अर्थ न बर्थ गोविन्द गाई

- बासु श्रेष्ठ

ल्हासामा सुन छ कान मेरो बुच्चै भनेर हामी जति फलाके पनि,कराएपनि, खल्ती छामेपनि, कान छामेपनि नानीदेखि लागेको बानी कहिल्यै गएन । अर्थात माल पाएर चाल नपाउने हाम्रो बानी भएकोले नै होला सुनको खानी पारी, हामी वारी । पारीको सुन सम्झ्यो, राल काढ्यो बस्यो ।

माल पाएर चाल नपाउने किन भनेको भने हामी छैन छैन भनी नभएको बस्तुको तिर्सना गर्छाै, भोकभाकै मर्छाै, प्यासले प्याक प्याक बन्छौ तर त्यहि माल हात पर्याे भने लुटको धन, फुपुको श्राद्ध गरिदिन्छौ । जस्तै हेर्नास् न १०४ वर्षे राणाकालको विरुद्ध प्रजातन्त्रकोलागी लडियो, ३० वर्ष पँचायतको विरुद्ध प्रजातन्त्रकोलागी लडियो । तर अन्ततोगोत्वा, देशमा आएको प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र हात्ति आयो हात्ति फुस्सा भने झै भएको देख्नु भयो ? किनभने देशमा प्रजातन्त्र यसरी कुना कुना, व्यक्ति व्यक्तिमा पस्यो कि कसैले कसैको टेर पुच्छर लाउन छाडे । बाँदरको हातमा नरिवल भने झै आठ सिटे गाडिमा बीसजना बसिदिन्छन् । बल्ल बल्ल आएको प्रजातन्त्रको यसरी दोहोलो काटियो कि न कुनै नेता नै देशकोलागी उचित देखा परे न शिक्षित भनाउँदा नागरिक । अनि भएन त लुटको धन फुफुको श्राद्ध ? त्यसो त लुटको धन, फूपुको श्राद्ध भन्दा तपाईलाई आपत्ति हुन सक्छ । तर म भन्छु फूपुको श्राद्ध गर्नु नराम्रो कुरापनि त होईन नि । आफ्नो बा जस्तै एउटै भुँडिबाट एउटै मार्ग भएर निस्केको बाको दिदि बहिनीको क्रिया कर्म गरिदिनु राम्रै कुरा हो नि । तर हाम्रो हातमा सुनको खानी हात पर्याे भने फूपुमात्र होईन मामाचेला, फूपुचेलाको समेत श्राद्ध गरिदिन्छौ ।

तर फेरि तिनै वस्तु हातबाट गुम्यो, फुत्क्यो या उम्क्यो भने तिनैको जयगान अलापी रहन्छौ । मेरा एकजना मित्रको श्रीमति छिन् । भेट भयो कि हाम्रो नेपालाँ यस्तो छ, उस्तो छ, यस्तो थियो उस्तो थियो भनेर उनका बाबुले घिउ खाएको हात सुँघि रहन्छिन् । नेपालमा यो छ र त्यो भन्दै यो मोरो अमेरिका त छ्या, बस्नै मन लाग्दैन भन्दै सराप्छिन् । र अमेरिकालाई सराप्दै बस्दै गरेकोपनि वर्षौँ भै सक्यो । यसरी बाजेले घिउ खाएको हात न सँुध्न छोडछिन् न अमेरिकालाई धिक्कार्न छोड्छिन् । आफुलाई अप्ठ्यारोमा फलेको फर्सी झै कति गर्न सकेको होला ? न हाँसको चाल, न कुखुराको चाल ।
कुरा आगराको गर्न खोज्या, गागराको भयो कि क्या ? तर कहिले काहिँ छेउ न टुप्पा, फेद न पुच्छरको कुरा गर्दापनि रमाईलै हुँदो रहेछ । तपाई भन्नुहोला गाँठि कुरा गर न । म भन्छु गाँठि कुरा गर्न त समय छँदैछ नि । घाम नघर्केसम्म के को हतार ? अहिले समय छउन्जेल समयलाई लुटको धन गरेझै कुरा गर्रौ न । अथवा माल पाएर चाल नपाएको भने झै गर्दा कसो होला र ? तपाई फेरि भन्नुहोला रात रहे अग्राख पलाउँछ, यो समयलाई बाँदरको हातमा नरिवल झै नगर् । हो मपनि सहमत छुँ तपाईसँग तर नानीदेखि लागेको बानी तपाईले भन्दैमा जाने भए त हुन्थ्यो नि । थाहा छैन काग कराउँदै गर्छ पीना सुक्दै गर्छ भन्ने ? देख्नुभएन सँविधान सभाको चाला ? हामी काग भएर कति करायौ, तर ख्वै नेता भनाउँदा पीना झै सुकेरै छाडे । तिनका मति फिरेन । पहाडसँग कुहिनाको के बल ? बरु हामी कागको घाँटी पो सुक्यो हगि ? अहिले चाहिँ मैले खाँट्टि कुरा गरेँ कि ? तपाईको मुखमा हाँसो देखियो । जे होस्, दुईवर्ष बाँदरको हातमा नरिवल भने झै नेताका हातमा दुई वर्ष खेर गयो । त्यत्रात्यत्रा नेताहरुले त त्यस्तो गर्नुहुन्छ भने मैले किन गर्न नहुने ? देखिहाल्नु भयो म अर्थ न बर्थ गोविन्द गाई भने जस्तो कुरा गर्दिन ।

नानी भन्दा आची ठुलो भन्नु होला । खुकुरीभन्दा कर्द लाग्ने मेरो रहरपनि होईन । तरपनि लागे लाग्छ मोहनी, नभए बुढि घरमै छ भनेर हुटिट्याउँले आकाश थामेजस्तो गर्न खोजेको हुँ । अब तपाई चैँ ताक परे तिवारी, नत्र गोतामे नगर्नुस् नि । मेरो कुरा ध्यान दिएर सुन्नुस् । मनको बह कसैलाई नकह भनेझै थुपारेर राखेको व्यथाको पोको फुकाउन खोज्दै छुँ आज । अर्जुनले चराको आँखामा ध्यान दिए झैँ सुन्नु होला ।

मेलम्चीको पानी आकाशको फल आँखा तरी मर भैसक्यो । तपाई त कुन्नी, म चैँ तिर्खाले फत्र्याक् फत्र्याक् भै सकेको छुँ । जुन जोगी आएपनि कानै चिरा भने झै अहिलेसम्म कति पर्धानमन्त्री आए, कति मन्तरी आए सबैको एउटै नारा । सडकाँ छउन्जेल तपाई हाम्रो नाममा दुर्दुवाई दिन्छन् र सदनमा पुग्छन् । अनि खोला तर्यौ, लौरो बिस्र्याे गर्छन् । तिनलाई भीआइपी बनाउने हामी नै । तर तिनै भीआईपीको छेउ त के तिनका कालो मुहार हेर्नपनि सिमसिमे राजाको पालो कुर्नुपर्ने हुन्छ । अर्थात हामीले तिनको नाममा दुर्दवाई दिँदैमा ठिक्क हुन्छ । जब सदनबाट फेरि सडकमा आउँछन् त्यतिबेला रातो नीलो मुहार लिएर फेरी भोट माग्न आउँदा खाउँ भने कान्छा बाउको अनुहार, नखाउँभने दिनभरीको शिकार भने झै गर्नुपर्छ । तिनका राँडी रुवाईले फेरि एउटा भोट लैजान्छन् र यो प्रक्रिया कुम्हालेको चक्र झै फनफनी घुमी रहन्छ । तर न हाम्रो चेत खुल्छ न तिनका बुद्धि जनसेवामूखी हुन्छ । एक प्रकारले भन्ने नै हो भने यि चुनावाँ भोट पाएर सदनमा पुगेकाहरु बाँदरको पुच्छर, लौरो न हतियार भएका छन् । आज सप्रिएलान् कि भन्यो, भोलि सप्रिएलान् कि भन्यो । के सप्रिन्थे ? बाह्रवर्ष कुकुरको पुच्छर ढूगा्रेभित्र राख्यो, बाँगाको बाँगै । अति गरे खति हुन्छ भन्छन् तर ख्वै यि ज्याद्रोहरु । हरामसँग रामपनि डराउने भएर हो कि खतिको केहि लाग्दैन ।

यस्तो कुरा गर्न तँलाई कल्ले सिकायो भन्दै बम्किनु होला । कि पढेर जानिन्छ, कि परेर जानिन्छ । कुरा बुझ्नु भो ? फेरि जस्तो जस्तो बाजे त्यस्तो त्यस्तै स्वाहा पनि त गर्नुपर्याे नि । नत्र त हिँडने गोरुको पुच्छर निमोठ्दैनन् कि क्या हो ? अब त कुरा बुझ्नु भो होला । कि बाह्रवर्ष रामायण पढ्यो सिता कसको जोई भन्नुहुन्छ ?

म मात्र के भन्छु भने बुझ्नेलाई यो कुरा गहिरो छ, नबुझ्नेलाई घरछेउमा पहिरो छ । अबपनि तपाईको घैँटोमा घाम लागेन र मैले यत्रो फलाकेको अर्थ न बर्थ, गोविन्द गाई भएको रहेछ भने रातभरी करायो, दक्षिणा हरायो भने झै हुने भो ।

उडब्रिज, भर्जिनीया, अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 17 फागुन, 2067

लेखकका अन्य रचनाहरु