नेपाली साहित्यका अमर प्राज्ञ : केशवराज पिंडाली

- नरेन्द्रराज प्रसाई

भारतका इन्द्रबहादुर राईदेखि राजनारायण प्रधानसम्म र नेपालका वासुदेव शर्मा लुइँटेलदेखि रामकुमार पाँडेसम्मले श्रद्धा गरेका व्यक्ति थिए केशवराज पिंडाली । त्यतिमात्र होइन लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटाले पनि पिंडालीलाई धुमधाम मन पराउँथे । किनभने नेपाली भाषासाहित्यमा हास्यव्यड्ग्यलाई शसक्त रुपमा प्रस्तुत गर्नेदेखि यसको वैज्ञानिकीकरण गर्नेसम्मका व्यक्तिहरुमध्ये पिंडाली पनि प्रमुख थिए । त्यतिमात्र होइन, यस मामलाका उनी प्रभावशाली लेखक मानिन्थे । उनी आफू रुन्थे तर जगत्लाई हँसाउँथे । उनी आफू कसैको पासोमा परे भने अरुलाई त्यस पासोको मुख उघारिदिन्थे ।

कृष्णराज लामिछानेका सुपुत्रका रुपमा पिंडालीको जन्म १९७१ साल माघ १६ गते काठमाडौंको क्षेत्रपाटीमा भएको थियो । धादिङको गजुरीस्थित पिण्डा भन्ने ठाउँमा पिंडालीका बाजेबराजुले आआफ्नो जीवन भुक्तान गरेकाले केशवराज लामिछानेले आफ्नो थर लेख्ने ठाँउमा पिंडाली लेख्न थालेका थिए । अनि उनका पूर्खाहरुले पनि लेखक र प्रकाशकका रुपमा नाउँ चलाएका थिए ।

पिंडालीले स्कूले शिक्षामात्र उत्तीर्ण गरे । घरको विग्रँदो आर्थिक अवस्थाका कारण उनले उच्च शिक्षा ग्रहण गर्न सकेनन् । तर आज उच्च शिक्षा ग्रहण गर्न चाहनेले उनका कृति पढ्नै पर्ने भयो । त्यसैले उनी नेपाली साहित्यमा मात्र होइन प्राज्ञिक जगत्मा नै सुपरिचित भए ।

म्याटि्रक पास भएपछि उनी जागीरमा प्रवेश भए । अनि यिनले लेख्ने कला पनि समाए । उनले १९९३ सालमा शारदामा 'गुण्टे र चरी' शिर्ष कथा छपाएका थिए भने त्यसको दुई वर्ष वीरगञ्जको टेलिफोन कार्यालयमा अपरेटरको पदमा जागीरे जीवन शुरु गरेका थिए । जागिरका क्रममा पछि उनी वन मन्त्रालयमा सल्लाहकार रहेका एक जना अड्ग्रेजका पीए पनि भए ।

पिंडालीलाई जागीरले दुक्ख दियो, अनि उनले जागिर छाडेर त्यही कुरा लेख्न थाले । लेखेर उनको छाक टरेन, त्यसपछि उनी व्यापारमा लागे । त्यसबाट पनि उनको गृहस्थी चलेन । अनि उनी मोहनशमशेर राणाको दरबारमा पुगे । राणाले उनलाई आफ्नी कान्छी छोरीको नीजि सचिव बनाए । राणाको छोरीको बिहे भारतको उडिसामा भएको हुँदा पिंडाली आफ्ना जहान परिवारसहित त्यहीं गएर बसे । त्यतिन्जेल उनका छोराछोरीले त्यहीको स्कूलमा पढे । त्यस बेला उनीहरु त्यहाँ सात वर्षबसेका थिए ।

पिंडाली परिवारलाई राणाकी छोरीको दरबारमा बस्ता त्यति सहज भएन । अनि उनीहरु त्यहाँबाट खुस्केर नेपाल नै आए । नेपालभित्र पसेपछि पिंडाली फेरी आर्थिक रनाहामा परे । केही सिप नलागेपछि उनले हिन्दी चलचित्रका रिल हलहलमा पुर्याउने काम गरे । तर त्यसबाट पनि उनलाई बिहानबेलुका धान्नै गारो पर्यो । त्यसपछि यी फेरि भौंतारिन थाले । मर्नुभन्दा बहुलाउनु निको भनेर उनी फेरि राणाकै छोरीको सचिव भै बस्न जहानपरिवारलाई लिएर उडिसा नै पुगे ।

भारतको प्रवासमा रहुन्जेल पिंडालीले एक हरप पनि साहित्य लेखेनन् । उनलाई एकातिर त्यस प्रकारको जागीर खाएकोमा हिनत्वले ग्रसित पारेको थियो भने अर्कातिर नेपालको मायाले रन्थन्याइ रहेको थियो । वास्तवमा त्यहाँ बसिन्जेल उनको मन दुखिरहृयो, कुँडीरहृयो र रोइरहृयो । यसैबारे उनले घटराज भट्टर्राईलाई भनेका थिए, ''जुन भाषाको सेवाले पेटभरि खानसम्म पनि नपुगेर विदेशिनु पर्यो, त्यही भाषाको सेवा किन गरिराखुँ भन्ने लाग्थ्यो, नैराश्य छाँउथ्यो, केही लेखुँ भनेर उठेको कलम भूँइमा खस्थ्यो, त्यसैले विदेशमा वस्ता मैले केही लेखिन ।''

२०१५ सालको आम निर्वाचनपछि विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री भएको समाचार सुनेर पिंडाली रातोरात उडिसाबाट काठमाडौं आइपुगे । किनभने कोइरालासँग कुनैबेला यिनको मन, वचन र कर्म जोडिएको थियो । त्यस आत्मविश्वासले उनी सरासर कोइरालाकोमा पुगे । अनि कोइरालाले उनलाई त्यसैदिनदेखि प्रधानमन्त्रीको नीजि सचिवको पदमा नियुक्त गरे । तर पिंडालीको पनि भाग्यमा छ भन्दैमा डोकोमा दूध अडिएन । भनौं उनले जागीर पाएको अर्को वर्षराजा महेन्द्रद्वारा दलगत व्यवस्था खारेजीमा पर्यो । अनि पिंडाली जसरी रातोरात नेपाल आएका थिए त्यसरी नै रातोरात भागेर फेरि भारतै पुगे । केही समयपछि उनी फेरि नेपाल भित्रिए ।

पिंडाली २०३० सालमा गोरखापत्र संस्थानमा पुगे । त्यहाँ उनको पद गोरखापत्रको कार्यकारी सम्पादक थियो । त्यहाँ उनी झन्नै आठवर्षबसे । त्यतिखेरसम्म त्यहाँको जाल, झेल र चुक्लीबाट उनी पिडित थिए । अनि त्यत्तिन्जेलमा उनका छोराछोरी पनि कमाउन थाल्ने भैसकेका थिए । त्यसैले उनले त्यहाँबाट पनि हात धोए ।

२०४६ सालपछि नेपाली पत्रकारितामा पिंडाली झनै चम्के । उनले स्थापना गरेको विमर्श साप्ताहिकमा पदम ठकुराठीदेखि हरिहर बिरहीसम्मले उनलाई साथ दिएका थिए । जनार्दन आचार्यदेखि विजयकुमार पाण्डेसम्मको मतोमा त्यसपत्रिकाले नेपाली पाठकको मन जितेको थियो । त्यसबेला साप्ताहिक पत्रिकाको नाउँ लिनुपर्दा जनजनको मुखमा 'विमर्श' नै झुण्डिएको थियो । पछिसम्म उनी त्यसैमा बसे । अनि उनले हरिहर बिरहीलाई सम्पूर्ण अधिकार सुम्पेर उनी स्वतन्त्र रुपमा घरमै बसे । पिंडालीकी पत्नी राज शर्माका अनुसार भन्ने हो भने पिंडाली दम्पतिले आफ्ना छोराछोरी बाहेक सबैभन्दा मनपरेका प्रियजन नै हरिहर बिरही मानिए ।

पिंडालीको पत्रकारिताको इतिहास २००८ सालदेखि नै सुरु भएको थियो । त्यस बेला उनले 'गाइजात्रा' नामक हास्यव्यड्ग्य पत्रिकाको सम्पादन गरे । अनि त्यसपछि 'नयाँ कदम' र 'विकास' नामक पत्रिकाको पनि उनी प्रकाशक बने । पछि उनी मधुपर्क मासिकका सम्पादक भए । उनले जीवन रक्षार्थ कहिले प्रुफ रिडिडको काम पनि गरे ।

पिंडालीले कथा लेखे, निबन्ध लेखे र कविता पनि लेखे । ती कृतिहरु प्रायः हास्यव्यड्ग्यमा नै बाँधिए । लेख्तालेख्तै उनले उपन्यास र निबन्धङ्ग्रह गरेर सातवटा कृति लेखे । उनले लेखेका कृतिहरुमा 'खै खै' निबन्धसंग्रह र 'एकादेशकी महारानी' उपन्यास खुबै चर्चित बन्यो । लेखेर नै उनले नेपाली भाषासाहित्यमा हास्यव्यड्ग्य सम्राट्का रुपमा नाउँ कमाए र अमर प्राज्ञका रुपमा आफूलाई लिपीबद्ध गरे ।

केशवराज पिंडाली र राज शर्माको १९८९ सालमा लगन गाँठो कस्सिएको थियो । यी दम्पतीले दुईजना छोरा र एउटी छोरी पाए । उनका सन्तानमा कुन्दन शर्मा नेपाली भाषासाहित्यकी नारीचुली भइन् भने अनूपराज शर्मा सर्वोच्च अदालतका प्रधानन्यायाधीश भएका थिए । साथै उनका जेठा छोरा डा.कुमुद शर्मा सपरिवार क्यानाडाको टोरेन्टोमा कार्यरत छन् ।
पिंडालीले त्रिभुवन प्रज्ञापुरस्कार, बासुदेव लुइँटेल पुरस्कार, बालचन्द्र पुरस्कार, वेदनिधि पुरस्कार, भैरव पुरस्कार र रत्नश्री स्वर्ण पदकआदि ग्रहण गरेका थिए ।

पिंडालीले सङ्गठनात्मक र सृजनात्मक रुपमा नेपाली साहित्यमा आफ्नो योगदान दिइरहे । उनले जीवनको अन्तिम चरणसम्म पनि यही काम गरिरहे । लेख्तालेख्तै उनी प्रोस्टेटको क्यान्सरबाट थलिए । अन्तत २०५५ साल जेठ २६ गते काठमाडौंमा उनको निधन भयो ।

[email protected]

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 4 बैशाख, 2068

लेखकका अन्य रचनाहरु