साहित्यकार, 'भानु' मासिकका प्रकाशक / सम्पादक भवानी घिमिरेसँग कुराकानी

- राजा पुनियानी

राजनैतिक, साहित्यिक र सामाजिक दायित्वबोध एकैचोटि वरण गरेर हिँड़्ने इतिहासपुरूष भवानी घिमिरेको 80 वर्षको उमेरमा निधन भयो। साहित्यको सैद्धान्तिक र व्यावहारिक इतिहासबोध वहन गर्ने घिमिरेले लगभग आधा शताब्दीदेखि एक्लो प्रयासमा निरन्तर लोकप्रिय साहित्यिक पत्रिका 'भानु' निकालिरहे। उमेरको पल्लो छेउ पुगिसक्दा पनि घिमिरे मनले र जोशले झरझराउँदा युवकसरह थिए। तिनी भारतका दार्जीलिङ, सिलगढ़ी, असम, डुवर्स भ्रमणमा आइरहन्थे। भारतले माया गर्थ्यो तिनलाई। त्यो माया पाउन घरिघरि धाउँथे। त्यसो र भवानी भारत-नेपाल साहित्यिक बन्धुत्वका बलिया साँघु थिए, जसले भौगोलिक सिमानालाई मेटिसकेका र जितिसकेका थिए। नेपाली साहित्यमा कवितालाई कोठाबाट सड़कमा ओर्ह्लिने आह्वान गर्दै सड़क कविता आन्दोलनको शङ्खघोष गर्ने अनि ऐतिहासिक बूट पलिस र भोक कविता आन्दोलनको अग्रिम डफ्फाका यात्री भवानीले कविता वाचन गर्दा सुन्नेको रौं खड़ा हुन्थे। आङ सिरिङ्ग हुन्थ्यो। तिनको विचित्र र अनन्य कविता वाचनको शैली आफैमा एउटा धरोहर थियो। यस्तो लाग्थ्यो, मानौँ, तिनका आँखा, औंली, हात र ओठहरूबाट विस्फोटित भइरहेका छन् शब्दहरू कविताका। 'भानु'-को असम-कटुवाल विशेषाङ्क-को सिलसिलामा असम दौड़ाहाबाट फर्किएका कवि घिमिरे सालबारी वास बसेका थिए। साहित्य अध्येता विद्वान् गोपाल भण्डारीको निवासमा छँदा सन् 2007-को मार्चमा लिइएको अन्तरङ्ग अन्तर्वार्ता।
---------------------------------------
■ दीर्घकालदेखि दिगो छ 'भानु'। सम्पादन-प्रकाशन तपाईँ एक्लैले कसरी गर्नुहुन्छ?

-थाल्दा एक्लै थालियो। अहिले चाहिँ टिम बनिँदैछ। बिस्तार।

■ पेशादार टिम?

-पेशादार रूप नै त ग्रहण गरिहालेको छैन। ...साहित्यिक पत्रिकाले पेशादार रूप लिँदैन पनि।

■ किन होला?

-108 अङ्क निकालेपछि पारसमणिले (पारसमणि प्रधान- भारततिरका आरम्भिक लेखक-अ.) भने, अब म 'भारती' निकाल्न सक्दिनँ। उनलाई भेटेर मैले सोधें, गुरू किन बन्द गर्नुभो? उनले भने, अब नेपालीलाई पत्रिका चाहिँदैन। मोतीरामदेखि आजसम्म नेपालीमाथि चुनौती छ। विद्वान् र साधारण दुवैले पढ़्नुसक्ने एउटा लोकप्रिय र व्यापक पत्रिकाको प्रकाशनको चुनौती। यही चुनौती 'भानु'-को प्रकाशनबाट मैले स्वीकारेको हुँ। 'भानु' अहिले मासिक 12 सय निस्कँदैछ।

■ यति लामो समयदेखि भानु निस्किरहेको छ। स्थायित्वको रहस्य?

-आफ्नो सम्पत्तिबाट दश लाख रूपियाँ सुम्पिएर ट्रस्टी बनाएको छु।... प्राज्ञ, साधारण सबैलाई हो यो पत्रिका।

■ अहिले, कहाँ छ नेपाली साहित्यिक पत्रकारिता?

-नेपाललगायत दार्जीलिङ, बनारस, देहरादूनको गतिवधि हेरेर भन्नु हो भने सङ्कटमा नै छ नेपाली साहित्यिक पत्रकारिता। अहिले आएर नेपाली समाचारप्रधान पत्रकारिता अलिअलि फस्टाएको छ।

■ यसपालि भएको नेपालको जन आन्दोलनमा कुन पत्रिका जनताको पत्रिका ठहरियो?

-'कान्तिपुर'। नेपाली जनता राजतन्त्रको विरोधमा ओर्ह्लिँदा जनताको अभिव्यक्ति भएर यही पत्रिका लोकप्रिय रह्यो। सरकारी 'गोरखापत्र'-तिर जनताको आँखा लाग्दैन।

■ साहित्य र सत्ताको अन्तरसम्बन्धबारे यहाँले कस्तो धारणा राख्नुहुन्छ?

-साहित्य कहिल्यै पनि सत्ताको हुँदैन। साहित्य धेरै फस्टिएर जाओस् भनेर अकादमी बनाएको होइन।

■ उसो भए, साहित्यिक अकादमीहरू बनाइने कारण के छन्? सत्ताको माउथपीस बनाउनलाई?

-बाध्यता-प्रशासनिक। समयानुसारको। यस्ता अकादमीहरूमा सुविधा भने क्यै छैन तर...

■ सरकारले साहित्यकारलाई पाल्न खोज्छ नि...

-साहित्यकारलाई पाल्ने जनता हुन्। सरकार होइन। साहित्य फस्टायो भने त सत्ताप्रति नै द्रोह हुन्छ। हरेक सत्ताको गर्भमा अर्को सत्ताको वास हुन्छ। साहित्यकारले समाजको अण्डरकरेण्ट हेर्नुपर्छ। फिलोसफिकल्ली हेर्नुपर्छ।

■ नेपालमा साहित्यको स्थिति?

-अकादमीवाद चल्छ नेपालमा। फेभरको कुरा हुन्छ। को वामपन्थी, को हामपन्थी। अड़्कलबाजी चल्छ।..हामी भने तर सड़कमै ओर्ह्लियौँ। प्रजातन्त्रको पुनर्निर्माणका लागि 'सड़क कविता आन्दोलन' थाल्यौँ। वि. सं. 2036 पञ्चायती कालमा तीन सय जनाले यो आन्दोलनमा भाग लिएका थिए।

■ यसपालिको जनान्दोलनमा नि...

-कविता जनतामा जानुपर्छ। जनताले बुझ्ने हुनुपर्छ। जनताकै लागि लेखिएको हुनुपर्छ।

■ यसमा तपाईंहरूसित 'राल्फा'-हरू पनि थिए कि?

-'राल्फा' भन्थ्यो- कविता अब दरवारमा होइन, कोठामा हुनुपर्छ। 'सड़क कविता आन्दोलन'-मा कविता कोठाबाट सड़कमा आयो। यसैले 'राल्फा' र 'सड़क कविता आन्दोलन'-मा फरक छ।

■ 'सड़क कविता आन्दोलन'-को उपलब्धिलाई कसरी हेर्नुहुन्छ?

-कविता दुरूह बन्दै गएको थियो। अस्तित्ववादको प्रभावले। काफ्का, सार्त्र, कामुको प्रभाव पर्‍यो। तेस्रो आयाम आयो अस्तित्ववादकै नेपाली रूपान्तर भएर। यस्तोमा हामीले कविताको सरलताको आग्रह राख्यौं।

■ साहित्यमा प्रयोग- यसलाई कति समर्थन गर्नुहुन्छ तपाईँ?

-प्रयोगको पक्षमा छु। तर 'प्रयोगकै निम्ति प्रयोग'-को पक्षमा भने छैन। 'लीला लेखन'-मा कृष्णको कुरा उठाएर कुनै नयाँ कुरा आउँछ- लाग्दैन। नयाँ भाषामा पुरानै कुरा दोहोर्‍याउनु, पेश गर्नु बेग्लै कुरा हो। त्यो चटक हो। जादू हो। तर ठूलो कुरो हो नयाँ दर्शन दिनु। नयाँ दिशा दिनु। नेपाली जाति खुकुरी चम्काएरै बाँचिरहन्छ र? अब जमाना बौद्धिकताको छ।

■ अघि कविता बौद्धिकतातिर लम्किएको कुरा गर्नु भयो। तर "बौद्धिकताको जमना"-मा त कविता पनि दुरूह हुँदैन र?

-कविता सरलबाट दुरूह हुँदै जाँदैछ। "एकान्तस्थलमा सीता पनि थिया..."-बाट "फर्सीको जरा..."-मा पुग्यो। यो सङ्कट हो।... आज कविताको किताब किन बिक्री हुँदैन। दुरूहताले गर्दा। कवितालाई सरलतातिर लैजाने प्रयास हुनुपर्दछ।

■ उसो भए साहित्यको केन्द्रमा जनता छ...

-जनताको पृष्ठभूमिमा नलेखी साहित्य चिरञ्जीवी हुँदैन। साहित्य भूमिबाटै उठ्छ। जनताले पढ़िदिएन भनेर हुँदैन। जनताको आन्दोलनले पनि नयाँ थोक दिनेगर्छ। यसले जनतासँग गहिरो सम्बन्ध दिनेगर्छ।

■ तब त 'सड़क कविता आन्दोलन'-को कुनै राजनैतिक माग निश्चय थियो- किनभने त्यो आन्दोलन जनताकै पृष्ठभूमिमा, पृष्ठभूमिबाट उठेको हो...

-प्रजातन्त्रको कुरा गरियो। निरङ्कुशतामा साहित्य फस्टाउँदैन। राजतन्त्र-पञ्चायती व्यवस्था थियो नेपालमा। त्यसैले प्रजातन्त्रको राजनैतिक एस्पिरेशन (आकाँक्षा-अ.)-लाई कवितामा ढालेर आन्दोलन गरिएको थियो।

■ कति दिन चल्यो त्यो आन्दोलन?

-डेढ़-दुइ महिना।

■ विशेष को-को थिए त्यो आन्दोलनमा?

-अशेष मल्ल, मोहन कोइराला, कटुवाल, विश्वविभू घिमिरे, बेञ्जु शर्मा, मञ्जु शर्मा, उषा शेरचन, शैलेन्द्र साकार। अरू पनि धेरै थिए।

■ सड़क कविता आन्दोलनले निरन्तरता पायो के?

-एउटै कुरा कन्टिन्यु भइरहँदैन। आन्दोलनको पनि निश्चित अवधि हुन्छ। जनताको भवनालाई फीडब्याक दिने। मैले सड़क कविता बोकिरहेको भए म असफल हुन्थें। मैले इतिहास बनाएँ। कोइराला, कटुवालजस्ता दुरूह र सरल भाषामा लेख्नेहरू पनि सड़क कवितापछि 'बूट पलिस आन्दोलन'-मा लागे। त्यसपछि 'भोक कविता आन्दोलन'...

■ यी आन्दोलन उद्देश्य निष्पादनको दृष्टिमा कति सफल भए त?

-त्यसलाई हेर्न हामीले स्वयंलाई पनि मूल्याङ्कन गरेर हेर्नुपर्छ।

■ कथा-कविता-निबन्ध-साहित्य पत्रकारिता- कुन विधामा यहाँले आफूलाई सफल मान्नुहुन्छ?

-हिन्दीमा "दो मित्र" कथा लेखें। हिन्दीमा नेपाली केटाले पनि लेख्नुसक्छ भनेर वाहवाही लुटें। छात्रवृत्ति समेत पाएँ। अरूको कथा हेरेर मेर कथा प्रिय भएन। किनभने त्यो थोपियो। कृत्रिम भयो। कवितामा लागेँ। त्यसैमा पपुलर भएँ। म कवितामा नै लागिरहनु हो भनेकवितैले भात खुवाउनेछ। मेरो कविताको किताबको पाँचौँ संस्करणसम्म छापियो। 46-को प्रजातन्त्रको आन्दोलनमा झापा जेलमा हुँदा लेखेको हुँ "स्मृतिका रेखाहरू" (कविको लोकप्रिय कविता सङ्ग्रह-अ.)। 60 सालमा विराटनगर जेलमा पसेँ। अन्तिम चरणमा राजाले मन्त्री हुने मौका दिएका थिए।

■ मान्नुभयो?

-अँहँ मानिनँ। राजा महेन्द्रले प्रयास गरे तर...

■ 'बूट पलिस आन्दोलन'-को आशय वास्तवमा के थियो?

-बूट पलिश आन्दोलन एकप्रकारको स्टण्ट थियो। 1946-को आन्दोलन अघि भएको हो यो।

■ कस्तो स्टण्ट होला?

-साहित्यकारले जुत्ता पलिस गर्ने काम गर्नु, सड़कमा स्टण्टै त भयो नि। यत्रो तानाशाही भयो। अब लेख्ने काम छैन। हामी बूट पलिस गर्छौं बरू भन्ने व्यङ्ग्य।...यसमा समलाई पनि लगेँ।

■ बालकृष्ण?

-ज्यू, बालकृष्ण सम।

■ समले पनि जुत्ता पलिस गरे त?

-सम न्यू रोड भएर जाँदै रहेछन्। बोलाएँ र जुत्ता पलिस गराएँ। महेन्द्र राजाका छोरा धिरेन्द्र समेत आए।

■ 'बूट पलिस आन्दोलन'-को अवधि र क्षेत्र?

-लगभग 1 महिना चल्यो। आन्दोलन काठमाड़ौंभरि सीमित रह्यो।

■ अनि 'सड़क कविता'-को क्षेत्र चाहिँ?

-सड़क कविता त देशभरि चल्यो। 30 जिल्लामा।

■ भारतीय समाजमा किन आएन त्यो?

-लेखेर आयो नि।

■ 'स्मृतिका रेखाहरू'-मा 'मण्डेला र आँसु'-जस्ता बलिया र सुन्दर कविता छन्, जसलाई भोक कविता भन्नु भेको छ। यो कविता भोक कविता कसरी भयो?

संसारमा 'ह्याभ्स' (हुने-खानेहरू-अ.) र 'ह्याभ नट्स' (नहुने-नखानेहरू-अ.)-हरूबीच लड़ाइँ जारी छ। ...जबसम्म सबैले खानसक्ने स्थिति आउँदैन, तबसम्म न्याय, प्रजातन्त्र, समानता कोरा नारा हुन्। फन्टुस मात्र हुन्। मात्र भाषणका लागि। कोही दूधभात खाने, कोही नूनभात पनि नपाउने। अनि कसरी समानता? कस्तो समानता? यस्तै विचारको अभिव्यक्ति हो भोक कविता।

■ 'भोक कविता'-का क्याडरहरू?

-कृष्ण धरावासी, हीरा आकाश, अमृतलाल श्रेष्ठ...अरू पनि चौबीसै घण्टा रहन्थे मसित। म मार्गदर्शन गर्थें।

■ कति लामो चल्यो यो आन्दोलन?

-म झापा बसुञ्जेल चल्यो जोड़तोड़ले। तर यसै चाहिँ वर्षौं तन्कियो। वास्तवमा कुनै मूभ्मेण्टको अज्ञानता, स्थायित्व भन्ने हुँदैन। मैले कविताको इम्प्याक्ट समाजमा दिनु चाहेँ। कुरा त यति नै हो।

■ आन्दोलनपछिको अध्यायमा?

-प्रशासनमा पनि गएँ। सोसियल वेल्फेयर काउन्सिलको नेशनल भाइस-चेयरम्यान भएँ। जुन पद राज्यमन्त्रीको समतुल्य थियो।

■ सत्ताको नगिचै पुग्नु भएछ नि...

-प्रजातन्त्रमा, 46 सालपछि गिरिजाको प्रधानमन्त्रित्वमा मैले रानीको समान ठाउँ पाएँ। गाड़ी चढ़ें।...के मैले यसो गर्नु हुँदैन थियो र?

■ भोक कविता, सड़क कविता आन्दोलनहरूमा सरकारी दबाउ कति थियो?

-खूबै थियो। सड़क कविता भएको 15 दिनमा 2034 सालमा, वीरेन्द्र राजाको मान्छेले पी.ए. पठाएर कविता सुन्नु मन लागेको निहुँ गरेर बोलाई पठाए। रोयल फिजिशियनले के-के खाने भनेर लगे। ...पहाड़ीकी श्रीमतीले आकाशपाताल देखाइन्। भनिन्, "ज्यान खतरामा छ। तपाईँ होश गर्नुहोस्।" मैले भनेँ, "म होशमै छु।" भनिन् अझ, "के आन्दोलन छाड़्न सकिन्न?" मैले भनेँ, "म यति अघि बढ़ें। पछि फर्किन्नँ। मैले राम्रो बुझ्याछु। मेरो 5 बजे कविताको कार्यक्रम छ। मलाई पुर्‍याउनुहोस्।"

■ 'भोक कविता'-को सैद्धान्तिक प्रारूप के होला?

-गरेको छु। भानु-मै लेख छन्। मेरो अभिव्यक्ति विविध-मा छ।

■ साहित्यमा भौगोलिक सीमाबारे यहाँको विचार...

-नेपालको साहित्य, भारतको साहित्य, यस्तो प्रभाव गलत हुन्छ। नेपाली साहित्यको आन्दोलन तीनधारेको बेग्लै, सिलगढ़ीको बेग्लै, गुवाहाटीको बेग्लै हुन्छ र? यताको निम्ति भानुभक्त सम्पत्ति हुन्। उताको निम्ति पारसमणि।

■ उसो भए साहित्य भौगोलिक सीमादेखि माथि हुन्छ भन्ने नै मान्नुहुन्छ त?

-माथि हुन्छ तर प्रभाव भने स्थानीयताको अवश्यहुन्छ। सिक्किमे नेपाली साहित्यमा सिक्किमे रैथानेहरूको प्रभाव, सिलगढ़ीमा बङ्गला साहित्यको प्रभाव। समग्रतामा नै तर नेपाली साहित्य छ।

■ फरक पार्ने खाँचो छ कि?

-छैन।

■ नेपालतिरको साहित्य लेखनमा प्रयोग र परम्पराको कस्तो समीकरण छ?

-दुवै प्रवृत्ति छन्। तर प्रयोगवादी र परम्परागत धारामाझ द्वन्द्व छ। समग्रमा नेपाली कविताको चाहिँ अग्रगामी विकास भएको छ। एशियामै नेपाली भाषाको कविता गणनायोग्य छ। उपन्यास, कथाको विकास भने गौण छ।

■ भारततिरबाट लेखिने नेपाली साहित्य?

-कुनै नाम दिएर- जस्तै 'लीला लेखन', 'तेस्रो आयाम',...केही राम्रा कृति आए। "आज रमिता छ" जस्ता कृति। ईश्वरबल्लभको 'मेरो आमाले आत्महत्या गरेको देश'। काइँलाको 'मातेको मान्छेको भाषण'। उता "रूपमति", यता "भ्रमर"-ले लेखनमा आधुनिकता ल्याए।

■ विश्व साहित्यमा नेपाली साहित्यको ठाउँ?

-विश्व साहित्यमा तीव्र गतिको विकास छ। विश्व साहित्यको हाराहारी नेपाली साहित्य पुग्यो भन्न सकिँदैन।

■ अहिले के विचार भुनभुनिरहेको छ तपाईँभित्र?

-साहित्य विकासको निम्ति राष्ट्रव्यापी सस्था चाहिन्छ। अर्को, भिनुभक्तलाई प्रतीक बनाई भानु साहित्यिक प्रतिष्ठान बनोस् चाहन्छु। किनभने, अब अनेपालीले पनि भानु चिन्छन्। यहीमार्फत् विवादहरू सुल्झाउनुपर्छ। ...अनुवादजस्ता माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध समेत कायम गर्नुपर्छ।

■ साहित्यिक पत्रकारितामा यत्रो वर्ष रहेपछि आफ्नो सृजनात्मक लेखनमा कुनै प्रभाव परेकोझैं लाग्छ यहाँलाई?

-साहित्यिक पत्रकारितामा लाग्नेको इफेक्ट आफ्नो साहित्यिकतामा लाग्छ नै। हामी मैनझैं हौँ। त्याग छ हामीमा। कविता मात्र लेखेको भए म धेरै 'राम्रो कवि'-मा गनिन्थेँ हुँला तर अहिले 'कवि' मात्र छु।

■ उसो भए यहाँलाई कहीँ न कहीँ यो त्यागको पछुतो पनि छ...

-छैन। एकदमै छैन। नेपाली साहित्यको सेवा गर्नुमा आनन्द छ। माया पनि त पाएँ नि धेरै।

■ यहाँलाई केमा चाख लाग्छ?

-कविता र राजनीतिमा।

■ कविता र राजनीतिमाझको सम्बन्धबारे यहाँको धारणा बताइदिनुहोस् न...

-कवितामा राजनीति हुन्छ। राजनीति जीवन हो। राजनीतिबाहेक केही सोच्न सकिँदैन। भातमा, नूनमा, तेलमा- जेमा पनि छ यो राजनीति। पोलिटिकल्ली कन्सियस (राजनैतिक रूपले सचेत-अ.) भएपछि कवितामा राजनीति पनि परिहाल्छ।

■ प्रगतिवादी साहित्यलाई कसरी हेर्नुहुन्छ यहाँले?

-साहित्यमा सिकारूले मात्र वाद, धाराको कुरा गरिहिँड़्छ। हामी जनजीवनबाट टाढ़ा जानैपर्दैन। "बन्धनको विरोध होइन/ बेलाको बोली बोल्दैछु/ व्यवस्था चर्किँदैछ/ बिस्तार बिस्तार खेल्दैछु।" (हठात् उत्तेजित भएर आफ्नो कवितांश आवृत्ति गर्छन्- अ)

■ साहित्यिक यात्रीको रूपमा पनि चिनिनुहुन्छ नि यहाँ...

-म साहित्यको निम्ति बाबुको सम्पत्ति छाड़ेर यायावर भइहिँड़ेँ। सम्पन्न परिवारमा जन्मिएँ। जमीनदार बाबु विरुद्ध विद्रोह गरेँ।
साभार: हिमालयन टाइम्स, कालेबुङ; सुनाखरी समाचार, सिलगढ़ी

(सम्भवत: भारततर्फबाट लिइएको भवानी घिमिरेको अन्तिम अन्तर्वार्ता-अ.)

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 17 आसाढ, 2068

लेखकका अन्य रचनाहरु