डायमनशमशेर राणा

- नरेन्द्रराज प्रसाई

डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी कान्छा थिए । उनी बाल्यकालदेखि नै निडर, निष्पक्ष र निर्भीक थिए ।

राणाको विबाह ढालविक्रम शाहकी छोरी बालिकासँग २००१ सालमा भएको थियो । यी दम्पतीबाट एउटी छोरी गीता र दुई जना छोरा खुस्वु अनि रघु जन्मेका थिए ।

राजा त्रिभुवन २००७ सालमा भारतमा जाँदा नेपाली जनता राजालाई फर्काउने अभियानमा सक्रिय थिए । त्यसै सिलसिलामा देशभित्र क्रान्तिको शङखघन्ट बजिरहेको थियो । काठमाडौं शहरमा पनि नाराजुलुसले राणा शासकका कान घोच्न थालेको थियो । त्यही क्रममा डायमनशमशेरलाई प्रजातन्त्रवादीहरुलाई दबाउने जिम्मा दिएर राणा सरकारले इन्द्रचोकतिर खटाएको थियो । त्यस बेला उनी सेनाका कप्तान थिए ।
सेनाको कप्तानमा कार्यरत भएर इन्द्रचोक पुग्दा राणा भींडसँग डराइ रहेका पनि थिए । उनले त्यहाँ आफ्नो जीवनमा नै पहिलोचोटि ठूलो जुलुस देखेका थिए । वास्तवमा त्यो जुलुस नै उनको प्रेरणा बन्यो । अनि एकैछिनमा उनी पनि राणाका विरोधमा मुर्दावाद भन्दै जुलुसको पछिपछि लागे । त्यस बेला उनलाई सरकारको गुप्तचर भनेर जनताले कुट्न, पिट्न र मार्न पनि सक्थे । यसबारे पछिसम्म पनि उनले भने ''त्यति बेला मेरो ज्यान जान पनि सक्थ्यो । कुन दैबले मलाई बचाई दिए ।'' अनि त्यही जुलुसबाटै उनलाई राणाका सेनाले कक्रयाककुक्रुक पारेर सिंहदरबारभित्रको खोरमा लगेर थुनेको थियो । त्यसबखत यीसँगै पक्राउ पर्ने अर्का राणा पनि थिए बालकृष्ण सम । अनि जेलमा पनि राणा शासकले उनलाई झन्नै मार्नै खोजेको थियो । यस विषयमा पनि उनी भन्थे '' ठीक त्यसै बेला नेपालमा प्रजातन्त्र नआएको भए मलाई पनि शहिद बनाइन्थ्यो ।''

राणा मानव स्वतन्त्रताका पक्षपातीे थिए । यस प्रयोजनलाई र्सार्थक पार्न उनी नेपाली काङ्ग्रेसमा प्रवेश भए । किनभने उनी जनताको हीत र राष्ट्रको विकास चाहन्थे । त्यही अनुरूप उनी लेख्तै र भाषण गर्दै अघि सरे । यही क्रममा उनी नेपाली काङ्ग्रेसको ललितपुर जिल्लाका सभापति पनि बने । उनी त्यस पदमा एक पटक होइन, दर्ुइ पटक होइन, तीन पटकसम्म बहाली भए ।

राणा २००७ अघि र २०१७ सालपछि बराबर जेलखाना गइरहे । यही क्रममा उनी धेरै वर्षजेलमा बसे । तर जति नै जेलमा परे तापनि उनले कहिले आफ्नो शिर भाँचेनन्, शासकसँग माफ मागेनन् र कानुनसमक्ष आत्मर्समर्पण पनि गरेनन् । उनी साँच्चैका सेतो बाघका लेखकै थिए । त्यसैले बाघ मान्छे भएर नै जेलभित्रबाट पनि उनी गर्जिरहे, "पञ्चायती व्यवस्था मुर्दाबाद ! प्रजातन्त्र जिन्दावाद !"
पढेर भन्दा उनले परेर धेरै जाने । नेपाली सेनाका तर्फाट दोस्रो विश्वयुद्धमा हिन्दूस्थान पुगेर उनले आफ्नो वीरता देखाए । राणाले जागीर खोसेपछि उनी केही समय ढाक्रे भए । फेरि पछि प्रजातन्त्रले उनलाई जागीर थमौति गरिदियो । तर केही वर्षपुनः कप्तान भएर उनले राजिनामा दिए । त्यति बेला उनले भनेका थिए ''म राजनीतिबाट मुलुकको काँचुली फेर्ने काममा लाग्छु ।''

राणा उत्साहका लखपति थिए । उनी जनसर्म्पर्क र शिष्टाचारका धनी थिए । जुनसुकै सिद्धान्तका मान्छेलाई पनि उनी आत्मीयता दिन्थे । राणा शासन ढलेपछि उनी सिद्धान्तका सुन भए । नेपाली काङ्ग्रेस उनका लागि प्राण भयो । उनी लेख्ता र वोल्दा नेपाली काङ्ग्रेसको मात्र जयजयकार गर्थे । तर २०४६ सालपछि गिरिजाप्रसाद कोइराला या उनका मतियारदेखि उनी घरिघरि अपमानित भएको बेहोरा बक्त्याउँथे । त्यस बेला उनी कोइरालालाई उभ्याएर बराबर भन्थे, "यो काङ्ग्रेस टिकेछ भने म कान काट्छु ।"

राणा खुलस्त थिए । उनी आडम्बरका विरोधी थिए । उनको सपना र विपना नेपालमा प्रजातन्त्रको स्थापना थियो । उनको जीवनको मूलमन्त्र राष्ट्र र राष्ट्रियता नै थियो । तर शासकले उनलाई साहित्यकारका रूपमा मात्र स्वीकारे अनि साहित्यकारले उनलाई राजनीतिज्ञ भनेर मात्रै चिने । यति हुँदाहुँदै पनि उनी साहित्यिक व्यक्तित्व थिए र राजनीतिक प्राणी थिए । छोटकरीमा भन्नु पर्दा उनी नेपाली भाषासाहित्यका महारथी थिए । त्यही साहित्यले नै उनी यस धर्तिमा चिरञ्जीवी बने । यिनले औपचारिक शिक्षा आठ पास मात्र गरे, तर पिएचडीसम्मका विद्यार्थीले यिनको व्यक्तित्व र कृतित्व ध्यान दिएर पढे । साथै देशदेशान्तरका विद्वानले यिनको सृजनाको गीत गाए ।

राणाले राणाशासनको जेलभित्र पसेकै दिन एउटा लेख लेखे । उक्त लेख उनको मनमा रचिएको थियो । सो बेहोरा उनले बालकृष्ण समलाई भने, "बाल दाइ ! मैले फेरि लेख्ने विचार गरेँ ।" अनि सम बोलेका थिए, "जनतालाई मुक्ति दिने र शिक्षा दिने कुरा लेख्न पर्छ, लेख ।" अनि डायमनशमशेरले त्यसै गरे । लेख्ता लेख्तै उनले सातवटा उपन्यास लेखे, वसन्ती, सेतो बाघ, प्रतिबद्ध, सत्प्रयास, अनीता, गृहप्रवेश र धनको धब्बा । यी उपन्यास लेखनका सिद्धहस्त नायक बने । यिनको उपन्यासमा आधारित चलचित्र पनि बन्यो । उनका केही उपन्यास हिन्दी, अङ्ग्रेजी, फ्रेन्च, र जापानी भाषामा अनुवाद पनि भए । नेपाली भाषासाहित्यमा लेखकस्वबाट आफ्नो जीवनकालमा नै धेरै आम्दानी प्राप्त गर्ने प्रथम नेपालीमा उनको पनि नाउँ दरियो ।

राणालाई एकपटक नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य हुने इच्छा थियो । उनी भन्थे, "एक दिन भए पनि त्यहाँको कुसीमा बस्न पाए हुन्थ्यो । धेरै पर्खें मैले मदन पुरस्कार पनि पाइँन । अनि एक दिन कमल दीक्षितलाई मैले मुखै फोरेँ, 'मैले मदन पुरस्कार त पाइनँ पाइनँ जगदम्बाश्री त दिनुहोस् न !'' मेरो वचन सुनेर दीक्षितले भनेका थिए, ''यस वर्ष त मैल जनकविकेशरी धर्मराज थापालाई वचन दिइसकेको छु, अर्को वर्ष म यहाँलाई जगदम्बाश्री टक्रयाउने छु ।'' अनि मैले अर्को वर्ष जगदम्बाश्री पाएँ ।"

राणाले सरकारको राष्ट्रिय प्रतिभा पुरस्कार पनि पाए । त्यसबारे उनले भनेका थिए प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई मलाई केही गर्न नपाएकोमा पछुतो थियो । अनि उनकै प्रेसरबाट मैले त्यो पुरस्कार पाएको हुँ । तर मलाई त्यस पुरस्कारको चाहिं फिटिक्कै महिमा भएन । उनीहरुले दिए मैले लिएँ, बस् त्यत्ति हो ।''

देवकोटा शताब्दी सम्मान, मानश्री पुरस्कार, भारती खरेल पुरस्कार र भूपाल कृति पुरस्कारबाट पनि राणा सम्मानित भए । तर त्यति बेलासम्ममा उनी पुरस्कारहरूभन्दा एक हात माथी पुगिसकेका थिए ।
राणा सरलभन्दा सरल थिए । उनी मनमा लागेको कुरा खुलस्तै भनिदिन्थे । कुनै पनि कुरा गर्न उनका लागि औपचारिक बहाना चाहिंदैनथ्यो । त्यसैले उनी प्रायः एक्लो पनि पर्दै गए । जीवनको उत्तर्रार्धमा उनले त्यतिसारो आँखा पनि देखेनन् । त्यसमाथि उनलाई मधुमेहले च्यापेको थियो । उनले कहिले घुँडा दुख्ने विमार खेपे, कहिले उनको अनुहार सुनिने गथ्र्यो र उच्च रक्तचापले पनि उनलाई आछुआछु बनाउने गथ्र्यो । उनी जसलाई भेटेपनि नेपाल र नेपालीले आफूलाई नचिनेको गुनासो गर्थे ।

राणा दुई वर्ष अघिदेखि निक्कै बिरामी पर्दै आएका थिए । त्यस बेला नै पनि उनी मुटुका कारण नर्भीक अस्पतालमा भर्ना भएका थिए र उनलाई एन्जिओप्लाष्ट गरिएको थियो । तर क्रमशःक्रमशः उनका दुवै मृगौला निस्कृय भइसकेका थिए । अन्ततः उनी २०६७ फागुन २० गते स्वर्गीय भए ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 चैत्र, 2067

लेखकका अन्य रचनाहरु