कथाकार देवकुमारी थापा

- नरेन्द्रराज प्रसाई

देवकुमारी थापाको जन्म संवत् १९८४ चैत २ गते बुधवार दार्जिलिङको खर्साङस्थित गिद्धेपहाडमा भएको थियो । एउटा सम्पन्न परिवारमा जन्मेकी भए तापनि उनी प्रकृतिबाट टुहुरीमा दाखिला भइन् । त्यसपछि उनलाई आफ्नी हजुरआमाबाट संरक्षण प्राप्त भएको थियो ।

थापा बाल्यकालमा नै मातापिताविहीन भइन् । वास्तवमा उनले आफ्ना बाबुलाई चाहिँ देख्नै पाइनन् किनभने उनी आमाका पेटमा भएकै बेला उनका बुबा हस्तबहादुरसिंह कटुवालको स्वर्गारोहण भइसकेको थियो । साथै थापा दस वर्षा टेक्तानटेक्तै उनकी आमा रमादेवीसिंह कटुवाल पनि स्वर्गीय भइन् ।

थापाले त्यस युगमा आफ्नो पाइला राखिन् जुन बेला नेपाली साहित्यमा नारीकथाकार शून्य नै थिए । कुमारी तुषार मल्लिकाले खनेको गोरेटोमा हिँडेर नै उनले आधुनिक कथाविधामा आफ्नो नाउँ स्थापित गरिन् ।

थापा तरुनी भएपछि उनको यौवनावस्थाको वर्णन नगर्ने कोही थिएनन् किनभने उनी सुन्दरी थिइन् । त्यस बेला दार्जिलिङमा उनीभन्दा राम्रा केटी थिएनन् रे ! उनको शरीरको सुन्दरतामा महाकवि देवकोटा पनि मोहित थिए, सिद्धिचरण पनि भुलेका थिए र भवानी भिक्षु पनि हुरुक्कै भएका थिए । भिक्षुले त देवकुमारीसँग दाम्पत्य जीवन कस्न नै कम्मर कसेका थिए । तर भिक्षुसँग बिहे गर्ने देवकुमारीको इच्छा नै थिएन । त्यति हुँदाहुँदै पनि भिक्षुले देवकुमारीलाई आफ्नो ढोक्सामा हाल्न भगीरथ प्रयत्न गरे । देवकुमारीले यस बेहोराको उजुर बालकृष्ण समसमक्ष गरेकी थिइन् । समले भिक्षुलाई गाली गरेर देवकुमारीसँगको भिक्षुको प्रयत्न छुटाएका थिए । वास्तवमा त्यस बेला उनी रूपकी जादू थिइन्; जसले देख्यो त्यो मोहित हुन्थ्यो । त्यति बेला उनीसँग जोजति मर्न खोजे तापनि यिनका नजिकमा पुग्नेमध्ये चाहिँ लक्ष्मीप्रसाद देवकोटा र लैनसिंह बाङ्देल नै प्रमुख थिए ।

थापा पच्चीस वर्षी हुँदा नेपालबाट दार्जिलिङ पुगेका त्रिमूर्तिमध्ये महाकवि देवकोटाले चाहिँ सुश्री थापाको लेखनको प्रशंसा गर्दै कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समलाई पनि थापाको व्यक्तित्वप्रति आकषिर्त गरेका थिए । साथै देवकोटाले उनका डायरीमा लेखेका थिए "तनकी सुन्दरी, मनकी सुन्दरी, देवकुमारी ।" वास्तवमा थापासँग भिज्नेहरू मक्ख पर्ने गर्छन् । यसै प्रसङ्गमा गणेश गुरु अर्थात् गणेशप्रसाद शर्मा नेपाल भन्थे "थापा मनकी सुकुमारी हुन्, बुद्धिकी राजकुमारी हुन् र तनकी सम्पूर्ण हुन् ।"

थापाले स्कुल पढेदेखि नै साहित्यमा आफ्ना हस्ताक्षर चढाएकी थिइन् । उनले किशोरावस्थामा प्रेमका कविता लेखिन्, त्यसैताका उनले प्रेममा आकषिर्त भएर मुक्तक पनि लेखिन् । उनले स्कुल पढेताका निबन्ध लेखेर नाउँ कमाएकी थिइन् । साथै उनी पत्रिकाको सम्पादकमा पनि आफ्नो नाउँ राख्न सफल भइन् । उनले दार्जिलिङबाट प्रकाशित नेपाली भाषाको प्रथम बालपत्रिका 'किशोर हिमाल'मा पनि आफ्नो गच्छे अर्पण गरेकी थिइन् । त्यसपछि उनी नेपाली साहित्य सम्मेलन दार्जिलिङबाटै प्रकाशित अर्को पत्रिका 'दियालो' मा पनि सम्पादकमण्डलमा रहिन् । कोलकाता बोर्डबाट प्रवेशिका गर्दानगर्दै उनी दार्जिलिङकी साहित्यकारमा अभिलिखित भइसकेकी थिइन् ।

थापाले तीन वर्षलगाएर स्वास्थ्यपरिचारिकाको डिप्लोमा गरिन् र त्यस कालमा पनि उनले साहित्यसृजनालाई सँगसँगै लिएर हिँडेकी थिइन् । उनी विद्यार्थी भएताका नै उनले 'भविष्य निर्माण' शीर्षकको कथा लेखिन् । त्यो कथा नेपाली गद्यसङ्ग्रह भाग १ मा प्रकाशित भई एसएलसीको पाठ्यक्रममा पनि समावेश भयो । अन्ततः जीवनभर त्यही कथाका माध्यमबाट उनी देवकुमारी थापाका रूपमा परिचित भइरहिन् ।

थापा दार्जिलिङको भिक्टोरिया अस्पतालको नर्स विभागमा कार्यरत भइन् । उनले केही वर्षरोगीको सेवा गरिन् । साहित्यरचना र रोगीको स्याहारको तादात्म्यले उनी झनै राम्राराम्रा लेख लेख्ने कोटिमा पुगिन् । २०१७ सालमा उनी वैवाहिक जीवनमा बाँधिइन् । बिहे गरेपछि उनी जागिर छाडेर नेपाल भित्रिइन् ।

मेजर बबरसिंह थापासँग दाम्पत्य जीवन जोडेपछि थापा साहित्यमा झनै जागरुक भइन् । नेपालमा प्रवेश भएपछि उनी समाजसेवामा पनि आबद्ध हुन थालिन् । त्यसै क्रममा उनी मोरङको नेपाल बाल संगठनकी अध्यक्ष पनि भइन् ।

२००३ सालमा थापाको पहिलो कथा 'गोर्खा' मा छापिएको थियो । कथासङ्ग्रहका हकमा उनका सातवटा किताव देखापरे ।

थापाका कथाको सङ्क्षिप्त विशेषता सामाजिक जागरण नै हो । यिनका कथा मनोवैज्ञानिक, नारीप्रधान एवम् प्रकृति र पुरुषको सङ्गमले बेरिएका हुन्छन् । यिनले कथा लेख्ने क्रममा केही बालकथा पनि लेखिन् । त्यस मार्गमा पनि यिनले आफ्नो नाउँलाई शिखर आरोहण गराइन् । यिनले बालकथाका पनि छवटा सङ्ग्रह नेपाली साहित्यको मन्दिरमा र्समर्पण गरिन् । थापाका सङ्ग्रहका रूपमा आएका तीनवटा निबन्धहरू र एउटा जीवनी कृति शारदादेवीको जीवनी रहेके छ ।

बालमनोविज्ञान बुझने थापा एक कुशल अभिभावक पनि थिइँन् । थापा जसरी पितृविहीन भइन् र बाल्यकालको शिखर आरोहण गर्दागर्दै मातृविहीन भइन्; ती विषय र सर्न्दर्भहरू पनि उनका कथाका खेतबारी बने । त्यतिमात्र होइन; उनीद्वारा सन्तानको जन्म नभएको प्राकृतिक बेहोरा पनि यिनका कथाका मर्म बन्न पुगे । यिनी स्वयं भौतिक रूपबाट आमा हुन नसके तापनि मातृत्वको मनोविज्ञान यिनका कथामा चरितार्थ भए ।

वैवाहिक जीवनअघि देवकुमारीले थुप्रै प्रेमपरक कथा लेखिन् र बिहेपछि सामाजिक कथालेखनमा आफ्नो यात्रा मोडिन् । बिहेअघि लेखिएका उनका कथाहरूमा नारीपनका चञ्चलता गाँसिएका छन् भने त्यसपछिका कथाहरूमा एउटा सचेत नागरिकका जिम्मेवारीका बेहोरा पनि समेटिएका छन् ।

थापा नारीहृदयकी चमत्कारी व्यक्तित्व थिइँन् किनभने उनले समाजका महिलाहरूको विडम्बनालाई च्यातचुत पारेकी छिन् । कुनै पनि स्वास्नीमान्छेलाई पनि पुरुषलाई झैँ शरीरको भोक लाग्छ र त्यसलाई पुरुषको खाँचो पर्छ । नारी र पुरुषको बराबरी सहभागितामा जीवनका हरेक मोड परिचालित हुनर्ुपर्छ भन्ने विषयवस्तु पनि यिनका कथाका विशेषता हुन् ।

कथालेखनका फाँटमा थापाको पाइला भित्रिएपछि मात्र अरू नारीकथाकारहरू त्यस गोरेटामा हिँड्न थाले । यस पृष्ठभूमिमा पछिपछि नेपालीमा नारीकथालेखनको एउटा राजमार्ग नै स्थापित भयो । यी सबै बेहोराको श्रेय पनि थापा नै भइन् ।

सामाजिक सेवा र साहित्यसृजना गरेबापत थापाले प्रबल गोरखादक्षिणबाहु, महेन्द्ररत्नभूषण, उत्तम कुँवर पुरस्कार, प्रतिभा पुरस्कार, रत्नश्री स्वर्ण पदक, नूरगङ्गा पुरस्कार प्राप्त गरिन् ।

थापा बोल्दा शिष्ट, व्यवहार गर्दा कठोर र कार्यमा व्यावहारिक नाउँ हो । उनी आधुनिक सम्पन्नता मन पराउने उदाहरणीय व्यक्तित्व थिइन् ।

थापाले दार्जिलिङमा रहँदा जसरी कथामा आफ्नो हस्ताक्षर छरिन्; त्यस कालका उनका कथाले किशोरकिशोरीहरूलाई मात लगाएका हुन्थे । खास गरी २००३ देखि २०२२ सालसम्मका कथाहरूमा उनी युवाभावनाकी ठेकेदारझैँ देखा परिन् । त्यसपछि जब उनको विराटनगरमा बसाइसराइ भयो अनि प्रायः यिनका कथाहरू सामाजिक जागरणमा आबद्ध हुन पुगे । त्यतिमात्र होइन; बौद्धिक चेतनाका साथै वैज्ञानिक अभिमुखीकरणतर्फजागृत रहेर कथासृजना गर्नु पनि थापाको विशेषता मानिन्छ ।

थापालाई २०६३ सालमा पक्षघात भएपछि उनको जीवन केही कष्टले नै परिचालित भयो । अस्वस्थताका कारण उनी घरैमा लडेकी थिएन । उनी लडेको पाँचौं दिनमा अल्सरका कारण उनलाई रक्तश्राव भएको थियो । अनि त्यसैदिन उनले दस दान गराइन् । तर दान गरिरहेकै बेला उनले आफ्नो प्राण त्याग गरिन । २०६८ साल वैशाख २२ गते उनी विराटनगरमा स्वर्गीय भइन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 31 बैशाख, 2068

लेखकका अन्य रचनाहरु