शङ्कर लामिछाने

- नरेन्द्रराज प्रसाई

नेपाली भाषासाहित्यमा रुचि राख्ने सबैले शङ्कर लामिछानेलाई चिनेका छन् । खास गरेर नेपाली निबन्धको फाँटमा महाकवि देवकोटापछि शङ्कर लामिछानेको नाउँ आउँछ । तापनि निबन्धमा लामिछानेका पाठक देवकोटाका भन्दा शायद थोरै चाहिं छैनन् । वास्तवमा कलात्मक लेखनका उनी एउटा मर्ूधन्य साहित्यकारका रुपमा सुप्रसिद्ध भए । उनले निबन्ध विधालाई नयाँ शैली, नयाँ आयाम र नयाँ परिवेश दिए । त्यसैले नै नेपाली साहित्यमा उनी सर्वत्र मानिए ।

लामिछाने खुबै मिलनसार थिए । उनी महाकवि देवकोटाका पनि अति नजिक थिए । त्यस बेला यी दुबैजना आर्थिक हाहाकारमा भास्सिएका थिए । किनभने उनीहरुको कमाई खानेभाँडो ठूलो थिएन । त्यसैले एक पटक लामिछानेकै पारामा लागेर देवकोटा पनि लामिछाने झैं विदेशी पर्यटकलाई घुमाउने पेशामा आबद्ध भए । त्यस बेला गाइडको काम गरेका लामिछानेले देवकोटालाई यो पनि एउटा जिविकाको काम हो भनेर त्यतै मोडेका थिए । देवकोटा पनि अबोध बालक जस्तै थिए । त्यसैले जस्ले जे भन्यो उनी त्यही मानिदिन्थे । अनि फेरी तुरुन्तै अर्को कुनै मान्छेले भड्काए पछि देवकोटा उसैका कुरा पत्याइ दिन्थे । तर लामिछानेले चाहिं देवकोटालाई आर्थिक रुपमा पनि उकास्ने प्रयत्न गरेका थिए ।
लामिछाने नेपाली साहित्यमा जति लागिपरे विवादमा पनि त्यतिकै तानिइरहे । कहिले उनलाई चोरीवात लाग्यो, कहिले उनी बहुविवाहको झमेलामा परे र कहिले जागीर र व्यवसायले उनलाई रन्थन्याई रहृयो । तर पनि साहित्यमा चाहिं उनले एक निष्ठ भएर लेखिरहे । लेख्तालेख्तै उनी नेपाली भाषासाहित्यका महारथीका रुपमा स्थापित पनि भए ।

दार्जिलिङकी रत्ना र्राईसँग लामिछानेको प्रेमविवाह भयो । उनीहरूबाट दीप र शिखा जन्मे । फेरि लामिछानेले काठमाडौंकी सुवर्ण श्रेष्ठसँग पनि अर्को विहे गरे । त्यहाँबाट पनि प्रकाश र प्रभास जन्मे । तर पनि उनले सुक्खको मुख देख्न पाएनन् । वास्तवमा उनी बाँचुन्जेल पारिवारिक रूपमा अत्यन्तै दुखित थिए । अथवा भनौं त्यस ताका आफूले खनेको खाडलमा उनी आफै डुबेका थिए । उनलाई जतिसुकै आर्थिक, सामाजिक र मानसिक तनाव भए तापनि उनको मन जागीरको खोजी, जनसम्पर्क र लेखनमा नै केन्द्रित थियो । त्यसैले उनले काम, यात्रा र लेखनमा आफूलाई सकेसम्म नजिक राखिरहे । यात्राका क्रममा उनले नेपालका केही भूभाग र भारत अनि जापानको भ्रमण गरे ।

हरिप्रसाद लामिछाने र राजकुमारीका जेठा छोराका रूपमा शङ्कर लामिछानेको जन्म १९८४ साल चैत ५ गते काठमाडौको जैसीदेवलमा भएको थियो । उनी बामे र्सदानर्सर्दै उनका बुबा र आमाको आन्तरिक सङ्घर्ष चल्न थाल्यो । अनि उनकी आमाले आफ्नो घरबाट पाइलो लोटाउने निर्णय गरिन् । जसका कारण उनी शिशुकालमा हुँदा नै आफ्नो दुधे भाइसँगै आमाका पछि लागेर मावलीघर वनारस पुगे । त्यहाँ पुग्ने वित्तिकै यिनको भाइको निधन भयो ।

वनारसमा लामिछानेकी आमाले स्कुलमा पढाएर छोरो पालिन् । अनि एक दशकको हाराहारीमा उनकी आमाको पनि निधन भयो । त्यसपछि किशोरावस्थाको आरम्भमा नै उनी फेरि काठमाडौ आए ।

लामिछानेले आइएस्सीसम्मको अध्ययन गरे । अनि उनी जागीरमा लागे । राणाकालीन युगको समाप्तिको पूर्वसन्ध्यामा उनले गुठी अड्डामा खरदारको पदमा जागीर खाए ।

लामिछाने चञ्चले थिए । रक्सीलाई यी चिज गर्थे । नारीको यी जयजयकार गथें .। त्यही प्रवृत्ति जोडिएर पनि नारी जाति उनका मन पर्ने विषय हुन थाल्यो । उनले थुप्रैसँग प्रीति गाँसे । त्यही क्रम तानिएर उनी पारिजातको सर्म्पर्कमा पनि पुगे । पारिजातसँगको उनको सर्म्पर्कलाई धेरैले प्रेमको संज्ञा दिए; तर उनले बाँचुन्जेल पारिजातलाई बहिनी भनिरहे । साहित्यजगत्मा चर्चा थियो, "पारिजातको 'शिरीषको फूल'को भूमिका लामिछाने र पारिजातबीचको प्रेमको सेतु थियो ।" भनिन्थ्यो, "शङ्कर लामिछाने र पारिजात एकअर्कालाई प्रेम गर्थे । दैनिक दसबाह्र पल्टसम्म पनि लामिछानेको पारिजातसँग भेट हुन्थ्यो ।"

आफ्नो जीवनको अस्थिर प्रवृत्तिले गर्दा लामिछानेले भएको सरकारी जागिर पनि छाडे । त्यसपछि उनी नेपाल(भारत सांस्कृतिक केन्द्रको पुस्तकालयको अध्यक्ष भए । त्यहाँ उनको जागीर भएको केही समयपछि भारतीय राजदूतावासमा राजदूत र साँस्कृतिक सहचारी फेरिए । अनि त्यस ठाउँमा नयाँ मान्छेसँग उनको विचारको मेल भएन र स्वाभिमानका कारणले उनले त्यहाँबाट हात धोए ।

लामिछाने जागीरकै सिलसिलामा घरेलु कला तथा बिक्री भण्डारमा महाप्रबन्धकमा भर्ना भए । त्यहाँ पनि उनी धेरै समय टिक्न सकेनन् । अनि फेरि उनले ज्यूज्यान बचाउन सिनेमा हलमा पनि काम गरे । उनले नेपालकै पहिलो सिनेमा हल जनसेवा सिनेमा हलमा व्यवस्थापकका रूपमा काम गरे । त्यतिमात्र होइन उनले होटल शङ्करदेखि शङ्कर ट्राभल्स एन्ड टुर्ससम्म पनि जागीर खाए । ती ठाउँहरुमा पनि उनी सफल भएनन् । अथवा भनौं गमलामा बरको बोट अटाएन । उनले विदेशीका लागि क्यूरियो पसल पनि खोले । त्यहाँ पनि उनी घाटामा नै परे ।

लामिछानेको वैयक्तिक जीवनमा आँधीहुरी आए तापनि उनी लेखनका नम्बरी सुन थिए । खास गरेर उनी निबन्धका चाहिं वादशाह नै मानिए । उनले लेखनीमा शब्द, शैली र प्रस्तुतिमा नयाँ प्रयोग गरिरहे । उनले आफू पन्ध्र वर्ष पुग्दानपुग्दै आफ्नो लेख साहित्यस्रोतमा छापाए । त्यसपछि उनी क्रमशः चर्चापरिचर्चामा आइरहे । किनभने उनले घनत्व भएका कृतिको मात्र निर्माण गरे । उनको निबन्धसङ्ग्रह 'एब्स्ट्रयाक्ट चिन्तन र प्याज'ले २०२४ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । उनका फूटकर रूपमा थुप्रै कविताहरू छापिएका थिए भने कथासङ्ग्रहका रूपमा 'गौंथलीको गुँड' (२०२५) प्रकाशित भएको थियो । साथै उनको व्यक्तिकेन्द्रित निबन्धसङ्ग्रह 'बिम्ब प्रतिबिम्ब' (२०२८) प्रकाशित भएको थियो । 'गोधुली संसार' (२०२७) र 'शङ्कर लामिछाने' (२०३२) नामक उनका थप निबन्धका कृति प्रकाशित भएका थिए ।

लामिछानेले आफूले पनि लेखे अरूलाई पनि लेख्न प्रेरणा दिइरहे । उनी आँसु लेखन नै गर्थे । उनको लेखन सीप अलौकिक मानिन्थ्यो । उनी लेख्ता मनबाट लेख्थे, मस्तिष्कबाट लेख्थे र वचनबाट लेख्थे । त्यसैले उनको लेखन बौद्धिक गिदीहरूको आहार बन्थ्यो । त्यही कारणले उनी छिटोछिटो लोकप्रिय हुँदै गए । त्यसमाथि उनको सङ्गठनात्मक शैली लोभ लाग्दो थियो । महाकवि देवकोटाकै आग्रहमा उनी काव्य प्रतिष्ठानको सदस्यसचिव भए, त्यसपछि उनी इन्द्रेणीको पनि सम्पादक भए । साथै उनले हाम्रो साहित्य नामक बाल पाठ्यसामाग्रीको आठ वटा भागको सम्पादन गरेका थिए । उनी नेपाली साहित्यमा सङ्गठन, सम्पादन र सृजनामा बराबरी समर्पित थिए ।

लामिछानेको जीवनको प्रारम्भदेखि ४८ वर्षम्म सङ्घर्षबाहेक केही थिएन । पृथ्वीमा मानसिक र भौतिक कष्टसँगसँगै बेहोर्ने मान्छेका अग्र पङ्तिमा पर्ने मान्छेको नाउँ लिनु पर्दा लामिछानेलाई पनि लिने गरिन्छ । अन्ततः सङ्घर्षमा नै नापिदानापिदैं उनको स्वास्थ्य पनि विग्रिन सुरु भयो । यसक्रममा उनको गिदीको जालो सुनिन थाल्यो । अनि त्यही कारणबाट उनको निधन भयो । २०३२ साल माघ १० गते नेपाली भाषासाहित्य संसारमा निष्लोट कालो बादल मडारिएको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 27 फागुन, 2067

लेखकका अन्य रचनाहरु