मितेरी सम्बन्धको दुःखान्त कथा

- विजय सापकोटा

केही लामो अन्तरालमा घर आइपुग्दा भित्र सघन अनुभूति जाग्छ । घरको सीमारेखा टेक्ने बित्तिकै सबै रूखबिरूवालाई छोऊँजस्तो लाग्छ । ढुङ्गा, माटो सबैको स्पर्श पूर्व परिचितजस्तो लाग्छ । अनि अपनत्वको अनुभूतिले मन ढुक्क हुन्छ, हलुको हुन्छ र सुरक्षाको अनुभूति पनि हुन्छ । आँगनीको डिल, तुलसीको मोठ अथवा घरबारीको डिलतिर उभिएका रूख–बोट अनि आँगन यत्रतत्र जुनै मौसममा पनि, जुनै याममा पनि खै केको सम्मोहन जाग्न पुग्छ अब त यसको सीमारेखा नाघेर कतै नजाऊँ जस्तो पनि लाग्छ ।

यो अनुभूतिले आँखा छोपी खेल्ने बित्तिकै तत्कालमा एउटा गहिरो असन्तुष्टि जाग्छ र लामो अस्पष्ट वाक्यजस्तो लागेर आफ्नै जीवन, आÇनै भोगाइको पछिल्तिर एउटा ठूलो प्रश्नचिन्ह जन्मिन्छ । घरको आयतनमा र यसको निकट सेरोफेरोमा केही नयाँ परिवर्तन भएपनि सबै पुरानै लाग्छ । त्यही पुरानो चिन्हले भित्र कता–कता घोच्छ र यसको छेउछाउमा, यहीँनिर आसपासमा कतै केही छुटेको छ जस्तो लाग्छ ।

हराउनु अथवा छुटाउनुको अनुभूति गहिरो पीडाजन्य हुन्छ । जीवनका थुप्रै–थुप्रै बिसौनीहरूमा त्यो विस्मतलाग्दो, थकथकलाग्दो बनिदिन्छ । यो नोस्ताल्जियाले मान्छेको आगत समेत विस्मतलाग्दो गरी तन्काइदिन्छ । पाइला– पाइलामा जीवन थकथकीले मात्रै हिँडिन्छ । थाहा छैन कति कतिका मान्छे जीवनसँगै विस्मतको घुट्को पिउँछन् । तर जीवनका धेरै दुःखलाग्ने गरी छुटेको अनुभूति बाँच्छ, मेरो आÇनै घरको आँगनमा ।

त, मसँग मेरो घरको सेरोफेरोमा एउटा त्यस्तै स्मृति टाँसिएको छ, जुन स्मृतिले मलाई यो घरका हरेक ऐकान्तिक पलहरूमा मुटुसम्म पुग्ने गरी चिमोटेर गएको छ । बालवयदेखि मसँगै हुर्किँदै आएका रूखबिरूवाका हाँगाबिँगामा झुण्डिएको आÇनो जीवन घरि रमाउँदै अनि घरि पिरिँदै नियाल्दा घरको तल्लोपट्टि रहेको एउटा सानो गोठ (घर) मा आँखा ठोक्किएपछि मेरो मनमा प्रश्नै प्रश्नको कोकोहोलो जन्मिन्छ । र लाग्छ, मेरो जीवनको एउटा ठूलो कुरो त्यहीँ छुटेको छ अथवा त्यहीँबाटै हराएको छ ।

त्यसो त यो सेरोफेरोमा मेरो बालवय छुटेको छ, मेरो बालमन र बालापन यही आँगनमै कतै छाडिएको छ । ऐकान्तिक पलहरूमा वयष्क मनले तिनलाई सम्झँदा त्यहाँ पीडा हुँदैन बरु मायालाग्दो अनुभूति हुन्छ, अझ आनन्दानुभूति हुन्छ । तर अवर्णनीय गहिरो अनुभूति पनि त्यहीँ जाग्छ । धेरै कुरा नजानेरै बाँचेको त्यो असहाय उमेर, अन्यौलमै बाँचेको त्यो अस्पष्ट उमेर अनि यस्ता जटिलताहरूमै पनि सन्तुष्ट बाँचेको त्यो उमेरमा फर्की जाने भावुकता मसँग पटक्कै छैन । तर आफू हिँडेको बाटो, आफूले आÇनै जीवनका लागि ओछ्याएको जगमा थोरैबेर उभिएर अश्रुपुरित हृदयले निकै वर्ष परको त्यो सानो उमेरलाई माया गरिरहनु मेरा निम्ति एकाधपटक आनन्दप्रदायक पनि बनेको हुन्छ । रुखोसुखोसँग चलिरहेको वर्तमानमा पर्दा हालेर त्यो बालवयको नाच हेर्नु मज्जैको कुरा हुन्छ । यसले आÇनो जीवनप्रति मोह जगाउँछ, आफू हिँडी आएको बाटोप्रति श्रद्धा गर्न सिकाउँछ र जीवनको उचाइलाई अझै माथितिर लैजान्छ ।

तर यी भावुकताको पछिल्तिर एउटा कहालीलाग्दो यथार्थ पनि बाँचेको हुन्छ । राजनीति, संस्कार वा समाज विज्ञानका एक र अनेक उपविधाहरूद्वारा प्रताडित भएर कुँजो बनाइएको अथवा निर्ममतापूर्वक निमोठिएको जीवनको कुनै यथार्थ पनि त्यहाँभित्र बाँचेको हुनसक्छ । अनुभूति कसले कसरी गर्न सक्दछ त्यो फरक कुरा हो । तर मेरो बाल्यकालसँग जोडिएको , सुन्दर हुँदाहुँदै पनि युगीन त्राटनले डामिएको एउटा कथा त्यसले मलाई अझै पनि चिमोट्छ र मेरो बाल्यवयको स्मरणलाई त्यति भावुक बनाइराख्न दिँदैन, त्यसको कथा त्यही सानो घरभित्रै स्मृतिमा लगभग धूमिल–धूमिल भएर विस्मृतिउन्मुख भइरहेको छ ।

मेरा पनि मित थिए !
मेरो जीवनको सामाजिक सम्बन्धको सुरुमा मेरा मित थिए । पारिवारिक नातागोता अथवा इष्टमित्रबाहेक मेरो सामाजिक सम्बन्धको सुरुवात यहीँबाट भएको थियो । तर यो सुरुवात मेरानिम्ति दीर्घकालीन थिएन । त्यो सुरु भएको पत्तै नपाइकन सिद्धिएको सम्बन्ध थियो । मनपेटभरि पनि अनुभूति गर्न नसक्ने गरी मेरो मितेरी सम्बन्ध नजाने किन धुलिधुवाँ भएको थियो , सचेत भएदेखि यो प्रश्नको उत्तर खोजेको मैले, सत्य पाएको पनि छु । तैपनि कोट्याइरहन मन लाग्छ–मनपेटभरि गाँस्न नपाइकन मेरो मितेरी सम्बन्ध किन‘थियो’ मा परिणत भयो ?

ठूलाठूला टायलको उबडखाबड छानोमुनि एउटा परिवारको अस्तव्यस्त संरचनाको याद आउँछ । खिटिखिटि चलिरहने हाते कलको याद आउँछ र याद आउँछन् र·िबिर·ी कपडाका मसिना टुक्राटाक्रीका खात । अनि तीभन्दा पनि एउटा अस्पष्ट, कृष्णवर्णको बाल आकृतिका चहिकिला, बीचमा राता धर्सा कोरिएका आँखाको याद सबैभन्दा छोइने भएर आउँछ ।

अनुहार याद छैन, नाम याद छैन । वर्ण कालो थियो, आँखा थोरै राता थिए याद छ । अरू केही याद नभएपनि ह्दयको कुनै कुनामा चहकिलो अक्षरमा लेखिएको एउटा पद छ– मित । सम्झँदा, आँखामा यति मात्रै आउँछ । तर अभ्यन्तरमा भने हलचल पैदा गर्ने आत्मीयानुभूति हुन्छ ।

हो, त्यही छानामुनि मेरा मित थिए ! जीवनले घरको सीमारेखालाई कुल्चिएर बाहिर निस्किने प्रयासमा लाग्दा भेटिएका मित थिए मेरा ।

मन भरङ्ग हुन्छ, यतिमात्रै सम्झिँदा पनि । आहा, मेरा पनि मित थिए । आफ्नो स्मृतिकेन्द्रको पुछारमा पुग्दा मैँले आफैँले निर्माण गरेको सम्बन्धको पहिलो नम्बरमा त्यही पद लेखिएको छ–मित । मेरो जीवनको इतिहासमा मेरा व्यक्तिगत सम्बन्धहरूको अध्याय यहाँभन्दा परतिर पुगेको पनि याद छैन । तर त्यो बेनामी मान्छेसँगको मेरो सम्बन्ध कुनै सांस्कारिक हिसाबले गाँसिएको थिएन । म बाँचेको समाजमा उनको र मेरो जात एउटै थिएन त्यसकारण पनि उनीसँग मेरो संस्कारगत सम्बन्ध केही थिएन । म बाँचेको युगको सांस्कृतिक विधानले मलाई माथिल्लो क्रममा राखेको थियो, मेरा मित त्यो क्रमको सबैभन्दा पुछारमा थिए । तैपनि कहाँबाट कसरी गाँसियो कुन्नि यो नाता हामी एकअर्कोलाई‘मित’ भनी सम्बोधन गथ्र्यौँ र‘तिमी’ आदरार्थी प्रयोग गथ्र्यौँ ।

मितको घरको सामान्य बुनोट याद छ । मितबाले ढल्के टोपी र इस्टकोट लगाएको, मित आमाको दुब्लो शरीर र कालो अनुहार राम्रै याद छ शायद किशोर भएपछि पनि देखेकोले होला । मितबाले लुगा सिउने कल चलाउँदा यसबाट आएको खटखट आवाज, कलबाट आउने अनौठो गन्ध, नयाँ कपडाको बासना अझै पनि कल्पनामा आभासित भइरहेझैँ लाग्छ । अनि सियो चलाउँदा मितआमाको औँलामा लगाइएको सेतो बेरुवा औँठी चम्किएको पनि याद छ । तर मित.... मितका फुटेका काला गाला र राता धर्सा कोरिएका आँखा हो कि हो कि झैँ याद छ । सबैभन्दा बढी मितको परिचय, स्मृति वा सम्झना त्यो शब्दको न्यानोपनमा मात्रै छ । र, मितसँग जोडिएको सबैभन्दा चहकिलो सम्झना मितका सपरिवार गाउँ छोडी मधेस हिँडेको बेलाको मात्रै छ ।

तिनताका म स्कुल जान थालिसकेको थिइनँ । मेरा समय कसरी बित्थे थाहा छैन । बिजुली चम्किएका बेलामा हजुरआमाको खोकिलामा घुस्रिएको बाहेक त्योबेलाको केही याद छैन । बरु मितसँग उनका घर अघिल्तिरको साँघुरोे बाटोमा रबरको हरियो बल खेलेको स्मृति हो कि होइन झैँ भएर आउन खोज्छ । मेरो कल्पनामात्रै बोलेको हो कि अथवा मेरो चेतन मनले नै यसलाई अहिलेसम्म स्मृतिपटमा राखिरहेछ थाहा छैन । तर मितबाले कल चलाइरहेको दृश्य र त्यसबाट आउने एकनासको खटखट आवाज मुग्ध भएर सुनिबसे जस्तो पनि लाग्छ । अनेक किसिमका र·िबिर·ी कपडाका मसिना टुक्रा–टाक्रीहरू लोभिएर हातमा खेलाउँदै नयाँ कपडा र कलबाट आउने फरक–फरक किसिमको गन्धको मिश्रणलाई श्वासभरि भरि निलूँझैँको अवस्थामा धेरैबेर लिइबसे जस्तो लाग्छ र घरबाट आमा अथवा हजुरआमाले बोलाएपछि कमिजको खल्तीमा कपडाका टुक्रा कोचेर घरतिर दौडिएजस्तो पनि लाग्छ ।

तर सबै यस्ता स्मृतिहरू ‘जस्तो लाग्छ’ को अवस्थामा आभासित हुने गर्छन् मेरो वर्तमानमा । यी मेरा कल्पनाशक्तिमा बाँचे अथवा यथार्थमा मैले भोगेँ म यसै भन्न सक्दिन । तर यी कुराहरूको बीचमा एउटा सत्यचाहिँ अझै मेरो अभ्यन्तरमा आलोकित भइरहेछ कि मेरा मित थिए कसैले सम्बन्धमा अनौपचारिकरूपमा बाँधिदिएतापनि ।

तर त्यो दिनको मलाई राम्रो सम्झना छ जुन दिन मेरा मित आफ्ना बाआमासँग हिँडेका थिए । उनीहरू मधेस जाँदैछन् भन्ने घरमा घुइरो–घुइरो सुनेको थिएँ । मधेस भनेको कहाँ हो कति टाढाको हो मेरो सानो दिमागले कल्पना समेत गर्न नसक्ने कुरा थियो । मितआमाले हातमा झोला झुण्ड्याएकी थिइन्, मित बा घरि मितलाई डोहो¥याइरहन्थे, घरि काँधमा हाली बोक्थे । म तिनीहरूको पछि–पछि कुदेको थिएँ । तिनीहरू घरमुन्तिरको पानी घट्टको पछिल्तिरको सानो बाटोबाट तेर्सिए । त्यो असजिलो बाटो मैले कुन उद्वेगले पछ्याएको थिएँ, अहिले त्यो अनुभूति गर्न सक्दिन । तर आमा भन्नुहुन्छ त्यतिखेर म एकनासले उनीहरूलाई पछ्याइरहेको थिएँ अरे । आमा मेरो पछि पछि दगुर्दै आउनुभएको थियो । सायद मितआमाबाट मलाई फर्किएर जान भनिएको थियो । पर एउटा असजिलो साँघुको डिलमा पुगेपछि मलाई मितआमाले एक रूपियाँको नोट दिनुभएको भने प्रष्टै छ । उनीहरू साँघु तरेर पारी पुगे, तर म साँघुको मुखको खुड्किलोसम्म पनि उक्लिनँ । मेरो चेतनाले हो अथवा केटाकेटीहरूका निमित एक सुकी नै पर्याप्त हुने त्यो समयमा एक रुपियाँ पाउनुको अप्रत्यासित घटनाले हो मलाई आज्ञाकारी बनाइदिएको थियो। त, उनीहरू साँघु तरेर पारी पुगे, मित मितबाको काँधमाथि थिए । तिनले मलाई फर्की हेरे कि हेरेनन् थाहा छैन । तर त्योबेला मलाई पछ्याउँदै मेरो पछिपछि आइपुगेकी मेरी आमा पछिसम्म पनि भन्ने गर्नुृहुन्थ्यो मैँले त्यतिखेर जोडले एकपटक‘मित’ भनी बोलाएको थिएँ अरे ।

मित गए, मेरा निम्ति खेल्ने साथी अर्को भएन तत्कालको लागि । मितविना मैले रबरको त्यो सानो बल कोसित खेलेँ हुँला अथवा नयाँ साथीको खोजी कसरी गरेँ त्यो कुरा मेरा निमित्त विस्मृतप्रायः भइसकेको छ । पछि स्कुल जान थालेँ, नयाँ–नयाँ साथी बनाएँ, उमेर पनि बढ्दै गयो र बिर्सिँदै गएँ मितलाई । लगभग स्कुल जान थालेपछि पनि बलचाहिँ सुरक्षित नै थियो । तर पछि त्यो पनि हराएपछि अब मेरा निमित्त मितको सम्झना अतीत समेत बनेन । एउटा मित्रता एउटा अव्यक्त आत्मीय सम्बन्ध कता बिलायो कता कुनै पदचिन्ह समेत नराखेर मेरो मितेरी हरायो ।

तर जीवन सपाट रहेनछ वक्र रहेछ । घुम्दै–फिर्दै आउँदोरहेछ मान्छे, अब कहिल्यै फर्कन्न नि भनेर मुण्टो फर्काएका विन्दुहरूमा । जानेर होस् अथवा नजानेर हृदयले पचाइसकेका पुराना दिनहरू सम्झनामा मात्र होइन यथार्थमा पनि उगेल्दोरहेछ मनले । त्यस्तै भयो । सम्बन्धको गहिराइमा नपुग्दै कता–कता विरानो प्रदेशतिर लागेको मेरो मितेरी सम्झना धेरै वर्षपछि टुप्लुक्क आइपुग्यो मेरै घरको छेउमा । त्यो सानो घरमा होइन, नजिकैको एउटा घरको छिँडीको कोठामा । त्यो नआएको भए आमा अथवा बुबाका सम्झनाहरूमा मात्रै हुनेथियो त्यो प्रस· । तर मेरो जीवनको दुःस्वप्नजस्तो बनेर त्यो कुनै दिन आयो । मैले नगरेको गल्तीको सजायँ दियो र मेरो कोमलतामा अलिकति चिमोटियो । म बाँचेको समाज, यसले उचालेको सांस्कृतिक सत्ताको ध्वजा अनि यसको सञ्चालनका लागि कति हो कतिऔँ युग अगाडिका पूर्खाले बनाइदिएका घोषित अघोषित नियम–विनियम.....यी सबैको ऐतिहासिक गल्तीको सजायँ मभित्रको मान्छेले पायो र मलाई आफू बाँचेको जीवनको दुर्बलता पहिलो पटक आफैँले अनुभूत गर्ने मौका मिल्यो । ओहो म त मान्छे कम‘बिष्ट’ बढी रहेछु । कस्तो अचम्म । थोरै किताबी ज्ञानको भरमा पृथक जीवन बाँच्ने आदर्श मोह एकै घटनाले धुजाधुजा पारेर पातलो कागज च्यातेझैँ च्यातिदियो ।

त्यतिखेर म विद्यालयको पढाइ सकेर क्याम्पस जान थालिसकेको थिएँ । त्यही क्रममा एकदिन थाहा भयो मेरा मितका सपरिवार फेरि फर्की आए । आमाका मुखबाट पुरानो स्मृतिलाई किन्चित कोट्याइएपछि मन ढक्क फुल्यो । हिजोको त्यो सम्बन्ध आज लामो अन्तरालपछि एकैपटक ठूलो भएर पुनस्मृति गर्दा मनमा कता–कता धक लागेजस्तो भयो । झन् मितआमा मैँलाई खोज्दै घरमा आएपछि त कताकता लज्जाबोध पनि भयो । मितआमाको मायालु स्वरमा आफैँप्रतिको जिज्ञासु रहर देखेपछि भावुक मनमा कस्तो–कस्तो आँधी चल्यो । मितआमासँगको सामान्य बोलिचालीमै पुरानो आत्मीयता फेरि जागेर आयो । मनमा फुटेका काला गालामाथि राता धर्सा कोरिएका आँखा भएको त्यो मान्छेको बढी सम्झना आयो । मितआमासँग सोध्न सकिन । तर जिज्ञासाहरू धेरै थिए मितका बारेमा । त्यतिखेर मैले आफैँलाई सम्झिनँ, म बाँचेको समाज र यसको सांस्कृतिक सत्ताका चरित्रहरूलाई सम्झिन सकिनँ । बरु धेरै सम्भव–असम्भव भावुकताले नजाने के–के कुरा पो सम्झिरहेँ । तर मितलाई भेट्न जान भने सकिन । किनभने मैले गरेजस्तै अनुभूति उनले गरेका नहुन पनि सक्छन् भन्नेचाहिँ मनमा थियो । तैपनि किशोर भावुकताको एउटा आवेगले मितको घरछेउ पु¥याइदियो ।

मित आमालाई भेटेँ । सामान्य भलाकुसारी गरेँ । मितआमाले अनुहारभरि केको खुसीको भाव पोखेको हो कुन्नि मीठो थियो त्यो अहिले सम्झन्छु । त्यो मिठासमा के थियो त्यो अर्थ लगाउन नसके पनि अहिलेसम्म त्यहाँ आत्मीयता भाव नै थियो कि भन्ने लाग्छ । अनि कुराकानीको लामो सन्दर्भको उत्कर्षमा म सपनाबाट ब्युँझिएजस्तो भएँ जतिबेला मितआमाको आवाज अनौठो गरी मेरो अभ्यन्तर नै थर्किने गरी गुन्जियो । मितआमाले भित्री कोठातिर च्याउन खोज्दै हकार्नुभयो–‘ए कति भित्र बस्छस् । ह्याँ बाहिर आ त मित आ’छन् ।’

मन ढक्क फुल्यो । एउटा आवेगको लहर मेरो हृदयकेन्द्रबाट हुन्हुनाउँदै अनुहारभरि पोतरियो । म अलमलिएँ र हड्बडाएँ । कस्ता होलान् मेरा मित ? तिन्ले मलाई सम्झेका त छन् के ? ती मसँग बोल्लान् ? सबैभन्दा पहिले के गर्लान् हाँस्लान् ? अनि म......?

मनमा एकैपटक यस्ता जिज्ञासाका धेरैवटा फाँकीहरू छरिए । तर यिनका उत्तर मसँग थिएनन् । मैले त्यो भित्री कोठातिर हेर्न पनि सकिनँ । टाउको निहु¥याएर केही क्षण त्यो प्रिय आहटको प्रतीक्षा गरिबसेँ । तर अहँ, भित्रबाट कोही बाहिर आएको त के चल्मलाएको आभास समेत आएन ।

मितआमाले तीनचार पटक हकार्नुभयो । तर कोही निस्किएन ।

अनि मतिर हेरेर उहाँले प्रतिक्रिया दिनुभयो–‘अलि कस्तो कस्तो छ के यो ।’

म फिस्स हाँसेँ मात्र । तत्काललाई कुनै प्रतिक्रिया दिइनँ । एक्कासी मनमा नरमाइलो अनुभूति छायो । म नआएको भए पनि हुने यहाँ– थकथकी पनि लाग्यो ।

अनि भावुकताको एउटा लहर जसलाई ह्दयभरि अटेसमटेस बोकेर लगेथेँ त्यसलाई मितआमाकै चौकटमा छाडेर म फर्किएँ । तर छाड्नुको हलुकोपन थिएन, बरु के– के बोझ बोकेर फर्किरहेथेँ म ।

किनभने मेरो मनको कुनै कुनामा बाँचेको एउटा कोमल भावुकताको अन्तिम पटाक्षेप थियो त्यो ।

हिजोसम्म भावुकता थियो । मनको कोमल पत्रमा एउटा अस्पष्ट र वाङ्गोटिङ्गो रेखामा कुनै मानवाकृति कोरिएर त्यसको तल्तिर लेखिएको चहकिलो‘मित’ शब्द थियो । तर आज त्यो नजाने किन हो अथवा कसरी हो एकै झिमिकमा लगभग मेटिएजस्तै थियो । कस्तो अचम्म ¤ अब म कसैको‘मित’ होइन,‘विष्ट’ बनिसकेको थिएँ । जातीय व्यवस्थाको कुचक्रमा परेर मेरो मितेरी हराइसकेको थियो ।

तर म मितसँग रिसाइन । किनभने मितले मसँग भेट्ने उत्साह देखाउन नसक्नुको एउटा मर्मलाई मैले राम्ररी नै बुझेको थिएँ । म बाँचेको सामाजिक सांस्कृतिक जीवनको पुछारमा थिए ती, ती मलाई टुलुटुलु माथितिर हेरिरहेथे । अनि त्यो खुड्किलाको सबैभन्दा माथिल्लो भागमा म थिएँ, तिनलाई हेरिबसेथेँ । बीचमा बाधक के थिए कुन्नि मेरो जात, मेरो उनको भन्दा थोरै सम्पन्न जीवन अथवा मेरो पढाइ........? न उनी खुड्किलो उक्लेर आउन सके, न म झरेर आउन अथवा हात दिएर तान्न नैँ सकेँ उनलाई । अनि त बस् एउटा अस्पष्ट प्रश्नमात्रै बनेर अतीतमा बाँच्ने अवस्थामा आइदियो त्यो सम्बन्ध ।

कठै, सभ्य समाजको आवरणमा जातीय व्यवस्थाको जाँतोमा पिसिएर कति मितेरीहरू छुटिएका होलान्, दुःस्वप्नजस्तो यो लक्ष्मणरेखाभित्र बसेर सुस्केरा हाल्नुबाहेक मैले पनि अरु गर्नै सकेँ के र !

[email protected]

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 9 आश्वीन, 2067

लेखकका अन्य रचनाहरु