विज्ञापन

- डा. मधु माधुर्य

नखुर्मुरुन्जेल
वीरताको भूमिकामा
कहालीलाग्दो भीरको बाटो हिंडेर
युग-युगान्तर
समयलाई/ संसारलाई तर्साइरहेका छौं
केहि फुटाइरहेका छौं / टुटाईरहेका छौं
कसैको अनुरोधमा
आफैलाई गिराइरहेका छौं

संदिग्ध बिज्ञापन झन् झन् फणा उठाईरहेको छ:
पित्तललाई सुन भनेर झ्याली पिटीरहेछ
हाम्रा यान्त्रिक / दिग्भ्रमित आँखाहरु टोलाईरहेका छन्
कांचलाई हिरा भनेर फलाकिरहेको छ
हाम्रा यान्त्रिक/ भुत्ते कानहरु चुपचाप सुनिरहेका छन्
अब सुनलाई सुन भन्न गाह्रो भो !
अब हिरालाई हिरा भन्न गाह्रो भो !
हाम्रै नेताको भाखामा
विज्ञापनले विश्व-मानचित्रमा
देशलाई अन्तै कतै देखाउने दुस्साहस गरिरहेछ
अब देशलाई देश भन्न पनि गाह्रो भो ?
पन्चामृत र सर्वत सुकाएर
विज्ञापन हामीलाई कोला-विष पिलाई रहेछ
हामी आमाले खुवाएको दूध बिर्सेर रमाईरहेका छौं
स्मृतिको दस्तावेजमा आफैलाई मेट्ने चेस्टा गरिरहेका छौं

जीवन-समापनका श्रृंखलाहरु छन्
विज्ञापनमा -
रंगीला आकृति / रातहरु छन्
मृत्युका आवाज/ छायाहरू छन्
सेक्स र नशाहरु छन्
कहाँ छन् विज्ञापनमा
फूलको स्पर्श र सुवास?
उर्लेको आस्था र साँचो प्रेमका तरंगहरु ?
देशभक्ति र मानवताका भावनाहरु ?

लौ हेर !
फेरि पनि बिज्ञापनको पर्दामा
आधुनिक भष्माशुरहरु
सल्बलाईरहेका छन्
देश सम्झेर आफ्नै पुर्पुरोमा
कतिखेर हातहरु बिसाउँछन्
थाहा छैन.....
आऊ
टुटेफुटेका हातहरु जोडेर
राम्रो प्रार्थना गरौँ |

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 30 चैत्र, 2066

लेखकका अन्य रचनाहरु