नेपाली साहित्यका महारथी: रत्नध्वज जोशी

- नरेन्द्रराज प्रसाई

रत्नध्वज जोशी ढिलोढिलोगरी बोल्थे तर मीठो बोल्थे । उनी नरम शब्दहरू कुँदेर रोचक शैलीमा आफ्ना भावनाहरूको. प्रस्तुति गर्ने गर्थे । जोशीले बाँचुन्जेल सधैँ आफूलाई सादा जीवनमा बाँधिरहे ।

रत्नध्वज जोशीको साहित्यिक यात्राको आरम्भ कविताबाट नै भएको थियो । उनको प्रथम रचना १९९६ सालमा प्रकाशित भएको थियो । उनको प्रथम कविता 'शारदा'मा 'वसन्त गौरव' शिर्षकमा छापिएको थियो । जोशीले आलोचनाका फाँटमा रामकृष्ण शर्माकै प्रेरणाबाट हात हालेका थिए । साँच्चै भन्ने हो रामकृष्ण शर्मा समालोचक जोशीका गुरु थिए ।

रत्नध्वज जोशीले पनि रामकृष्ण शर्माले झैँ महाकवि लक्ष्मीप्रसाद देवकोटाका काव्यको आलोचना नै गरे । वास्तवमा त्यस समीक्षाबाट यी उत्साहित भएका थिए । त्यति मात्र होइन गोपालप्रसाद रिमालको 'मसान'का आलोचक पनि रत्नध्वज जोशी नै थिए ।

इन्द्रध्वज जोशी तथा रत्नमाया जोशीबाट ललितपुरको नागबहालमा १९७३ साल साउनमा रत्नध्वज जोशी जन्मेका थिए । उनी ललितपुरको त्यस्तो ठाउँमा बामे सरेका थिए जहाँका बासिन्दाहरू पन्चानब्बे प्रतिशत नेवारीमा मात्रै कुराकानी गर्ने गर्थे । त्यसैले जोशीले पनि दश वर्षको उमेरसम्म नेपाली क ख ग पनि जानेका थिएनन् । त्यति मात्र होइन त्यस बेलासम्म उनले नेपाली भाषामा आमाबाबु भन्नेसमेत पनि जानेका थिएनन् ।

रत्नध्वज जोशीले घरायसी धुलेपाटीमा ठूलो वर्णमाला पढेका थिए । घरायसी अध्ययन र द्यौपाटन पाठशालामा पढेका आधारमा उनले १६ वर्षा उमेरमा चार पास गरेका थिए । त्यसपछि उनी सरकारी गुठी तहसिलको नौसिन्दामा भर्ना भएका थिए । १८ वर्षको उमेरमा सरकारी नोकरीमा प्रवेश भएका जोशी क्रमशः शिक्षासेवामा पनि आबद्ध हुँदै गए । उनी २००४ सालमा पाटनको त्रिपद्म विद्यालयको शिक्षकमा भर्ना भए । त्यस स्कूलको उनी नेपाली पढाउने गुरुबाबु थिए । त्यस बेला उनी विद्यार्थीहरूलाई बिहान आफ्ना घरमा ट्युसन पढाउने गर्थे भने बेलुकापख जोरगणेश प्रेसमा भाषाबारे प्रुफ हेर्ने काम गर्थे ।

रत्नध्वज जोशीको विवाह २००१ सालमा भएको थियो । त्यसैबेला जोशीले नेवारी भाषाको 'बन्द द्वैमासिक नेपाल' र 'धर्मोदय' पत्रिकाको सम्पादनमा पनि आफ्नो कौशल देखाएका थिए । 'धर्मोदय'मा यी १४ महिनासम्म कार्यरत रहे ।

कविताका माध्यमबाट साहित्यमा पाइला टेके तापनि उनको साहित्यप्रतिको झुकाउ समालोचनाले बोकिदिएको थियो । उनको प्रथम समीक्षात्मक लेख संवत् १९९९ मा प्रकाशित भएको थियो । गोविन्दबहादुर मल्ल गोठालेको 'औँठी' शिर्षकको कथाका विषयमा समीक्षात्मक अभिव्यक्ति समर्पण गरेर उनी समीक्षात्मक विधामा अग्रसर भएका थिए । उनी एउटा कुशल निबन्धकार पनि थिए ।
रत्नध्वज जोशी समीक्षाका भरपर्दा व्यक्ति थिए । उनका मनपरेका कविमध्ये उनी कविवर मवीवि शाहलाई अत्यन्तै श्रद्धा गर्थे । कवि महेन्द्रका विषयमा उनले थुप्रै लेखे र शाहका काव्यका बारेमा घोत्लिएर २०१९ सालमा उनले एउटा बृहत् ग्रन्थ नै निर्माण गरे 'हाम्रो काव्यपरम्परामा उसैका लागि ।' सो समालोचनात्मक ग्रन्थ चर्चित पनि बन्यो । वास्तवमा समालोचक जोशीलाई टड्कारो रूपमा चिनाउने ग्रन्थ पनि 'हाम्रो काव्य परम्परामा उसैका लागि' नै भयो ।

रत्नध्वज जोशी प्रायः काव्य पढ्ने रहर गर्थे । उनी कविता पढेर समालोचना कोर्ने गर्थे । जोशीको लेखाइमा यथार्थताको विवरण भेटिन्छ । उनी थोरै शब्दमा धेरै भन्ने समीक्षक थिए । उनको समालोचकीय कार्यको नमुना हो- ''चाँदनी शाहका कविताहरू अज्ञात कवयित्रीकै नाउँबाट कसैले पढे पनि मोतीरामले भानुभक्तको रचना देख्नेबित्तिकै मोहित भएझैँ सहृदय पाठकलाई लाग्नेछ ।'' वास्तवमा रचनाकारका रचनामा डुबेर, पौडेर उनी आफ्नो प्रतिक्रिया व्यक्त्याउँथे, आफूले भन्नुपर्ने सारा कुरा एउटै हरफमा पनि टुङ्याउन सक्थे ।

रत्नध्वज जोशीले काव्य, खण्डकाव्य, कथा, नाटक आदिको समीक्षामा आफ्ना बलिया पैताला टेके । आलोचकका रूपमा उनी कहिल्यै पूर्वाग्रही भएनन् । कुनै कृतिको समीक्षा गर्दा उनी पुस्तकभित्र पस्नु पर्छ कृतिका लेखकभित्र पस्नुहुँदैन भन्ने धारणा राख्थे । उनले फुटकर केही कविता, केही निबन्ध र अनेकौँ समालोचना लेखे । उनले जम्मा ९ वटा पुस्तक लेखे । ती ग्रन्थहरूमध्ये छवटा कृतिचाहिँ समालोचनामा नै आधारित थिए । समालोचनाका क्षेत्रमा उनको कलम त्यति गहिरो, भरपर्दो र योग्य छैन भने तापनि नेपाली समालोचनाका क्षेत्रमा जोशीले आफ्नो बेग्लै धरातल स्थापित गरेका छन् । यिनले हिन्दीको प्रभावमा समीक्षा लेखे, यी रामकृष्ण शर्माको नक्कल गरेर समीक्षामा भित्रिए अनि यी आफ्नो निष्ठालाई अगि बढाउन समीक्षामा लागिपरे भनिए तापनि नेपाली समालोचनाका विधामा उनी अमर भए । वास्तवमा यिनले जति लेखे आफ्नो अडानमा लेखे, आफ्नो ब्रहृमले देखेको कुरा लेखे र सत्यमा बाँधिएर लेखे ।

रत्नध्वज जोशीको प्रथम प्रकाशित कृति 'मानसालङ्कार' हो । यो २००२ सालमा प्रकाशित भएको थियो र यिनको प्रथम कृति पनि यही नै हो । त्यसै गरी 'हाम्रो. काव्य परम्परामा उसैका लागि' यिनको पहिलो समीक्षात्मक ग्रन्थ हो र यो कृति २०१९ सालमा प्रकाशित भयो । उनले 'आधुनिक नेपाली साहित्यको. झलक' नामक समीक्षात्मक ग्रन्थलाई २०२१ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित गराए । उनले २०२३ सालमा 'साहित्यको अध्ययन' नामक समालोचना, २०२५ सालमा 'नेपाली कथाको कथा' समालोचना र २०२५ सालमा 'साहित्य-समीक्षा' नामक समालोचना पनि प्रकाशित गरे । उनले 'साहित्यको चिन्तन' र 'ऋतुविचार र लेखनाथ' नामक समीक्षात्मक ग्रन्थ लेखे । उनले 'नेपाली नाटकको इतिहास' पनि प्रकाशित गराएका थिए ।
२०२६ सालदेखि २०२९ सालसम्म नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा सहसदस्य भएका बखत उनैको सम्पादनमा 'प्रज्ञा' त्रैमासिक प्रकाशित हुने गर्थ्यो । त्यस बेला जोशी नेपाली भाषासाहित्यको सृजना, सम्पादन र सङ्गठनात्मक क्रियाकलापमा निक्कै सक्रिय भएका थिए । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सहसदस्यता समाप्त भएपछि जोशीलाई सोही प्रतिष्ठानमा विद्वत्वृत्ति प्रदान गरियो र त्यसपछि पुनः दुई वर्षम्म जोशीलाई प्रतिष्ठानले पुस्तक तयार गर्ने काम सुम्प्यो । केही समयपछि २०३५ साल साउनदेखि उनी पाटन क्याम्पसमा प्राध्यापन-सेवामा संलग्न भएका थिए ।

रत्नध्वज जोशीका नेवारी भाषामा पनि केही कृतिहरू प्रकाशित थिए । उनका नेवारी भाषाका प्रकाशित प्रमुख कृतिहरू हुन्- 'नारद मोह' -खण्डकाव्य), 'निबन्ध छ पुँच', 'निबन्ध ति पुँच', 'लिःस', 'निबन्ध स्व पुच' र 'साहित्यया पिःसाः ।'

रत्नध्वज जोशीले नेपाली साहित्यमा लेखनाथ पौडयाल, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, माधवप्रसाद घिमिरे र ताराप्रसाद जोशीका प्रभावले अगि बढ्ने प्रेरणा पाएका थिए ।

रत्नध्वज जोशीको जीवनको दर्ुभाग्य नै आफ्नो घरायसी आर्थिक विपन्नता थियो । घरको दयनीय आर्थिक कारणले नै उनको बाल्यजीवन आफ्नो मावलीमा बितेको थियो । जीवनको यौवनावस्थामा उनी आर्थिक कारणले धेरै. थेच्चारिएका थिए । प्राज्ञ भएपछि केही दिन, केही महिना र केही वर्षउनले. पेटभरि भात खाएर नेपाली साहित्यको आराधना गरेका थिए तर प्राज्ञबाट हटेपछि उनी निराशा-निराशैमा आफूलाई दुखाउन थाले । यस सांसारिक मोहको जाललाई चटक्कै त्यागेर रत्नध्वज जोशी २०४६ सालमा स्वर्गीय भए ।
[email protected]

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 12 आसाढ, 2067

लेखकका अन्य रचनाहरु