाली दूतावासमा कार्यरत भएकाले नेपाल र नेपालीबाट टाढा हुने भन्ने कुरै हुंदैन । अझ, नेपालको आर्थिक, सामाजिक र भौतिक विकासमा आफू बसेको देशको सरकार र जनताको सद्भावना, सदाशयता र सहयोग जुटाउने र बढाउने कार्यमा प्रतिबद्ध र प्रयत्नरत रहने हुंदा नेपाल र नेपालीको हित र विकासमा झन् बढी समर्पित भइएको हुन्छ । यसो हुंदा नेपालमा हुने सबै किसिमका घटनाक्रम, परिवर्तन र विकासबाट टाढा हुने त सबालै हुँदैन ।

7) यहाँले सरकारी सेवा र साहित्यिक जीवनमा बराबर सफलता प्राप्त गर्नुभएको छ । तर नेपालमा अधिकांश साहित्यकारहरु दयनीय र उपेक्षित जीवन बाँचिरहेका छन् । यसरी अभाव र उपेक्षामा बाँचेका लेखक साहित्यकारहरुको बारेमा भन्नुपर्दा तपाईंलाई कस्तो लाग्छ । लेखक हुँदा तपाईंले पनि कुनै त्यस्तो नमीठो अनुभव गर्नुभएको छ जीवनमा ?
म एउटा नेपालीका रुपमा पनि मध्यमवर्गीय जीवन बांचिरहेको भाग्यमानी व्यक्ति हुँ । अनि लेखकको रुपमा पनि लक्ष्मी र सरस्वती दुबैको बराबर आशीर्वाद पाएको व्यक्ति हुं । तर हाम्रो देशमा लेखक, साहित्यकार र पत्रकारहरुको अवस्था अझै राम्रो हुन नसकेको यथार्थ कतैबाट छिपेको छैन । त्यसो त लेखेर बांच्ने अवस्था युरोप र अमेरिकाका केही देशहरु र जापान, अष्ट्रेलियाजस्ता केही समृद्ध मुलुकहरुबाहेक अरु देशहरुमा पनि छैन । जहाँसम्म लेखक हुँदाको मेरो सन्दर्भ छ, मैले लेखकका रुपमा पनि, व्यक्तिका रुपमा पनि कसैबाट अपमानित हुनु परेको छैन । तर आफ्नो देशमा भन्दा विदेशमा हुँदा लेखक हुँ भन्दा सम्मान र आदरको भावना बढी पाएको अनुभव भने मलाई पनि भएको छ ।

8) अब अलिकति प्रसंग बदलौं । भूकम्प र सुनामीले आक्रान्त जापानमा बसेर अहिले कस्तो साहित्य रच्तै हुनुहुन्छ ?
जापान आर्थिक, भौतिक, शैक्षिक र सामाजिक विकासको उत्कर्षमा पुगेको एउटा समृद्ध, सम्पन्न र सभ्य राष्ट्र हो । तर आर्थिक र भौतिक विकासको शिखरमा पुग्दा पनि आफ्नो संस्कृति, सभ्यता र परम्परालाई नभत्काइकन विकासमा फड्को मारेको यो मुलुक समकालीन विश्वको एउटा नमूना र आदर्श राष्ट्र हो । त्यसो त प्रशान्त महासागरले चारैतिरबाट घेरेको जलपरिवेष्टित राष्ट्र, त्यसमा पनि भूकम्प, सुनामी र ज्वालामुखीजस्ता प्राकृतिक प्रकोप र दुर्घटनाहरु व्यहोरिरहनु पर्ने यहाँका जनताहरु संयमी, मेहनती र शालीन छन् । राष्ट्रियता, राष्ट्रिय एकता र परिश्रमको नमूना हुन् जापानी जनता । कहिले प्रकृतिसंग मिल्दै, अनि धेरै प्रकृतिसंग जुध्दै बांचेका जापानीहरु देख्दा मनमा एकप्रकारको श्रद्धा र आदर उर्लेर आउंदो रहेछ । गत फागुनको महाभूकम्प र सुनामी पछि एउटा संस्मरणको पुस्तक तयार पारेको छु । जापान आएपछि थुप्रै हाइकुहरु लेखेको छु । तर भूकम्प साहित्य भनेर नै चाहिँ केही त्यस्तो लेखेको छैन ।

9) एक कुटनीतिज्ञका साथै साहित्यकार पनि हुनुहुन्छ । यहाँको सम्पर्क जापानी साहित्यकारहरुसँग पनि अवश्य होला । अत्याधुनिक प्रविधिसँग अभ्यस्त जापानी साहित्यकारहरुको प्रकृति र अध्यात्मप्रतिको भावना कस्तो पाउनु भएको छ ? पटक पटक दोहोरिरहने प्राकृतिक विपत्बारे उनीहरुको लेखनमा कस्तो दृष्टि रहने गरेको छ ?
म नेपाल सरकारको कुटनीतिज्ञ भएकोले जापान सरकार, जापानी संसद, जाइका लगायत जापानका विभिन्न सरकारी र गैरसरकारी संस्था र तिनका पदाधिकारीहरुसँग सम्पर्क र सम्बन्ध हुनु स्वाभाविकै हो । आफू एउटा लेखक साहित्यकार पनि भएकोले जापानका लेखक, कवि र पत्रकारहरुसंग परिचय, सम्पर्क र सम्बन्ध बढाउने दिशामा म जापान आएदेखि निरन्तर लागिरहें । मैले थुपै्र जापानी कवि, लेखक र पत्रकार, साहित्यिक पत्रकारहरुसँग सम्बन्ध र मित्रता कायम गरेको छ । यही परिपे्रक्ष्यमा पेन जापानले मलाई मानार्थ सदस्यका रुपमा सम्मान गरेको छ भने हाइकु इन्टरन्यासनल एसोसिएसन, मासाओ फुकुदा पोएट्री एसोसिएसन, को पोइट्री एसोसिएसन र इन्स्टिच्यसन अफ इस्टर्न कल्चरले मलाई सदस्यका रुपमा सम्मानित गरेका छन् । मात्सुयामा सहरमा अवस्थित जापानको एक प्रसिद्ध विश्वविद्यालय, एहिमे विश्वविद्यालयले मलाई मानार्थ प्राध्यापकका रुपमा सम्मान गरेको छ । त्यसो त म सन् २००७ देखि हालसम्म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जापानको सल्लाहकारका रुपमा पनि सेवारत रहेको छ ।

जापानी साहित्यकारहरुको सहयोगमा मैले आधुनिक नेपाली कविहरुको प्रतिनिधि संकलन आधुनिक कविता र समकालीन नेपाली कविताहरुको प्रतिनिधि संग्रह समकालीन नेपाली कविता जापानी भाषामा अनुवाद गराई हाल प्रकाशनको अन्तिम चरणमा पुगेको छ । त्यसैगरी आधुनिक जापानी कविहरुको प्रतिनिधि संकलन आधुनिक जापानी कविता र समकालीन जापानी कविहरुको प्रतिनिधि संकलन समकालीन जापानी कविता नेपाली भाषामा अनुवाद गरी प्रकाशनको अन्तिम चरणमा पुगेको छ।

जापानी साहित्यकारहरुमा प्रकृति र अध्यात्मप्रति अत्यन्त ठूलो लगाव र प्रभाव रहेको पाएं । पूर्वीय साहित्यको एउटा समृद्ध र सदीर्घ विधा हाइकुको जन्मभूमि र कर्मभूमि जापान नै हो । हाइकु मूलतः प्रकृति र ऋतुसंग सम्बन्धित विधा हो । ५–७–५ को सूत्रमा लेखिने यो सूत्रकाव्य प्रकृति र ऋतुका विम्बमा आधारित विश्वसाहित्यकै एउटा महान र्सिजना हो । जापानी साहित्य प्राकृतिक घटना, दुर्घटनाका सम्बन्धमा पनि थप्रै साहित्यक सिर्जनाहरु भएका छन् । तर प्राकृतिक भन्दा पनि हिरोसिमा र नागासाकीमा सन् १९४५ अगस्तमा भएका नरसंहारक, निर्मम र हृदयविदारक परमाणु बमको विध्वंश र विनाश पछि लेखिएका कृतिहरुले जापानी साहित्य र विश्वसाहित्यमा ठूलो प्रभाव पारेको छ ।

10) जापानसँग नेपालको कुटनैतिक सम्बन्ध सुमधुर रहँदै आएको छ । जापान नेपालको ठूलो सहयोगी राष्ट्र पनि पनि हो तर जनस्तरमा त्यत्ति सबल हुन नसकेको महसुस गरिएको छ । तपाईं नेपालको स्थापित र चर्चित साहित्यिक व्यक्तित्व नेपाली राजदूतावासको उप प्रमुख भएको बेला यस सम्बन्धमा के कस्ता प्रगतिहरु भए ?
जापान एउटा नेपालको पुरानो र घनिष्ट मित्रराष्ट्र हो । झण्डै ११२ वर्ष अघि सन् १८९९ मा जापानका एक प्रसिद्ध विद्वान तथा वौद्धभिक्षु इकाइ कावागची वौद्ध धर्म, दर्शन र वौद्ध साहित्य अध्ययन गर्न नेपाल आएका थिए । सन् १८९९ मा सुरु भएको जापानीहरुको नेपाल प्रतिको चाख र चासो आजसम्म पनि रहेको पाइन्छ र झनझन बढिरहेको पाइन्छ । इकाइ कावागुची पछि एइजाबुरो निशिबोरी, ताइसु काम्बारा, काचुतोसी हिराबायासी, डा. नोबोरु इवामुरा, डा. हिरोउ कानाइ, माकातो मुमाता, योसिमी याकुसी, नाकाओ सासुके, ¥योजी ओमुकाइ, र्युतारो हासिमोतो, ¥युतारो याताबे, मिसुजु फुकुदा र जिरो कावाकिताजस्ता विद्धान, लेखक र अनुसन्धानकर्ताहरुले नेपालको पटकपटक भ्रमण गरेका छन् । पर्यटकका रुपमा त लाखौ जापानीहरु नेपाल पुगेका छन् । एक पटक नेपाल पुगेका जापानी दोहोर्याएर फेरि नेपाल जाने गरेको पाइन्छ ।

सन् १९५६ मा दौत्य सम्बन्ध स्थापना भएपछि यी दुई मुलुकबीच सरकारी सम्बन्ध र सहयोगमा पनि दु्रततर विकाश भएको पाइन्छ । नेपालबाट जापान र जापानबाट नेपालमा उच्चस्तरीय भ्रमणहरु सम्पन्न भएका छन् । यस्ता भ्रमणहरु राष्ट्राध्यक्षदेखि प्रधानमन्त्रीसम्म र मन्त्री र सांसदहरुदेखि उच्च पदस्थ अधिकारीहरुसम्म भएका छन् । सयौं नेपाली सरकारी कर्मचारी र प्राविधिकहरुले जापानका विभिन्न विश्वविद्यालयहरु, संस्थान र प्रतिष्ठानहरुमा शिक्षा र तालिम पाएका छन् । हजारौ नेपाली विद्यार्थीहरुले जापानमा मानविकी, वाणिज्य, विज्ञान, इन्जिनिरिङ, चिकित्साशास्त्र र प्राविधिक विषयमा उच्च शिक्षा हासिल गरेका छन् । हाल पनि तीन हजारभन्दा बढी विद्यार्थीहरु जापानमा विभिन्न महाविद्यालय र विश्वविद्यालयहरुमा अध्ययन गरिरहेका छन् ।

नेपाल र जापानबीचको दौत्य सम्बन्ध सरकारी स्तरमा मात्र सीमित छैन, जनस्तरमा समेत विकसित र विस्तारित भइरहेको छ । यसलाई हामी लेखक, कवि र कलाकारहरुको सम्बन्धमा समेत विस्तार गर्न प्रयत्नशील रहेका छौं । मेरो सुझाव र सक्रियतामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालजयी खण्डकाव्य मुनामदनको जापानी भाषामा अनुवाद भएको छ । मैले अघि नै उल्लेख गरें, अहिले म आधुनिक नेपाली कविता र समकालीन नेपाली कविताको जापानी भाषामा अनुवाद गरी सम्पादन र प्रकाशनको अन्तिम तयारीमा छु । जापानका कवि लेखकहरुलाई नेपाल र नेपालका कविलेखकहरुलाई जापान ल्याउने तयारीमा पनि म लागेको छु ।

पहिले नेपाली भाषामा जापान र नेपालमा छायाङ्कन गरी ‘मितेरी गाँउ’ भन्ने चलचित्र निर्माण गरिएको थियो भने हाल जापानी निर्देशकले प्रसिद्ध उपन्यास शिरीषको फूलमा आधारित नेपाली चलचित्र निर्देशन गर्दैछन् । दुई देशका कला र संस्कृतिकर्मीहरुको आदानप्रदानमा पनि प्रयत्नरत रहेको छु । लेखनमा म लगायत पुनम क्षेत्री, चक्र सुवेदी र कृसु क्षेत्रीको संयुक्त लेखनमा जापानमा नेपाली भाषा र साहित्य नामक एक अनुसन्धानात्मक ग्रन्थ भर्खरै प्रकाशित भएको छ । यस ग्रन्थबाट नेपालको भाषा, साहित्य र संस्कृतिको विकास र विस्तारमा लागिपरेका नेपालीहरुको विस्तृत परिचय प्राप्त हुने मेरो विश्वास रहेको छ । यसरी मैले नेपाल सरकारको एक कुटनीतिज्ञका रुपमा र एउटा लेखकका रुपमा जापानमा नेपाली भाषा, साहित्य र संस्कृतिको परिचय, प्रचारप्रसार र पहिचान कायम गर्न तथा नेपाल र जापानीबीच रहेको सम्बन्धलाई अझ सुदृढ र सुमधुर गर्न एवम् जनस्तरमा समेत विस्तार गर्न प्रतिबद्ध र प्रयत्नशील रहेको छु ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 32 आसाढ, 2068

लेखकका अन्य रचनाहरु