पापको घैटो

- बिनोद खड्का

आमाले कथा शुरु गर्नुभयो...

एकादेशमा एउटा ठाँउ थियो जहाँ केही बलिया मान्छेहरु बस्थे । तिनीहरु दूष्ट र झूठा थिए । ती बलिया मान्छेहरुलाई आफ्नो पेशामा जस्तो मन लाग्यो त्यस्तै गर्ने छुट जस्तै थियो । तिनीहरुको साना कर्मचारीदेखि राजनिती गर्ने ठूला नेताहरुसम्म राम्रो पहुँच थियो । कर्मचारी र नेताहरु तीनका गुलाम जस्तै थिए । तीनैका आडमा उनीहरु कुनै पनि खाले नराम्रा कामहरु गर्न डराउँदैनथे । कालो व्यापारी घयुमा बोसो मिसाउथ्यॊ, बजारमा सामानको अभाव हुने बित्तिकै आफ्ना सामानहरु गोदाममा नै लुकाउथ्यो अनि किन्न आउनेहरुलाई अतिरिक्त मूल्यका साथ पछाडीका ढोकाहरुबाट बेच्ने गथ्र्यो । साँझमा सरकारी अधिकारीहरु मदिरा सेवन गरेर त्यो कालो कामलाई सेतो बनाईदिन्थे । केही सरकारी कर्मचारीहरु भुमाफियासंग मिलेर हुँदै नभाको जग्गा पनि किनबेच गराईदिन्थे या त सक्कली जग्गाधनीहरुलाई पनि आफ्नै जग्गाहरुबाट बेदखल गरिदिन्थे । पेस्तोल बन्दुक बोक्ने केही फटाहाहरु सर्वसाधारणको सम्पत्ति लुट्थे या धावा बोल्थे । समातिएका एकाध फटाहाहरु पनि साँझसम्म राजनैतिक नेताहरुको आग्रहमा छुटकारा पाएर आफ्नो कामको निरन्तरताका लागी फर्किसकेका हुन्थे । लुट, हत्या, अपहरण जस्ता सामाजिक अपराधको संजालमा जनताहरु पिल्सीरहेका थिए । सकेका पलायन हुँन्थे नसकेकाहरु त्यसैमा पिल्सीरहन्थे । सरकारी विजुली अड्डाहरु चाँहिदो विजुली नदिएपनि मासिक शुल्क उठाउन डराउदैनथे जसरी गुण्डाहरु व्यापारीहरुसंग थर्काएरै हप्ता उठाउँथे । राजनैतिक नेताहरु सत्तालिप्सा र दूराचारको दीर्घ रोगले ग्रस्त भएका कारण त्यो ठाँउको विकाश दशकौदेखि रोकिएको थियो । जनताहरु एउटै आशामा बाँचेका थिए कि पापको घैटो एकदिन फुट्नेछ ।

अरु त निदाईसकेछन । कान्छोले सोध्यो “पापको घैटो फुट्यो त आमा ?”

आमाले जवाफ दिईन “फुट्ला नि कुनै दिन !”

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 31 बैशाख, 2068

लेखकका अन्य रचनाहरु