झ्याउ

- बासु श्रेष्ठ

कसैलाई केहि गर्न मन लागेन भने ह्या झ्याउ लाग्दो भनेर त्यस कामलाई पन्छाउने बानी मानिसहरुमा बढेको मैले अनुभव गर्न थालेको छुँ । हिजैकोमात्र कुरा हो मेरी श्रीमती टिभि हेरिरहेकि थिईन् । अचानक हय झ्याउ लाग्दो भनेर टिभि बन्द गरिन् र एकातिर लागिन् । म मनमनै गुन्न थालेँ यदि टिभि हेर्न या कुनै यस्तै केहि पनि गर्न झर्काे मान्ने हो भने त जे गर्नपनि र जेमापनि झ्याउ हुने रहेछ ।

सोचेँ झयाउ कहाँ छैन मान्ने हो भने । जीवनको इन्धन खाना खानुपनि आफैमा एक झयाउ हो । यसकोलागि सामल तुमल किन्नु पर्यो, सामल तुमल किन्न यो पसल, त्यो पसल गर्नुपर्यो । किनभने भनेको सबै सामल एउटै पसलमा पाईदैन । पाएको भए यो झ्याउ नै हुने थिएन । जे होस् किनेको सामल तुमल दुबै हातमा झुण्ड्याएर घरसम्म ल्याउनु पर्याे, कस्तो झ्याउ । मोटर गाडी भए त हो, नभए त्यो भारी बोकेर घर र पसलको दूरी हिँडेर तय गर्न कम्ता झ्याउ हुन्छ ? जसरी तसरी घरमा ल्याएको सामल, तरकारी पकाउनको लागि केलाई कुलाई, काटि कुटि गर्नुपर्याे यो पनि झ्याउ हो । आलु भए ताछ्नु पर्यो । यो पनि झ्याउ । सागपात भए केलाएर, पखालेर काटकुट गर्नपर्याे त्यो पनि झ्याउ हो । माछामासु भए त्यसै बमोजिम काटकुट गर्नु आफैमा अर्काे झयाउ हो । फेरि खाना खाएपछि भाँडा माझ्नुदेखि चुल्हो चौका सफा गर्नु, खाएको थाल, हात धुनु पत्तै नपाईने झ्याउ हो । फेरि खाएको खाना राम्रोसँग पचे त ठिकै हो । यदि खाना खाएको नपचेर पखाला लाग्यो भने अर्काे झ्याउ । त्यसपछि औषधि खानु त पर्यो नै । औषधिमूलोले छोए त ठिकै छ, नछोए डाक्टरकहाँ नै जानुपर्ने अर्काे झ्याउ । अनि डाक्टरले यो गर, त्यो गर, त्यसकोलागि यहाँ जाउ, त्यहाँ जाउ भनेर ठुलो झ्याउलो थपिदिन्छन् । सम्झि ल्याउँदा हामी त झ्याउ नै झ्याउको माझ पो बाचि रहेका रहेछौ । उम्रिरहेका रहेछौ । हे दैव !

आजै मैले काममा लेखाको हिसाब किताव नमिलेर साह्रै झ्याउ मानेँ । यता केलायो, उता केलायो, यो कागज,त्यो कागज पल्टायो तैपनि हिसाब नमिलेर झ्याउ । यस्सो सम्झेँ एउटा चुरोट खाए केहि आँखा खुल्थ्यो कि ? त्यसमापनि झ्याउले पछ्यायो । ह्या...एउटा जाबो चुरोट खान छ तल्लाबाट त...ल भुँइतल्लासम्म जानु पर्ने र त्यसैगरि फर्किनु पर्ने सम्झेँर झ्याउ मानेँ । किनभने आफ्नो अफिसको कोठाबाट एलिभेटरसम्म हिँडेर जाने झ्याउ, एलिभेटर ठ्याक्क भेटिए त हो नभए कमसेकम एक मिनेट कुर्नुपर्ने अर्काे झ्याउ, बल्लबल्ल एलिभेटर आइहाले पनि कुन तल्लामा जाने भनेर बटन थिच्ने अर्काे झ्याउ, चाहेको तल्लामा पुगेपछि लबिबाट बाहिरसम्म हिँडेर जानुपर्ने अर्काे झ्याउ । ह्या... जान्नँ म भन्दै आफ्नै मेचमा थच्चारिएर बसेँ । तर बस्दा बस्दा अर्काे झ्याउ लाग्यो । कति बसिरहनु । चाकपनि दुखेर झ्याउ भईसक्यो । जुरुक्क उठेँ र झ्यालबाट बाहिर हेरेँ । सडकमा एकनासले मोटरहरु ओहोर दोहोर गरिरहेको, आकाशमा प्लेन उडेको र प्लेनले छोडेको धुँवाको मूस्लो प्लेनको पूच्छरजस्तो भएको हेर्दा हेर्दा ह्या कत्ति हेर्नु यहि सीन झ्याउ लाग्दो भनेर मण्टो भित्रपट्टि बटारेँ । के गर्ने त, केहि गर्नै मन लागेन र त्यस्सै झ्याउ लागेर आयो । हिसाब मिलाउँ मिल्दैन, अरु केहि गरुँ मनै जादैन । क्या झ्याउ...।

वर्षात याममा पानी परेर कस्तो झ्याउ हुन्छ । कतै स्वाट्ट निस्कनै नपाईने । निस्कन परेमा छाता बोक्नुपर्ने झ्याउ । फेरि छाता अलि ठुलो र बर्षात राम्रैसँग थेग्ने भए त हो । सानो च्याउ जस्तो छाता पर्याेभने त बोक्नुकोमात्र झ्याउ । अनि छाताबाट चुहिएको पानी र छाताले नओगटेको वर्षातको पानी आफ्नो जिउमा परेर लुगा भिजेर निथु्रक्क बनाउने हुनाले अर्काे झ्याउ । फेरि वर्षात भनेको गर्मी याममा नै बढि हुने हुनाले शरीरमा लुगापनि थोरै हुन्छन् । आलु झैँ । एकसरो लुगा लगाएका हुन्छन् मानिसले । त्यसलाई स्वात्त फुकाल्यो भने आलु ताछेको झै मानिस एकाएक नाँगो हुन्छ । जाडो याममा भए पो जाडोबाट बच्न बन्दाकोभी झै खातका खात लुगा शरीरमा थोपरेका हुन्छन् । बेलुका घरमा पुगेर फुकाल्ने बेलामा एकपछि अर्काे, त्यसपछि अर्काे, त्यसपछि अर्काे, जसरी बन्दकोभिको पत्रपछि पत्र आउँछ त्यसैगरी मानव पनि पत्रपत्रैमा पसेको हुन्छ । त्यो पत्र लगाउने र फुकाल्ने काम कम झ्याउ छ ?

तपाई भन्नु होला नचाहिने कुरा नगर । वर्षातबाट बच्न छाता नै चाहिन्छ ? रेनकोट छैन र ? तर रेनकोट भएपनि त्यो लगाइरहने झ्याउ, गन्तव्यमा पुगेर फुकालेपछि कहाँ राख्ने भनेर ठाउँको खोजी गर्नुपर्ने झ्याउ, त्यसबाट बगेको पानी स्वाल्ल जुत्ताभित्र पसेर मोजा भिजाएर झ्याउ गर्छ भन्ने तपाईले सोच्नै भएको छैन । तर मैले त्यस्तो सोच्ने झ्याउ काम गरीसकेरै फलाकेको हुँ । नचाहिने कुरा नगर्नाेस् ।

ह्या मलाई त कुरा गर्दा गर्दा झ्याउ नै लागीसक्यो ।

तर के गर्नु झ्याउ मानेर नहुने रहेछ । च्याउ जस्तो छाता ओढेर होस् या आलुजस्तो एकसरो लुगा लगाएर होस् या बन्दाकोभिजस्तो लुगाको खातै खात हालेर होस् जीवन त चाल्नैपर्ने रहेछ ।

हिजो मलाई काममा जान झ्याउ लागेको थियो । सम्झेको थिएँ ह्या.. कति मोटर चलाउनु । जान एक घण्टा, आउन एकघण्टा । फेरि गाडिमा बसेरमात्र हुने हो र ? इन्जिन स्टार्ट गर, एक्सिलेटर थिच, दाँया बाँया हेर, अगाडि पछाडि हेर, गति सिमामा छ कि छैन ध्यान पुर्याउ । किनभने कुनै कुनामा लुकेर बसेको मामाले राडारमा गतिसीमा नाघेकोे भेट्टायो र पुलओभर गरेर टिकट दियो भने अर्काे झ्याउ, त्यहि टिकटको आधारमा आफुले सँकलन गरेको ल्पस प्वाइण्टमा ठहरिएको अपराध बमोजिम माईनस हुने झ्याउ, साथसाथै इन्स्योरेन्सको दर पनि आकाशिने अर्काे झ्याउ । त्यसकारण गतिसीमामै रहेर गाडि चलाउनु जाति भएपनि गन्तव्यस्थानमा कहिले पुगिने भन्ने चिन्ता लाग्ने हुनाले अर्काे झ्याउ ।

झ्याउ भन्ने शब्द जति वैराग लाग्दो छ त्यति नै लेसिलो रहेछ हाम्रो जीवनमा । थाहा पत्तै नदिइ पलापलामा लेउजस्तो टाँसिएको हुँदो रहेछ ।

पोहोर साल टिभि किनेँ । एचडिटिभि किन नकिनेको भनेर छोरो बम्केर झ्याउ मान्यो । ऊ बम्केको देखेर आफैलाई झ्याउ लाग्यो । किनभने ठुलो उत्साह र हौसलाले टिभि किनेको थिएँ । एचडिटिभी भयो भने एकदम सफा टिभि हेर्न पाईन्छ भन्ने उसको तर्क थियो । आजकलको दिनदिनै आउने नयाँ नयाँ प्रविधिसँग उजस्तो म जानिफकार थिईनँ । म किन ऊ जस्तो जानिफकार हुन सकिनँ भन्ने तर्फ सोचेर झ्याउ काम चाहि गरिनँ । फर्काउन लगेँ टिभि र उसैले भनेको जस्तो भित्तामा झुण्ड्याउन हुने एचडिटिभि किनियो । घरमा जोडजाड गर्ने झ्याउ काम उसैले गर्याे । लौ टिभि त फर्काएको टिभि र यसमा केहि फरक रहेनछ । किन त भन्दा केवलबाटपनि एचडिटिभि लिनुपर्ने अर्काे ठूलो झ्याउ रहेछ । अनिमात्र पुत्र महाशयले भने झै हेर्न हुने रहेछ । अब केवल कम्पनीलाई फोन गर्ने, एचडिटिभी च्यानल लिने झ्याउ काम गरियो । तर चाहिने भन्दा नचाहिने च्यानलको सूचिका हेर्दा आफ्नो झण्डै सुची फुस्केको । तलदेखि माथि, माथिदेखि तल च्यानल सर्च गरेपछि बल्ल चाहेको च्यानल भेटिने हुँदा यो टिभिपनि झ्याउ लाग्न थाल्यो । त्यसैलेपनि हो माथि शुरुमा नै भने झै मेरी श्रीमतीलाई झ्याउ लागेको ।

ईमित्र तथा फोनमित्र (इण्टरनेट र फोनमामात्र कुरा हुने मित्र, भेट कहिल्यै नभएको र भेट चै कहिले हुने हो थाहा छैन) अनि समकालीन साहित्य थोप्ला कमका संचालक कृष्ण बजगाईजीलाई लौ एउटा केहि पठाउँला भनेको धेरै भएको र पठाउन नसकेकोमा खेदी झ्याउ लागिरहेको थियो । विषय नै नफुर्ने । के लेख्ने, के नलेख्ने ? तर कसोकसो यो झ्याउ पलायो र टाईप गर्न बसेँ । तपाईलाई पो पढ्यो, मन परे मुस्स हाँस्यो, नपरे ठुस्स गर्याे । तर मलाई यो टाईप गर्न, तपाईलाई खुशी पार्न कम्ता झयाउ काम गरिन मैले । त्यसो त तपाईले पनि यो झ्याउ पढ्न कम्प्युटरको स्क्रिनमा आँखा जोतीरहने झ्याउ बेहोर्नु परेको, अनि स्क्रिनलाई स्क्रोल गर्दै अर्काे पानामा गएको सम्झँदा म मनमनै कुतिकुति मानेर हाँसीरहेको छुँ क्या ।

त्यस्तै अब प्रिति फण्टमा टाईप गरिएको यो लेख तपाईसामू युनिकोडमा प्रष्टेर आउन ईमित्र बजगाईजीले फण्ट फेर्ने, सम्पादन गर्ने, वेबसाईटमा अपलोड गर्ने झयाउ काम नगरेको भए तपाईले यो झ्याउ पढ्न पाउनु हुने थिएन । धन्न वहाँले झ्याउ माने पनि नमाने पनि यो काम चै गर्नुभएछ । धन्यवादको पोको छ है वहाँलाई ।

यो झ्याउलाई पन्छाउन नसकेकोमा साह्रै झ्याउ लागि सक्यो । पोखरीको पानीमा उम्रिने झ्याउ भईदिएको भए उति नै बेला लुतो फाले सरह हुँइयया...फालिसक्थेँ हुँला । तर के गर्नु यो त जीवनको पोखरीमा उम्रेर काउसो झै टाँसिएको झ्याउ परेछ । न जरा छ, न हाँगा छ तैपनि कताको फाल्नु । तपाईलाई पनि यो झ्याउ पढदा पढ्दा झ्याउ लागि सक्यो होला । मलाई पनि झ्याउको कुरा गर्दा गर्दा आफैलाई झ्याउ लागिसक्यो । ह्या झयाउ....।

उडव्रिज, भर्जिनीया

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 14 बैशाख, 2067

लेखकका अन्य रचनाहरु