साहित्यिक महोत्सव र क्यान्टोनमेन्टको बास

- तुलसीहरि कोइराला

राजधानीमा कुचुर्किएर टुकुटुकु दैनिकी चलाउँदा खुम्चिएको शरीर, मन र मस्तिष्क नागढुङ्गाबाट ओरालो लाग्नासाथ तनक्क तन्किएर सिङ्गो शरीर नै उमङ्गले भरिएको अनुभव आफैँ हुन्छ । यात्रा गर्नु शरीरलाई स्फूर्तिको खुराक भर्नु हो । आखिर बसिरहेको ठाउँबाहेक एकजोर खुट्टाले डोर्‍याउँदै जोर आँखालाई जहाँ पुर्‍याए पनि त्यो नयाँ हुन्छ नै । स्थान नयाँ, संस्कृति नयाँ, परिवेश नयाँ, हावा नयाँ, पानीको स्वाद नै नयाँ, खानाको स्वाद नयाँ, बोलीको ढङ्ग नयाँ Û म पूर्वको मान्छेलाई पश्चिमको हरेक कुरा झनै नयाँ । बितेको वर्षको अन्तिम महिना सुर्खेत, दैलेख, बाँके र अछामको यात्रा गरिएथ्यो । कणर्ाली राजमार्ग हुँदै कणर्ाली नदीमा फेरीबाट गाडी तारेर अछाम पुग्दाको रोमाञ्चक यात्रा जीवनको सबैभन्दा सार्थक यात्रामध्येको कोटीमा मनको मझेरीमा पलेँटी कसेर बसेको छ । त्यहाँबाट फर्किएलगत्तै यो वर्षको प्रारम्भमै पूर्वतिर हान्निनु पर्‍यो घरायसी कामले । त्यताबाट फर्किएको लगत्तैजस्तो दाङ साहित्यिक महोत्सवमा सहभागी हुन एउटा ठूलै टोलीमा म पनि सम्मिलित हुन पाएँ । यो यात्राको पनि धेरै कारणले महत्त्व बढेको मान्छ मनले । ती कारणहरू घुम्तीघुम्तीमा खुल्दै जाने नै छन् ।

दाङ उपत्यका नेपालको सबैभन्दा ठूलो उपत्यका त हुँदै हो, विश्वकै पनि दोस्रो ठूलो हो भन्नेसम्म सुनेको छु तर पहिलो कुन हो भन्ने मेरो चेतनाको थैलीमा छैन । अघिल्लो यात्राबाट फर्किंदा पनि हामीले दाङको भूमि टेकेथ्यौँ । बेलुकाको खाना दाङकै कुनै ठाउँमा ख्वाएथ्यो गाडीले । धेरै अघिदेखि पुग्न चाहेको तर अवसर नमिलिरहेको अवस्थामा दाङलाई पनि ट्रान्जिटमा पार्ने हो कि के हो भनेर यात्राका सहयात्रीहरू-श्रीओम रोदन, सुमन सौरभ, मधु पाठक र मणि लोहनीसँग कुरासम्म फुकाएथेँ । अनि सहपाठी मित्र रमेश क्षितिजलाई मङ्गलसेनबाटै मोबाइल गरेको थिएँ । रमेशजी त्यतिबेला काठमाडौँ आएको परेछ । म खत्रक्क गलेर ढकमक्क फुलेको लालीगुराँसको फेदमा टुसुक्क बसेथेँ । मित्रले त्यतिबेलै भन्नुभएथ्यो - यसबेला यस्तै भो तर छिट्टै नै साथीहरूलाई बोलाएर भव्य स्वागत गर्न कार्यक्रम तय गर्दैछु ।

हो, यही कार्यक्रममा सहभागी हुन वैशाख २४ गते 'टुरिस्ट कोच' मा दुई दर्जनभन्दा बढी साहित्यकारहरूको टोलीमा म पनि सहभागी भएर मित्रको न्यानो स्वागतका लागि यात्रामा निस्किएथेँ । यसभन्दा अघि रेमशजी रोल्पामा स्थानीय विकास अधिकारी हुनुहुन्थ्यो । रोल्पा द्वन्द्वकालमा सधैँ चर्चामा रहेको जिल्ला । रोल्पाको भूमिमा धेरै सशस्त्र युुद्धहरू भएका छन् । काँडेतारले घेरेर राखिएको लिवाङ टेक्न मनले खुट्टालाई चौचौ बनाएथ्यो र रमेशजीलाई भनेथेँ पनि । उहाँले साथीहरू जहिले आए पनि म स्वागत गर्न तयार छु भन्नुभएथ्यो । मैले कुनै साहित्यिक कार्यक्रमको मेसो मिलाउनभन्दा त्यस्तो कार्यक्रम गर्न सम्भव नहुने भन्नुभएपछि म खिन्न भएथेँ । उहाँले भन्नुभएथ्यो-जिविसबाट एक, डेढलाख बजेट छुट्याउन गाह्रो हुँदैन तर लौन एउटा साहित्यिक संस्था बनाऔँ भन्दा कोही निस्किएनन् । यहाँ त नाचगानका संस्थाहरू मात्र सक्रिय छन् भन्नुभएपछि मन खिन्न भएथ्यो । त्यही रोल्पाबाट अलिक तल आफ्नै गृहजिल्ला दाङ र्झन पाउनुभएर रमेशजीले आफ्नै संयोजनमा 'राष्ट्रिय कविता महोत्सव-२०६८' को भव्यरूपमा आयोजना गरेर साँच्चिकै भनेजस्तै 'भव्य स्वागत' गर्नुभयो । 'पर्यटनका लागि साहित्य' र 'पर्यटनका लागि सँगसँगै' मूलभावका साथ आयोजना गरिएको कार्यक्रमको मूल आयोजक नेपाल पर्यटन वर्ष-२०११, जिल्ला विकास समिति दाङ र आयोजकमा राष्ट्रिय कविता महोत्सव-२०६८, दाङ भए पनि दुवैको प्रमुखमा रमेशजी नै हुनु र उहाँकै सक्रियतामा अन्य संघ-संस्था, नगरपालिका एवं व्यापारीहरूले साथ दिनुले यो कार्यक्रम व्यवस्थित र भव्य हुन सकेको थियो ।

लामो दूरीको यात्रामा समयको ख्याल गरेर हिँडिएन भने बेलामा गन्तव्यमा पुग्न नसक्ने त छँदैछ, फेरि अहिले त झन् बन्द, हड्ताल गर्नेहरूको तँछाड-मछाड भइरहेको अवस्थामा तोकिएको समयमा यात्रा पूरा गर्न त्यति सजिलो कहाँ छ र । नेपाल प्रज्ञाप्रतिष्ठानमा जम्मा भएर सात बजे बिहान हिँडिसक्ने भनेर यात्राको संयोजनकर्ता सन्ध्या पहाडीजीले उर्दी गर्नुभएको भए पनि उहाँकै अनन्य मित्रले डेढघण्टा थप कुराइदिँदा घोराही पुग्दा रातिको दस बजिसकेको थियो । रातको समयमा खानपिन र ओछ्यानको व्यवस्था मिलाउन आयोजकलाई असजिलो परिरहेको अनुभव गर्न सकिन्थ्यो । निम्तो पत्रमा खामेर पठाइएको कार्यक्रम विवरणअनुसार हामीले साँझ ५ बजे घोराही पुग्नुपथ्र्यो । हामी ५ घण्टा ढिलो भएथ्यौँ । यस पटकको यात्राका सहभागीहरूमा दुई जात नै बराबरीजस्तै थियौँ । यसले पनि यात्रालाई अलिक भिन्न अनुभवको बनाइरहेको थियो ।

२५ गते बिहानबाटै 'पर्यटनका लागि साहित्य' उद्देश्यअनुरूप हाम्रो यात्रा प्रारम्भ हुन्छ । रमेशजी र डा. गोविन्द आचार्यले हामीलाई अगुवाई गर्दै पहिलो गन्तव्य सिद्ध गोरक्षरत्ननाथ मठ चौघेरा पुर्‍याउनुभयो । वि.संं. ७४९ मा दङ्गाली राजा रत्न परीक्षकले स्थापना गरेको यो मठ नाथ-पन्थ सम्प्रदायको ज्यादै पवित्रस्थल भएको जानकारी पाउँदा यात्राको प्रारम्भले 'बिहानीले नै दिउँसोको सङ्केत गर्छ' भन्ने उक्तिलाई सम्झायो । गोरक्षनाथले आफ्ना पि्रय शिष्य रत्ननाथलाई दिएको पात्र -भाँडो) लाई पात्रदेव मानेर मठमा राखिएको रहेछ । एउटा कोठामा देवीको पूजा र अर्को कोठामा पात्रको पूजा गरिदोरहेछ । भारतको गुजरातबाट आएका प्रभातनाथ योगी यहाँ लामो समयसम्म बसेका र उनले बनाएका मूर्तिहरू, कलाचित्रहरू सङ्ग्रहालय नै बनाएर सम्मानका साथ राखिएको रहेछ । उनका सिर्जनाहरू हेर्दा वास्तवमै प्रशंसा गर्न लायक थिए । कलाको छुट्टै प्रतिष्ठान बनिसकेको छ अब । ती कलाकृतिहरू सम्मानितरूपमा राख्नेतिर पहल हुनैपर्छ । पृथ्वीनारायण शाहका पालादेखिका दस्तावेजहरू रहेको मठका मठाधीशहरूको पनि आफ्नै गुनासो छ । मठको गुठीको १३ सय विघा जमिन सरकारले रैकरमा परिणत गरिदिइसकेको छ । गुठी संस्थानले वाषिर्क १० लाख दिन्छ । त्यसले यत्रो मठ कसरी चलाउनु । पीरयोगी बालकनाथ भन्दै हुनुहुन्थ्यो-हामी ज्यादै अप्ठ्यारोमा छौँ । हाम्रो कुरा तपाईंहरूले पनि माथिसम्म पुर्‍याइदिनुपर्‍यो भन्दै भोलानाथ योगीले कुरा थप्नुभयो । उहाँ हिन्दू विद्यापीठका चिन्तामणि योगीका दाजु हुनुहुँदोरहेछ । बोली त ठ्याक्कै उस्तै दुवैको Û धाराप्रवाह प्रवचन दिने चिन्तामणि योगीले हिन्दू विद्यापीठमार्फत् शिक्षा क्षेत्रमा योगदान दिइरहनुभएको छ भने भोलानाथ सम्प्रदायको उत्थानमा लाग्नुभएको रहेछ ।

श्री स्वस्थानी ब्रतकथामा पढेको सतीदेवीका अङ्ग पतन भएर स्थापित शक्तिपीठहरूमध्ये दाहिने कान पतन भई उत्पत्ति भएकी अम्विकेश्वरी देवीको दर्शन गरी पीठ दर्शनमा अर्को पीठ थप्न पाएर मेरो आस्तिक मनले गौरव मान्यो । यसभन्दा अघिल्लो यात्रामा नेपालगञ्जस्थित सतीदेवीको जिब्रो पतन भएर स्थापित शक्तिपीठ बागिश्वरी मन्दिरको दर्शन गरिसकेको थिएँ । स्वस्थानी ब्रतकथामा एउटै मात्र पीठको दर्शन गर्नाले पनि जीवनमा गरिएका सम्पूर्ण पापकर्महरूबाट मोक्ष मिल्ने उल्लेख छ । जानेर त त्यस्तो कुनै पापकर्म ठहरिने काम गरेको छैन तर नजानी गरिएको रहेछ भने पनि यदि पीठको महिमा सत्य हो भने म ढुक्क छु अब । ढुक्क हुनैपर्ने थप आधार स्वर्गद्वारीको दर्शन पनि हो । धेरै अघिदेखि मनले पुग्नैपर्ने भनेर कल्पेको स्वर्गद्वारी पनि यही यात्रामा सम्भव भयो ।

मूल उद्देयअनुरूपको कार्यक्रम 'राष्ट्रिय कविता महोत्सव'को समुद्घाटन कार्यक्रमका लागि बिहानी अवलोकनपश्चात् खानपिन गरी घोराही नगरपालिकाको सभाहलमा सम्पूर्ण सहभागीहरू जम्मा भयौँ । कार्यक्रमको सभापतित्व मूल आयोजक समितिका संयोजक रमेश क्षितिजले गर्नुभयो भने प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँलाले पानसमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुभारम्भ गर्नुभयो । यति ठूलो कार्यक्रमको आयोजना गर्न अवश्य पनि धेरैको साथ र सहयोग जुटाइएको थियो । ती सहयोगी हात र मनलाई उचित कदर गर्नुपर्ने दायित्व आयोजकको आफ्नो ठाउँमा छँदैथियो । मञ्चमा राजनीतिक दलका प्रतिनिधिहरू, कार्यालय प्रमुखहरू पनि अटाइनअटाई हुनुहुन्थ्यो । विशिष्ट अतिथि तुलसी दिवस, डा. बेञ्जु शर्मा र हामी अन्य सहभागीहरू सबै अतिथिको कोटीमा पारिए पनि केहीलाई मात्र मञ्चासन पुगेको थियो । पद्मावती सिंह, हरि अधिकारी, भीष्म उप्रेती, राधेश्याम लेकाली, युवराज नयाँघरे, मातृका पोखरेल, सन्ध्या पहाडी, कृष्ण प्रसाईं, विधान आचार्य, पद्मराज जोशी, लक्ष्मी उप्रेती, विन्दु सुवेदी, बाबा बस्नेत, हेम भण्डारी, भूपीन व्याकुल, गीता पन्थ, गीता कार्की, श्रीबाबु कार्की, शशी थापा, मोहन चापागाईं, भावेश भुमरी, विशाल पहाडी, फोटोग्राफर नरेश श्रेष्ठ, विराटनगरबाट आउनुभएका विवश पोखरेल, ज्योति जङ्गल, जयान्ता पोखरेल, हामी अथितिहरूको नामावली पनि लामै थियो । आयोजक समितिका सदस्य-सचिव डा. गोविन्द आचार्य कार्यक्रममा कुनै त्रुटि पो हुन्छ कि, कुर्सीमा राख्नुपर्ने कुनै नाम पो छुट्छ कि भनेर निक्कै सतर्क भइरहनुभएको देखिन्थ्यो ।

पहिलो दिनको कार्यक्रममा 'राष्ट्रिय कविता महोत्सव' का लागि आहृवान गरिएका कविताहरूबाट छनोटमा परेका ३२ कविका कविताहरू वाचनमा राखिएको थियो । लगभग तीन सय कविताहरू प्राप्त भएका र त्यसबाट यी कविता छानिएका भनिएअनुसार वास्तवमा सबै कविता राम्रा थिए । दुई जना मात्र अनुपस्थित रहेकाले सबै कविका सस्वर वाचन सुनेर सम्भावित पुरस्कृत कविहरू आ-आफूले तय गरिएको भए पनि निर्णय सार्वजनिक गर्न चाहिँ थप दुई दिन पर्खिनुपर्ने भयो । धेरैले किन यसो गरिएको होला भनेर जिज्ञासा राखे पनि आयोजकहरूको यो निर्णय वास्तवमा सही थियो । पुरस्कृत नहुनेहरूमा उत्पन्न हुने खिन्नता, अब किन वर्षौंको मानसिकता, अन्य कार्यक्रमहरूमा सहभागी हुन अल्छी, त्यस्तो केही हुन पाएन । हामी सबैले आ-आफ्ना अनुमानलाई पोको पारेर बस्यौँ । प्रतियोगीहरूको सम्भावनाको मनमा ताला लाग्न पनि पाएन ।

हामीमध्ये धेरैको दाङको यात्रा पहिलो रहेछ । वैरागी दाइको पनि पहिलो नै रहेछ । यात्राको थकाइ, गर्मी र अलिक अस्वस्थ पनि भएकाले मञ्चमा जागा रहन उहाँलाई हम्मेहम्मे परिरहेथ्यो । पत्रकारलाई फोटो खिच्न मौका चाहिन्थ्यो । कान्तिपुरको शुक्रबारको 'प|mाइडे फेस' मा उहाँको फोटो आइहाल्यो 'म त भुसुक्कै' क्याप्सनसहित तर मन्तव्यमा चाहिँ, उहाँ निकै जाँगरिलो देखिनुभएथ्यो । सबैभन्दा न्यूनतम आयस्रोत हुने भनेको साहित्यकारकै हो । साहित्यकारहरू आएर, खाइदिएर, किनमेल गरेर होटल चल्लान् भन्ने होइन । यसरी निर्भीक हिँडडुल गर्दा पर्यटकहरूलाई सु्रक्षित, शान्त र सुुसंस्कृत मुलुक छ भन्ने अनुभव गराउनु पनि ठूलो कुरा हो । उहाँले बोलेको वास्तवमा शतप्रतिशत सही हो । आन्तरिक पर्यटनका दृष्टिले पनि हाम्रो यात्रा हामीलाई बाहेक अरूलाई प्रत्यक्ष फलदायी थिएन । हामी प्रायोजित थियौँ र प्रायोजनमा सहभागी थियौँ ।

बिहानको अवलोकन भ्रमणकै क्रममा नाथ्री फुटेर रगत थामिन निक्कै गाह्रो भएको थियो तुलसी दिवस दाइको । हामी डराए पनि उहाँ चाहिँ कहिलेकाहीँ यस्तै हुन्छ, आफैँ ठीक हुन्छ भन्दै हुनुहुन्थ्यो र मेरो अनुभवको तीतेपातीले दवाईको काम गरेथ्यो । कार्यक्रममा सधैँ मञ्च थर्काउने उहाँले आज चाहिँ नबोल्नु होला भनेको त कता नबोल्नु ! कविता र पर्यटन दुवै मान्छेकै लागि हो । मान्छेकै रगत-पसिनाको कथा नै कविता हो । मान्छेले हिँडेर खोजी गर्छ साहित्यको । कविताले मान्छेलाई सचेत, सौन्दर्य चेतनामा विकास, जीवनस्तर बढाउन मद्दत गर्ने धेरै कुरा बोल्नुभयो । पछाडि हामी कुरा गर्दै थियौँ- कतै नाथ्री पो फुट्ने हो कि यो जोसको तोडले ! धन्न केही भएन । पछि मैले हँस्यौली पनि गरेँ उहाँसँग - दाइ धेरै चर्को गरी बोल्नुभएकोले डरै लागेथ्यो तर माइककै नाथ्री पो झण्डै फुटेको Û उसैगरी भन्नुभएथ्यो-नाथे नाथ्रीले टेर्छ दिवस !!

रमेशजी यसै पनि गम्भीर स्वभावको मान्छे । त्यसमाथि जिम्मेवारी र दायित्वको गह्रौँ भारी बोकेको व्यक्तित्व, कार्यक्रमको समापनमा धेरै ओजपूर्ण बोल्नुभयो । भन्दै हुनुहुन्थ्यो -दाङमा कविहरूका लागि धेरै कुरा छन् । पहिलोपटक पञ्चायती व्यवस्था लागू भएको जिल्ला, सेनाका हतियार लुटेर युद्धको उद्घोष गरिएको जिल्ला । यहाँ कविताका विम्ब र कथाका प्लटहरू प्रशस्तै छन् । हो वास्तवमा हामीले पनि यो कुरा महसुस गरिरहेकै थियौँ । बन्द, हड्तालको मार काठमाडौँमा भोगेर हत्तुहैरान भएका हामीले दाङ पुगेर पनि यसको मार खप्नै पर्‍यो । २६ गते बिहान स्वर्गद्वारी जाने निर्धारित कार्यक्रम भए पनि २५ गते बेलुका नै सारियो । क्षेत्रीहरूको बन्द ! थारूहरूको बन्द ! तर कुनैबेला कसैले नराम्रो गरिदिँदा पनि उल्टै राम्रो पो भइदिँदोरहेछ । स्वर्गद्वारी आश्रम र माओवादीको उँगास्थित क्यान्टोनमेन्टमा इच्छाअनुसार बाँडिएर बास बस्ने भनेर आयोजकहरूले उकालो लगाउनुभयो । यी दुवै ठाउँमध्ये जहाँ बसे पनि त्यहाँ बस्नेलाई नयाँ अनुभव त अवश्य हुन्थ्यो नै तर पनि हामी यताबाट जानेहरू चाहिँ धेरैजस्तो क्यान्टोनमेन्टमै बस्ने पक्षमा थियौँ । यसको पछाडि धेरै कारण थिए । धार्मिक दृष्टिले स्वर्गद्वारी पुगेर बस्दा राम्रो हुन्थ्यो तर क्यान्टोनमेन्टको बास भनेको आफूखुसी बस्छु भनेर बस्न नपाउने बास थियो । द्वन्द्व समाधान र शान्ति स्थापनामा निक्कै जोखिम एवं चुनौतिपूर्ण भइरहेको माओवादीका क्यान्टोनमेन्टमा रहेका लडाकु र हतियारसँग साक्षात्कार हुन पाउनु आफैँमा महत्त्वपूर्ण छँदैथियो । मैले त पहिले नै रोजिसकेको थिएँ क्यान्टोनमेन्टको बास तर पनि हूलमूलमा के हुने हो भन्ने दुविधा छँदैथियो । पछि निर्णय बदलिएर सबैजना क्यान्टोनमेन्टमै बस्ने गरी व्यवस्थापन गरिएछ । यसले गर्दा धेरैजसो खुसी र सम्भवतः थोरै त्रसित पनि भएकाजस्तो अनुभव हुन्थ्यो । रात निक्कै छिपिन लागेको कारण पनि स्वर्गद्वारी पुगेर बस्न नभ्याइने अवस्था भइसकेको थियो ।

सय जनाभन्दा बढीको खानपिन र ओछ्यानको व्यवस्थापन गर्न ठूलै चुनौतिको काम थियो । त्यो चुनौतीलाई उत्साहका साथ क्यान्टोनमेन्टले स्वीकारेको थियो । नेकपा माओवादीका दाङ जिल्ला इन्चार्ज साहित्यकार निर्मल आचार्यले आयोजकलाई मात्र नभएर हामीलाई पनि हरक्षण साथ दिइरहनुभएको थियो । गेटमा रातो टीका लगाएर स्वागत गरियो र तयारी अवस्थामा रहेको खाना व्यवस्थितरूपमा खुवाइयो । खाना त ख्वाइयो तर सुत्ने कसरी ? धेरैलाई पिरलो भइरहेको बुझिन्थ्यो । दाङको सबैभन्दा ठूलो होटलमा बसेकाहरूमा पनि केहीले गुनासो गरेको सुनिएथ्यो भने सल्लेडाँडोमा क्यान्टोनमेन्टमा सुत्न ऐसआरामधारीहरूलाई गाह्रो भइरहेथ्यो । मजस्ता गाईगोठमा पनि सुतेकालाई त के गाह्रो हुनु । दाङबाटै बोकेका केही कपडा थिए गाडीमा र अनुमानमा तिनै कपडा कतै ओछ्याएर सुतिएला भन्ने थियो । तर क्यान्टोनमेन्ट व्यवस्थापनले ठूलो सदासयता र सम्मान प्रकट गरेर लडाकुहरूकै ओछ्यान हामी पाउनाहरूलाई सुत्न उपलब्ध गराइयो । केही लडाकुहरू बिदामा भएका कारण पनि सजिलो भएछ र केही चाहिँ गाडीमा लगिएका कपडाहरूमा सुते होलान् सायद । लाइन लगाएर यति जना यति नम्बरमा, यति जना यतिमा भन्दै बाँड्दा धनबहादुर ओली, मोहन चापागाईं र म एउटा कोठामा परिएथ्यो । धनबहादुरजी परराष्ट्रको कर्मचारी, मोहनजी कोष तथा लेखा नियन्त्रण कार्यालयको । छुट्टाछुट्टै खाटमा सुत्ने व्यवस्था हुँदा मनले आनन्द मानिरहेथ्यो । मलाई परेको खाट रुकुमको विक भाइको रहेछ । उनी हामीलाई पानी लिएर आएथे । एकछिन हामीले कुराकानी पनि गर्‍यौँ । उनीहरूको मनस्थिति बुझ्न चाहृयौँ । उनीहरूले पनि मनको कन्तुर हलुका गरी खोलेर देखाए । जे सोचेर लागिएथ्यो, त्योसम्म त खै कहिले पुगिने हो, पाँच हजार रुपियाँले अहिलेको यो अवस्थामा के हुनु । न राम्रो लाउन पाइन्छ, न मिठो खान नै । घर कति पठाउनु, आफूले कति चलाउनु ? यसरी थुनिएर बस्नुपरेको छ । शान्ति प्रक्रिया छिट्टै पूरा होस् र जे भए पनि टुङ्गो लागोस् भनेर ती भाइहरूले भन्दा वास्तवमा सबैको प्रतिनिधि आवाज उनीहरूले बोलिरहेझैँ लाग्यो । कोठामा एसएलसीका निमाका गेसपेपरहरू, किताबहरू र माक्र्सवाद, माओ, लेनिनका जीवनीका कितावहरू पनि थिए । भित्तामा पत्रपत्रिकाका पाना टाँसिएका थिए । तिनमा विशेषगरी माओवादी सम्बद्ध समाचार र नेताहरूकै तस्बिरहरू देखिन्थे । कोठाको भित्ताको सजावट सबैको एकैखालको रहेनछ । भोलिपल्ट केही साथीहरू भन्दै थिए- हामी सुतेको कोठामा त हिन्दी सिनेमाका हिरोइनहरूका पोष्टरहरू टाँसिएका थिए, हामी सुतेकोमा त धूपवत्ती र देवदेवीका फोटाहरू पनि पूजा गरेर राखिएको थियो, हाम्रो त परिवारका फोटाहरु थिए । मन हो, सबैको एकै कहाँ हुनु ?

हाम्रो निद्रा खुल्दा लडाकुहरूको परेड सामेलीको बेला भइसकेको थियो । बिहान कविगोष्ठी गर्ने भन्ने त बेलुकै टुङ्गो लागेकै हो । यहाँका कमाण्डर काम विशेषले क्यान्टोनमेन्ट बाहिर भएकोले सहकमाण्डर सर्वजीत घर्तीमगर र सहायक कमाण्डर परिणाम बुढामगरले मङ्गलसेन स्मृति बिग्रेडअन्तर्गतको यो क्यान्टोनमेन्टको जानकारी गराउनु भयो । आठ नं. वटालियनको पाँचौ डिभिजनमध्येको यो क्यान्टोनमेन्टमा जम्मा ५५४ जना लडाकु रहेछन् । यहाँ क्यान्टोनमेन्टकै सिर्जना मात्र सुन्ने कार्यक्रम बनाइएथ्यो । पूर्ण ओली -ज्वाला), स्माइल, कर्णबहादुर पुन, सागर, क्षितिज मगरलगायतले आफ्ना सिर्जनाहरू सुनाउनुभयो । क्षितिज मगरको रोवोट शीर्षकको कविता निक्कै उत्कृष्ट थियो । वैरागी दाइ र तुलसी दिवस दाइले पनि कविताको खुलेर तारिफ गर्नुभयो । क्षितिज नेपाली साहित्यमा चिनिएकै नाम हो विशेषगरी कथामा । उही क्षितिज नै सहायक कमाण्डर परिणाम बुढामगर हो भन्ने चाहिँ यहीँ थाहा भयो । त्यस्तै, सागरले सुनाएको संस्मरणले पनि धेरैको हृदय पगाल्यो । लिस्ने गाउँमा सेनाले ज्यादती गरेको र ७६ घर जलाएको पीडा, जीवन सँगिनीलाई गोली लागेर उपचार गराउँदाको पीडामय संस्मरण सुनाइरहँदा नसकियोस् भन्दाभन्दै सकिएको पत्तै भएन । हामी अतिथिहरूका तर्फबाट ज्योति जङ्गलले द्वन्द्वको पीडा भरिएको मार्मिक कविता सुनाउनुभएथ्यो । त्यसपछि चिया चमेना गराएर हामीलाई बिदा गरिएथ्यो र स्वर्गद्वारीको यात्रामा निस्किएथ्यौँ हामी ।

दाङ यात्राको मूल आकर्षणको केन्द्र भनेकै भूगोलले प्यूठानमा परे पनि स्वर्गद्वारीको यात्रा थियो । यताबाट जानेहरूमा कतिपय त स्वर्गद्वारी पनि लाने भनेर मात्रै आइएको भन्नेहरू पनि थिए । स्वर्गद्वारीको धार्मिक महत्त्व पौराणिक कालदेखिकै हो । द्वापरयुगमा पाँच पाण्डवहरूले अम्विकेश्वरी पीठको दर्शन गरी स्वर्गद्वारीमा आएर यज्ञ गरी महाप्रस्थ गएको सन्दर्भ पुराणहरूमा उल्लेख छ भनिन्छ । वि.सं. १९५२ देखि श्री १०८ स्वामी हंसानन्द गिरीले विश्व कल्याणको कामना गर्दै स्थापना गरेको यज्ञकुण्डमा उतिबेलै जगाइएको आगो निरन्तर बलिरहेको र निभ्न नदिएको भनिन्छ । स्वामी वि.सं.१९९७ मा ब्रहृमलीन हुनुभएको रहेछ र यसक्षेत्रमा बाहृमण, वेद, गाई र साधुलाई ज्यादै आदर-सम्मान गरिदोरहेछ । वि.सं.२०५२ चैत्र २८ मा तत्कालीन राजा वीरेन्द्रले यज्ञस्तम्भको अनावरण गर्नुभएपछि स्वर्गद्वारीको प्रख्याती झनै बढेको त्यहाँका बूढापाकाहरू बताउँथे । गाडीबाट ओर्लिएर उकालो बाटो हिँड्दा पाखामा ढकमक्क फुलिरहेको लालीगुराँसका थुँगाहरू टिपेर लगी चढाएथेँ मैले । त्यति पवित्र फूल हुँदाहुँदै अरू किनेर चढाउन मनले मानेन ।

स्वर्गद्वारीको पूजा-दर्शन र अभिषेक सकेपछि आश्रमकै भण्डारामा व्यवस्था गरिएको उद्योग वाणिज्य संघ, दाङको सौजन्यको स्वादपूर्ण खानासँग आश्रमकै गाई भैँसीको खारेको ताजा घ्यू डाडुका डाडु थपेर खाएको सम्झनाले पहाड घरमा हुँदा खाएको घ्यूको बिर्सिन लागेको स्वादको सम्झनालाई ताजा बनाइदियो । यता घ्यूको स्वादको मिठो निबन्ध लेख्ने हेम भण्डारीजी त होटलको मेरो रुमपार्टनर नै हुनुहुन्थ्यो । खानापछि लगत्तै प्रारम्भ भएको कविगोष्ठी वास्तवमै अविष्मरणीय र ऐतिहासिक बनेर मस्तिष्कमा रहिरहने छ । कविशिरोमणि लेखनाथ पौड्यालले आफ्नो सबैभन्दा महत्त्वपूर्ण कृति नव्यकाव्य 'तरुणतपसी' केही समय स्वर्गद्वारीमै बसेर लेखेको हो भनिन्छ र उक्त तपसी अजुङ्गको वाजको रुखको छहारीमा बसेर हामी नाति-पनाति पुस्ताले काफल खाँदै उनकै सम्झना गर्दै कविगोष्ठी गर्न पाउनु वास्तवमै साहित्यिक चेतना भएकाहरूका लागि ठूलो अवसर प्राप्त हुनु हो । यहाँ सिर्जना वाचन गर्ने कार्यतालिकमा हामी अतिथिहरू मात्र परेका थियौँ । तीन दर्जनले आफ्ना सिर्जनाहरू सुनाइरहँदा कार्यक्रमस्थलमा स्थानीय बासिन्दा, विद्यार्थी, शिक्षक, सन्तमहन्तहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

मठमन्दिरहरूका सन्तमहन्तहरूका गुनासो जहाँ पनि एकै किसिमको सुनियो । यहाँ पनि गुठीका जग्गाजमिन हडपिएको, आश्रम जीर्ण हुँदै गएको, १२ सय विघा जमिन भए पनि आम्दानी उठ्न छोडेको, आश्रम चल्न धौधौ पर्दै गएको जस्ता मर्मस्पर्शी कुराहरू सुनाएर स्वामी रघुनन्दन गिरीले सम्बन्धित निकायहरूमा आवाज पुर्‍याइदिन आग्रह गर्नुहुँदा उहाँको गलामा पीडाका गाँठा बटारिएका अनुभव हुन्थ्यो । हामीले यसमा के नै गर्न सक्छौँ र ! यो त राज्यको दायित्व र जिम्मेवारीको कुरा हो । सरकारका निकायका प्रतिनिधि, पार्टीका प्रतिनिधिहरू पनि भएकाले उहाँहरूले पहल गर्दा केही हुन सक्ला । अत्यन्तै महत्त्वपूर्ण स्थल हो स्वर्गद्वारी भन्ने राष्ट्रले बुझेको छ । भारतीय तीर्थयात्रीहरूको प्रमुख गन्तव्य सूचीमा छ स्वर्गद्वारी । यसलाई अझ व्यापक र व्यवस्थित बनाउनै पर्छ । यति ठूलो गौशाला अन्यत्र सम्भवतः अर्को नहोला । हामीले त कलम चलाउने हो, आ-आफ्नो क्षमता र माध्यमअनुसार सबैले चलाउलान् नै ।

कार्यक्रम समापनपश्चात् हतारोमै ओरालियौँ हामी । दूरीको हिसाबले धेरै नभए पनि साँघुरो र कच्ची सडकका कारण बाटोले निक्कै समय खाइरहेथ्यो । स्वर्गद्वारीको घ्यूभात र होलेरीको चिया-काँक्रोले छोडिसकेको थियो । द्वन्द्वकालसँग होलेरी निकै महत्त्वका साथ जोडिएको छ । वस्ती सानै भए पनि यसले क्रमशः व्यापारिक केन्द्रका रूपमा आफूलाई अग्रसर गराउँदै लगेर द्वन्द्वको घाउमा खाटा बसाउन खोज्दै रहेछ । उन्नतजातका खसीबाख्राले डाँडोलाई आकषिर्त बनाएका थिए । घोराही फर्किएर सिंसहनीया थारुग्रामको स्वागत, थारु परिकार र संस्कृतिको स्वाद लिन जानैपर्ने थियो । राति अवेर गरी पुगे पनि राम्रै स्वागत-सत्कार पाइएथ्यो । थारु परिकार विशेषगरी मैनबत्ती आकारको चामलको पिठोबाट बनाएको ढिक्रीले हाम्रो भोक मेटाइदिएथ्यो । अवेर भएका कारण हुनुपर्छ, नाचगानको रौनक भने उति जमेन । होटल फर्किएर खाना खाई आरामले सुतेपछि बिहान शरीरले निक्कै राहत महसुस गरिरहेथ्यो ।

आज २७ गते महोत्सवको समापनको दिन तर कार्यक्रम धेरै बाँकी नै थिए । २८ गते बिदाइ कार्यक्रम भए पनि बन्द घोषणा गरिएको कारण २७ गते बेलुका नै हिँड्ने निर्णय गर्नुपरेथ्यो । यसैले गर्दा रमेशजीलाई समय व्यवस्थापन गर्न र कार्यक्रम मिलाउन धौधौ परिरहेथ्यो । शान्ति उद्यान वाटिका, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको अवलोकन सकेर बराहक्षेत्रको बाह्रकुने दहमा तयार पारिएको खाना खाई कविगोष्ठी पनि गर्नु थियो । वाटिकामा स्थानीय स्रष्टाहरूका कविता सुनेर चियानास्ता गरी फर्किएथ्यौँ भने विश्वविद्यालयमा छोटो स्वागत कार्यक्रम भएथ्यो । आयोजकका सिर्जनाहरू अहिलेसम्म सुन्नै पाइएको थिएन । रमेशजीलाई कविता सुनाउन कति आग्रह गर्दा पनि हाम्रो आचारसंहिता छ भनेर मान्नुभएको थिएन । बाह्रकुने आएर बल्ल सुन्न पाइयो । सुशील गौतमले शारीरिकरूपमा अपाङ््गता भए पनि गजल औधि मिठो सुनाएर माहोल तताउनुभएथ्यो । त्यसपछि घोराही फर्किएर समापन कार्यक्रम गर्नुपर्ने हतारो त छँदै थियो ।

प्रतियोगिताको परिणाम घोषणा कस्तो होला भन्ने कौतूहल सबैमा थियो नै । प्रतियोगीहरूमा त झन् हुने नै भयो । समापन कार्यक्रमको पहिलो काम यही भयो । निणर्ायक मण्डलमा कोको हुनुहुन्थ्यो भन्ने जानकारी यतिबेलासम्म बाहिर आएकै थिएन । डा. गोविन्द आचार्यले बल्ल जानकारी गराउनु भयो- तीन जनालाई छुट्टाछुट्टै रूपमा ३२ वटै कविताहरू शीर्षक मात्र राखेर पठाइएको रहेछ । तीनै जनाले दिएको छुट्टाछुट्टै नम्बरलाई जोडेर निर्णय गरिएको जानकारी गराउनुभयो । ती तीन जना निणर्ायकमा तुलसी दिवस, मञ्जुल र अविनाश श्रेष्ठ हुनुहुँदोरहेछ । यस्ता प्रतियोगिताहरूमा निष्पक्ष निर्णय नआउने गरेको र प्रज्ञाप्रतिष्ठानको कविता महोत्सव त झनै विवादित हुने गरेकोमा यहाँ कस्तो होला भन्ने त छँदैथियो । तुलसी दिवसले निर्णय सार्वजनिक गर्नुभयो-नुवाकोटका रामबहादुर तामाङ -रावत) प्रथम, काठमाडौँका हेम प्रभास द्वितीय, खोटाङका अर्जुनकुमार ढकाल तृतीय र भोजपुरकी रीता खत्री सान्त्वना । यो निर्णयले सबैको अनुमानलाई सही सावित गरेको थियो । राम्रा कविता पुरस्कृत भएथे । निणर्ायकमण्डलको निष्पक्षताको तारिफ भएथ्यो । २० हजार, १५ हजार, १० हजार र ५ हजार नगदसहितको प्रमाणपत्र र हामी सबै अतिथिहरूलाई मायाको चिनो प्रदान गरेपछि कार्यक्रम विधिवतरूपमा समापन भएथ्यो ।

बेलुकाको बिदाइ भोज ज्यादै हार्दिकतापूर्ण थियो । मन खोलेर गरिएको बिदाइ पार्टीपछि भावविभोर हुँदै रमेशजीले अङ्कमाल गरेर बिदाइ गर्नुभएथ्यो । कति जना बोलाएका साथीहरू पनि आएनन् र कति जना यताबाट नबोलाएका पनि आए । धेरैजना भएकाले साथीलाई गर्नुपर्ने विशेष सत्कार गर्न पो सकिनँ कि ? सरी है ! भन्दा मैले हिन्दी शब्दको प्रयोग गर्दै 'किन सर्मिन्दा बनाउनुहुन्छ' भन्नुपरेको थियो । उता धनबहादुर ओलीजी केही दिन बस्न आग्रह गर्दैहुनुहुन्थ्यो तर सम्भव थिएन बस्न । प्रायःदिउसो हाक्ने ड्राइभर भएकाले राति समस्या पो हुन्छ कि भन्ने डर भए पनि भोलिपल्ट समयमै काठमाडौँ छिर्न सकियो । यस्तो यात्रामा पहिलोचोटि निस्किएका केही महिला र आˆनो गु्रप अग्रपङ्क्तिमा बस्नैपर्ने स्वार्थी प्रवृत्तिका कारण थोरै असहज वातावरण बने पनि यो यात्राले धेरैको मन-मस्तिष्कमा अमिट छाप छोड्न सफल भएको छ ।

सबै यात्रा यस्ता सम्झनलायक हुन सक्दैनन् । कतै सहभागीहरूको कारण, कतै आयोजकहरूको कमजोरीको कारण कतै अपि्रय घटनाहरूका कारण त्यो यात्रा छिट्टै बिर्सिन पाए हुन्थ्यो भन्ने लाग्छ मलाई तर यो यात्रा भने जीवनकै उपलब्धिपूर्ण बनेको छ ।
मधुपर्कबाट

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 29 आसाढ, 2068

लेखकका अन्य रचनाहरु