मेरो डायरीमा डायमन

- डा. रामदयाल राकेश

डायमनशमशेर राणा नेपाली ऐतिहासिक औपन्यासिक आकाशका कहिल्यै पनि नअस्ताउने उपन्यासकार हुनुहुन्छ, उहाँसँग मेरा कटुमधु-अनुभवहरू अनन्त छन् तर सबैको खुलासा यहाँ गर्न सकिन्न । उहाँसँग मेरो कहिले र कहाँ भेट भयो मलाई यकीन थाहा छैन तर उहाँको नातेदार कुपण्डोल निवासीको घरमा भारतको कोलम्बो योजनाअन्तर्गत प्राध्यापन गर्ने प्रा.डा. दीनानाथ शरण मसँगै पद्मकन्या कलेजमा हिन्दी विषय पढाउनु हुन्थ्यो । उहाँसँग मेरो घनिष्ठता हुनु स्वाभाविक थियो । उहाँले 'नेपाली साहित्यको इतिहास' हिन्दीमा लेख्नु भएको छ र उहाँले नै डायमनशमशेर राणाको उपन्यास

'वसन्ती'को हिन्दी अनुवाद पनि गर्नु भएको छ, जुन विहार ग्रन्थ अकादमीद्वारा प्रकाशित छन् । उहाँलाई नेपाली भाषामा त्यति दखल नभएकोले मसित सर-सल्लाह समय समयमा गर्नु हुन्थ्यो । डायमनशमशेरको नातेदारको घरमा बस्ने भएकोले घनिष्ठ सम्बन्ध हुनु पनि स्वाभाविक थियो । डायमनशमशेर स्वयम् पटना जाँदा उहाँसँग भेट्ने गर्नुहुन्थ्यो । म पनि पटना जाँदा समय-समयमा भेट्दा जहिले पनि डायमनशमशेरको बारेमा सोधिराख्नु हुन्थ्यो । उहाँको घर पटनाको दरियागोलामा छ । मलाई पनि डायमनशमशेरको अन्य उपन्यासको अनुवाद गर्नका लागि उक्साउनु हुन्थ्यो । मेरो ध्यान त्यतिबेलासम्म उहाँको लेखनतिर आकृष्ट हुन सकेको थिएन । जब उहाँको उपन्यास 'सेतो बाघ' प्रकाशित भयो र त्यसको अनुवाद विभिन्न भाषाहरूमा भएर त्यो विश्व चर्चित हुन पुग्यो अनि मेरो ध्यानाकर्षण उहाँको लेखनतिर भयो ।

म उहाँका उपन्यास पढ्न थालेँ र मलाई उहाँको उपन्यास 'अनिता' अनुवाद गर्नका लागि सजिलो र सुरुचिपूर्ण लाग्यो । मैले उहाँको स्वीकृति नै नलिइकन अनुवाद गर्न थालेँ । आधा जति अनुवाद गरिसकेको पाण्डुलिपि नै केही वर्षसम्म बेपत्ता भयो । एकदिन एक्कासि किताब र कापीहरूको चाङमा त्यो अधूरो अनूदित पाण्डुलिपि भेटियो तबसम्म उहाँसँग मेरो धेरैपटक भेटघाटसमेत भइसकेको थियो तर मैले यसको बारेमा केही भनेको थिइनँ ।

भारतीय राजदूतावासका तत्कालीन सांस्कृतिक सहचारी मनोज भारतीको निवासस्थानमा एउटा रात्रिभोजमा उहाँसँग भेट भयो । त्यस भोजमा कवि शैलेन्द्रकुमार सिंह पनि हुनुहुन्थ्यो । अन्य साहित्यकारहरू पनि धेरै हुनुहुन्थ्यो तर मलाई उहाँहरूको नाम अहिले सम्झना छैन । मैले डायमनशमशेर राणाको परिचय गराउने क्रममा भनेँ- ज्भ ष्क ब ष्खिष्लन भिनभलम या ल्भउबष् िष्तिभचबतगचभ उहाँ रक्सीको ग्लास समातेर नै मलाई अङ्कमाल गर्न पुग्नु भयो र मलाई पनि साह्रै खुसी लाग्यो । तबसम्म मैले आफ्नो अनुवाद कामको बारेमा अवगत गराउन सकेको थिइनँ किनभने त्यो अधूरो पाण्डुलिपिको बारेमा के कुरा गर्ने ?

एक दिन कथाकार परशु प्रधानद्वारा आयोजित कुनै कार्यक्रममा उहाँ प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रम सकेपछि उहाँको साथमा डायमनशमशेर राणा पनि उहाँको घरमा जानुभएको थियो र म पनि साथमा थिएँ । अनि मैले अनुवादको कुरा उठाएँ । उहाँ धेरै खुसी हुनुभयो । उहाँले मलाई धेरै प्रभावित र प्रेरित गर्न थाल्नुभयो र छिटोभन्दा छिटो अनुवाद सक्नका लागि अनुरोध पनि गर्नु भो । यसैबीच मेरो नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कार्यकालको अवधि सकियो, म फुर्सतमा थिएँ र त्यो अधूरो अनुवादको कामलाई पूर्ण गरेँ । अनुवादको काम त सकियो तर यसको प्रकाशनको चाँजो पाजो मिलाउनका लागि मैले उहाँलाई नै अनुरोध गरेँ । मेरो भित्री मनसाय यसको प्रकाशन पटनाबाट होस् भन्ने थियो । त्यहाँ डा. दीनानाथशरणको सरसल्लाह पनि सहजरूपमा प्राप्त हुन सक्दथ्यो र अर्को कुरा हिन्दीभाषामा अनुवाद भएकोले त्यहाँको प्रकाशन सही र स्तरीय हुन सक्थ्यो तर उहाँ मान्नु भएन । नमान्नुको कारण के थियो भने उहाँले मलाई एकमुष्ट पैसा दिन चाहनु भएन । अनि म पनि चुप लागेर बसेँ । हाम्रो दूरभाषमा चाहिँ सम्पर्क भइरहन्थ्यो ।

उहाँले एक दिन प्रकाशक जयदेव श्रेष्ठको भोटाहिटीस्थित पुस्तक पसलमा आउनका लागि भन्नु भो । म पाण्डुलिपि लिएर त्यहाँ गएँ । जयदेवजीसँग मेरो परिचय पनि थिएन तर कुराकानी गर्दा मेरो गृह गाउँ सिसौटीयमा उहाँ पुगेको कुरा सुनाउँदा म साह्रै खुसी भएँ र उहाँको नजिक हुन पुगेँ । जयदेवजीसँग उहाँको परिचय मात्र होइन धेरै घनिष्ठता भएको रहेछ । डायमनशमशेर बनारसमा बस्दा उहाँसँग यो घनिष्टता भएको रहेछ । डायमनशमशेर व्यक्तिसँग उहाँको यति नजिकको परिचय रहेछ कि उहाँको चारित्रिक कमजोरी पनि एकएक थाहा रहेछ ।

डायमनशमशेर राणा भित्रबाट एकदम सफा हृदयको मानिस हुनुहुन्थ्यो र रसिक पनि । उहाँ भन्नुहुन्थ्यो भो-म बनारसमा बस्दा त्यहाँस्थित बेश्याबजार दालमण्डीमा पनि यदाकदा जान्थेँ तर जयदेवजीले अनुरोध गर्दा पनि उहाँलाई कहिल्यै पनि सँगै लैजानु भएन । जयदेवजी हाँसीहाँसी बनारस बेश्या वृतान्तको कथा सुनाउनु हुन्थ्यो र उहाँ पनि मुसुमुसु मुस्कुराउँदै स्वीकार्नु हुन्थ्यो । बडो रमाइलो वातावरणमा उहाँले प्रकाशनको कुरा पनि जयदेवजीलाई भन्नु हुन्थ्यो । जयदेवजीमा उहाँको बेजोड विश्वास थियो किनभने उहाँलाई प्रकाशनको सबै कुरा थाहा थियो । पैसाको कुरामा पनि मलाई भन्दा बढी विश्वास उहाँलाई गर्नुहुन्थ्यो । तसर्थ प्रकाशनको सारा दायित्व जयदेवजीलाई दिनुभयो । अब रहृयो लेखकस्वको कुरो, त्यसमा पनि मेरो र उहाँकै कुरो मिलेन । उहाँको विचार थियो- लेखकस्वमा आधाआधा लिने बिक्रीको आधारमा । म चाहिँ एकमुष्ट रकम लिन चाहन्थेँ । अन्त्यमा जयदेवजीले नै लेखकस्वको छिनोफानो पनि गरिदिनु भयो । हामीले चिया खाजा खाएपछि त्यहाँबाट बिदा भयौँ । मैले उहाँलाई अनुरोध गरेँ । मलाई नयाँ बानेश्वरसम्म पुर्‍याइदिनुस् र उहाँले ट्याक्सीबाट मलाई बानेश्वरसम्म पुर्‍याएर आफूचाहिँ कुपण्डोलतिर लाग्नु भयो । उहाँ पैसाको मामिलामा धेरै अनुदार हुनुहुन्थ्यो । उहाँ जहिले पनि भन्नु हुन्थ्यो म लेखकस्वमा बाँच्ने मानिस तपाईंको त जागिर छ तर म चाहिँ अवकाश प्राप्त जीवन व्यतीत गरिराखेको छु । कहिलेकाहीँ मलाई दुःख पनि लाग्दथियो तर आफूलाई सन्तुष्ट पार्न खोज्दथेँ पैसाको आवश्यकता सबैलाई हुन सक्दछ । मेरो छिमेकी जिल्ला रौतहटमा उहाँको जमिन्दारी थियो । त्यहाँको वर्णन पनि यदाकदा सुनाउनु हुन्थ्यो । त्यहाँ जाँदा कति केटीहरूले उहाँसँग बिहे गर्ने जस्तो रोचक प्रसङ्ग सुनाएर मलाई अचम्मित तुल्याउनु हुन्थ्यो । हुन पनि हो धन र यौनले कसलाई पो आकषिर्त गर्दैन र ? मलाई पनि यसमा कुनै आश्चर्य लाग्दैन थियो । हामी एकदम खुलमखुल्ला कुराकानी गर्ने स्थितिमा पुगिसकेका थियौँ । उहाँ जीवनका रोचक प्रसङ्गहरू सुनाउन थाल्नु भएको थियो ।

उहाँले आफ्नो युरोप भ्रमणका रोमाञ्चकारी रुमानी प्रसङ्गहरू पनि प्रष्टरूपमा सुनाउन भएको थियो । एकसेएक सुन्दरीहरू उहाँको आलिङ्गन पासमा आबद्ध हुन आउँथे र चुम्बन दिएर जान्थे । त्यहाँका भव्य भवनहरू देखाउँदै, उहाँका अनूदित कृतिका प्रकाशक किन्नका लागि अनुरोध गर्दथे । उहाँ भन्नुहुन्थ्यो मसँग कहाँबाट यति पैसा आउँछ र उनीहरूको स्वतःस्फूर्त उत्तर हुन्थ्यो तिमी हाँ, मात्रै भन, हामी पैसाको प्रबन्ध मिलाउँछौँ । उहाँ असमञ्जस्यमा अनुत्तरित हुनुहुन्थ्यो । यस्तायस्ता धेरै किसिमका रोमाञ्चक प्रसङ्गहरू सुनाएर हँसाउनु हुन्थ्यो । अनुवादको क्रममा त मेरो उहाँसँग कहिल्यै पनि सम्पर्क हुन सकेन तर अनुवादपछि पटकपटक सम्पर्क हुन थाल्यो । यसैक्रममा उहाँ अन्तरङ्ग अन्तर्वार्ताको आरम्भ र अन्त्य गर्नुहुन्थ्यो जुन मेरा लागि कम कौतूहलपूर्ण हुँदैन थियो ।

एक चोटि म सपत्नी पटना हुँदै हरिद्वार गएको थिएँ र फर्किंदा पटना विश्वविद्यालयको अतिथिगृहमा बास बसेका थियौँ । डा. दीनानाथशरणलाई त्यहाँ भेट्न जाँदा उहाँले हामीलाई रातिको खानाका लागि आमन्त्रित गर्नुभो । खाना खाने बेलामा कुराकानीको मुख्य केन्द्र डायमनशमशेर राणा नै हुनुहुन्थ्यो । उहाँको फोन नम्बर लिएर, काडमाडौँ आएपछि म डायमनशमशेर राणालाई भेट्न उहाँको निवासमा गएँ । उहाँलाई फोन नम्बर दिँदा तत्काल मलाई आफ्नो घर नजिकको पी.सी.ओ.मा लगेर डा. दीनानाथशरणसँग कुरा गर्नु भो र कुराकानीपछि धेरै खुसी हुँदै मलाई धन्यवाद दिनु भो । डा. शरण मेरो असल मित्र हुनुहुन्छ भन्नु हुन्थ्यो ।

अर्को चोटि उहाँको निवास जाँदा उहाँ आफ्नो पलङमा पल्टिराख्नुभएको थियो । नजिकै हिटर बलिराखेको थियो । मलाई सोध्नुभो के खाने रक्सी, चिया, कफी मैले कफी खान्छुभन्दा तुरुन्त कफी आयो । कफी खाँदै गर्दा उहाँले आफ्नो राणा वंशवृक्षको वृतान्त सुनाउन थाल्नु भो । उहाँ नर्भिक अस्पतालमा स्वास्थ्योपचार गराएपछि घरैमा आराम गर्दै हुनुहुन्थ्यो र अस्पतालको अनुभव पनि सुनाउन थाल्नु भो । डाक्टरहरूलाई थाहा रहेनछ उहाँको बारेमा । अस्पतालका मालिक वसन्त चौधरीले डाक्टरहरूलाई भन्नुभएको रहेछ उहाँ त धेरै ठूलो मानिस । त्यसपछि त डाक्टरहरूले उहाँको स्वास्थ्योपचारमा विशेष ध्यान दिन थाले अरे । उहाँको स्वास्थ्योपचारमा धेरै खर्च भएको थियो रे तर वसन्त चौधरीको उदारताले गर्दा धेरै पैसा तिर्नु परेन रे । उहाँ घरमा सधँै सामान्य कपडामा देखिनु हुन्थ्यो र बाहिर जाँदा सुटमा आकर्षक व्यक्तित्व, बोलीमा ओज र धाराप्रवाह गफ गर्नसक्ने तर कुनै कार्यक्रममा अतिथि अथवा मुख्य अतिथि हुँदा चाहिँ धेरै कम बोल्नुहुन्थ्यो । औपचारिक भाषण लामो गर्नमा रुचि थिएन ।

एकपटक लेखक प्रकाश ए. राजलाई लिएर म उहाँको निवासस्थानमा गएको थिएँ । प्रकाश ए. राजलाई मैले परिचय गराउनेक्रममा के भनेको थिएँ भने- तपाईंजस्तै लेखकस्व स्वरूप विपुल आर्थिक राशि प्राप्त गर्ने उहाँ पनि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लेखक हुनुहुन्छ ।

एकचोटि म 'अनिता' उपन्यासको केहीप्रति माग्न गएथेँ । उहाँले सोझै भनिदिनुभो तपाईंलाई दिएँभने मैले के

खाने ? म त किताबको बिक्री र लेखकस्वको भरमा जिउने लेखक हुँ, मलाई नराम्रो लाग्यो । बडो मुस्किलले एकप्रति लिएर आएँ । उहाँ जहिले पनि आर्थिक अभावको कुरा गर्नुहुन्थ्यो मसँग । एक चोटि म जाँदा उहाँको छोरा पनि त्यहीँ हुनुहुन्थ्यो । बाबु र छोराबीच पनि गुनासो र गन्थन भइराखेको थियो । मैले पनि भनेँ तपाईंले वास्ता गर्नु भएन होला अनि उहाँले पनि वास्ता गर्नुहुन्न । उहाँले भन्नु भो कहाँ हो र यस्तो तर छोराचाहिँ चुप हुनुहुन्थ्यो । यसबाट अन्तर्कलहको आवाज अभिव्यक्त भइराखेको थिएन तर उहाँहरूबीच राम्रो पनि थिएन कि भन्ने लाग्छ । उहाँ आफ्नी छोरीको घरमा बस्दै आउनुभएको थियो ।

उहाँको ९० औँ जन्मदिवसको अवसरमा पाटनस्थित याक प्यालेसमा एउटा शुभकामना प्रकट गर्ने पार्टीको आयोजना गर्नुभएको थियो । उहाँकी छोरी डा. गीता कार्कीले मलाई फोन गरेर आउनका लागि आमन्त्रित गर्नुभएको थियो । उहाँ धेरै प्रसन्नमुद्रामा मञ्चमा आसीन हुनुहुन्थ्यो । छेउमा उहाँकी श्रीमती पनि हुनुहुन्थ्यो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पनि आमन्त्रित हुनुहुन्थ्यो । गिरिजाबाबु आउनासाथ 'के छ यार' भन्दै मञ्चमा जानु भो अङ्कमाल गर्नु भो, जन्मदिनको शुभकामना दिनु भो । मद्वारा अनूदित 'अनिता'को सार्वजनिकीकरण पनि त्यसै समारोहमा भएको थियो । मेरो परिचय गिरिजाबाबुसँग गराउँदा मेरो उपन्यासको हिन्दी अनुवादक भनेर चिनाउनुभो । त्यस पनि बडो मुस्किलले एकप्रति 'अनिता' मैले उपन्यासकार शङ्कर भारती मार्फत् पाएथेँ । मेरो इच्छा थियो, १०/१५ प्रति पुस्तक भारतीय मित्रहरूलाई पढ्नको लागि पठाउने तर मेरो त्यो इच्छा पूरा भएन । मैले पनि किनेर बाँड्न सकिनँ ।

डायमनशमशेर महान् लेखक हुनुहुन्थ्यो र उहाँमा पनि मानवीय कमजोरी हुनु स्वाभाविक थियो तर उहाँ हृदयको सफा मानिस हुनुहुन्थ्यो । उहाँको देहान्त हुँदा म आफ्नो गाउँमा थिएँ । कवि मुरारि सिग्देलले मलाई फोन गर्नुभएको थियो तर मेरो घरमा जूठो परेकोले म आउन सकिनँ र उहाँको मलामीमा सहभागी हुन सकिनँ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 23 जेठ, 2068

लेखकका अन्य रचनाहरु