जङ्गली फूल

- विजय सापकोटा

“पासाङ, भात पाकेन ?”
स्टोभमाथि कुकरमा भात गुद्गुदाउँदैछ– उसको मन उसैगरी छड्किरहेछ । मन नलागी नलागी काममा जुटेकी उसको असन्तोषलाई चिमोट्दै ऊ भने भात खोज्दैछ ।
कर्के आँखाले सम्म पनि हेरेकी छैन उसले त्यो रिस उठ्दो मान्छेलाई । ऊ कतै हिँड्न हतारिएझैँ लाग्छ, सर्टको बाहुला घुसार्दै चल्तीको फिल्मी गीत गुन्गुनाउँदै पनि छ । तर मुख्य ध्यान त भातमैँ केन्द्रित छ । सुनेको नसुन्यै गरेर बसेकी पासाङको आवेगको थीर तट भत्काउने गरी चेपारे आवाज आउँछ– “ए मेरी झिम्की ! केही त बोल्देऊ ।”
रिसको पारो अझै उँभो सर्दैछ पासाङको । चुलेसीले एकनाससँग आलु काटिरहेका हात रिसले थर्रथराउँछन् । मुखले हान्नुपर्ने रिसको झटारो हातमा गएर झटारिन्छ र चुलेसीको धारमा साहिँली औँलो जोतिन पुग्छ । चसक्क गरेपछि कतै स्नायुभित्र रिसको पारो तल झर्छ । रिसले चूर भएका आँखा वेदनामयी भएर औँलाको घाउ ओल्टाइपल्टाई गर्न थाल्छन् । हेर्दाहेर्दै औँलाबाट रगतका तीनचार थोपा थालमा खस्छन् ।
भित्र पीडाले छुन्छ, तर रगत रोकिन छाडेको छैन । अब भल बग्ने प्रयत्न हुन्छ –औँलामा र आँखामा ।
तर गीत सुसेल्दै रहेको ऊ अहिले ऐना हेर्दैछ– हेरिरहेको छैन पासाङलाई । बरु बेलाबेलामा उसको आँखा चुलोमाथि परिरहेको देखिन्छ । लाग्छ, उसलाई यतिखेर पासाङसँग भन्दा पनि भातसँग बढी वास्ता छ । ऊ कतै जान तयार भइरहेको छ, त्यसैले ऊ भात खाएरै जान चाहन्छ ।
तर भात छिटो पाक्ने छाँट छैन । भात नाउँको त्यो चीजले उसको हतारोसँग अलिकति पनि सरोकार राखेको छैन ।
कुकरमा सिठी बज्छ....स्वार्र !
पासाङ झस्कन्छे । लगभग रातै हुनलागिसके थालभरिका आलुका चाना । कटकटी दुखेको छ गहिरोसँग । आलुकै एउटा चानूले काटिएको ठाउँ थिच्छे पासाङ । भित्री कमलो मासु समेत थिचिएर एकैपटक लामो तरङ्ग उठ्छ– केही थोपा ताता आँसुका ढिक्का खस्छन् तप्प ।
लुगा लगाइवरी उसले दुईतीन पटक ऐना हेरिसक्यो, कपाल मिलाइसक्यो र सँगै सिङ्गै दुईटा गीत सुसेलीमा उडाइसक्यो; तर न त भात पाक्छ, न त पासाङ नैँ बोल्छे । घडी हेर्छ– उसको व्यग्रताभन्दा पनि छिटो कुदिरहेका घडीका सुइ भात ढिला पाकेकोमा वास्ता नगरी चलिरहेका छन् । हतासिएर बोल्छ ऊ – “पासाङ .....”
तर बोल्दिन पासाङ ।
ऊ थोरै अगाडि बढ्छ, अनि बल्ल निहुरिरहेकी पासाङतिर हेर्छ । पासाङ आँखा चिम्लिरहेकी छे । तर उसका आँखाले रक्तमुच्छेल आलुका चाना र पासाङको गालामा आँसुको डाम देख्दैनन्, निश्चलता मात्रै देख्छन् । आफ्नो आवाजलाई अझै उँचो बनाएर झोकैले ऊ कराउँछ– “पासाङ !”
प्रत्युत्तर पनि छैन, प्रतिक्रिया पनि ।
सहनशीलता कमजोर हुन्छ । ऊ आजित भावमा कराउँछ– “पासाङ, केही त बोल्देऊ मेरी आमा ! खान नदिए नि एक वचन प्रेमको त देऊ ।”
ढुङ्गो बोल्ला बरु मान्छे बोलिन ।
“आज पनि भोकै जानुपर्ने भो....सुटिङमा खान पाइने हो कि होइन ।” ऊ भुत्भुताउँछ ।
बल्ल पासाङ आँखा खोल्छे र हेर्छे व्यथित आँखाले आलुको चानूले थिचिएको औँला ।
अघिसम्म उँचो भएको स्वर चेपारे लयमा फेरिन्छ–“पासाङ... तिमी किन यति अबुझ बनेकी हँ ? हेर यो लाइनमा यस्ता झिना मसिना कुरामा अल्झेर हुन्न । कति सम्झाउनु तिमीलाई !”
तर हेरेको छैन उसले अझै पासाङलाई । ऊ झ्यालबाट बाहिर हेरेर यी सब भनिरहेको छ ।
“हेर, जे हुनु भैगो । जे जस्तो भए पनि मैले त एउटा राम्रै रोल पाएँ नि । तिम्लाई पनि त वचन दे’को छ बुढाले, अर्को फिल्ममा त पक्कै । के गर्ने तिम्लाई फिट हुने क्यारेक्टर नै भएनछ । फेरि सानोतिनो रोल खेलेर नि त भएन ।” बोलीमा चिप्लोपनको मात्रा अझै बढ्दैछ– “पख, अब अर्को हप्तादेखि डान्स सिक्न जाऊली । अनि त ...”
तर बग्दैन पासाङको मौनता उसको चिप्लो बोलीमा । ऊ आलुको चानू हटाएर औँलाको घाउ हेर्छे– ‘आँ’ मुख बाएछ औँलाले– भित्रको कोमल मासु देखिने गरी ।
अनि हेर्छे तीखा आँखाले पासाङ ऊतिर । ऊ भने अझै बाहिर हेरिरहेछ । लामो सुस्केरा तान्छे पासाङ ।
अन्तिममा हेर्छ पराजित भावमा ऊ पासाङलाई । पासाङका कठोर आँखा हटेका छैनन् ऊबाट । नसोचेको रूपमा पासाङका आँखाको छिर्के लाग्दा उसका आँखा पराजयबोधले निहुरिन्छन् ।
केही नबोली ऊ सुस्तरी ढोकातिर लाग्छ । एकछिनपछि फेरि ढोकाको छेउमा उभिएर भन्छ–“लौ जे गर्छौ गर, पाँच बजेतिर शर्माजी आउँछन् । तयार भएर बस्नू मन लागेदेखि ।”
‘श...र्मा.......जी.....!” उसको मनमा धेरै झङ्कारित भइरहन्छ यो आवाज ।
फेरि उच्छवासको अर्को झोक्का बाहिरिन्छ पासाङको मनभित्रैबाट । काटिएको आँैला असजिलो भइरहेछ । एक्कासी कमजोर भएको महसुुस हुन्छ ।
एउटा गन्ध कोठाभरि फैलिन्छ । भात डढेछ । हतारिएका हात कुकरको बिँड समातन पुग्छन् तर असावधानीबस कुकरको पिँधमा जातिनपुग्छ । कुकर एकातिर उछिटिन्छ । ऊ भने आँखाभरि आँसु पारेर हत्केला चुस्न थाल्छे । जलन कम हुँदैन । बाल्टीको पानीमा झोस्न पुग्छे । केही क्षण शितल भएजस्तो हुन्छ, तर जलन उठिरहन्छ ।
आँखाबाट झरेका आँसुका थोपाले पानीको आयतन बढाइरहेका छन् । जलनको पीडा मुटुको फेदसम्म पुगेर चस्का दिइरहेछ ।
अनुभवले सहनशीलता जगाउँछ । बल्ल हातका डामिएका औँला हेर्ने आँट आउँछ । कोमल औँलाका सबै टुप्पामा राता फोका उठिसकेको उसका धमिला भइसकेका आँखाले देख्छन् ।
ती औँला जो हिरोइनका जत्तिकै सलक्क परेका थिए ।
ती आँखा जो हिरोइनका जत्तिकै बान्की परेका थिए ।
अनि ती ओठ.........................
उसलाई अन्दाज थिएन , तर सबैले यसै भन्थे, सबैले उसमा यस्तै यस्तै देखेका थिए । मोटरबाटो भरखरै पुगेको विकट गाउँदेखि सहरसम्म यिनैँ औँला समातेर डोहो¥याई ल्याउने डम्बर पनि यसै भन्थ्यो ।
तर अहिले यी...........?
पासाङका खुल्न लागेका आँखा फेरि धमिलिन्छन् । औँला र आँखा अथवा ओँठको पिरले होइन, तिनले रोपेका सपनाका पीरले ।
“फिलिममा खेल्छ्यौ पासाङ ?” यही प्रश्नले खनेको थियो उसको अन्तस्करण र रोपेकी थिई पासाङले सपनाको फसल । त्यसलाई उकेरा हालेको थियो डम्बरले ।
हो, यही डम्बरले ।
हठात् टाँगिन्छन् पासाङका आँखामा डम्बरका आँखा । पहिले त यस्तो थिएन डम्बर । यस्ता थिएनन् उसका आँखा । हो, उसका आँखा यति घिनलाग्दा थिएनन् ; र त, ऊ तिनै आँखाद्वारा पछ्याइँदै पछ्याइँदै यहाँसम्म आएकी थिई नि ।
अररो भइसकेको ज्यान उठाउँछे ऊ । शरीर निकै शिथिल महसुस भइरहेछ । स्टोभ बलिरहेको छ, कुकर उभिन्डिएको छ भुइँमा । यन्त्रवत् स्टोभ निभाउन पुग्छे ऊ ।
स्टोभ त निभ्छ, तर जलन निभ्दैन भित्री मनको ।
वेचैन छ मन–कता कता उड्न खोजिरहेछ । ऊ रित्तै छे– तैपनि भारी अनुभूति छ ।
“फिलिममा खेल्छ्यौ पासाङ ?”
मन ती दिनहरूमा फर्किएको छ । कति उमङ्गिलो बनेको थियो उसको मन त्यो दिन । साँझमा पानी थाप्न भनेर एक्लै पँधेरोमा झरेकी पासाङलाई कुरै कुरामा पासाङले फ्याट्टै त्यसो भनेपछि । कति मिठो लागेको थियो डम्बरको बोली –सुनिरहूँ जस्तो धेरै धेरै पटक । घामजस्तै उज्यालो बाटुलो अनुहारमा लालिमा पोतेर चम्किला आँखाले पासाङले उसलाई हेरिथी र खुशी छोप्न मजेत्रोको सप्को मुखमा कोचिथी ।
“किन ? तिमी फिलिममा खेल्न नसक्ने छ्यौ र ! यति राम्री छ्यौ... अस्ति नाटकमा पनि त्यति राम्रो एक्टिङ ग¥यौ ।...”
डम्बरले अरू के के भुन्भुनायो –उसको ध्यान त्यतातिर जाँदै गएन । खाली उत्ताउलो भएर मन त्यसै त्यसै उडिरह्यो ।
हेडसर पनि भन्नुहुन्थ्यो “नानी, तँलाई प्रकृतिले अत्यन्तै राम्रो कला दिएको छ । सुगम ठाउँमा जन्मेकी भए यसको सदुपयोग पनि हुन्थ्यो होला । तर के गर्नु यहाँ तेरो कलाको कुनै मूल्य नै छैन ।” हेडसर उसलाई माया गरेर ‘जङ्गली फूल’ भन्नुहुन्थ्यो । माथि पहाडमा बासनादार फूल हुन्छ रे उसको नाउँको भन्नुहुन्थ्यो । तर उसले कहिल्यै देखिन त्यसलाई । ऊ पनि त्यस्तै बासनादर छे प्रतिभाले भन्नुहुन्थ्यो ।
आठदशवटा फिल्ममा झल्याकझुलुक अनुहार देखाइसकेको डम्बर त्यस गाउँको ठूलै मान्छे थियो । उसैले त्यति ठूलो सपना देखाइदिएपछि के चाहिन्थ्यो अब ।
एकैक्षणमा पधेँरोमा रोपेका ती सपनालाई बटुलबाटुल पारी एउटा ब्यागमा कोचेर भोलिपल्ट सखारै डम्बरसँग डाँडो काटिसकेकी थिई पासाङले र आफ्ना सम्भव असम्भव सबै सपनाहरू पूरा गर्न डम्बरसँगै यही कोठामा भोलिपल्ट साँझमा प्रवेश गरेकी थिई ।
साँझको प्रदीप्त सहरले उसको सपनालाई अझै सिँगारेथ्यो । यो घाम मुस्किलैले छिर्ने चिसो र साँघुरो कोठा उसका निम्ति इन्द्रसभाभन्दा कम्ती सुन्दर थिएन । हजुरआमाका कथाले वर्णन गर्ने राजाको कोठीजस्तै लागेको यो कोठाको चिसो र अँध्यारोले उसलाई कत्ति पनि छोएको थिएन । यही कोठाको सानो खाटमा उसले आफ्नो स्वप्निल शरीर बिसाएकी थिई र डम्बरको अँगालोमा निश्चिन्त भएर आफ्नो उमेर समर्पित गरिसकेकी थिई ।
........ .....
मन कुन मोडमा ठोक्किन्छ कुन्नि, ऊ तन्द्राबाट झस्किन्छे ।
किन हो आफ्नै जिउ नियालेर हेर्न मनमा आउँछ । सरसरती हेर्छे । सिकसिको लागेर आउँछ । आफ्नो शरीरका अङ्गप्रत्यङ्ग कुहिसकेका र तिनमा सहस्र कीरा स्याउँस्याउँती सल्बलाइरहेको झल्को लाग्छ । ऊ अत्तासिएर उठ्छे । छातीभित्रतिरबाट कोक्याएर आउँछ । शरीरभित्रका सबै अवयवहरू एकपटक निक्लुँला झैँ गर्छन् । चक्कर लागेर खाटमा घोप्टो पर्छे । एकैछिनमा आँखाले ह्वालह्वालती आँसु छाद्न थाल्छन् ।
यो क्रम बन्द भएपछि आँखा ठीक अघिल्तिर भित्तामा झुण्ड्याइएको फोटोमा गएर अल्झिन्छन् । चम्किलो हाँसो हाँसिरहेको त्यो फोटो डम्बरको हो जुन चार दिनअघिसम्म पनि अत्यन्तै मायालाग्दो लाग्थ्यो पासाङलाई । फोटोका ती आँखाले माया गरिरहेझैँ लाग्थ्यो । पासाङ ओल्टाइपल्टाई गर्न खोज्छे अहिले पनि ती आँखालाई । हेर्दाहेर्दै ती आँखाको मायालु भाव अब घिनलाग्दो स्वरूपमा परिणत हुन्छ र उसलाई जिस्क्याउँदै केही भनिरहेका हुन्छन् । पासाङलाई लाग्छ, ती त्यही कुरा सोधिरहेका छन्, जो डम्बरले पँधेरामा सोधेथ्यो– “फिलिममा खेल्छ्यौ पासाङ ?”
यही आशयको प्रश्न यसैगरी सोधेथ्यो दारीभित्र अनुहार लुकाएको गोरे मान्छेले । पँधेरोमा होइन, होटलको बन्द कोठामा । गोधूलिमा होइन, ठूलो साँझ परिसकेपछि ।
उसले हाँस्न भन्यो–पासाङ हाँसी । रुन भन्यो–ऊ रोई । रिसाउन भन्यो–रिसाई । उठ्न भन्यो–उठी । हिँड्न भन्यो–हिँडी । अनि अन्तिममा खुशी हुँदै दारिवालले ओछ्यानमा सुत्न भन्यो– पासाङ अलमल्ल परेर हेरिरही ।
दारिवालले मीठो आवाजमा आफ्नो फिल्मको स्क्रिप्ट सुनायो । ऊ त्यसकी हिरोनी । वनपाखामा गुराँससँग गाला जोडेर नाँच्छे, झरनामा नुहाउँछे । घरी बाख्राका पाठाहरूसँग खेल्छे । दयालु छे– सबैलाई सहयोग गर्छे । दुष्टहरूलाई तह लगाउँछे । यस्तैमा एकदिन सहरबाट हिरो गाउँमा आउँछ । (हिरोको भूमिकामा चर्चित हिरोको नाम छ) ऊ नाँच्दै हुन्छे वनमा । हिरो सल्लाको रूखको आड लागेर हेरिबस्छ । नाँच्दानाँच्दै ऊ हिरोसँग सम्मुख पर्छे । हिरो मोहनी नजरले उसलाई हेर्छ, ऊ हिरोको नजरले पग्लिन्छे र अझै नजिकिन्छे । हिरो पनि नजिकिँदै जान्छ ।
पासाङको हिरो त्यतिबेला त्यहाँबाट भाग्यो, जतिबेला दारिवालले उसको जिउ सुम्सुम्याउन थाल्यो । ऊ झस्किएर परतिर सरी र त्रसित आँखाले उसलाई हेरी ।
त्यो हाँस्यो–त्यसका आँखा र ओँठ एकैपटक हाँसे । त्यसको शालीन अनुहार अब कस्तो कस्तो देखियो ।
तर उसले भन्यो “धत्, किन डराएकी । मैले त तिमीलाई सिचुयसनको फिल पो गराएको । आऊ बस ।”
ढुक्क भएर बस्न त बसी तर मनले डम्बरलाई मात्रै सम्झिरह्यो । उसलाई यहाँ हुलिदिएर आधी घण्टामा आइपुग्छु भनेर हिँडेको डम्बर कहिले आइपुग्ला खोइ ।
त्यसले पासाङको पिठ्युँमा धाप मा¥यो– “स्याबास । तिमी राम्रो काम गर्न सक्छ्यौ जस्तो लाग्यो मलाई । बुझ्यौ एकदिन तिमी नम्बर वान बन्नेछ्यौ ।”
पासाङलाई के थियो र उसले बजारभरि आफ्नो पोस्टर टाँगिएको सपना देखिसकी । दारिवालको हात उसको शरीरमै नाचिरहेको उसले पत्तै पाइन । मनले बजार घुमेर फर्किसकेपछि पो सचेत भई । उसले दारिवालको हात पन्छाई ।
तर दारीवालका हात अब उसका पाखुरी कस्न पुगे । धुत्र्याइँपूर्वक त्यसले भन्यो– “सजिलो कहाँ छ र नानी हिरोनी बन्न ।”
पासाङ उठी तर सम्हालिन नपाउँदै त्यसले जोडले आफूतिर तान्यो । ऊ दारीवालमाथि घोप्टिई । उसले बलपूर्वक धकेली र ढोकातिर लागी । तर त्यो ऊभन्दा अगाडि पुगिसक्यो । उसले हात जोडी “मलाई छाड्दिनुस् । बरु म फिलिममा खेल्दिन ।”
“त्यसो नभन, म तिमीलाई हिट बनाइदिन्छु ।” उसको कामुकताले सीमा नाघिसकेथ्यो क्यारे ऊ पासाङलाई समाउन आइसकेको थियो ।
पासाङको धैर्यता गुमिसकेको थियो । ऊ अनुनयको भाषाबाट अलिक झरी र भनी “खबरदार नछोऊ मलाई ।”
दारिवाल मुसुक्क हाँस्यो । अनि खिस्याउँदै भन्यो–“ए मूर्ख केटी ! तैँले आफूलाई के सम्झेकी छेस् हँ ? अहिलेका हिरोइन कसरी फिल्म पाउँछन् थाहा छ ?”
पासाङ केही बोलिन तर उसको हृदयावेग बढिरहेको थियो । उसले दारिवालतिर हेरी, ऊ दारी मुसार्दै थियो । उसले हेरेकी देखेर भन्यो–“ज्ञानी भयौ भने तिम्रो जीवन सफल होला बाबै ।” अब ऊ तिम्रो स्तरसम्म मात्रै पुगेन, अल्मलिइरहेकी पासाङलाई च्याप्प समातेर नजिकैको सोफामा पल्टायो ।
बल्ल होसमा आई पासाङ । उसको पुरानो बल फर्किएर आयो । जङ्गली फूल पो थिई ऊ, कडा सुगन्ध थियो । भएभरको बल लगाएर उसले त्यस दारिवाललाई घँचेटिदिई । त्यो परै पुगेर थचारियो । अनि पासाङ एकवेगले त्यहाँबाट बाहिरी ।
सहर पूरै बत्तिएको थियो ठूलो साँझको रौनकमा । बाटो उज्यालो थियो । ऊ एकनासले दौडिइरहेकी थिई । उसको मनमा अथाह पीडा थियो । उसले साँच्चिकै नराम्रो भोगेकी थिई भन्ने उसलाई लागेको थियो । त्यसैले ऊ छिटोछिटो आफ्नो कोठामा पुग्न चाहन्थी र डम्बरको अँगालोमा बेरिएर आफ्ना व्यथाहरू पोख्न चाहन्थी । सके डम्बर त्यसपछि रिसले आगो होला र त्यस दारिवाललाई कुनै ऐन मौका पारेर साटो पनि फेर्ला उसलाई यस्तै लागिरहेको थियो ।
हतारमा लम्बिँदै गएको बाटो पार गरेर कोठामा पुग्न बेलासम्म उसले यस्तै सोचिरहेकी थिई । पहिलो सपना नै ओइलिएर झरेकोमा विषाद्को अनुभूति त भइरहेको थियो र सकुसल उम्किन सकेकामा सन्तोष पनि ।
घरको मूलढोका लागिसकेको थियो । तल्लो तलामै बस्थे उनीहरू । त्यसैले उसले झ्यालबाट यसो चियाएर भित्र हेरी । डम्बर बत्ती नै ननिभाई निदाइसकेको थियो । उसले झ्यालमा ट्वाक ट्वाक पारी । तर डम्बरले हलचल गरेन । मात्रा अझै बढाई ....निकै बेरपछि अल्छी लाग्दो पाराले जिउ तन्काएर उठ्यो डम्बर र झ्यालतिर हेर्दै झर्किएको स्वरमा करायो–“को हँ त्याँ ?”
पासाङले केही बोल्नलाई मुख बाएकी तर बोल्न सकिन । उसले झ्यालको सिसामा ट्याक ट्याक मात्रै गरी । आखिरीमा डम्बर उठ्यो र ढोका उघारेको आवाज आयो । अनि केही बेरमै मूल ढोका खोल्यो । पासाङ देखेर ऊ अल्मलिएझैँ गरी भन्यो–“हैन तिमी किन यसबेला आएकी ? डाइरेक्टर सापले छोड्न आ’को हो ?”
डम्बरको प्रश्नको जवाफ नदिइकन पासाङ उसलाई च्याप्प समात्दै रुन थाली मूल ढोकामै बसेर ।
“ए के भयो ?’” हुक्क हुक्कको आवाजबीच उसले डम्बरले माया गरेर सोधेझैँ महसुस गरी । तर केही भन्न सकिन । उसले अझै डम्बरलाई अँगालोमा कसी । डम्बरले उसलाई डोहो¥याएर कोठाभित्र लग्यो र ओछ्यानमा बसायो । अनि माया भरिएको आवाजमा भन्यो–“किन के भयो ? स्क्रिप्ट टेष्ट राम्रो भएन हो ?”
पासाङले भक्कानो फुटाएर आफ्नो औडाहलाई भन्ने प्रयत्न गरी । तर उसको सबै कुरा सुन्ने धैर्यता नै नराखी डम्बरले भन्यो–“धत्... यस्ता स–साना कुरामा पनि टेन्सन लिने हो ? तिमीले आज एकदिन त्यसले भनेको मानेको भए के फरक पथ्र्यो ?”
पासाङले चकित चकित भएर हेरी डम्बरलाई । उसले त सोचेकी थिई यो घटनाले उसमा आक्रोश पैदा गर्नेछ तर त्यसको विपरीत डम्बर उसलाई नै गलत ठह¥याउने प्रयत्न गर्दैछ । उसको दिमाग रनन्न रन्कियो ।
यस्तो कुरामा के प्रतिक्रिया दिनुपर्छ पासाङलाई आउँदै आएन, ऊ टोलाइरही ।
“पासाङ, हेर हामीजस्ता गरिब मान्छेले केही न केही नगुमाई राम्रो ठाउँमा पुग्न सक्दैनौँ क्या । फेरि तिमी राम्री त छ्यौ, अभिनय पनि राम्रो गछ्र्यौ तर तिम्रो डान्स नै छैन । अनि यस्तो मान्छेलाई कसले एकैपटक लिन्छ ? त्यसैले अलिकति त्याग त आफूले पनि गर्नुपर्छ । हेर भोलि सेलिब्रेटी भएपछि त यस्ता कुरो बिर्सिहालिन्छ नि ।” डम्बरले उसको कपाल सुम्सुम्याउँदै भन्यो ।
पासाङको उल्झन बढ्यो अझै । झन रहस्यमय बन्दै गयो उसको सपनाको दुनियाँ । अनि रहस्यमय बन्यो डम्बर । उसले अब आफ्नो वरिपरी केही देखिन । डम्बरको अनुहारमा दारिवालको अनुहार घरिघरी आउँदै हराउँदै गर्न थाल्यो । उसको दिमाग चकरायो, केही सोच्न सकिन । ऊ खाटमा ढली ।
रात विषादमा नै बित्यो ।
अनि अँध्यारिएरै बिते केही दिन । डम्बरसँग कुनै कुराकानीसम्म पनि नभई । डम्बर पनि बोलेन किनकि दारिवालको फिल्ममा उसले पनि एउटा भूमिका पाउने कुरो थियो । तर कुरो पासाङकै कारण टुङ्गिएको थियो ।
एकसाँझ रोमान्टिक मुडमा कोठाभित्र पसेको डम्बरले उसलाई अँगालोमा बेर्दै अभिनयात्मकरूपमा भनेथ्यो “पासाङ खुशीको कुरा छ नि बुझ्यौ ।”
पासाङले वास्ता गरिन ।
डम्बरले आफ्नो गाला उसको गालामा जोड्दै भन्यो–“बुझ्यौ, तिमीलाई एउटा फिल्म मिल्ला जस्तो छ । त्यसका लागि तिम्रो फोटो सेसन गरिहेर्ने र फिट भएमा फिल्ममा लिने कुरो छ ।”
खोइ, यो कुरामा के शक्ति थियो कुन्नि पासाङले पुराना कुरा बिर्सिएर डम्बरतिर मुन्टो फर्काएर अविश्वास र हर्ष दुवैको रङ घोलेर बोली–“साँच्ची ? ”
“अँ त, शर्माजी छैनन्? हो उनलाई एउटा निर्दोष अनुहार चाहिएको छ रे । मैले तिम्रो फोटो देखाएँ, भोलि नै भेट्न भन्या छन् ।”
खुशी भएर पासाङले सोधी–“कहाँ?”
“भोलि साँझ होटलमा भेट्न पाए हुन्थ्यो भन्या थे ।”
‘होटल’ शब्दले झस्कायो पासाङलाई । “होटलमा त्यो पनि साँझमा नै किन नि ?” –सोधी उसले ।
“साँझमा फोटो सेसन राम्रो हुन्छ क्या ।”
“त्यो फोटोसेसन गर्ने ठाउँमा त धेरै मान्छे हुन्छन् होइन । क्यामेरा चलाउने, लाइट देखाउने, फिल्मको सुटिङ गरेजस्तै हुन्छ हगि ?”–स्वर नै अर्को भइसकेको थियो पासाङको ।
“होइन शर्माजी त सबै काम आफैँ गर्छन् । उनको काम गर्ने तरिका नै फरक छ क्या । उनलाई भिडभाड पटक्कै मनपर्दैन । सबै उनी एक्लैले गर्ने हो ।”
“उसोभए तपाईँ त जानुहुन्छ नि मसँग ?”
“म कहाँ जानु । मलाई त अर्को डाइरेक्टरले बोलाको छ । एउटा रोल दिन्छ जस्तो छ ।”
“तर... ....।”– पासाङलाई असजिलो महसुस भयो ।
“धन्दा नमान, आफैँ गाडी लिएर तिमीलाई लिन आउँछन् । अनि पछि छोड्न पनि आउँछन् । बरु उनलाई चित्त नबुझ्ने व्यवहार नगर्नु नि । मन अलि कमलो छ क्या बूढाको ।” डम्बरले आफ्नो कुरामा जोड दिएर उत्साहपूर्वक भन्यो –“हेर नानी आफ्नो क्यारियर बनाउन मान्छेले जे पनि गर्न तयार हुनुपर्छ ।”
र, ऊ एकैपटक खङ्ग्रङ्ग भइथी । घरी शर्माजीको काल्पनिक अनुहार दारिवालको अनुहारमा आरोपित गरिथी घरी पासाङको अनुहारमा दारीवालका कामुक आँखा र ओठ देख्न थालिथी ।
हिजोको मात्रै कुरा थियो यो ।
आजचाहिँ रिसको झोकमा उसले शर्माजी आउने कुरा मात्रै गर्न भ्याएको थियो ।
अहिले सत्र घण्टा बितिसकेको छ– पासाङ उस्तै छे । हातमा रगत कट्कटिएर सिरङ्ग सिरिङग गर्दै छ, ऊ त्यही हेर्दै छे । अघिदेखि उभिएकै ठाउँमा छे ।
“शर्माजी.....पाँचबजे आउँछन् ....।” उसको अभ्यन्तरमा यही गुन्जिरहेको छ अहिलेसम्म पनि ।
मुन्टो अररिएजस्तो लाग्छ । भित्तातिर हेर्छे– खिस्स हाँसिरहेको डम्बरको तस्विर टाँगिएको छ सिधा । हेरिरहन्छे– कत्ति शालीन मुस्कान....कति सुन्दर अनुहार....। उसको डम्बरको । जसले उसलाई सपना देखाएको थियो र उसैले कोरिदिएको बाटोमा ताते ताते गर्दै यहाँसम्म आइपुगेकी थिई । तर त्यही डम्बर हो त यस्तो व्यवहार गर्ने ?
“शर्माजी.....पाँचबजे आउँछन् ....।” उसलाई लाग्छ, डम्बरको तस्विरले यही जनाउ दिइरहेछ ।
शर्माजी आउनेछन् .....गाडीमा चढाउनेछन्.......होटलमा लानेछन् । अनि स्क्रिप्ट टेष्ट, फोटो सेसन........?! सोच्दासोच्दै पासाङको टाउको चकराउँछ र कहिल्यै नदेखेका शर्माको आकृति डम्बर र दारीवालको आकृति जोडिएर तयार हुन्छ । हेर्दाहेर्दै डम्बरको चिल्लो गालाभरि दारी नै दारी उम्रन्छ र घनारूप धारण गर्दछ र एकजोडी चिमचिमे आँखामा चस्मा पनि टाँगिन्छ । अनि बोल्छ नाके स्वरमा–“पासाङ, शर्माजी पाँचबजे आउँछन्........ उनको काम गर्ने तरिका नै फरक छ..... उनलाई चित्त नबुझ्ने व्यवहार नगर्नु नि...... शर्माजी.....पाँचबजे आउँछन् ....।”
अब हेर्न सक्दिन पासाङले । घृणा, क्षोभ र वेदनाका भाव एकैपटक जन्मिन्छन्, आँखा चिम्लन्छे र भित्तामा टाउको अड्याउन पुग्छे ।
तर आँखा बन्द भएपनि कान बन्द छैनन् । उसका बन्द परेला च्यातेर डम्बरको आकृति अघिल्तिर उभिन्छ र राता राता आँखा पारेर बोल्छ– “पासाङ, शर्माजी पाँचबजे आउँछन्........उनको........।”
कतै खितित्त हाँसेको आवाज आउँछ । सहन नसकेर पासाङ दुवै औँलाले कान थुन्छे –अघि काटेको ठाउँमा छोइन्छ क्यारे चसक्क दुख्छ भित्रैसम्म पुग्ने गरी ।
तर रोकिएको छैन एउटा दुःस्वप्न जस्तो आवाज । उसको गर्धनभरि डम्बरको सासले लेखिरहेछ–“ “पासाङ, शर्माजी पाँचबजे .......।”
एक्कासी आवेग भरिन्छ हृदयभित्र । पासाङ एकैवेगमा पल्लो छेउतिर पुग्छे र त्यो तस्विरलाई तानेर भुइँमा बजार्छे ।
फ्रेम फुटेर ‘छल्र्याम्म’ आवाज आउँछ ।.
रिसाहा आँखाले पासाङ त्यतातिर हेर्छे । टुक्राटाक्री सिसाको बीचबाट बोल्दैछ डम्बरको फोटो–“पासाङ, शर्माजी पाँच.....।”
पासाङ सिसा पन्छाएर फोटो झिक्न खोज्छे तर ¥वाम्म रोपिन्छ एउटा छेस्को । रगत भुल्का छुट्छ र डम्बरको फोटोमाथि खस्छ र नचिनिने गरी रगत पोतरिन्छ । भित्र गहिरोसँग दुखेको छ पासाङको । रगत भुँइमा समेत झरिरहेको छ तप्प ...तप्प ...। तर छोपिएको छ डम्बरको फोटो उसको रगतले ।
दुःखभरिएको सासको एउटा झोक्का निस्कन्छ उसको मुखबाट र त्यही रन्कोमा थुत्त निकाल्छे सिसाको टुक्रो । रगत भुल्को छुट्छ अझ ठूलो र अब उसको गोडतिर पोखिन थाल्छ । ऊ आफ्नो कुर्ताको फेरले बेस्सरी थिच्छे । संसार अँध्यारिएझैँ लाग्छ । थचक्क भुइँमा बस्छे ।
तर त्यहीबेलामा रक्तपूरित फोटोभित्रबाट केही चल्मलाहट आउँछ र भन्छ–“पासाङ शर्माजी......।”
ऊ त्यो फोटोलाई दुबै हत्केलाको बीचमा पारेर कच्याकुचक पारिदिन्छे र एकैपटक मुखमा क्वाप्प हाल्छे । तर भित्रभित्रै असजिलो पार्ने गरी डम्बरको आवाज भने आइरहेछ– “पासाङ.....!”
“ह्वाक्क.....!” बान्ता आउलाजस्तो हुन्छ । पासाङ फोटो ओकल्छे र रिसाहा साँढेझैँ ‘फुँ’ गर्छे । तर त्यो गुजुल्टोबाट पनि आवाज खाँदिएरै आउन छाडेको छैन..“....पासाङ.....शर्माजी......!”
काटिएको औँलाबाट तर्रतरी रगत बगिरहेकै छ ।
एक्कासी पासाङ झटारिएर कोठाबाट निस्किन्छे र मूलढोकाबाट चियाएर भित्र हेर्छे । भित्रबाट मसिनो आवाज आइरहेछ– “पासाङ.....पासाङ.....पासाङ.....पासा.....!”
अनि त्यही आवाजले लखेटिँदै ऊ मूल सडकमा पुग्छे ।
काटिएको औँलाबाट रगत बग्न छाडेको छैन ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 18 कार्तिक, 2067

लेखकका अन्य रचनाहरु