नेपाली साहित्यका बटवृक्ष: भवानी भिक्षु

- नरेन्द्रराज प्रसाई

भवानी भिक्षु पश्चिम नेपालको कपिलवस्तुमा जन्मेका थिए । उनी सानामा रोगी थिए । घरको कहालीलाग्दो आर्थिक अवस्थाका कारण उनी वाल्यकालमा झोक्राएर नै बामे सरे । त्यसैताका उनलाई माईले आक्रान्त पार्‍यो । त्यसै विमारले उनी थला परे । त्यसपछि उनकी आमा उनकै गाउँ तौलिहवाको कालीमन्दिरमा पुगेर चिच्याईन्, 'हे साक्षात देवी ! मेरो छोरोलाई केही नहोस्, ऊ चिरञ्जीवी होस ।' अनेक बिलौना गरेर भिक्षुकी आमा घर फर्किन् । उनी देवीथानबाट घर पुग्दा उनको छोरा टुकुटुकु हिंडेर उनको स्वागतमा उभिएका थिए । आफ्नो थलापरेको छोरोको सप्रँदो अवस्था देखेर उनकी आमाका आँखामा हर्षा आँसु छछल्किन थाले । उनले अङ्गालोमा छोरो च्यापेर भनिन् 'मेरो बाबू ! तिमी देवीका कृपाले निको भयौ ।' तर भिक्षुको मुखैभरि विफरका दागले ढाकिदियो ।

भवानी भिक्षुको जन्म १९७१ साल जेठ २१ गते भएको थियो । बुबा इन्द्रप्रसाद गुप्ता र आमा यशोदा कलाबारका उनी माइलो छोरा थिए । जन्मदै उनी तीक्ष्ण बुद्धिका थिए । तर उनको बौद्धिकताको सदुपयोग आफ्नै घरमा चाहिं हुन सकेन । त्यसैले माओलीले यिनलाई काखी चेपे । यिनको मामा घर कपिलबस्तुपारी भरतमा थियो ।

आफ्नो गाउँको भाषा पाठशालामा चार पास गरेपछि भवानी भिक्षु मामाघर पुगे । मामाघरमा केही वर्षवित्न नपाँउदै फेरि उनका बुबाले उनलाई नेपाल नै फर्काए । तर भवानी भिक्षुको एकोहोरो जिद्धिका कारण उनी पुनः मामा घरै फर्के । त्यसपछि भने यिनको नियमित पर्ढाई लेखाई भारतमै हुन थाल्यो । यिनले बाह्र वर्षै उमेरमा हिन्दी माध्यममा कुलभूषण परीक्षा दिए र त्यस परीक्षामा दोश्रो स्थान प्राप्त गरे ।

घरको गरीबीले भिक्षुलाई थेचार्नु थेचारेको थियो, निमोठनु निमोठेको थियो र निचोर्नु निचोरेको थियो । त्यसैले नेपाल फर्केपछि यिनले हरेक जुक्तिले घरको आर्थिक अवस्था उकास्ने काम गर्न थाले । यसै सर्न्दर्भमा यी अड्डाको लेखनदासमा लागे । विक्रममणि त्रिपाठीका अनुसार यिनका लेखन गुरु अम्बिकाप्रसाद श्रेष्ठ थिए । घटराज भट्टर्राईका अनुसार अड्डाअदालतमा लेखापढी गर्दागर्दै उनमा नेपाली अक्षर लेख्ने मन बस्न थालेको थियो । त्यही लेखन्दासी लेखनी नै उनको नेपाली भाषाको जग बन्न थाल्यो । त्यस बेला श्रेष्ठले उनलाई बस्नका लागि आफ्नै घरको एउटा कोठा पनि दिए । श्रेष्ठका घरमा डेरा सरेपछि भिक्षु बिहान, बेलुका र दिउँसो लेख्ने काममा मात्रै लागिरहे । त्यसैताका मथुराप्रसाद गुप्ताद्वारा तौलिहवामा 'श्रीराम पुस्तकालय'को स्थापना भएको थियो । त्यसपछि भिक्षु नेपाली साहित्यका कृति पढ्नमा पनि अग्रसर भए ।

भवानी भिक्षुको तौलिहवामा राम्रो लेखनदासमा नाउँ चलिसकेको थियो । त्यही सिलसिलामा स्थानीय पशुपत्रि्रताप पुरीको घरजग्गा उकास्न यी काठमाडौ आए । वास्तवमा पुरी भूमिपति थिए । तर प्राकृतिक प्रकोपका कारण उनको जग्गा लिलाम हुने परिस्थिति आएको थियो । त्यस बेला पुरीलाई उनको जग्गा उकास्नका लागि मद्धत गर्न एउटा भरपर्दो व्यक्तिको खोजी थियो । त्यस्तो योग्यता भएका व्यक्तिका रुपमा पुरीले भवानी भिक्षुलाई नै छाने । त्यसैले पुरीको कागजात बोकेर भिक्षु काठमाडांै आएका थिए ।

काठमाडांै आएर भवानी भिक्षुले र्सवप्रथम पुरीप्रतिको आफ्नो दायित्व पुरा गर्ने प्रयास गरे । त्यसपछि उनी गोरखापत्र पुगे । त्यहाँ उनले सम्पादक प्रेमराज शर्मालाई भेटे । साथै सिद्धिचरण श्रेष्ठसँग पनि उनको भेट भयो । त्यस बखतका साहित्यका शिखरपुरुष सिद्धिचरणलाई विमात्रृभाषी भिक्षुको नेपाली भाषाप्रतिको अनन्यप्रेम, आस्था र लगनशीलताले प्रभावित पार्‍यो । अन्ततः श्रेष्ठले भिक्षुको उत्साहले भरिएको नेपाली भाषासाहित्यप्रतिको र्समर्पणको नाडी छामे र भिक्षुलाई जोरगणेश प्रेसमा पुर्‍याई दिए । त्यहाँ पुगेर भिक्षुले आफ्नो रचना 'शारदा'मा दिए । १९९३ सालमा उनको पहिलो समालोचना नेपाली भाषामा छापिएको थियो । अनि भिक्षु शारदामा नै टाँस्सिन थाले । परिणामस्वरुप उनी शारदा कै सम्पादकमा पनि नियुक्त भए ।

भवानी भिक्षुले भारतमा नै बिहे गरे । तर उनको घरजाम भएन । अनि फेरि उनले दोस्रो बिहे गरे तर केही वर्षछि भिक्षु पत्नीवियोगमा परे । धेरै वर्षछि अर्थात् काठमाडौंमा बसोवास गर्न थालेपछि उनले अर्की एउटीसँग बसउठ गरे । तर उनले बिहे गरेको सकारेनन् । त्यसैताका उनको कवयित्री प्रेमराजेश्वरी थापासँग घनिष्टता थियो । साथै उनले कथाकार देवकुमारी थापासँग पनि बिहे गर्न अनेक प्रपञ्च गरे तर असफल भए । त्यसैले उनले औपचारिक रुपमा एकल जीवन नै भुक्तान गर्दै आफ्नो यात्रा डोर्‍याइरहे ।

भवानी भिक्षुले सरकारी जागीरका रुपमा राजनैतिक नियुक्ति पनि पाए । राजा महेन्द्रको निगाहले उनी प्रचार विभागका निर्देशक समेत भए ।

भवानी भिक्षुले शारदा र धरतीको सम्पादन गरे । साथै कथा, उपन्यास, कविता गरेर यिनका नौवटा कृति प्रकाशित भए । उनले 'आगत' उपन्यासमा साझा पुरस्कार र मदन पुरस्कार पनि प्राप्त गरे । साथै उनी त्रिभुवन प्रज्ञापुरस्कारबाट पनि सम्मानित भए । उनी स्थापना कालदेखि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य भए । त्यहाँ बाह्र वर्षम्म सदस्य भएपछि सोही पदको भत्ता पाउने गरी उनी आजीवन सदस्य भए ।

राजधानी बाहिरका भिक्षुले सुरुसुरुमा आर्थिक रुपमा कठोर सङ्र्घष्ा गरेर आफूलाई काठमाडौंमा नै अड्याई छाडे । उनले हरेक बाधाको सामना गरेर नेपाली भाषासाहित्यका लागि आफ्नो जीवन र्समर्पण गरे । वाल्यकालमा अवधि र हिन्दी साहित्यको पाठ कण्ठ गरे तापनि किशोरावस्था सकिंदानसकिंदैदेखि बाँचुञ्जेलसम्म उनले नेपाली हुनुको धर्म निर्वाह गरे । उनले हरेक क्षण नेपाली भाषा र नेपाली साहित्यकै जप गरे । उनले आफ्नो जीवनकालभरि नै नेपाली भाषासाहित्यमै तप गरे । फलस्वरुप भिक्षु नेपाली आख्यानसाहित्यका अविष्मरणीय प्रणेता मानिए । भिक्षु नेपाली साहित्यका अजरअमर साधकका रुपमा सँधैभरि पुजिए ।

विक्रममणि त्रिपाठीका अनुसार भवानी भिक्षु फोक्सोको क्यान्सरबाट थला परे । त्यही रोगका कारण उनी २०३८ साल बैशाख ४ गते स्वर्गीय भए ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 24 मङ्गसीर, 2067

लेखकका अन्य रचनाहरु