चिलाउनेको हाँगो

- डा. मधु माधुर्य

पीडाको काउकुतीले लखतरान पारेकोबेला
एक क्वान्टम अट्टहास -
कानका पहरा-कन्दराहरुमा
सिम्फोनी "रेक्विएम" गुन्जिरहेछ ...
पीडाले मातेको जीवन -
समयको विपरित दिशामा ढुन्मुनिरहेछ

अलपत्र छाडेर घडीलाई -
नाडीमा / बुर्जामा / भित्तामा
मान्छेदेखि भागिरहेछ
समय-
नयाँ-युगको प्रस्थानद्वारतिर !

छेउमा उभेर
एउटा रुख -
चुपचाप बाटो छेकिरहेछ :
हावाको झोक्कासँग कानेखुशी गर्दै
झार्दै सुकेका पातपतिंगर
घामको रापिलो अँगालोमा बाँधिएर
कहिले
जुनको सितल प्रेम-प्रकाश पिउंदै
कहिले
असिनाले चुटिएर
वा पानीले भिज्दै
हरेक ऋतु ऐजन ऐजन
हरेक बसन्त
बाक्लो सेतो फूल फुलिरहन्छ
नौलो हाँगा पलाई रहन्छ
हाँगामा -
गुँडछ
युगको सुर्केनी छ
आदिम क्रस छ...

फेदमा बसेर लेख्दैछु
यो कविता
माथिबाट शीत खसेर
तप तप
मेटिने गर्छन अक्षरहरु

माधुर्यमा डुबेर अनुभूति
जब म मर्छु रित्तिएर
कविता बाँच्छ
र मौनताभित्र म बौरन थाल्दछु ...

पूर्णविरामहरुको लाम लागेर
म अनन्त छिचोल्छु :
यो मौनता -
अस्तित्वप्रतिको
औपचारिक अस्वीकृति वा विद्रोह !

इतिहासको रुप -
गुम्सिएर विचारहरुको खोरमा
अमूर्त जीवन-कला बनेर
आँखामा बिझेको बेला पनि
देख्दैछु :
पैसाको दन्त्यकथा
यो सुन्दर शहर -
नमिठो हार मान्छेको !
पातलो / सफेद विगुतिभित्रको
राता-राता आगाका विउहरु
एक निमेष घर्षण -
आँखाहरुको / स्पर्शहरुको
प्रेम सल्किरहेको
जीवनको नाममा बाँचिरहेको
एउटा विवसताभित्र -
मृत्यु सहज भएको भए
किन बाँचिरहन्थे
स्वास-प्रस्वासको अभिनयमा
हजारौं अथकित सुस्केराहरु !
अर्थात्, जिजीविषाको डिजिटल क्लोनिंग
युगको साझा गोबरमा लत्पतिदै
कोलोराडोको किरा झैँ -
अजम्बरी परजीवी हामी
जति नै विष थपेपनि
कोकाकोला युद्ध र कलहको
स्याउँस्याउँ उम्रिरहने
उम्रिरहने स्याउँस्याउँ
जुझिरहन्छन् मनहरु
बरु अतितको बुमेरांग झरेर सत्ययुगको
मेरो छातीमा गिरेहुन्थ्यो
फैलाउंदै स्वतन्त्रताको नैसर्गिक विकिरण
म जीवनको क्वान्टम बाँच्न चाहन्छु ...

स्वतन्त्रता -
अवशेषहरुमा अनुभूतिको कतै
डाईनासोरहरुको हाड्खुर फेलापरे हुन्थ्यो
डार्विन रमाउन चाहन्छु
'इ बराबर एम सी स्क्वाएर' को सुत्रबाहिर

उन्मुक्तिबिना -
मान्छेको घोषणा
युगीन धोका हो धोका !
मान्छे छ भने अस्तित्वमा
उसको किन उपासना गर्दैन 'भगवान" ?

'भगवान'ले आँक्न नसक्ने हिंसा
मानिसलाई कति सरल छ -
उसकै छोरो मारेर प्रदर्शन गर्यौं....
भगवान र मान्छेको अन्तरसम्बन्ध
अन्डा र कुखुराविचको सत्य- विवादभन्दा
अलिबढी केहि हो
शरमबाहिर -
सीता-साँहिली अक्षरसँग
मान्छेको
सम्भोग
अक्षरको
मान्छेसँग
सिर्जना जन्माउने ‘सामान्य अभ्यास’ हो फगत
र बिर्सेर त्यो
अक्षर मै खुर्मुरिन्छौँ, चोंइटिन्छौँ

जीवन => मृत्यु => जीवन ...
पुनरावृत्तिको शृंखलामा
खोइ स्वतन्त्रता कहानिर छ ?
चाहनाको क्वान्टमभित्र भौंतारिंदा भौंतारिदै
कानूनको खोरमा थन्क्याएर स्वतन्त्रता
जीवन पश्चिम ओर्लिरहेको हुन्छ !

उन्मुक्ति सम्भावनाका जराहरुमा
यसरी बन्धनहरुको धमिरो लागिसकेपछि
बाँकि रह्यो मात्र भावना ...
र अथाह अन्तर-उत्तेजनाले
चिलाइ रहेछ
चिलाउनेको हाँगो
चिलाइ रहेछ ...!!!

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 26 जेठ, 2068

लेखकका अन्य रचनाहरु