एउटा कवि: नेपथ्यभित्र / नेपथ्य बाहिर

- डा. मधु माधुर्य

कोठामा छिरेपछि
कविले सफेद पानामा "शान्ति" कविता लेख्यो
कोठाबाट निस्कानेबेला उसले
केहि परेवाको हाडखुर,नंग्रा र प्वाँखको पोको
फोहोर- कन्टेनरमा मिल्कायो

यता, कवितामा उसले
नारी-स्वतन्त्रताको खाका कोर्दै थियो
उता अस्पतालमा, उनको श्रीमती
गन्दै थिई कविको प्रहारले सिर्जेको
नीलडामरुपी टाटुहरु

मसँग कविले
पुरस्कार किन्नु राम्रो काम होइन भन्दै थियो
मेरो साथीसँगको गोप्य भेटमा कविले
यो सालको पुरस्कार र सम्मान
उसैलाई चाहियो भनी चाकडी गर्दै थियो

कविले आफूलाई
प्रकृति र सौन्दर्यको प्रेमी भन्यो
बगैंचा छिरेपछि
सुँघ्दै टिप्दै फूल निमिट्यान्न पार्यो

उसले कविता चोर्नु अपराध भन्यो
मौलिक कविता कोर्ने अभ्यास-क्रममा
उसले धेरै कविताहरुको आफैले अनुवाद गर्यो
अखबारमा प्रकाशित ती कविताहरुमा
आफ्नो नाम देखेर दंग पर्यो

उसको कविता जुलुसमा जान असमर्थ देखेपछि
ऊ आफै आन्दोलनमा उत्र्यो
पुलिसको २-४ डन्डी खायो,
ऊ जेल पर्यो र नेता बन्यो
जेलबाट निस्केको केहि महिनामा
विपक्षी दलको सरकारमा ऊ मन्त्री बन्यो

अहिले उसलाई
देश बोल्ने कविता मन पर्दैन
भोका कविका स्वरहरु मन पर्दैनन्
कसैले सीमा मिचेको /नक्कली कपिलवस्तु बनाएको प्रसंग मन पर्दैनन्
कुनै बेला ऊ आफैले कवितामा मागेको संबिधान मन पर्दैन
घुसखोरी र भ्रष्टाचार विरुद्धको कविता मन पर्दैनन्
उसैको विरोध गरेको भान हुन्छ कि के हो ?
कविको हूल देखेपछि उसले लाठीचार्ज गर्ने आदेश दिन्छ
ऊ त चिल्लो गाडीमा सलल ... उसलाई कल्ले चिन्छ ?

यो सबै नाटक देखिसकेपछि
मैले मेरो अन्तिम कविता च्यातें
र कवि नहिड्ने लामो बाटो हिंडे
लाकुरी भन्ज्यांग पुगेर थकाइ मार्न खोज्दा
बनभोज खानेहरुले "आलो-कविता" मागे
अलिकति आफैलाई चिमोटें
ऐना हेर्दा पो थाहा भयो -
निधारमै "कवि" कोरिएको रहेछ
हत्केलामै "कवि" कोरिएको रहेछ
नेपथ्यभित्र र बाहिरको दिनचर्या
मेरो कर्म पो रहेछ
र चीसो डाँडामा
आफूलाई अलपत्र छाडेर
म गाउँ पसेँ !

हाल: मस्को

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 28 पौष, 2067

लेखकका अन्य रचनाहरु