केदारमान व्यथित

- नरेन्द्रराज प्रसाई

नेपाली भाषासाहित्यको सङ्गठन र सृजनामा समर्पित थिए- केदारमान व्यथित । उनी सङ्गठनका महारथी र सृजनाका सम्राट् थिए । उनी त्यत्तिकै न्यायिक पनि थिए । राणाकालीन युगमा देशको चौतर्फी विकास र जनताको सुक्खसमृद्धिको माग राख्ता उनी पक्राउ परे । तर त्यस बेला जेलभित्रै सिद्धिचरण श्रेष्ठले उनलाई राम्रो कवि बनाउन मलजल गरेका थिए ।

व्यथित ओजस्वी व्यक्तित्वका धनी थिए । उनको योगदान नेपाली परिवेशमा प्रेरक भइरहृयो । खास गरेर राजनीति र साहित्यमा उनको अद्वितीय योगदानका थियो । त्यसैले आफूले आरोहण गरेको नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपतिको गद्दी राजा महेन्द्रले केदारमान व्यथितलाई ओछयाइ दिए । साहित्यिक राजाको गद्धीमा बस्ने व्यथित पहिलो जनताका छोरा थिए । त्यसपछि नेपाली भाषासाहित्य, राजा महेन्द्र र केदारमान व्यथितको महिमाले शिखर छोएको थियो ।

राजा महेन्द्रले व्यथितलाई सारै माया गरे । त्यसैले राजाले उनलाई जग्गा दिए, घर बनाउन पैसा पनि दिए र आर्थिक खुट्टा टेकाउन विविध सहयोग पनि गरे । त्यसैले व्यथित पनि मन, वचन र कर्मले सदैब राष्ट्रहीतमा नै जुटिरहे ।

व्यथित सधैं उत्साहित हुन्थे । झोक्राएर उनीसँग पुगेकालाई पनि उनी जाँगरको बुटी दिन्थे।
व्यथितको जन्म १९७१ सालमा सिन्धुपाल्चोकको बाँसबारीमा भएको थियो । सूर्यमान श्रेष्ठ र पद्मकुमारी श्रेष्ठ उनलाई जन्म दिने बाबुआमा थिए । घरायसी कारणले शिशुकालमा उनको मामली घर स्याङ्जामा उनी पुर्याइएका थिए ।अनि चार वर्षपछि उनी काठमाडौं ल्याइएका थिए ।

व्यथितले जम्मा तीन कक्षा पास गरे । तर उनका बारे धेरेले एम्एमा शोध गरे र डा.मृदुला शर्माले चाहिं पीएचडी नै गरिन् ।

तीन पासपछि व्यथित काठ गोदामको साधारण कारिन्दामा भर्ना भए । त्यसपछि यिनले चक्रसुन्दर प्रधान र शिवमाया प्रधानकी छोरी ज्योत्स्ना प्रधानसँग बिहे गरे । बिहेताका यी अठार वर्षा थिए । यी दम्पत्तिबाट छ छोरा र चार छोरी जन्मे । यसैबारे यिनले भनेका थिए ''मेरा कुनै छोरा सुपुत्र भए र कुनै कुपुत्र पनि जन्मे । तर मेरा सबै छोरी सुपुत्री भए ।'' अनि आफ्ना कुपुत्र सम्झिएर कहिलेकहीं यी भौंतारिन्थे ।

व्यथित स्वतन्त्रताका कट्टर पक्षपाति थिए । त्यसैले उनी राणाकालीन युगमा नागरिक हक खोज्दै हिँडे । अनि शुक्रराज शास्त्री सभापति र यी सचिव भएर नेपाली नागरिक अधिकार समितिको स्थापना गरे । त्यसपछि उनी राणाका आँखे तारोमा दर्ता पनि भए र पक्राउ पनि परे ।

राणाका आक्रोशमा व्यथितले वीरबहादुरका नाउँमा निबन्ध लेखे । अनि अर्को साल अर्थात् १९९७ साल कात्तिक २ गते उनलाई राणाले र्सवस्वसहित जेलमा कोचे । कात्तिक ५ गते उनी उपरको घोषणा र्सार्वजनिक भयो "श्री ३ प्रभुको असीम निगाहले देशद्रोही केदारमान व्यथितलाई १८ वर्षो जेल सजाए भएको छ ।"

व्यथित राणाको जेलमा पनि सिंहझैं गर्जन्थे । उनले त्यहाँको नर्ककुण्डको भण्डाफोर गर्दै जेलसुधारका लागि उनी आमरण अनसनमा बसे । तर त्यस बेला २१ दिनसम्म मात्र यी भोकै बसे । त्यसपछि पनि यिनले पाँच वर्षसम्म जेलभित्र अनेक सङ्गठन गरिरहे । जेल आतङक भएपछि राणाका सेनाले यिनलाई त्यहाँबाट टिकट काटी दिए ।

जेलबाहिर आएपछि व्यथित राणाका विरोधमा झन कुर्लन थाले । राणाको शिरोच्छेदन गर्ने बाटो खोज्दै उनी नेपाली राष्ट्रिय काङ्ग्रेसमा पुगे । अनि त्यस संस्थाको केन्द्रिय सङ्घर्ष समितिको उनी सदस्यमा मनोनीत भए ।

व्यथित भारतमै भए ताका राणा सरकारद्वारा रौतहटस्थित झरोखरको गोलीकाण्डमा उनी फेरि फसाइए । राणा सरकारको अनुरोधमा भारतीय प्रहरीले उनलाई पक्राउ गर्यो । त्यसपछि राणाका करबलमा उनी नेपाल चलान गरिने कार्यवाहीमा परे । तर विश्वेश्वरप्रसाद कोइरालाले भारतीय प्रधानमन्त्री पं.जवहारलाल नेहरुलाई भनसन गरेर उनलाई नेपाल ल्याउनबाट रोके । त्यस बेला उनी १८ महिना भारतको बिहार जेलमा बसेका थिए । अनि प्रजातन्त्र आएपछि नेपाल सरकारको अनुरोधमा उनी जेल मुक्त भएर नेपाल छिरे ।

व्यथितले राजनीतिलाई आफ्नो जीवनको लक्ष्य ठाने । पछि बी.पी. कोइरालासँग कुरा नमिलेपछि उनले वामपन्थी काङ्ग्रेसको पनि स्थापना गरे । अनि त्यसको पनि उनी आफै सभापतित्व ग्रहण गरे । तर त्यो दल उनीभित्रै सिमित रहेर क्रमशः हराउँदै गयो ।

व्यथितलाई राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा मनोनीत गरे । केही वर्षछि उनी फेरि ढाक्रे भएर । राजा महेन्द्रबाट उनी सहायक मन्त्री नियुक्त भए । त्यस बेला उनको योगदान उच्चस्तरीय रहृयो । त्यसैले उनी मन्त्रीमा बढुवा भए । राजा वीरेन्द्रका कार्यकालमा पनि उनी माननीय भए, मन्त्री भए र सम्माननीय पनि भए ।

व्यथित राजनीतिमा जति सक्रिय थिए त्योभन्दा धेरै उनले साहित्यमा काम गरे । त्यसैले उनको राजनीतिक जीवनलाई साहित्यले ओझेल पारिदियो । वास्तवमा उनी नेपाली भाषासाहित्यका गरिमाशाली स्रष्टा थिए । उनको राजनैतिक साहित्यिक व्यक्तित्वलाई कदर गर्दै नइ प्रकाशनले उनलाई राजकविको दर्जा दियो । वास्तवमा उनी नेपाली शैलीका एउटा हिम्मति, कुसल र सबल राजकवि थिए । उनी राजनीतिलाई सौचालय र साहित्यलाई भोजनालय भन्थे ।

व्यथित आफू राजनीति तवरले जहाँ गए पनि आफूसँगै साहित्य पनि लान्थे । उनकै सक्रियतामा २००३ सालमा नेपाली साहित्यक परिषद्को गठन भयो । अनि उनकै अग्रसरतामा त्यसै बेला तीन दिने साहित्य सम्मेलन भएको थियो र त्यस सम्मेलनका सभापति महाकवि देवकोटा थिए । साथै २०१३ सालमा महाकवि देवकोटाको सभापतित्वमा गठित काव्य प्रतिष्ठानमा उनी संस्थापकमध्येका एक थिए । २०१९ सालमा हृषीकेश शाह सभापति र उनी सचिव भएर पनि नेपाली साहित्य संस्थानको स्थापना भएको थियो । अनि दुई वर्षपछि उनी नै यस संस्थाका सभापति भएका थिए ।

व्यथित नेपाली साहित्यका एउटा नेतृत्वपक्षमा उभिएका सबल योद्धा थिए । उनैको नेतृत्वमा २०१९ सालमा काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको साहित्य गोष्ठी भएको थियो । २०२२ सालमा उनैको मार्गदर्शन र निर्देशनुसार चितवन, २०२३ सालमा झापा, २०२६ सालमा धनगढी र २०२८ सालमा विराटनगरमा राष्ट्रव्यापी साहित्य सम्मेलनहरु भएका थिए ।

व्यथितलाई क्षयरोगले पनि आक्रमण गर्यो । त्यति बेला उनी आर्थिक रुपमा पनि सारै कमजोरी थिए । त्यसैले उनलाई भारतीय राजदूत एवं स्रष्टा भगवान सहायले भोपालको सेनोटोरियम लगेर उपचार गरिदिए । त्यस मुल्काबाट बाँचेपछि सहाय उपर उनले भने ''स्रष्टाले मान्छे बचाउन सक्तो रहेछ र नै म बाँचे ।''
व्यथितले नेपाली, नेवारी र हिन्दीभाषासाहित्यमा निरन्तर कलम चलाए । उनका अनेकौ लेखरचना प्रकाशित भैरहे । उनले नेपालीभाषामा डेड दर्जन, नेवारीभाषा र हिन्दीभाषामा चारचार वटा किताव लेखे ।
व्यथितले गोर्खादक्षिण बाहु प्रथम र त्रिशक्तिपट्ट प्रथमका अतिरिक्त पृथ्वीप्रज्ञा पुरस्कार, श्रेष्ठ सिरपा पुरस्कार, वेदनिधि पुरस्कार, जगदम्बाश्री पुरस्कार, सीताराम पुरस्कार लगायत नेपाल तथा भारतका विभिन्न स्थानबाट दर्जनौं अभिनन्दन ग्रहण गरेका थिए ।

व्यथितले जीवनको उत्तर्रार्धमा अति नै दुक्ख खेपे । त्यस कष्टमा उनी प्रायः हरेक दिन रुन्थे । कुरा के भने- एउटा साहित्यिक समारोहमा भाग लिन नेपाल प्रज्ञाप्रतिष्ठान पुगेका थिए । त्यसै बेला उनी त्यहाँको सौचालयमा लडे । त्यसै बेला उनको दाहिने खुट्टो भाँच्चियो । त्यही कारणले उनी कहिले काठमाडौंका अस्पतालहरु र कहिले ज्याठाको आफ्नो घरको ओछ्यान परे । धेरै वर्ष थलिएपछि अन्ततः २०५५ साल भदौ २६ गते. उनी महाराजगञ्जस्थित शिक्षण अस्पतालमा स्वर्गीय भए ।
[email protected]

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 4 आसाढ, 2068

लेखकका अन्य रचनाहरु