कृष्णचन्द्रसिंह प्रधान

- नरेन्द्रराज प्रसाई

"यथार्थमा अँध्यारोबाट उज्यालोमा टेकेको दिन म जन्मेको रहेछु । शून्यमा उठेको चित्कार हलचल सुनेर थाहा पाएछन्- मेरो जन्म भएछ । तर म जन्मेपछि टेक्तै हिँडेको पाइलाको एउटा छाप पनि नदेख्ता मैले विश्वास गरेँ- म जन्मेकै रहेनछु । शून्य च्यातेर उठेको आगमनबोधको अस्तित्वलाई कतै सुन्न र देख्न नपाउँदा मलाई लायो - मेरो जन्म भएकै रहेनछ । म जो आज छु त्यो एउटा छोरो हो असङ्ख्य आमा-बाबुका असङ्ख्य छोराजस्तै । यसलाई मैले आकाशधरतीको सङ्गम परिणाम भनेँ जो क्षितिज भई देखापर्छ १९८२ साल नागदेखि डराएर मान्छेले पूजा गर्न थालेको दिन । अनि अन्धकूपबाट निस्कँदा राजधानीजस्तो शहरमा पनि गाउँ हराई नसकेको सुन्तगाउँको चिसो ठाउँलाई. सिङ्गो पृथ्वी ठानेर सबभन्दा पहिले हातखुट्टा बजारेको रहेछु ।"

उपर्युक्त विचारहरू साहित्यमा कहिल्यै पनि देखा नपरेका गोविन्दप्रसाद प्रधानका हुन् । वास्तवमा गोविन्दप्रसाद प्रधानको जन्मले नेपाली साहित्यको क्षितिजलाई निक्कै फराकिलो बनाइदिएको छ । सूर्यप्रसाद प्रधान र सूर्यमाया प्रधानले गोविन्दप्रसाद प्रधानलाई जन्म नदिएको भए नेपाली साहित्यको समालोचना र खास गरेर निबन्ध विधामा अनिकालको केही सङ्केतचाहिँ देखा पर्ने थियो । जुन गोविन्दप्रसाद प्रधानले आफ्ना आमाबुबाको नाउँलाई मेटाएर, लुकाएर र छोपेर आफूलाई कृष्णचन्द्रसिंह प्रधान बनाएका थिए । सायद उनका दाजु हृदयचन्द्रसिंह प्रधानको प्रेरणा, प्रोत्साहन र सहयोगका कारणले गोविन्दप्रसाद प्रधानले पनि आफ्नो सक्कली नाउँलाई विर्सर्जित गरेका थिए । तर जे होस् उनी नेपाली साहित्यमा आफ्नै हस्ताक्षरले उत्कृष्ट व्यक्तित्वमा गणना भएका छन् । त्यतिमात्र होइन कृष्णचन्द्रसिंह प्रधान नेपाली निबन्ध र समीक्षाको विधामा उच्चकोटिमा स्थापित हस्ताक्षरको नाउँ हो; जुन नाउँलाई. न आँधीहुरीले उडाउन सक्यो न बाढी र पैरोले बगाउन र छुन सक्यो ।

प्रधानले स्कूल गएर विद्या हासिल गर्न सकेनन् । उनले कलेज धाएर पनि विद्या आर्जन गर्न सकेनन् । यसै परिप्रेक्ष्यमा उनी भन्छन्- ''यी सौभाग्यबाट म वञ्चित भएँ । भाग्यले मलाई रचेन, मैले नै भाग्यको रचना गर्नुपर्‍यो । यसरी दुर्भाग्यले सिर्जना गरेको भाग्यवान् व्यक्ति म हुँ । दुःख पनि मानिन, पश्चात्ताप पनि गरिन अनि कहिल्यै विगतको दुर्भाग्यलाई सरापेर वर्तमानमा निराश भइन ।''

त्यस बेला एकातिर बिहान बेलुका हातमुख जोड्ने समस्याले यिनका बाबुआमालाई रन्थन्याएको थियो भने अर्कातिर छोराहरूले पढ्नपर्छ भन्ने ज्ञान त्यस बेला यिनका बुबाआमाको धारणामा बस्न सकेको थिएन । त्यस बेला सरकारलाई पनि ज्ञानरूपी मान्छेको खाँचो थिएन । त्यस बेलाको सरकारले पनि शिक्षाप्रचार गरेर आफ्नो खुट्टामा बन्चरो हान्ने काम किन गथ्र्यो - त्यस बेला केही फाट्टफुट्ट स्कूलहरू भए तापनि प्रधान भने औपचारिक शिक्षा लिन अगि र्सन भ्याएनन् ।

औपचारिक शिक्षा हासिल गर्न नसके तापनि प्रधानले चाहिँ अरूलाई औपचारिक शिक्षा पनि अर्पण गरे । यिनले विद्यालय र कलेजमा प्राध्यापन पनि गरे । जनशिक्षाका लागि यिनमा खुबै रुचि पनि थियो । साहित्यिक जागरण ल्याउने काममा पनि यी दत्तचित्त थिए । साहित्यको विकासका लागि यिनले सङ्गठन पनि गरे । २००४ सालमा देशव्यापी साहित्य-सम्मेलनको आयोजनामा पनि यिनले सक्रियता देखाए । त्यसपछि यी २०२६ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सहसदस्य भए । २०३१ सालमा यी साझा प्रकाशनको. महाप्रबन्धक भए । त्यस बेला त्यो संस्था पनि बन्यो र यी पनि प्रसिद्ध भए । यिनी साझा प्रकाशनबाट अवकाश प्राप्त गरेको केही समयपछि २०४७ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यमा मनोनीत भए ।

नेपाली साहित्यका वर्तमान महारथीहरूमध्ये एक प्रधानले. जानेर लेख्न थालेका होइनन् । उनी लेखनमा नजानीकनै प्रवृत्त भए । उनकै भनाइअनुसार ''नाउँको लोभले सत्कर्म गर्न प्रेरित गर्छ । मलाई चाहिँ आफ्नो नाउँ छापिएको हेर्ने रहरले लेख्न लगायो ।''

प्रधानले आफ्नो साहित्यिक यात्राको आरम्भ कविताबाट गरेका थिए । उनको पहिलो कविता बनारसबाट निस्कने मासिक पत्रिका 'उदय'मा संवत् २००२ मा छापिएको थियो । उनको त्यस कविताको शिर्षक 'अश्रुधारा' थियो । तर उनले पहिलोचोटि औपचारिक कविता नेवारी भाषामा लेखेका थिए । १९९५ सालमा लेखिएको उक्त कविताको शिर्षक थियो- 'हाय् तमाखु ।' उनको प्रथम पुस्तकाकार कृति 'भन्ज्याङ्निरै' कवितासङ्ग्रह थियो र सो पुस्तक संवत् २००८ मा छापिएको थियो ।

प्रधानका अप्रकाशित पुस्तकहरूमध्ये एउटा चाहिँ प्रेम सम्बन्धी कवितासङ्ग्रह हो । यिनले जेलैमा बसेर २०१० सालतिर बालकृष्ण समको 'नियमित आकस्मिकता' ग्रन्थको समीक्षा गरेका थिए । तर त्यो समीक्षात्मक पाण्डुलिपि उनका हातबाट अन्तै अनकन्टारतर्फलाग्यो ।

प्रधान शिक्षित नभए तापनि उनमा शिक्षाप्रेम ओतप्रोत थियो । त्यसैले बीस वर्षो उमेरदेखि उनी प्राथमिक स्कूलहरू स्थापना गराउन सक्रिय भए । प्रधानहरू मिलेर शान्ति निकुञ्ज हाइस्कूलको निर्माण गरेपछि उनी त्यहीँ शिक्षक भए । त्यस बखत बाह्य रूपमा यी सामान्य शिक्षक भए तापनि भित्री रूपमा यी राणाशासनका कट्टर विरोधी थिए । परिणामस्वरूप यी थुनामा परे । जेलबाट मुक्त भएपछि यी भारतको मध्यप्रदेश पुगे । मध्यप्रदेशको बर्धा भन्ने ठाउँमा अवस्थित महिला विद्याश्रममा यिनले पढाउने काम गरे । त्यहाँ अठार महिनासम्म आफ्नो योग्यताको प्रदर्शन गरेर यी नेपाल फर्के । त्यसपछि यी कन्यामन्दिर हाइस्कूलका अध्यापक र स्कूलको सञ्चालक समितिका सचिव भए । त्यस ठाउँमा यिनले अठार वर्षम्म अनवरत सेवा गरे । त्यसै बीच यिनले महेन्द्ररत्न कलेजमा पनि प्राध्यापन गरे ।

प्रधानका कृतिहरू २००८ सालदेखि प्रकाशित हुन थालेका थिए । सुरुमा प्रकाशित 'भन्ज्याङ्निरै' नामक कवितासङ्ग्रहपछि उनको 'कवि व्यथित र काव्य साधना' २०१५ सालमा प्रकाशित कृति थियो । त्यसपछि २०२६ सालमा उनको 'सालिक' भन्ने निबन्धसङ्ग्रह प्रकाशित भयो भने २०३६ सालमा 'नेपाली उपन्यास र उपन्यासकार' नामक समालोचनात्मक ग्रन्थ प्रकाशित भयो । २०४० सालमा प्रधानको अर्को समीक्षात्मक कृति 'सिर्जनाको सेरोफेरो' प्रकाशित भएको थियो । 'अनाम सत्य' कृष्णचन्द्रसिंह प्रधानको दोस्रो. निबन्धसङ्ग्रह हो र यो २०४४ सालमा प्रकाशित भयो । २०४७ सालमा 'पाइलाःआगतमा टेकेर' उनको अर्को निबन्ध-सङ्ग्रह प्रकाशित भयो । साथै उनका पछिल्ला निबन्धसङ्ग्रह- बागमतीको हरक -२०५७), नर्फकने ती दिनहरु -२०५९), जीन्दगी टिपोटहरु -२०६३) र समयसुनामी -२०६३) हुन् ।

प्रधानले नेवारी भाषामा पनि समीक्षात्मक ग्रन्थ प्रकाशित गरेका छन् । 'झीगु साहित्ये बाखँ' नामक सो कृति २०३३ सालमा प्रकाशित थियो । उनको नेपाली भाषाको एउटा अर्को उच्च स्तरीय समालोचनात्मक ग्रन्थ 'साझा समालोचना' २०२५ सालमा प्रकाशित भएको थियो । यिनले. तीनवटा साहित्यिक पत्रिकाहरूको सम्पादन पनि गरे -क) आँखा -२००५) -ख) जनसाहित्य -२०११) र -ग) हिमानी -२०२०) ।

प्रधानले साहित्यको आराधना गरेबापत प्रशस्तै. पुरस्कारहरू प्राप्त गरेका छन् । नेपाली साहित्य परिषद्द्वारा आयोजित २००४ सालको पहिलो साहित्यसम्मेलनमा गद्यकवितामा यी प्रथम भएका थिए र यिनले पाएको पहिलो पुरस्कार पनि त्यही नै थियो ।

गोरखादक्षिणबाहु चौथा, रत्नश्री पदक, मदन पुरस्कार, साझा पुरस्कार, सीताराम पुरस्कार, प्रतिभा पुरस्कार र उत्तमशान्ति पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मानबाट सम्मानित नेपाली भाषासाहित्यका महारथी कृष्णचन्द्रसिंह प्रधानको २०६७ साल असार १७ गते निधन भयो ।

प्रधान नेपाली साहित्यलाई हरियो बनाउँदै, नेपाली भाषासाहित्यको पथप्रदर्शक बन्दै र नेपाली साहित्यलाई समृद्धिको सिन्धुमा पुर्‍याउँदै सदैब आफ्नो कर्तव्यमा जुटेका थिए । उनको त्यही त्याग, तपस्या र आराधना नेपाली भाषासाहित्यको समृद्धिमा थाँक्रो लागिरहने छ ।
[email protected]

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 16 श्रावण, 2067

लेखकका अन्य रचनाहरु