बजगाईंको ‘रोडम्याप’ भित्रका लघुकथामा युगचेतनाका बिम्बहरु

- डा.लक्ष्मणप्रसाद गौतम

१. आमुखः विषयप्रवेश
नेपाली लघुकथा क्षेत्रमा पछिल्लो समयमा निकै सशक्त र प्रभावपूर्ण लघुकथाहरु देखिएका छन् । आजको वढ्दो प्रविधि संस्कृति(Technoculture)को प्रयोग, मान्छेको अतिशय व्यस्तता र छोटो छरितो रचना प्रतिको आजको पाठकको आकर्षण आदि विविध कारणले हिजोआज लघुकथा जस्ता छोटा रचनाहरु लोकप्रिय भइरहेका छन् । समकालीन नेपाली लघुकथामा कृष्ण बजगाईंको उपस्थिति विगत केहि समय देखि सशक्त देखिएको छ । २०४१ मा कविता प्रकाशित गरेर साहित्यिक क्षेत्रमा प्रवेश गरेका बजगाईँका ‘यन्त्रवत’(लघुकथासंग्रह–२०६४) र ‘हिउँको तन्ना’(हाइकुसंग्रह–२०६६) का साथै ‘स्रष्टाहरुसंग डिजिटल कुराकानी’(अन्तर्वार्ता संग्रह–२०६६) र प्रस्तुत कृति ‘रोडम्याप’ लघुकथासंग्रहले उनको बहुआयमिक साहित्यिक व्यक्तित्वका पाटाहरुलाई अभिव्यक्त गर्छन् । अन्तराष्ट्रिय नेपाली साहित्य सामाजसंग सम्बद्ध कृष्ण बजगाईंले ‘समकालीन साहित्य डट कम’(www.samakalinsahitya.com) वेब पत्रिका लगायत धेरै पत्रिका र पुस्तकको सम्पादनसमेत गरेका छन् । लिटरेटरी जर्नालिजम अवार्ड(सन्२००९) र देवकोटा शताब्दी सम्मान(२०६६) आदि पुरस्कार /सम्मानहरुबाट समेत सम्मानित लघुकथाकार कृष्ण बजगाईं विदेशमा रहेर पनि साहित्य साधनामा निरन्तर लागिरहने क्रियाशील स्रष्टा हुन् ।
लघुकथाकार कृष्ण बजगाईंको प्रस्तुत कृति ‘रोडम्याप’ लघुकथासंग्रह भित्रका लघुकथाहरु युगीन संगतिहीनताका शब्दबिम्ब हुन् । विदेशमा रहँदा पनि नेपाली राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक, साहित्यिक आदी विविध क्षेत्रमा देखिएका विसंङ्गतिहरु देखेर उनको मन खिन्न छ र यी तमाम विसङ्गतिका ठाउँमा उनी सङ्गति चाहन्छन् भन्ने कुरा उनका लघुकथाहरुले देखाउँछन् । डायस्पोरिक जीवनशैली बाँचेर पनि डायस्पोरिक चेतनाबाट पृथक यससंग्रह भित्रका लघुकथाहरु नेपाली जीवन र समाजकै यथार्थ चित्र उतार्छन् । ‘रोडम्याप’ स्वयम्मा समकालीन नेपाली राजनीतिका यावत् सङ्गतिहीनता प्रतिको तीव्र व्यङ्ग्य हो र यसभित्रका धेरै लधुकथाहरुले विशेषतः राजनीतिक क्षेत्रका संङ्गतिहीनतालाई अभिव्यक्त गरेको पाइन्छ । सामाजिक परिवृत्त, वैयक्तिक मनोरचना, सशस्त्र द्धन्द्धजन्य प्रभाव र सहित्यिक क्षेत्रमा देखिएका विकृतिका साथै देशको प्रशासनिक आर्थिक दुरावस्थालाई पनि कृष्ण बजगाईंका लघुकथाहरुले राम्ररी देखाएका छन् ।

२. लघुकथाको स्वरुप र ‘रोडम्याप’ भित्रका लघुकथा
लघुकथामा मुक्तकीय झट्का दिने सूक्ष्म तर तीव्र आख्यान तन्तुको एउटा शृङ्खला हुन्छ र यसको आदि, मध्य र अन्त्यको क्रमिक शृङ्खला नभई आदि र अन्त्यको छोटो तर आकस्मिक शृङ्खला हुन्छ । लघुकथाको स्वरुप भनेको झ्वाट्ट हेर्दा देखिने एउटा आकार वा आकृति हो, जसमा आख्यानको तीव्रतम अभिव्यक्ति हुन्छ । लघुकथाको समग्र स्वरुपलाई यसप्रकार देखाइन्छ :–
१. लघुकथामा झ्वाट्ट हेर्दा छोटो आकार प्रकारको हुन्छ ।
२. लघुकथाको बनोट र बुनोटमा छरितोपन हुन्छ ।
३. लघुकथाको घटना तीव्र, रोचक र गेयात्मक हुन्छ ।
४. लघुकथाका उत्तरोत्तर पछिल्ला पङ्क्तिहरु÷वाक्यहरु उत्कर्ष हुँदै जान्छन् ।
५. लघुकथाले अन्त्यमा पाठकलाई मुक्तकीय झट्का दिन्छन् र एउटा तीव्र भाव छोडेर जान्छन् ।

लघुकथाको यस किसिमको स्वरुपभित्र लघुकथाकार कृष्ण बजगाईंको ‘रोडम्याप’ भित्रका लघुकथाहरुलाई हेर्दा उनका लघुकथाहरु लघुकथाको स्वरुपका दृष्टिले अझ विशिष्ट देखिन्छ । अन्त्यमा मुक्तकीय झट्का दिनु लघुकथाको विशेषता हो र ‘रोडम्याप’ भित्रका अघिकांश लघुकथाहरु यस दृष्टिले प्रभावपूर्ण देखिन्छ । रोडम्याप, दर्शन, गोजीनभएको सुट, प्रशंसा, घोषणापत्र, मित्रता, सल्लाह, शत्रु, रिपोर्टर, मानवियता, आश्वासन, भित्री जाडो, त्रास, छेपारेरङ्ग, परिवर्तन, फास्टप्रेम लगायतका लघुकथाहरु लघुकथाको स्वरुपका दृष्टि अझ सशक्त देखिन्छन् । ‘रोडम्याप’ भित्रका लघुकथाहरुलाई स्वरुपगत दृष्टिले यसप्रकार मूल्याङ्कन गर्न सकिन्छ ।

१. ‘रोडम्याप’ भित्रका लघुकथाहरु छोटा आकारप्रकारका छन् र ती लघुकथाको बनोट र बुनोटमा छरितोपन छ ।
२. ‘रोडम्याप’ भित्रका लघुकथाका घटना, विषयवस्तु र प्रस्तुति रोचक, घोचक र गेयात्मक छन् ।
३. ‘रोडम्याप’ भित्रका लघुकथाका अन्तिम÷वाक्य पङ्क्तिहरु उत्तरोत्तर उत्कर्ष भएकाले तिनले मुक्तकीय झट्का पनि दिन्छन् ।

यसप्रकार कृष्ण बजगाईँको ‘रोडम्याप’ भित्रका सबै लघुकथाहरुमा एक किसिमले हेर्ने हो भने एकै वा समान किसिमको स्वरुपगत विशेषता प्राप्त गर्न सकिन्छ । अझ त्यसमा पनि लघुकथाको सामान्य अन्तर्वस्तु÷घटना÷विचार÷कथ्यलाई पनि प्रभावकारी प्रस्तुतिले संशक्त तुल्याउनु कथाकार बजगाईंको विशेषता हो ।

३. लघुकथाको संरचना र ‘रोडम्याप’ भित्रका लघुकथाहरु
लघुकथाको संरचना भन्ने बित्तिकै यसको बाह्य र आन्तरिक संरचना भन्ने बुझिन्छ । बाह्यसंरचना भनेको रुपगत संरचना हो भने आन्तरिक संरचना भने विषयवस्तुगत संरचना हो । यहि आन्तरिक संरचनाभित्र लघुकथाको अन्तर्वस्तु, कुतूहलता, गयात्मकता, अत्यन्त सूक्ष्म आख्यानको परिपुष्टता आदि उपकरणहरु पर्दछन् । लघुकथाको संरचना मुक्त वा स्वतन्त्र हुन्छ । अभिव्यक्तिमा अत्यन्त छरितोपन हुने लघुकथाले एउटा भाव छोडेर जान्छ । यसप्रकार लघुकथाको संरचनालाई यसप्रकार देखाइन्छ :–
१. सूत्रात्मकता र सांकेतिकता हुनु,
२. बिम्बात्मक र प्रतिकात्मक हुनु,
३. मुक्त संरचनाविधान हुनु,
४. छोटा भएर पनि स्वयम्मा पूर्णहुनु,
५. विषय र कथ्यको छोटोछरितो अभिव्यक्ति हुनु आदि ।

यसरी सुत्रात्मक, छोटोछरितो, सांङ्केतिक र बिम्बात्मक हुने भएकोले लघुकथा स्वयम्मा स्वतन्त्र, पुष्ट, कसिलो, पोटिलो र पूर्ण हुन्छ । यस्तो लघुकथाले थोरैमा धेरै भन्न खोजेको हुन्छ । यो मुक्त रचनाविधान भएकोले आख्यानको उपविधा कथाको पनि उपविधा हो । लघुकथाकार कृष्ण बजगाईंको ‘रोडम्याप’ लघुकथासंग्रहभित्रका लघुकथाहरु पनि सबैं नै मुक्त संरचना विधानमा लेखिएका छन् र ती सूत्रात्मक, सांकेतिक, बिम्बात्मक र प्रतिकात्मक समेत हुनाका साथै तिनमा विषय र कथ्यको छोटो अभिव्यक्ति पाइन्छ । झगडाका गुँड, तेस्रोलिङ्गी, आशा, भित्र/बाहिर, बिमार, कला, लोकतन्त्र, फास्टप्रेम, अर्ति लगायतका लघुकथाहरु सूत्रात्मक प्रस्तुतिका दृष्टिले अत्यन्त सबलछन् । यस्तै कला, रिपोर्टर, सल्लाह, यन्त्रवत–२, मानवियता, पुरुषअङ्ग, आश्वासन, बन्दुक र गोली, स्वर्णपुरुष, मेसिन आदि लघुकथाहरु साङ्केतिक र बिम्बात्मक दृष्टिले सशक्त देखिन्छन् भने भित्रीजाडो, नेताका कुरा, रोबोट, आदेश, वरदान, चिन्ता आदि लघुकथाहरुमा प्रतिकात्मकताको सार्थक प्रयोग पाइन्छ । यसरी साङ्केतिक प्रस्तुति, बिम्ब, प्रतिक, आदिको प्रयोगले यस कृति भित्रका लघुकथालाई सशक्त र प्रभावपूर्ण बनाउनाका साथै कलात्मकतासमेत बनाएकाछन् । लघुकथाको संरचनाका उपर्युक्त पाँचओटा बुँदाहरु ‘रोडम्याप’ भित्रका सबै लघुकथाहरुले संवहन गरेका छन् । यस आधारमा यस संग्रह भित्रका लघुकथाहरुमा संरचनात्मक दुर्वलता प्रायः पाइँदैन् । लघुकथामा अत्यन्त छोटो र व्याख्या नगरिएको चोटिलो अभिव्यक्ति पाइन्छ । शिल्पसंरचनाका दृष्टिले पनि ‘रोडम्याप’ भित्रका भिन्नभिन्न शैलि र बान्कीका छन्, जसले गर्दा यी लघुकथाहरु स्बयम् विविधतामय बनेका छन् ।

४. कृतिगत आयाम र विस्तार
लघुकथाकार कृष्ण बजगाईंद्धारा लिखित ‘रोडम्याप’ शिर्षकको प्रस्तुत लघुकथासङ्ग्रहभित्र लघुत्तम र लघु आकार प्रकारका बैसठ्ठीओटा लघुकथाहरु सङ्गृहित छन् । यस कृतिभित्रका बैसठ्ठीओटै लघुकथाहरु लघुकथाको संरचनात्मक ढाँचामा नै लेखिएका छन् र ती आठ नौ पंक्तिदेखि लिएर एक पृष्ठ अर्थात तेईसचौबिस पृष्ठसम्मको आयाममा विस्तारित छन् ।

‘रोडम्याप’ भित्रका लघुकथाहरुको यो आयाम र विस्तार एककिसिमले सामान्य आकारप्रकार हो तापनि यस संग्रहका लघुकथाहरुले लघुकथाको वास्तविक आयाम र विस्तारको सीमालाई अतिक्रमण गरेका छैनन् । कतिपय लघुकथाहरुलाई कुनै सांकेतिक चिन्हद्धारा छुटाएर खण्डिकरण पनि गरिएको छ । यसक्रममा ‘प्रशंसा’, ‘रिस’, समाचार, कला, रोबोट, भित्रबाहिर, चिन्ता, मेसिन जस्ता लघुकथालाई सामान्य संकेतद्धारा दुईदुई खण्डमा छुट्याइएको छ र दोस्रो खण्ड कथ्यको उत्कर्षका रुपमा रहेको देखिन्छ । त्यस्तै आदेश लघुकथालाई तीन खण्डमा छुट्याइएको छ भने रिपोर्टर, आश्वासन, परम्परा, को हो जस्ता लघुकथालाई चारचार खण्डमा छुट्याइएका छन् । त्यस्तै त्रास लघुकथालाई छ ओटा खण्डहरुमा छुट्याइएको छ । खण्डिकरण गरिएका यी सबै लघुकथाहरुका अन्तिम खण्डले लघुकथाको कथ्यको उत्कर्षलाई अभिव्यञ्जित गरेको देखिन्छ ।

५. ‘रोडम्याप’ भित्रका लघुकथाका अन्तर्वस्तुः
लघुकथाकार कृष्ण बजगाईंको ‘रोडम्याप’ लघुकथासंग्रह भित्रका लघुकथाहरुमा अन्तर्वस्तुगत विविधता छ । नेपाली जीवन र समाजका विविध पाटाहरुका सूक्ष्म पक्षहरुलाई समेत यससंग्रहका लघुकथाहरुमा प्रस्तुत गरिएको पाइन्छ । नेपाली जीवन र समाजभित्र पनि धेरै आयामहरु छन् । धेरै किसिमका समाजभित्रका त्यहाँ भन्दा धेरै आयामहरु छन् । ती समाजका आयाम भित्रका परिवार र व्यक्तिहरु पनि छन् । ती सबै पक्षका कुनै न कुनै समस्या, घटनासन्दर्भ, विसङ्गत परिवेश आदिलाई यस संग्रहका लघुकथाहरुमा अन्तर्वस्तु बनाइएको छ ।

लघुकथाकार कृष्ण बजगाईं समकालीन युगजीवनका बेथितिहरु, बेमेलहरु, बिब्ल्याँटा परिस्थितिहरु, सङ्गतिहीनताहरु, अराजकताहरु र यावत् नकारात्मक प्रवृतिहरुबाट अत्यन्त आक्रान्त देखिन्छन् । यी यावत निषेधहरु अरु कहींका नभएर नेपाली जीवन र समाजकै भएकाले ती कुराहरुले उनलाई निकै नै संवेदित बनाएको देखिन्छ । अझ त्यसमा विदेशमा रहँदा स्वदेशका सङ्गतिहीनताले उनलाई आक्रान्त तुल्याउनु स्वभाविक हो । त्यसैले लघुकथाकार बजगाईंको ‘रोडम्याप’ लघुकथासंग्रह भित्रका लघुकथाहरुले यिनै अन्तर्वस्तुलाई समाएका छन् । खास गरेर यसकृति भित्रका लघुकथाहरुमा समकालीन नेपाली राजनीति परिवेश र त्यसमा देखिएका तमाम विकृतिहरु, सामाजिक परिवेश, मान्छेका वैयक्तिक मनोरचना, साहित्यिक क्षेत्रमा देखिएका सङ्गतिहीनता, धर्म, जाती, बर्ण आदिका कारण उत्पन्न असहिष्णु परिस्थिति र विखण्डन, प्रशासनिक क्षेत्रमा देखिएका विकृतिहरु र आर्थिक अनुशासनहीनता आदी विविध विषयवस्तुहरु समाहित भएका छन् ।

‘रोडम्याप’ लघुकथासंग्रह अन्तर्गतमा लघुकथाहरुमा समेटिएका अन्तर्वस्तु वा विषयवस्तुलाई मुख्य रुपमा यसप्रकार विश्लेषण गर्न सकिन्छ :–

५.१. लघुकथाकार कृष्ण बजगाईंको ‘रोडम्याप’ लघुकथासंग्रह भित्रका बैसट्ठिओटा लघुकथाहरु मध्ये करिव दुईदर्जन लघुकथाहरुको राजनीतिक संगतिहीनतालाई अभिव्यञ्जित गरेका छन् । राजनीतिक संरक्षणका आडमा गरिएका/हुने गरेका भ्रष्टाचार, दुराचार, अनैतिकता, विखण्डन, विध्वशं आदि विविध पक्षहरुलाई यहाँ यथार्थ रुपमा प्रस्तुत गरिएको छ । यस्ता लघुकथाहरुमा नेपालको राजनीतिक क्षेत्रमा देखिएका तमाम संगतिहीनतालाई देखाएर त्यसप्रतिको तीव्र व्यङ्ग्य गरिएको छ र अप्रत्यक्ष रुपमा सुधारको सङ्केत र सन्देश पनि दिन खोजिएको छ । रोडम्याप भित्रका लघुकथाहरुमा पाइने राजनीतिक सङ्गतिहीनताका मुख्य कथ्यसन्दर्भलाई सङ्क्षेपमा यसप्रकार देखाइन्छ ।
लघुकथा------अन्तर्वस्तु/कथ्यसन्दर्भ
१ रोडम्याप------राजनीतिक नेताहरुका दुश्चरित्रको अभिव्यक्ति ।
२ भित्र/बाहिर---- नेताहरुका बहुरुपि चरित्रप्रतिको तीव्र र सशक्त व्यङ्य ।
३ घोषणापत्र------आश्वासन र भाषणको खेती गर्ने नेताहरुको दुश्चरित्रताको प्रस्तुति ।
४ रिस----------नेताहरुको स्वार्थी, मगन्ते, गुण्डागर्दी आदि बहुरुपी चरित्रको अभिव्यक्ति ।
५ साङ्केतिक भाषा---राजनीतिक नेतृत्वका अराजकवादी र विखण्डनवादी प्रवृतिको अभिव्यक्ति ।
६ सल्लाह--------नेताहरुको स्वार्थी र विदेशमुखी प्रवृतिको चित्रण ।
७ आश्वासन-------नेताहरुको मगन्ते प्रवृतिको चित्रण ।
८ त्रास-----------राजनीतिक आडमा नातावादलाई प्रशय दिएर देश खोक्रयाउने प्रवृतिको चित्रण ।
९ नेताका कुरा-------संविधान निर्माण प्रति नेताहरुको उदासीनताको चित्रण ।
१० छेपारे रङ्ग------नेताहरुका स्वार्थमुखी छेपारे प्रवृति र भ्रष्टाचारको चित्रण ।
११ मन्त्रीको खराव सपना----मन्त्री/नेताहरुले गर्ने गरेका चरम आर्थिक अनुशासनहीनताको चित्रण ।
१२ बुख्याँचा–२--------नेताहरुलाई बुख्याँचाका रुपमा समिकरण र व्यङ्ग्य ।
१३ मुक्तिदाता-----नेपाली राजनीतिमा देखापरेका विकृतिप्रति व्यङ्ग्य ।
१४ रोबोट-------ध्वंसात्मक राजनीति गर्ने प्रवृतिप्रतिको तीब्र व्यङ्ग्य ।
१५ हे...हो..हा..हा..--नातावाद कृपावादप्रतिको व्यङ्ग्य र जनताको निरीहता ।
१६ भगवान-----नेताहरुका कमाउवृत्तिप्रतिको यथार्थ चित्रण ।
१७ पोसाकविहिन राजा----जातिय र भाषिक विखण्डनको दुष्प्रवृतिप्रति व्यङ्ग्य ।
१८ मूर्दाशान्ति-------ध्वंसात्मक राजनीतिक गतिविधि प्रतिको विमत्ति ।
१९ स्वर्णपुरुष-----नेताहरुका कमाउमनोवृति र स्वार्थ चरित्रको उद्घाटन ।
२० दुःखको पहाड---सशस्त्र द्धन्द्धजन्य परिणतिको प्रस्तुति ।
२१ को हो ?-----युगीन सन्दर्भ र द्धन्द्धजन्य परिणतिको प्रस्तुति ।
२२ बाटो--------ध्वंसात्मक राजनीति गरेर सम्पन्न भएकाहरु प्रति व्यङ्ग्य ।

वर्तमान नेपाली राजनीतिक परिदृश्यमा देखिएका तमाम सङ्गतिहीनतालाई उपयुक्त लघुकथाहरुले राम्ररी देखाएका छन् । देशलाई अद्योगतितिर लैजाने नेताहरुका सत्तामुखी प्रवृति र पदलोलुपता, राजनीतिका आडमा हुनेगरेका अनाचार, दुराचार र भ्रष्टाचार, नातावाद र कृपावाद, नेताहरुका बहुरुपी र छद्मभेषी चरित्रका विविध रुपहरु, जातिय, धार्मिक, भाषिक आदी विखण्डन प्रतिको तीव्र विमति आदी विविध पक्षहरुलाई ‘रोडम्याप’ भित्रका लघुकथाले राम्ररी देखाएका छन् । वर्तमान नेपाली राजनीति र त्यसका आडमा हुने गरेका तमाम निषेधात्मक वा नकारात्मक प्रवृतिलाई सूत्रात्मक र चोटिलो तरिकाले प्रस्तुत गरिएकाले उपयुक्त लघुकथाहरु व्यङ्ग्यात्मक समेत रहेका छन् ।

५.२. सामाजिक परिवेश र समस्याको प्रस्तुतिः
प्रस्तुत रोडम्याप लघुकथासंग्रहका कथाहरु मध्ये एकदर्जन भन्दा बढी कथाहरु सामाजिक समस्याको प्रस्तुतिमा केन्द्रित छन् र ती पूरै सामाजिक परिवेशसंग सक्बद्ध छन् । देहव्यापार, गरिवि, अभाव, राजनीति, जाति, धर्म आदिका नाममा हराउँदै जान थालेको मानवीयता, नारीवादी नारीहरुका हैकमवाद प्रवृति, नेपाली समाजमा पुस्तान्तरणका कारण देखिएका समस्या, नारीद्धारा नारीस्वतन्त्रताको दुरुपयोग, समाजसेवाका नाममा धन कमाउने प्रवृति,लोग्ने विदेश गएका नारीहरुको यौनअसन्तुष्टि, पुरुषका हैकमवादी मानसिकता, भौतिक प्रेम र प्रेममा हार्दिकता हराएको भाव, महिला अधिकारवादी नेतृहरुको तडकभडक आदि विविध अन्तर्वस्तुबाट यस सङ्ग्रहभित्रका लघुकथाहरुमा पाइने सामाजिक समस्याका सन्दर्भहरुलाई यसप्रकार देखाइन्छ :–
लघुकथा--------अन्तर्वस्तु/कथ्यसन्दर्भ
१ 'आशा'------नारीशरीरको प्रदर्शनका माध्यमबाट अविवाहित नारीको मनस्थितिको प्रस्तुति ।
२ 'भोकहड्ताल'----भोकै बस्न विवश गरिव जनताप्रति सरकारको उदासीनता ।
३ 'कला'---------बेचिन विवश नेपाली युवतीहरुको यथार्थको प्रस्तुति ।
४ 'मानवियता'-----जाती, धर्म, राजनीति आदीका नाममा मानवियताको मूल्यक्षय ।
५ 'पुरुषअङ्ग'------नारीवादलाई कमाई खाने माध्यम बनाउँने प्रवृतिको चित्रण ।
६ 'परिवर्तन'------पुस्तान्तरणका कारण आएको परिवर्तन र नारी स्वतन्त्रताको दुरुपयोग ।
७ 'समाजसेवा'-----समाजसेववको नाममा आफ्नो स्वार्थ पूर्ति गर्ने प्रवृतिको नियन्त्रण ।
८ 'लोग्नेको जात'----नारी समलिङ्गी पुरुषको वास्तविक पुरुष मनोवृत्तिको प्रस्तुति ।
९ 'पेन्डिङ्फाइल'-----गरिवि र अभावको परिणतिजन्य परिस्थितिको चित्रण ।
१० 'अर्ती'----------पुस्तान्तर सोचाई, चिन्तन र चेतनामा आएको भिन्नताको प्रस्तुति ।
११ 'फास्टप्रेम'-----प्रेममा संवेदनात्मकता र हार्दिकता हराउँदै जानलागेको प्रवृतिप्रति व्यङ्ग्य ।
१२ 'कलरम्याचिङ'---महिला अधिकारवादी नेतृत्वको आडम्बरी प्रवृतिको चित्रण ।
१३ 'दुःख'---------पारिवारिक समस्याका माध्यमबाट सामाजिक यथार्थको प्रस्तुति ।
१४ 'मेसिन' -------यान्त्रिक जीवनशैली बाँचिरहेको पुरुषको यथार्थ अभिव्यक्त ।

नेपाली जीवन र समाजमा देखिएका यावत् परिदृश्यहरु पनि यस सङ्ग्रहभित्रका लघुकथाहरुमा प्रस्तुत भएका छन् । लघुकथाहरु लघु आकारका हुने भएकोले समाजको व्यापक चित्रण यस्ता रचनामा पाइँदैनन् तर समाजका सानासाना समस्या र परिवेशलाई सटिक रुपमा उतार्ने काम चाहिं लघुकथामा हुन्छ । त्यसैअनुरुप रोडम्याप अन्तर्गतका कतिपय लघुकथाहरुमा पनि समाजका सानासाना र सूक्ष्मतम् पक्षलाई देखाउँदै नारीशरीरको विज्ञापनदेखि लिएर आजको नेपाली समाजमा देखिएको पुस्तान्तर समस्या हुँदै आजका मान्छेमा देखिएको संवेदनहीनता र अन्य विविध सामाजिक समस्यालाई पनि प्रस्तुत गरिएको पाइन्छ ।

५.३. वैयक्तिक परिवेश र मनोरचनाको अभिव्यक्ति :-
लघुकथाकार कृष्ण बजगाईंको ‘रोडम्याप’ लघुकथासंग्रह भित्रका लघुकथाहरुमा मान्छेका वैयक्तिक राग, संवेग, आवेग आदि मनोरचना र मनोदशालाई पनि अभिव्यञ्जित गरिएको छ । यसबाट लघुकथाकार बजगाईं मान्छेका वैयक्तिक मनोरचना छाम्न र उसका मनोजगत भित्र प्रवेश गरेर त्यसलाई केलाउन पनि सक्षम हँदैछन् भन्ने स्पष्ट हुन्छ । यसक्रममा मान्छेका वैयक्तिक आवेगदेखि लिएर दमित यौन चाहनालाई पनि अभिव्यञ्जित गरिएको पाइन्छ । यस लघुकथा संग्रहभित्रका लघुकथाहरुमा पाइने वैयक्तित परिवेश, मनोरचना र मान्छेका मनोदशाका संवेगसंग सम्वद्ध सन्दर्भहरु यसप्रकार देखाइन्छ :–
लघुकथा-------अन्तर्वस्तु/कथ्यसन्दर्भ
१ विज्ञापन------जाति, धर्म, वर्ण, लिङ्ग आदिमा विभाजित नेपाली मानसिकताप्रति व्यङ्ग्य ।
२ प्रशंसा------पत्नीको बहुरुपी चरित्र र पति(पुरुष)को निरिहता ।
३ तेस्रोलिङ्गी----आत्मरतिमा रमाउने आजका सहरिया युवाहरुको चित्रण ।
४ बिमार------मान्छेका तत्कालिक पीडा र जीवन अवसानका बिच समिकरण ।
५ यन्त्रवत्–२----नेपाली समाजका अभाव, यान्त्रिक र प्रविधि, संस्कृतिको अन्तर्विरोध ।
६ भित्री जाडो-----भित्री जाडोका रुपमा शरीरको भोकको समिकरण र यौन असन्तुष्टि ।
७ आदेश------लोग्ने विदेसिएका श्रीमतीहरुको यौन असन्तुष्टि र तडकभडक ।
८ चिन्ता-----समयले ल्याएको परिवर्तन र यौन मनोरचनाको अभिव्यक्ति ।
९ भोग------भोगेपछि सबै प्राप्तिहरु फिका लाग्छन् भन्ने मनोभाव ।

यस संग्रहमा कतिपय लघुकथाहरु मान्छेका नितान्त वैयक्तिक परिवेशलाई अभिव्यञ्जित गर्ने खालका छन् र ती मध्ये अधिकांश कथाले मान्छेका मनोरचना र मनोदशालाई अभिव्यक्त गर्छन् । यस्ता लघुकथाहरु भित्री मनोजगत्संग सम्वद्ध भएर आएका छन् भन्ने कुरा उपर्युक्त लघुकथाले देखाउँछन् । नेपाली मानसिकतामा आएको विखण्डन, शहरीया मान्छे र अझ विशेषता, युवा पुस्तामा देखिएको सांस्कृतिक र जीवनमूल्य प्रति आएको विचलन, यौनकुण्ठा र मनोदशा, आजको नेपाली जीवनका भोगाई आदी विविध पक्षहरुलाई मुक्तकीय शैलीमा प्रस्तुत गर्नू यसकृतिका कृतिकार बजगाईंको विशेषता हो भन्ने कुरालाई पनि यी लघुकथाले अभिव्यक्त गर्छन् ।

५.४. साहित्यिक/लेखकीय नकारात्मककताको प्रस्तुति:-
यस लघुकथा संग्रहका कृतिकारले नेपाली लेखकहरुका नकारात्मक प्रवृतिलाई अभिव्यञ्जित गर्दै नेपाली साहित्यिक क्षेत्रमा देखिएका विकृति, विसंगति, असहिष्णुता, खुट्टातान्ने प्रवृति, आलोचनात्मक दृष्टिकोण, साहित्यिक पुरस्कार÷सम्मानमा देखिएको प्रदुषण आदि विविध पक्षलाई प्रस्तुत गरेर अप्रत्यक्ष रुपमा त्यस्ता नकारात्मक प्रदुषणबाट साहित्यिक क्षेत्र र लेखकीय मानसिकतालाई मुक्त गर्नूपर्ने भाव प्रस्तुत गरिएको छ । साहित्यिक÷लेखकीय परिवृत्तका नकारात्मकतालाई अभिव्यञ्जित गर्ने लघुकथाका कथ्यसन्दर्भलाई यसप्रकार देखाइन्छ :–
लघुकथा------अन्तर्वस्तु/कथ्यसन्दर्भ
१ मित्रता------आलोचनात्मक लेख मात्र बिकाउ हुने र लेखकीय इमान्दारी हराएको भाव ।
२ शत्रु--------लेखकहरुले एकले अर्कोलाई ईष्र्या, आलोचना र शत्रुतापूर्ण व्यवहार गर्ने प्रवृति ।
३ ईष्या -----लेखकहरुमा क्षुद्रता र रक्स्याहा लेखक हुनुका मनोवृतिको चित्रण ।
४ परम्परा ----आफ्ना रचनालाई सुन मान्ने र अरुका रचनालाई घुन मान्ने प्रवृतिको यथार्थ ।
५ पुरस्कार-----साहित्यिक पुरस्कारहरु सत्ताकै परिवृत्तमा घुमेको विकृतिप्रति व्यङ्ग्य ।

तमाम निषेधहरु, विकृतिहरु, विसंगतिहरु, नकारात्मक प्रवृति आदिलाई देखाएर सुधारको सन्देश दिने र दिनु पर्ने साहित्यिक क्षेत्र पनि विकार र प्रदुषणबाट मुक्त छैन भन्ने कुरालाई उपयुक्त लघुकथाहरुले अभिव्याञ्जित गरेका छन् । साहित्यमा देखिएका यस्ता प्रदुषणलाई देखाएर साहित्यलाई पवित्र तुल्याउनु पर्ने धारणा पनि यहाँ देखिन्छ । यसप्रकार नेपाली लेखकीय/साहित्यिक परिवृत्तका सङ्गतिहीनता प्रतिपनि यी लघुकथाहरुमा व्यङ्ग्य गरिएको छ ।

५.५. लोक कथात्मक शैली, धार्मिक परिवृत्त र अन्य सङ्गतिहीनताको अभिव्यक्ति :-
यस कृतिका कृतिकार कृष्ण बजगाईंको ‘रोडम्याप’ लघुकथासंग्रह भित्रका लघुकथाहरु मध्ये आधादर्जन लघुकथाहरु लोककथात्मक शैली र ढाँचामा लेखिएका छन् । यस्ता लघुकथाले पनि नेपाली समाज, राजनीति, प्रशासन आदि विविध क्षेत्रमा देखिएका सङ्गतिहिनता प्रति व्यङ्ग्य गरेका छन् भने ‘दर्शन’ र ‘लोकतन्त्र’ जस्ता लघुकथाले धार्मिक क्षेत्रमा देखिएका विकार र प्रदुषणलाई अभिव्याञ्जित गरेका छन् । अन्य केहि लघुकथामा भने प्रशासनिक क्षेत्रका विकृतिलाई औँल्याउँदै राजनीतिले प्रशासन लगायत सबै क्षेत्रमा आक्रमण गरिएको भाव देखाएको छ । लोककथात्मक शैलीका र अन्य विविध अन्तर्वस्तु एवम् भावलाई प्रस्तुत गर्ने लघुकथाहरुका मुख्य कथ्यसन्दर्भ तथा अन्तर्वस्तुलाई यस प्रकार देखाइन्छ :-
लघुकथा---------अन्तर्वस्तु/कथ्यसन्दर्भ
१ अहम्म----------मस्तिष्कद्धारा सबै इन्द्रिय संञ्चालित हुन्छन् भन्ने भाव ।
२ सोमशर्माको सपना---बन्दुकका आडमा सबै क्षेत्रमा कब्जा गर्न खोज्ने राजनीतिप्रति व्यङ्ग्य ।
३ तीन बाँदर-----राजनीतिक नेताहरुका दुच्छर प्रवृतिलाई लोककथात्मक शैलीमा व्यङ्ग्य ।
४ भ्यागुते उफ्राई----राजनीतिकका आडमा महँगी बढेको कुरालाई लोककथात्मक शैलीमा प्रस्तुति ।
५ वरदान----------आजको राजनीतिक दुच्छर प्रवृति प्रति दन्त्यकथात्मक शैलीमा व्यङ्ग्य ।
६ बन्दुक र गोली------उच्च पदस्थ व्यक्तिहरुबाट नै शस्त्रास्त्रद्धारा संहार हुने भाव ।
७ दर्शन-------------धार्मिक क्षेत्रका विकृति र धार्मिक आडम्बरी प्रवृति प्रति व्यङ्ग्य ।
८ लोकतन्त्र-------- धर्म, जाति र सम्प्रदायका नाममा हुने गरेका अनाचारको चित्रण ।
९ झगडाको गुँड-------धर्म, राजनीति आदिका कारणबाट मान्छेमा देखिएको असहिष्णुता ।
१० गोजी नभएको सुट---प्रशासनिक क्षेत्रमा देखिएका विकृति र घुसखोरी प्रवृति प्रति व्यङ्ग्य ।
११ समाचार---------केन्द्र र स्थानियताका दुई भिन्न सङ्गतिहीनताको यथार्थ चित्रण ।
१२ रिपोर्टर----------राजनीतिको संरक्षणमा सबै किसिमका विकृति मौलाएको भाव ।

यसप्रकार उपर्युक्त लघुकथाहरुले हाम्रो नेपाली जीवन र समाजका सबै पक्षमा देखिएका विकृति र विसंगतिलाई देखाएर व्यङ्ग्य समेत गरेका छन् । देशलाई आक्रान्त बनाउने आजको राजनीतिदेखि लिएर युगजीवनका धेरै पक्षहरुलाई उपर्युक्त लघुकथाहरुले मूल अन्तर्वस्तु बनाएका छन् ।

६. समापन,
‘रोडम्याप’ कृतिका कृतिकार कृष्ण बजगाईं समकालीन नेपाली लघुकथाका क्षेत्रमा परिचित नाम हो । छोटा, सरल, प्रभावकारी, गतिला र घतिला लघुकथा लेखेर उनले लघुकथामा पनि व्यङ्ग्य पस्कने एउटा सटिक शैली अँगालेका छन् । मुक्तकीय झड्का दिनका उनका यी लघुकथाहरुमा अत्यन्त सूक्ष्म र साङ्केतिक रुपमा केहि नयाँ विचार र दृष्टिकोणहरु पनि आएका छन् । बजगाईँका लघुकथा समकालीन युगचेतनाका बिम्बहरुबाट निर्मित छन् । त्यसैले उनका लघुकथामा समकालीन नेपाली जीवन र समाजका सूक्ष्म पक्ष प्रतिबिम्बित छन् र यी लघुकथाहरुलाई समकालीन युगचेतनाका बिम्बका रुपमा मानिन्छ । यसप्रकार युगीन यथार्र्थका विविध पाटाहरुलाई लघुकथाका माध्यमबाट देखाउनु उनको विशेषता हो ।

त्रिभुवन विश्वविद्यालय
नेपाली केन्द्रिय विभाग, कीर्तिपुर



प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 3 चैत्र, 2066

लेखकका अन्य रचनाहरु