मरेर गएपनि बाँचिरहने स्रष्टा विकल

- विजयराज आचार्य

नेपाली साहित्य जगत्का चम्किला ताराको नाम हो रमेश विकल । उनले नेपाली साहित्यको भण्डारमा कथा, उपन्यास, नाटक, बालसाहित्य, ब्यङ्ग्य निबन्ध गरी चार दर्जनभन्दा धेरै कृतिहरू भरेका छन् । उनले विश्वप्रसिद्ध व्यक्तिका पुस्तक तथा रचनाहरू पनि अनुवाद गरेका छन् । उनी सफल लेखक, अनुवादक साथै राम्रा चित्रकार तथा कुशल बाद्यवादक पनि थिए । उनी आफ्नो गाउँठाउँदेखि राष्ट्रियस्तरमै समाजसेवीको रूपमा पनि परिचित थिए ।

यी सिद्धहस्त आख्यानकारको जन्म १९८५ साल कात्तिक महिनाको भाइटीकाको दिन आमा छायादेवी चालिसे र बुबा चन्द्रशेखर उपाध्यायको कोखबाट काठमाडौँ नजिकै गोकर्ण आरुबारीमा भएको थियो । रमेश विकलको न्वारानको नाम इन्दुशेखर थियो । पछि उनको नाम रामेश्वर शर्मा चालिसे राखियो । उनलाई रामबाबु भनेर पनि बोलाउँथे तर उनी नेपाली साहित्यका पाठकहरूमाझ रमेश विकलको नामले सुपरिचित छन् । विकलको बाल्यकाल निकै कष्टपूर्ण तरिकाले बितेको थियो । उनी जन्मेको दुई वर्षमा नै उनकी आमाको निधन भयो । आमाको मृत्युपछि हजुरआमाबाट उनको पालनपोषण भयो । उनी पाँच वर्षको हुँदा हजुरआमा पनि बितिन् । उनकी कान्छीआमाबाट दुई भाइहरू जन्मिए । बुबा जागिरे थिए, जसले गर्दा सन्तानलाई त्यति हेरविचार पुर्‍याउन सक्दैनथे ।

उनी १७ वर्षको हुँदा उनकी जेठीआमा पनि बितिन् । विकल एक्काई वर्ष पुग्दानपुग्दै २००६ सालमा उनका बुबाको पनि निधन भयो । विकल त्यसपछि एक्ला जस्तै बन्न पुगे ।

रमेश विकलले ६ वर्षको उमेरमा आफ्नै हजुरबुबाबाट अक्षर चिन्ने मौका पाएका थिए । हजुरबुबासँग अक्षर चिनेपछि उनलाई देउपाटन नजिकैको भाषा पाठशालामा भर्ना गरिएको थियो । यसैबीच उनीहरूको परिवार आरुबारीबाट काठमाडौँको चाबेलमा सर्‍यो । चाबेल आइसकेपछि उनलाई अङ्ग्रेजी सिक्न बमभोला गुरुकहाँ पठाइयो ।

उनले अङ्ग्रेजी सिक्दासिक्दै १९९८ सालमा उनका बुबाको विराटनगरमा सरुवा भयो । उनी पनि बुबासँग विराटनगर गएर प्राइमरी स्कुलमा भर्ना भए । वि.सं. १९९९ मा उनका बुबा विराटनगरबाट सरुवा भई दार्चुला गए । उनी पनि दार्चुला गएर निम्नमाध्यमिक विद्यालयमा भर्ना भए ।

२००१ सालमा बुबाको सरुवा काठमाडौँमा भयो । त्यसपछि दार्चुलाको पढाइ पनि छुट्यो । काठमाडौँ आएपछि उनको सङ्गत खराब साथीहरूसँग भयो, जसले गर्दा उनको पढाइमा बाधा पुग्यो ।

खराब सङ्गतमा परेर उनी कुलतमा फसे । त्यसबेला उनमा नशालु पदार्थ सेवन गर्ने, राती अबेर घरमा आउनेजस्ता खराब बानी बस्यो । उनलाई त्यतिबेला घरपरिवार र इष्टमित्रहरूले मायाको साटो घृणा र तिरस्कार गर्न थाले ।

एकदिन बुबाको पैसा चोरेको आरोप लागेपछि उनलाई बुबाले तँजस्तो बदमास छोरो जन्मनुभन्दा त गर्भमै तुहिएको भए हुन्थ्यो भने । त्यो वचन विकलको मनमा साह्रै नराम्रोसँग बिभ\mयो । त्यसपछि उनले खराब साथीको सङ्गत च्वाट्टै छाडिदिए । त्यसपछि रमेश विकल सुधि्रए । उनले २००५ सालमा एघार पास तेस्रो श्रेणीमा उत्तीर्ण गरे । छोरो सुध्रेर पढाइमा प्रगति गरेको देखेर उनका बुबा हर्षविभोर भएका थिए ।

त्यसपछि पढाइप्रति विकलको रुचि बढ्दै गयो । उनले घरमै मेहनतसाथ स्वअध्ययन गर्न थाले । परिणामस्वरूप उनले वि.सं. २०११ मा स्कुलको नियमित विद्यार्थी नभई स्वतन्त्र विद्यार्थीको रूपमा एस.एल.सी. उत्तीर्ण गरे ।

२०१३ सालमा ४ वर्षे बी.एड.कक्षामा भर्ना भई उनले २०१६ सालमा स्नातक तह पूरा गरे । उनले त्यसै वर्ष भएको त्रिभुवन विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहबाट प्रमाणपत्र लिएका थिए ।

२०२३ सालमा उनी अमेरिका गई केही समय नेपाल आउने पिसकोर भोलेन्टियरहरूलाई नेपाली सिकाउने काम गरेर स्वदेश फर्के । २०२५ सालमा पनि अमेरिका गएर एक वर्षसम्म सम्पादनको तालिम लिए ।

रमेश विकलले २००५ सालदेखि नौसिन्दा जागीर खाएका थिए । त्यतिबेला उनको तलब रू. ११ थियो । उनले २००८/९ सालतिर नौसिन्दाको जागीर छाडी चाबेलको विनायक मिडिल स्कुलमा पढाउन थाले । उनी २०१८ सालमा प्रचार विभागमा -हालको सूचना विभाग) सहायक सम्पादक -सुब्बासरह) को जागीर खान पुगे ।

विकलले सूचना विभागको जागीर पनि छाडेर २०२० सालमा नेपाल लेखक सङ्घको कार्यालय सचिव पदमा रही काम गरे । उनले २०२१ सालदेखि तत्कालीन शिक्षासामग्री लेखक केन्द्रमा शाखा अधिकृत स्तरको सम्पादकमा जागीर पाए । २०२१ सालदेखि २०३४ सालसम्म त्यही ठाउँमा त्यही पदमा बसेर काम गरे ।

उनी २०३४ सालमा त्यहाँबाट सरुवा भई परीक्षा नियन्त्रण कार्यालयमा गए । २०३६ सालको अन्तिमतिर उनले त्यो जागीर पनि छाडिदिए ।

उनले २०४१ देखि २०४५ सम्म प्राथमिक शिक्षा परियोजनामा करार सेवामा रही सम्पादनको कार्य गरेका थिए । जागिरे जीवनको अन्ततिर उनले २०४६ सालदेखि २०५१ सालसम्म त्रिभुवन विश्वविद्यालयको केन्द्रीय शिक्षण विभागमा उपप्राध्यापक भएर नेपाली भाषा पढाए । त्यसपछि उनले जागीरे जीवनबाट अवकाश लिए । २०५१ देखि २०५६ सालसम्म उनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सदस्य नियुक्त भए ।

त्यस बेलाको चलनअनुसार रमेश विकलको विवाह १२ वर्षकै उमेरमा वि.सं. १९९७ मा सुशीला नेपालसँग भयो । विकल दम्पतीबाट दस जना छोराछोरी जन्मेपछि पत्नी सुशीलाको २०५७ सालमा निधन भयो । दश सन्तानमध्ये अहिले छ जना छोराछोरी साहित्य तथा समाजसेवाका विभिन्न काममा सक्रिय छन् ।

रमेश विकलले आफ्नै पिताका साथै साहित्यकार श्यामप्रसाद शर्माबाट साहित्य सिर्जना गर्ने प्रेरणा पाएका थिए । श्यामप्रसाद शर्माद्वारा सम्पादित हस्तलिखित साहित्यिक मासिक पत्रिकामा २००५ सालमा कविता छपाई उनले साहित्ययात्रा प्रारम्भ गरेका थिए । २००५ सालदेखि मृत्युभन्दा १५ दिन पहिलेसम्म निरन्तर लेखिरहे उनले । २००६ सालमा शारदा पत्रिकामा प्रकाशित 'गरिब' शीर्षकको कथा उनको पहिलो मुदि्रत साहित्यिक कृति हो ।

उनका विरानो देशमा -वि.सं. २०१६), नयाँ सडकको गीत -२०१८), आज फेरि तन्ना फेरिन्छ -२०२४), एउटा बूढो भ्वाइलिन आशावरीको धुनमा -२०२५), उर्मिला भाउजू -२०४३), शव सालिक र सहस्र बुद्ध -२०४३), ँहराएका कथाहरू -२०५५) प्रकाशित छन् ।

रमेश विकलले सबभन्दा धेरै बालसाहित्यका किताब लेखेका छन् र अनुवाद पनि गरेका छन् । अगेनाको डिलमा -२०२३), पञ्चतन्त्रका कथाहरू -२०२३), एक्काइस रमाइला कथा -२०२४), कथाकुसुम -२०२६), -यो पुनःमुद्रण हुँदा तेह्र रमाइला कथा- २०४८ भएर प्रकाशित भएको थियो), केही मूर्खहरूको कथा -२०४६), हिउँदे छुट्टी -२०४९), सङ्गत गुनाको बुद्धि -२०५७), मान्छे, भैसी र मुरी चामलको भात -२०५७), एउटा कथा भन्नु न हजुरआमा -२०६१), म र मेरो घर -२०४३), दिलमाया -२०४३) गौँथलीको घर -२०५२) विकलले लेखेका बालकथाका पुस्तकहरू हुन् ।

त्यसैगरी रमेश विकलका उत्कृष्ट बालकथाहरू- एक -२०६३), रमेश विकलका उत्कृष्ठ बालकथाहरू- दुई -२०६४), मलाई किताब मन पर्छ -२०६३), बुद्धिको घैँटोमा घाम-२०६३), हजुरआमाको कथा, गौतमबुद्ध र पानीको संस्कार, सात थुङ्गा -२०३७), अब तिमी नरोऊ किरण -२०५९), हराएको चिठी
-सन् २००७), विक्रम र नौलो ग्रह -२०५९), बाह्र महिनाको गीत आदि पनि प्रकाशित छन् ।

विकलले बालसाहित्यको अनुवादमा पनि निकै ठूलो योगदान गरेका छन् । उनका पीटर र ब्वाँसो -२०५८), इन्द्रजाली रूख -२०५५), विश्वप्रसिद्ध बालकथा खण्ड-३ -२०५९), विश्वप्रसिद्ध बालकथा खण्ड-४ -२०६०), दुष्ट भँगेरो र गौंथलीहरू -२०६०), समुद्री हुँडार -२०६३) जस्ता अनूदित कृति पनि प्रकाशित छन् ।

उनका प्रकाशित उपन्यासहरूमा सुनौली -२०३३), अविरल बग्दछ इन्द्रावती -२०४२) र सागर उर्लन्छ सगरमाथा छुन -२०५२) हुन् । त्यसैगरी विकलका प्रकाशित निबन्ध र नियात्रासङ्ग्रहमा ँसात सूर्य एक फन्को -२०३४) र नीलगिरीको छायामा -२०४३), व्यङ्ग्य निबन्धमा अझ अगाडि बढ्नु छ, आत्मकथामा ँमेरो अविरल जीवन गीत -२०६०) हुन् । आत्मकथाको दोस्रो भाग लेख्दालेख्दै उनको मृत्यु भएको थियो ।

सप्तरङ -२०३९), सर्दार भक्ति थापा-२०४०), मिल्किएको मणि -२०४२), मानिस वैभव र मृत्यु गरी ४ वटा एकाङ्की र पूणर्ाङ्की नाटक सङ्ग्रह प्रकाशित छन् ।

उत्साह, रचना, बालक, कोपिला, बालसाहित्य, विकासोन्मुख नेपाल, शैक्षिक गतिविधि आदि पत्रपत्रिकासमेत सम्पादन गरेका रमेश विकल साहित्य लेखन, सम्पादन र अनुवादमा मात्र नअल्झी सामाजिक काममा पनि त्यतिकै दत्तचित्त भएर लाग्ने व्यक्ति थिए । उनले कम्युनिस्ट गतिविधिबाट प्रभावित भई २००९ सालमा पार्टी सदस्य पाउ"m भनी निवेदन दिएका थिए । २०११ सालमा पार्टी सदस्य प्राप्त गरी पाँच वर्षसम्म पार्टीमा सक्रिय भई काम गरेका थिए ।

उनले एक दर्जनभन्दा बढी शैक्षिक, साहित्यिक तथा सामाजिक सङ्घसंस्थाहरूमा सक्रिय नेतृत्वदायी भूमिका पूरा गरेका थिए । प्रगतिशील लेखक सङ्घको केन्द्रीय अध्यक्ष, नेपाल बालसाहित्य समाजको अध्यक्ष, साहित्य सदनको अध्यक्ष भएर सफल नेतृत्व प्रदान गरेका थिए । उनकै अगुवाइमा रामहिटीमा साहित्य सदनको भव्य भवन निर्माण भइसकेको छ ।

जीवनको उत्तरार्द्धमा उनकै इच्छाअनुसार रमेश विकल साहित्य प्रतिष्ठान स्थापना भयो । त्यसको संरक्षक उनी आफै थिए । उनले त्यस प्रतिष्ठानलाई आफ्नो घर, जग्गा र आफ्ना पुस्तकबाट आउने लेखकस्व सुम्पेर निकै ठूलो उदाहरणीय काम गरेका थिए ।

उनी राम्रो चित्रकार र सफल वाद्यवादक पनि थिए । उनले दर्जनौँ राम्रा चित्र बनाएका छन् । रमेश विकललाई बाँसुरी, तबला, हार्मोनियम, भ्वाइलिन, सितार आदि वाद्ययन्त्रहरू राम्रै गरी बजाउन आउँथ्यो ।

देश, समाज र साहित्यको उन्नतिका लागि जीवन बिताएका विकल विभिन्न सङ्घसस्थाबाट पुरस्कृत तथा अभिनन्दितसमेत भएका छन् । उनले २०१८ सालमा नयाँ सडकको गीत कथासङ्ग्रहको पाण्डुलिपिमा मदन पुरस्कार पाएका थिए । उनलाई शुभराज्याभिषेक पदक

-सन् १९७५), महेन्द्र प्रज्ञा पुरस्कार -सन् १९८१), गोरखा दक्षिणबाहु तेस्रो -सन् १९९५), सर्वोकृष्ट बालसाहित्य पुरस्कार -सन् १९९४), नूरगङ्गा पुरस्कार -सन् २००१), कृष्णमणि पुरस्कार
-२००२) प्रदान गरिएको थियो ।

त्यस्तै आहृवान समूह, देवकोटा स्मारक साहित्य समाज -कलैया), प्रगतिशील लेखक सङ्घ, युद्धप्रसाद मिश्र प्रतिष्ठान, नेपाली साहित्यकला निकेतन -गुवाहाटी, आसाम), बालसिर्जना कार्यशाला गोष्ठी आदि संस्थाले पनि सम्मान र अभिनन्दन गरेका थिए ।

यसरी अविरल बग्छ इन्द्रावती उपन्यास लेखी चर्चाको शिखरमा पुग्न सफल नेपाली साहित्यका सेवक वरिष्ठ आख्यानकारको ८१ वर्षको उमेरमा २०६५ साल पुस २ गते निधन भयो । उनी मरेर गए पनि लाखौँलाख पाठकको मनमा उनी बाँचिरहेका छन् र सयौँ वर्षसम्म बाँचिरहने छन् ।
गोरखापत्र

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 11 पौष, 2067

लेखकका अन्य रचनाहरु