राम प्रसादको जीवन कथा

- श्रवणकुमार ढुंगाना

गाडीका नयाँ नयाँ मोडलहरू पुराना हुँदै गए....
प्राथमिकतामा नपरेका मोटरसाईकलहरू महँगिदै गए...।
विस्तारै विस्तारै...
सँगै,
सन्मुख बसेर क्यफ्टेरियामा
बारा र छोयला सँगै उम्लिएका कुत्कुत्याउने ठट्टाहरू
अधबैंशे शरीर बोकेर यही बाटोमा गुड्न थाले
आशाबादको सगरमाथा चुचुरोमा पुगेर—
कि यतै बसेर मर्नु
कि उतै पसेर मार्नुको अतिबाद बिच चेपिएर
राम प्रसाद आज रत्नपार्कमा भूमिगत उभिएको छ ।
उ अब गाउँमा पनि छैन
उ अब शहरमा पनि छैन ....... ।

पेशेवर र शौखिनहरूको अतिबाद बिचमा
सामाजिक मर्यादाको थाङने धोक्रो काँधमा हालेर
खातेहरूको प्रतिरुप यी सडक पेटी पेटी
मनले अघि अघि, शरीरले पछि पछि
शरीरले अघि अघि, मनले पछि पछि
कहिले घस्रँदै कहिले कुद्दै
आफैले आफैलाई प्रश्न गर्दै
चुट्किला जस्ता अतित सम्झेर
रुँदै मुस्कुराउँदै, मुस्कुराउँदै रुँदै
हरेराम न्यूरोडमा हराएर उभिएको छ ।
उ अब गाउँमा पनि भेटिँदैन
उ अब शहरमा पनि भेटिँदैन ।

महँगा, महँगा प्रमाण—पत्रहरू र
महँगा महँगा व्यापारबाट पर
अधिकारको शिक्षा ग्रहण गरेर
जिन्दाबाद र मुर्दाबादको राष्ट्रियता साँचेर
मुटुभरी
कहिले खुलामञ्च, कहिले रिङ्गरोड
आफूसँगै गाउँ बदल्ने, समाज बदल्ने, राष्ट्रै बदल्ने
भावनाको दहमा चुर्लुम्म डुवेर
रातो विहनीको सपना देख्ने
“डेमोक्रेसी”को उज्यालोको कविता लेख्ने
राम प्रसाद आज आफैलाई मेटेर उभिएको छ ।
उ अब गाउँमा पनि अटाउँदैन
उ अब शहरमा पनि अटाउँदैन ।

एकचोटी म¥यो भने
यो पिचासहरूको साम्राज्य उसको पनि !
एकचोटी झुक्यो भने
यी शोषकहरूको निगाह उसको पनि !
वीर सिपाही जस्ता उसका अडान
शहिदको समर्पण जस्तो उसको त्याग,
उ आज धर्मयुद्ध खोजिरहेछ
उ आज समर मैदान रोजिरहेछ ।
तर निर्लज्ज, कपटी समय
आज उसलाई कतै बन्द कोठा भित्र
अथवा,
कतै जंगलमा रुखको हाँगा मुनि
झुण्डिएको देख्न पाउने सपनामा
निर्दयी आँखा फारिरहेछ !
सर्वसाधारण जीवनको
अर्थहीन कठोर यात्राको
तुच्छ मुल्य नबुझेर
राम प्रसाद आज दौडिरहेछ ।
उ अब गाउँमा पनि छैन
उ अब शहरमा पनि छैन ....... ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 8 आश्वीन, 2067

लेखकका अन्य रचनाहरु