डायास्पोरिक चेतना र नवीन बान्कीका जीवन्त कथा: ‘समुद्र र सपना’

- डा.लक्ष्मणप्रसाद गौतम

१. विषयप्रवेशः
समकालीन नेपाली कथाका क्षेत्रमा र अझ विशेषतः समकालीन नेपाली डायास्पोरिक कथाका क्षेत्रमा कथाकार सञ्जु बजगाईँ प्रथम पुस्तकाकार कृतिमा नै ज्यादै सशक्त कथाहरुका साथ देखापरेकी छिन् । सन् १९९७ मा कविता प्रकाशित गरेर साहित्यिक क्षेत्रमा देखापरेकी सञ्जुले कथालेखनका क्षेत्रमा भने सन् २००६ देखि प्रवेश गरेकी हुन् र उनको लगभग आधा दशक समयावधिको कथायात्रामा सिर्जिएका पन्ध्रवटा कथाहरुले उनको कथाकारीताको राम्रो पहिचान गराएका छन् । नेपालको राजनीतिक, सामाजिक, आर्थिक आदि विविध क्षेत्रमा देखिएका विसङ्गतिपूर्ण परिस्थितिको प्रतिकात्मक वा साङ्केतिक परिणतिका रूपमा पनि उनका कथाहरु सिर्जिएका छन् भने विशेषतः डायस्पोरिक जीवन र भोगाइका विविध आयाम र तिनमा पनि नारीकेन्द्रका कथा लेख्नु उनको विशेषता देखिन्छ ।

विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग आवद्ध सञ्जु बजागाईँले इ–साहित्यिक पत्रिका लगायतका अन्य पत्रिकाको सम्पादनसमेत गरेकी छिन् । स्वदेशी र विदेशी परिवेश र पृष्ठभूमिमा लेखिएका उनका केही कथामा नेपालको सशस्त्र द्वन्दजन्य परिणतिलाई पनि देखाइएको छ । डास्पोरिक नेपाली नारीजीवन र नेपालकै नारीजीवनका भोगाइका साथै नारीलाई स्वाभिमानी, स्वावलम्बी र आत्मसम्मानयुक्त रूपमा चित्रण गर्नू उनको विशेषता हो । यो विशेषता उनको कथाकारिताको निजत्व पनि हो ।

२.कृतिगत संरचना र आयाम
कथाकार सञ्जु बजगाईँको ‘समुद्र र सपना’ कथासङ्ग्रह भित्रका कथाहरु संरचना वा आयामका दृष्टिले ज्यादा छोटा र ज्यादै लामा पनि छैनन् र पढ्दा कति पनि पट्यार नलाग्ने यी कथाहरु आकारप्रकारका दृष्टिले मझौला छन् र मानक आयामभित्र संरचित छन् । ‘समुद्र र सपना’ शीर्षकको शीर्षकथासहित पन्ध्रओटा कथाहरु यसकृतिमा सङ्ग्रहीत छन् र यस सङ्ग्रहका सबै कथाका बाह्य–आन्तरिक संरचना बीच सन्तुलित संयोजन छ । सबै कथाको आख्यान संरचना, वस्तुसंरचना र शिल्पगत संरचनाका बीच पनि सन्तुलन हुनु र भावविन्यास र आख्यानीकरणका बीच तादाम्य हुनु पनि यी कथाहरूको संरचनागत परिप्रष्टता देखिनु हो । पन्ध्रओटै कथाहरूमा संरचनाविधान कसिलो र पुष्ट भएकाले यस सङ्ग्रहका कथाहरूको बनोट र बुनोटका बीच पनि संन्तुलन देखिन्छ । अझ त्यसमा पनि समुद्र र सपना, पपेट, आत्महत्याका शृङ्खला, विद्रोह, ग्यास च्याम्बरको छेउबाट, मार्गरेट र मेरीआमा शिर्षकका कथाहरू संरचनाविधानका दृष्टिले प्रभावी देखिन्छन् ।

३.कथाको अन्तर्वस्तु र कथ्य
समकालीन नेपाली नारीकथालेखनका क्षेत्रमा सञ्जु बजगाईँका कथा कथ्य, अन्तर्वस्तु र शैलीका दृष्टिले समेत पृथक देखिन्छन् । यस ‘समुन्द्र र सपना’भित्रका कथाहरू नेपाली र विदेशी परिवेशमा केन्द्रित भएपनि ती यी दुवै ठाउँका नेपाली जीवनशैलीबाट पृथक छैनन् र मूलतः नारीअनुभूति, नारीभोगाइ, नारीचेतना र अझ त्यसमा पनि डास्पोरिक जीवन बाँचिरहेका नेपाली नारीहरूका जीवनचेतनालाई यस कृतिका धेरै कथाहरूले अन्तर्वस्तु र कथ्य बनाएका छन् । समकालीन नेपाली जीवन र समाजका स्वदेशी भोगाइ र विदेशी भोगाइसंग सन्दर्भित गराएर नारीजीवनसंग समीकरण गरी नयाँ शैलीमा कथा बुन्ने र नविन कथ्य र तथ्यको उद्घाटन गर्ने नविनशैली सञ्जुका कथामा पाईन्छन् । परित्यक्त र अपहेलित वृद्धवृद्धाहरूको दारुणस्थिति, टेक्नोकल्चरको व्यापकता र यान्त्रिक जीवनशैली, गरिबी, विपन्नता, नारीहरूका जटिल जीवनभोगाइ, विविध सामाजिक परिवारिक जटिलताका कारण विक्षिप्त नारीमनोदशा डायस्पोरिक जीवनशैलीमा बाँचेका नेपाली नारीहरुका भोगाइ, नारीविद्रोह, पुरुषमनोवृति, बालमनोविज्ञान आदि विविध कथ्य र अन्तर्वस्तुमा सञ्जुका कथा केन्द्रित छन् । उनको यस कथासङ्ग्रह अन्तर्गतका कथामा पाइने अन्तर्वस्तु र कथ्यसन्दर्भलाई यसप्रकार देखाइन्छ :–
कथाको शीर्षक-------अन्तर्वस्तु/कथ्य सन्दर्भ
१.समुन्द्र र सपना------------परिवारबाट तिरस्कृत वृद्धवृद्धाहरूका माध्यमबाट तिनका दमित कुण्ठा र चाहनाको प्रकटिकरण ।
२.पपेट---------- मानवयन्त्रको संसार, यन्त्रको सामाजीकरण र संवेदनाको भर्चुअल रियालिटि ।
३.गुलाबी फ्रक-------- इटाभट्टामा काम गर्ने विपन्न बालिकामा ‘म’ को स्वरैकाल्पनिक प्रतिबिम्बन ।
४.आत्महत्याका शृङ्खला-----अज्ञात रहस्यभित्र आत्महत्याको भूतले सताइएका नारीहरूका पीडा र तिनका मनोविज्ञानको उद्घाटन ।
५.एम्बुस------प्रविधि संस्कृतिको दुष्परिणाम र दुरुपयोगको यथार्थ र नारीपरिवृत्त ।
६.बिद्रोह-------पुरुष पीडित नारीका मनको अन्तद्र्वन्द्व, विद्रोह र नारीवादी चेतना ।
७.क्रसरोड--------दुःख र पीडाबाट आक्रान्त र विक्षिप्त नेपाली नारीका डायस्पोरिक भोगाइ ।
८.बन्द झ्याल--------पश्चिमी सभ्यता र संस्कारमा भिजेको नेपाली नारीको जीवनशैली ।
९.सम्वन्धको दुरी-----धनाढ्य परिवारभित्रका पारम्परित सोचप्रतिको नारी विद्रोह ।
१०.अर्को मोड------- डास्पोरिक जीवनशैली बाँचेका नारीचरित्र र नारीसमलिङ्गीय चेतना ।
११.ईष्या-------धनाढ्यका घरमा कामदारका रूपमा बसेकी युवतीको पीडा र उसमा आएको मनोवैज्ञानिक ईष्या ।
१२.ग्यासचेम्बरको छेउबाट ------डायस्पोरिक नेपाली नारीका माध्यमबाट जीवनलाई भागेर होइन भोगेर पचाउँनुपर्छ भन्ने धारणा ।
१३.सप्तकोशीको किनारबाट-------धनको महत्वाकाङ्क्षा र जीवनको नश्वरताको स्वरैकल्पनात्मक चित्रण ।
१४.मार्गरेट र मेरी आमा-------मानव र जनावर बिचको पृथक् जीवनशैली, मानविय संवेदनाक्क् र डायस्पोरिक चेतना ।
१५.फेरी उही सपना------विदेश गएका नेपाली नारीहरूको अनुत्तरदायी चरित्र, सुखभोग र डायस्पोरिक चेतना तथा बालमनोविज्ञान ।

४. नारीकेन्द्रका कथा : उत्तरआधुनिक सन्दर्भ
समकालीन नारीकथा लेखनमा क्रियाशील सञ्जुका कथाका मूलपात्र प्रायः नारी नै हुन्छन् र अन्तर्वस्तु तथा कथानक पनि नारीकेन्द्रकै वरिपरि घुमेको देखिन्छ ।

उत्तरआधुनिकतावादी–बहुलवादी अवधारणाले पुरुष केन्द्रको विरोध गर्छ र नारीकेन्द्रको स्थापना गर्छ । सञ्जुका कथाका नारी पात्रहरू त्यस्तै उत्तरआधुनिक जीवनशैलीका, भोगाइका अनुभूतिका पनि छन । ‘गुलाबी फ्रक’मा धर्मपुत्रीका रूपमा विदेशिएकी नेपाली छोरीको आत्मालापका माध्यमबाट अतितबोध प्रस्तुत गरिएको छ र यस कथाले नारीलाई केन्द्रमा राखेको छ । ‘आत्महत्याका शृङ्खला’मा विविहित नारीहरूले आमहत्या गरेको देखेर अविवाहित युवतीमा आएको मनोद्वन्द्वलाई प्रस्तुत गरि पुरुषपीडित नारीहरुका मनोवैज्ञानिक तथ्य उद्घाटन गरिएको छ । ‘विद्रोह’ शीर्षकको कथा नारीवादी चेतनाको सशक्त कथा हो । यस कथाकी प्रमुखपात्र सरलाको विद्रोहमा सम्पूर्ण नेपाली नारीहरुको विद्रोह प्रतिबिम्बित छ । ‘सम्बन्धको दुरी’मा पनि यस्तै तर भिन्न प्रकृतिको हुन्छ र त्यसको पनि विद्रोहको रूप लिएको छ । ‘अर्को मोड’ कथालाई अन्त्यमा साङ्केतिक रूपमा नारी समलिङ्गी चेतनामा लगेर टुङ्ग्याइएको छ, त्यसैले यो कथा लैङ्गिक समलोचनाका आँखामा विश्लेषणीय छ । यो पनि उत्तरआधुनिक प्रवृति हो ।

यी कथा मात्र होइनन्, यस कथासङ्ग्रह भित्रका सबै कथाहरुमा केन्द्रिय भूमिका नारीकै छ र कथामा आउने केन्द्रिय भूमिकाका सबै नारीहरु नेपाली नै छन् । तिनका स्वदेशीय र विदेशीय जीवन भोगाइका आरोह–अवरोहबाट धेरै कथाहरू अगाडि बढेका छन् । विद्रोही नेपाली नारी, दुःख र पीडाकी भोक्ता नेपाली नारी, धनको महत्वाकाङ्क्षा र सुखको सपना पालेर जिन्दगी नै विसर्जन गर्न पुगेकी नेपाली नारी, विदेशमा रहेर मोजमस्ती गर्ने र घरमा रहेका लोग्ने र छोराछोरीप्रति अनुत्तरदायी बनेकी नेपाली नारी तथा हिप्पीहरुसंगको सङ्गतमा उस्तै बनेकी नेपाली नारीजस्ता अनगिन्ती नारीका रूपहरुबाट यस सङ्ग्रहका कथा लेखिएका छन् । र ती सामान्य नारीचरित्र भन्दा नितान्त भिन्न प्रकृतिका छन् । अर्कोतिर विदेशी नारी चरित्रका विविध आयामहरु पनि यहाँ छन् र स्वदेशका विभिन्न नारीचरित्रहरुको प्रतितिधित्व पनि यहाँ भएको पाइन्छ । यस कथाका नारीपरिवेश, मनोरचना, चिन्तन, चेतना, मनोविज्ञान, भोगाइ, अन्तद्र्वन्द्व आदि सबैमा नारीत्वका विविध आयामहरू छन् । यी सबै आयामहरूले उत्तरआधुनिकतावादी प्रवृतिको द्योतन गर्दछ । उत्तरआधनिकताको नारीवादी सन्दर्भ यसकथाका नारीडायस्पोरा, नारीवादीप्रवृति, नारीका विभिन्न पक्षहरुको सूक्ष्म विश्लेषणमा रहेको छ र यो यस सङ्ग्रहका कथाको शक्ति पनि हो ।

५. नारीकेन्द्रियतामा डायस्पोरिक चेतना
डायस्पारिक चेतना पनि उत्तरआधुनिकतावादी प्रवृति हो र सञ्जु बजगाईँको ‘समुन्द्र र सपना’ भित्रका अधिकांश कथाका नारीकेन्द्रका डायस्पोरिक कथा छन् । डायस्पोरिक जीवन बाँचेका नेपाली नारीका बहुआयामिक रूप, चरित्र र विवशताका क्यानभासमा यस कथाका चित्रहरु जीवन्त बनेका छन् । ‘समुन्द्र र सपना’की समारव्याता ‘म’ पात्र, ‘गुलाबी फ्रक’ की धनसरीले बाँचेको जीवन, ‘एम्बुस’की ज्योतिको जीवनयात्रा, ‘क्रसरोड’की जमुनाकुमारी अर्थात जेनीको डायस्पोरिक जीवनशैली र डिप्रेशन, ‘ग्यासच्याम्बरको छेउबाट’ की ज्ञानुदेवीको दैनिक डायस्पोरिक जीवनशैली र म्याडम रूथको जीवनकथा, ‘सप्तकोशीको किनारबाट’ की मनुदेवीको जीवन भोगाइ र मृत्युसँग गाँसिएको उसको लोग्नेको डायस्पोरिक कमाइ, ‘मार्गरेट र मेरी आमा’ कथाकी ‘म’ नारी समारव्याता पात्र, ‘फेरी उही सपना’ कथाकी घरमा लोग्ने र छोरी छाडेर विदेश गएकी शकुन्तलाको वैदेशिक सुखभोग र विलास आदि सबै नारीपात्रका भोगाइ, अनुभूति र जीवशैलीले डायस्पोरिक नेपाली नारीहरूका अनुकाल्पनिक यथार्थभन्दा भिन्न दृष्टि र अनुभूत यथार्थ छ । यो यथार्थ कथाका तन्तुमा बुनिएको र उनिएको घटनाशृङ्खला मात्र छैन, यी कथाले मान्छे र अझ त्यसमा पनि नारी मान्छेका जीवनका सूक्ष्मतम पक्षलाई नियालेर हेरेका छन् । त्यसैले सञ्जुका यी कथा पृथक छन् ।

६. उत्तरआधुनिकताको अन्य सन्दर्भ
उत्तर आधुनिकताको बहुलवादी कोणबाट पनि सञ्जुको ‘समुद्र र सपना’ भित्रका कथा विश्लेषणीय हुन्छन् । यी कथा बहुलवादी छन् । भर्चुअ रियालिटी, म्याजिक रियालिटी र क्विअर चेतनाका विविध चिन्तन र चेतनाको प्रयोग पनि यी कथामा पाइन्छन् । नारी सममलैङ्गिक चेतना पनि यहाँ छ भने साइवर कल्चरको प्रयोग र प्रविधिसंस्कृतिको प्रयोगका दृष्टिले पनि यस सङ्ग्रहका धेरै कथा सबल र सफल छन् । नारीवादी चेतनाका विविध आयाम त यस सङ्ग्रहका धेरै कथामा देख्न पाइन्छ । आफ्नै परिवार र जीवनबाट किनारिएका वृद्धवृद्धाहरूको जीवनशैली आफैभित्रको सीमान्तीकरण हो । कथाकी वृद्धाका कुण्ठित र दमित चाहनाहरू यसैका प्रतिफल हुन् । पपेट स्वयम्मा एउटा विकसित मानवको यान्त्रिकरुप हो । यसबाट यन्त्रको रुपमा ब्यावहार गरिएको मानवले सामाजिकरण हुनचाहेको र थालेको कुरा अभिव्याञ्जित हुन्छ । यो कथा एउटा मानव यन्त्रको संसार हो । यन्त्रमा मानवीय संवेदना भरियो भने त्यो कस्तो होला ? यही अधिकल्पना ‘पपेट’ कथामा छ । यो भर्चुअल रियालिटी र म्याजिक रियालिटीको प्रयोगशाला हो । टेक्नोकल्चरको यति सशक्त प्रभाव कमै कथामा पाइन्छ । ‘गुलाबी फ्रक’मा पनि भर्चुअल रियालिटी र प्रेतछायावादको प्रभाव छ । आफ्नै पुरानो आकृति आफ्ना अगाडी उपस्थित हुनु म्याजिक रियालिटी पनि हो र त्यसलाई प्रेतछायावादी शैलीमा देखाइएको छ । आत्महत्याका भूतहरूले मनोवैज्ञानिक रूपमा तर्साएको परिदृश्यले पनि यसलाई सङ्केत गर्छ । ‘एम्बुस’ कथाको फेसबुक प्रविधिसंस्कृतिले ल्याएको जीवनशैली नै भएपनि त्यसले मान्छेको जीवनमा कति ठूलो मोड ल्याउन सक्दो रहेछ भन्ने यथार्थ साइवर कल्चरको अनुपम उदाहरण हो । ‘क्रसरोड’ नोस्टाल्जिक जीवनशैली बाँचेकी नारीका जीवनको प्रतिबिम्ब हो । ‘बन्दभ्mयाल’ भित्रको जीवनशैली त्यत्तिकै अत्याधुनिक छन् । ‘अर्को मोड’को नारी समलिङ्गीय चेतना आदि सबै प्रवृत्तिहरू उत्तरआधुनिक चेतनाका छन् । यसरी य िकथाले बहुलताको अवधारणालाई अगाडि सारेका छन्, त्यसैले यस सङ्ग्रहका कथाहरूमा अर्थका बहुलसम्भावनाहरू पनि देखिन्छन् ।

७. शैलीय पृथकता र नविनता
समकालीन नेपाली नारीकथा लेखनका क्षेत्रमा सञ्जुका कथाले केही पृथकता र नविनताको शैली वरण गरेका छन् । धेरैजसो कथाका अपारम्परिक शैलीमा लेखिएका छन् । यस पृथकताले उनलाई भिन्नरूपमा चिनाउँछ तापनि केही कथामा भने पारम्परिक शैली नै पछ्याइएको छ । विशेषतः पात्रहरूलाई कथामा उपस्थित गराउने उनको शैलीको पृथकता सबैभन्दा राम्रो छ । कहीँ आफ्नै अतितको अनुहारलाई म्याजिक रियालिटीको शैलीमा उपस्थित गराएर, कही यन्त्रलाई मानवीकरण गरेर, कही डायस्पोरिक नेपाली नारीका हिप्पी शैली र पश्चिमा शैलीका जीवनशैलीको अभिव्यञ्जना गरेर र कहीँ नारीलाई विदोह गर्न लगाएर सञ्जुले नयाँ शैलीको बान्कीहरू देखाएकी छिन् । चरित्रविधानमा मात्र होइन, परिवेश निर्माणमा पनि नविनता छ । स्थूलरूपमा नेपाल र विदेशको परिवेश भएपनि सूक्ष्म रूपमा नविन र अनौठा परिवेशको निर्माण यी कथामा पाइन्छ । स्थानिक र कालिक परिवेशमा भन्दा पनि परिस्थितिक परिवेश निर्माणका दृष्टिले यस सङ्ग्रहका कथा बढी सबल र सफल देखिन्छन् ।

भाषिक प्रस्तुति, सूक्तिमय कथन र बीचबीचमा आउने बिम्बमय भाषाले यस सङ्ग्रहका कथालाई प्रभावी बनाएका छन् । कथामा सोझो तरिकाले वर्णन गर्ने शैली नअपनाएर समारव्याता स्वयम्को आत्मकथनका माध्यमबाट कथा भन्ने नयाँ शैली यहाँ अपनाइएको छ र समारव्यानका शृङ्खलाहरूलाई कहीँकहीँ व्यत्तिक्रमिक रूपमा प्रस्तुत गरिएका केही कथामा यायावरी शैली पनि देखिन्छ । जे होस् शैलीगत विशिष्टताले पाठकलाई तान्दै सम्मोहित बनाउन यस सङ्ग्रहका कथाको विशेषता हो, निजत्व हो ।

८.निष्कर्ष:
समकालीन नेपाली डायास्पोरिक नारी कथालेखनका क्षेत्रमा सञ्जु बजगाईँको उपस्थिति कही पृथकताका साथ देखापरेको छ । यस सङ्ग्रहका धेरै कथाहरू अन्तर्वस्तु, कथ्य, शैली आदि सबै दृष्टिले निकै सशक्त र प्रभावपूर्ण छन् । ‘समुद्र र सपना’ शीर्षकको यस सङ्ग्रहमा सङ्ग्रहीत कथाले आजको उत्तरआधुनिक जीवनशैली बाँचेका नेपाली नारीहरूका विविध पक्षलाई जीवन्त रूपमा प्रस्तुत गरेको देखिन्छ । उनका कथा डायस्पोरिक छन् । नारी भोगाइका विविध आयामतिर अभिमुख छन् र स्वदेशका स्वजनका पीडा र नोस्टाल्जिक बिम्ब पालेर बस्न विवश धेरै नारीहरूका आफ्नै कथा जस्ता पनि लाग्छन् यी कथाहरु । सञ्जुका यी कथाले नेपाली कथा साहित्यमा, डायस्पोरिक नेपाली कथासाहित्यमा र अझ डायस्पोरिक नेपाली नारीकथा साहित्यमा पृथक पहिचान राख्न सक्छन् भन्ने आधारहरू स्वयम् तिनका कथा छन् । ‘समुद्र र सपना’ भित्रका कथाहरु यिनै प्रवृतिको परिचायक हुन ।

–त्रि.वि., नेपाली केन्द्रिय विभाग

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 19 फागुन, 2067

लेखकका अन्य रचनाहरु