आशाको खुशी

- सर सैय्यद अहमद

निबन्ध

ए आकाशमा खैरा बादलहरूमाझ चट्याङ परेझैं चम्कने इन्द्रेणी ! ए आकाशका तारागण र तिनका मनमोहक चमक ! ए उच्च पहाडहरूका आकाशसँग कुरा गर्ने कुहिरोले ढाकिएका टाकुराहरू ! ए पहाडका वैभशाली बाटिका ! ए गगनचुम्बी शिखरहरूको चित्ताकर्षक बोट–बिरुवा ! तिमीहरू हाम्रो वरिपरिका रुख बिरुवा, हरियो खेती र सलल बग्ने नदी–नालाहरूभन्दा बढी हर्षित किन देखिन्छौ, किन ? तिमीहरू हामीबाट धेरै टाढा छौ भनेर त हो नि ? हो, यसै दुरीले नै तिमीहरूलाई सुन्दरता प्रदान गरेको हो । यसै दुरीले गर्दा नै तिम्रो निलो रङ्गलाई हाम्रो आँखाले मन पराएको हो ।

हाम्रो जिन्दगीमा पनि जुन चिज धेरै टाढा छ त्यसैले हामीलाई खुशी तुल्याउँछ । त्यो चिज के हो ? के बुद्धि हो जसलाई सबैले सबैभन्दा उत्कृष्ट गन्छन् ? के यसले हामीलाई आइन्दाको खुशीको विश्वास दिलाउन सक्छ ? अहँ, कदापि सक्दैन । यसको मैदान त अत्यन्तै साँघुरो छ । धेरैमा धेरै प्रकृतिसम्म यसको पहुँँच हुन सक्छ । यो कुरा सबैको सामुन्ने छर्लङ्ग छ ।

ए उज्जवल मुहार भएकी विश्वासकी सुन्दर एकलपुत्री आशा ! यो ईश्वरीय प्रकाश तिमीसँगै छ । तिमीले नै हाम्रो कठिनाइका घडीहरूमा हामीलाई सान्त्वना दिन्छौ । तिमी नै संकटकालमा हाम्रो मद्दत गर्छौ । तिम्रै कारणले धेरै टाढा निर्जन ठाममा रहेका खुशीहरू अत्यन्तै समीप लाग्छ । तिम्रै सहाराले हामी जिन्दगीका कठिनभन्दा कठिन उपत्यका पार गर्छाै । तिम्रै कारणले चीर निन्द्रामा रहेका विचारहरू ब्युँझन्छन् । तिम्रै कृपाले खुशी, खुशीका लागि प्रसिद्धि, प्रसिद्धिका लागि बहादुरी, बहादुरीका लागि दानशिलता, दानशिलताका लागि स्नेह र स्नेहका लागि सद्कर्म तयार छन् । मनुष्यका सारा खुशी तथा सुकर्महरू तिम्रै अधिनमा छन् र तिम्रै आज्ञाकारी छन् । प्रथमपटक पापमा फस्ने त्यो मनुष्य जब शैतान (दुष्टात्मा) को चक्रब्युहमा फस्यो र सम्पूर्ण सद्कर्महरूले उसलाई छोडेर कुर्कमहरूले घे¥यो त्यति बेला तिमीले मात्र उसलाई साथ दियौ । तिमीले नै त्यस निराशालाई निराशा बन्न दिएनौ । तिमीले नै त्यस मृत्युमा जकडिइसकेको हृदयलाई मर्न दिएनौ । तिमीले नै उसलाई त्यस अपमानित अवस्थाबाट निकालेर फेरि उच्च स्थानमा पु¥यायौ जहाँ फरिश्ता (देवदूत) हरूले पनि उसलाई ढोगे । (यहाँ बाइबल र कुरआनमा उल्लेखित प्रथम मानव आदमको इतिहासलाई इंगित गरिएकोछ ।)

सयौं वर्षसम्म आफ्नै जातिका मान्छेहरूबाट पीडित त्यस सत्यवादी ईशदूतलाई पनि तिम्रै सुन्दर मुहारले साहस दिएकोथियो ।

त्यो प्रथम माझी जब सामुद्रिक आँधीले बगिरहेको थियो; निराशाको अतिरिक्त उसले केही देखिरहेको थिएन; त्यति बेला तिमी नै त्यस संकटमा उसको डुंगा खियायौ । उसको समस्या समाधान ग¥यौ । तिम्रै कृपाले जुदी पहाडको पवित्र शिखरलाई सम्मान प्राप्त भयो । जैतूनको हरियो डाँठ वफादार परेवाको चुच्चोमा भेंटको सन्देशझैं पुग्यो । जेजति श्रीवृद्धि र कृपादृष्टि भएको छ, तिम्रै कारणले भएको छ ।

ए आकाशको ज्योति ! ए निराश मनहरूको खुशी– आशा ! तिम्रै ताजा एवम् हरिया बगैंचाबाट सवैलाई प्रेमको फल प्राप्त हुन्छ । तिमीमा नै हरेक कष्टको ओखति छ । तिम्रै कारणले प्रत्येक दुःखमा आराम छ । बुद्धिको बीच जंगलमा भौंतारिंदै थकित बटुवा फेरि फेरि तिम्रै घना बगैंचाको हरिया वृक्ष–बाटिकाको छहारी खोज्छ । यहाँको शितल पवन, सुरिला आवाजयुक्त पशु पंक्षीहरूको राग, बग्ने नदी–नालाहरूका छाल–तरंगले उसको हृदयलाई राहत दिन्छन् । उसको मृत विचारहरूलाई फेरिबाट जीवित तुल्याइदिन्छन् । उसका तमाम चिन्ता दूर हुन्छन् र यूगौं यूगका खुशीहरू फर्केर आउँछन् ।

हेर, निर्दाेष विवश शिशु कोक्रोमा सुतेको छ । उसको दुःखी आमा आफ्नो दिनचर्यामा लागेकिछिन् र त्यस कोक्रोको डोरी पनि हल्लाइरहेकिछिन् । हात काममा तर मन भने बच्चामा । मुखले बच्चालाई लोरी दिन्छिन्—

“सुत मेरो नानी सुत !
ए आफ्नो पिताको मूर्ति, मेरो दिलको शितल सुत !
ए मेरो दिलको कोपिला ! सुत ।
बढ, फल, फक्र, पूmल ।
तिमीमा कहिल्यै पतझड नआओस् ।
तिम्रो हांगामा कहिल्यै कुनै काँडा ननिक्लोस् ।
तिमीलाई कुनै कठिन घडि नआओस् ।
तिम्रो आमाबाबाले भोगेका कुनै कठिनाई तिम्ले भोग्नु नपरोस् ।
सुत, मेरो नानी सुत !
मेरो आँखाको ज्योति, मेरो दिलको सुख, मेरा बाबै सुत !
तिम्रो मुहार चन्द्रभन्दा पनि उज्जवल हुनेछ ।
तिम्रो स्वभाव तिम्रो पिताभन्दा पनि राम्रो हुनेछ ।
तिम्रो प्रसिद्धि, तिम्रो क्षमता, तिम्रो प्रेम जुन तिमीले मलाई गर्नेछौ
अन्ततः मेरो मनलाई खुशी दिनेछ, सान्त्वना दिनेछ ।
तिम्रो हाँसो हाम्रो अँध्यारो घरको प्रकाश हुनेछ ।
तिम्रा मीठा मीठा कुराले हाम्रो दुःखलाई दूर गर्नेछ ।
तिम्रा आवाज हाम्रालागि हर्षित तुल्याउने राग हुनेछ ।
सुत मेरो बच्चा सुत !
ए हाम्रो आशाको बिरुवा सुत !

भन, जब हामी यस संसारबाट बिदा हुनेछौं तब तिमीले के गर्नेछौ ?
तिमी हाम्रो निस्प्राण शरीरनिर खडा हुनेछौ ।
तिमीले सोध्नेछौ तर हामी भने केही बोल्ने छैनौ ।
तिमी रुनेछौ तर हामीले कुनै दया गर्ने छैनौ ।
ए मेरो प्यारो रुने नानी !
तिमी हाम्रो लाशनिर आएर हाम्रो आत्मालाई खुशी पार्नेछौ ।
आह ! हामी हुने छैनौ तर हाम्रो यादमा तिमीले आँसु बहाउनेछौ ।
आफ्नो आमाको मायालु मुहार, आफ्नो बाबाको उज्जवल अनुहार याद गर्नेछौ ।
आह, हामीलाई यहि कुराको दुःख छ ।
त्यति बेला हाम्रो स्नेह–प्रेमलाई याद गरी तिमी दुःखी हुनेछौ ।
सुत मेरो नानी सुत ।
सुत मेरो बाबै सुत ।”

यो आशाको खुशी आमालाई त्यस बखत थियो जब बच्चाको मुखमा बोली थिएन । तर, जब ऊ अझै ठूलो भयो र निर्दाेष हाँसोले आफ्नो आमाको दिललाई शितलता दिन थाल्यो; खुशी पार्न थाल्यो; आमा आमा भन्न सिक्यो र उसको प्यारो आवाज अधुरा शब्दहरूमा उनको कानमा गुञ्जन थाल्यो; आँसुले आफ्नो आमाको प्रेमको आगोलाई भड्काउन थाल्यो; विद्यालयसँग उसको सरोकार भयो; दिउँसो पढेको पाठ दुःखी भई राति आफ्नी आमालाई सुनाउन थाल्यो; अनि जब मिरमिरेको छानोमुनि उठेर हातमुख धोईओरी आफ्ना मातापिताका साथ जब बिहानको उपासनामा सामेल हुन थाल्यो र आफ्नो निष्पाप दिल तथा निश्छल वचनले देखाउटीपनको लागि होइन कि अन्तरआत्माले जब परम प्रभुको नाम लिन थाल्यो तब यो आशाको खुशी झन् बढेर आयो । उसका मातापिता त्यस निर्दाेष बच्चाको सच्चा सहानुभूति देखेर कति हर्षित हुन्छन् ? आह ! हाम्रो प्यारो आशा ! उम्मेद ! तिमी नै हौ जो कोक्रोदेखि चिहानसम्म हाम्रो साथ रहन्छौ ।

हेर, त्यो वृद्धलाई । अन्धो छ । आफ्नो घरमा बसेर रोइरहन्छ । उसको प्रिय–पुत्र भेडाको हुलबाट हरायो । उसले छोरोलाई खोज्छ तर भेट्दैन । उदास छ ऊ तर आशा मारेको छैन । दाँतले च्यातिएको रक्ताम्मे कुर्ता देख्छ तर अझै छोरो भेट्दैन भनेर निराश छैन । भोकले बेहाल छ । चिन्ताले दुब्लाएको छ । रुँदारुँदै आँखाहरू अन्धो भइसकेका छन् । कुनै खुशी उसको पक्षमा छैन तर एउटा उम्मेद छ जसले उसलाई भेटको आशामा जीवित र त्यस उत्साहमा खुशी राखेकोछ । (यहाँ बाइबल र कुरआनमा उल्लेखित ईशदूत याकूबको इतिहासलाई इंगित गरिएकोछ ।)

हेर त्यस निर्दाेष निष्पाप कैदीलाई ! अँध्यारो कुवाँको सात तहखानामा थुनिएको छ । सूर्यझैं चम्कने उसको मुहार मलिन भएको छ । ऊ आफूभित्र र मुलुकबाट बिछोडिएको विदेशी र अरू धर्म सम्प्रदायका मानिसहरूको चंगुलमा कैद छ । वृद्ध पिताको चिन्ताले उसको आत्मालाई पिरोलेको छ । प्रिय दाजुभाइहरूसँगको बिछोडले उसको आत्मा रोइरहेकोछ । कारागारको कठिनाई, त्यसको शुन्यता, त्यसको घुप्प अँध्यारोपन र त्यसमा आफ्ना निर्दाेशिताको सोचाइले उसलाई सदैव चिन्तित तुल्याइराख्छ । त्यस समय कोही उसको साथी छैन । तर ए अमर आशा ! तिमीमै उसको खुशी छ । (यहाँ ईश्वरीय ग्रन्थ बाइबल र कुरआनमा ईशदूत युसुफको वृत्तान्ततर्फ इंगित गरिएको छ ।)

त्यो बहादुर सिपाही रणभूमिमा तैनाथ छ । अभ्यास गर्दागर्दै थाकिसकेकोछ । हजारौं खतराको सम्भावना छ । तर सबैमा तिमीले गर्दा नै हौसला छाएकोछ । युद्ध भूमिमा जब बहादुरहरूका पंक्तिहरू मौन खडा हुन्छन् र रणभूमि सुनसान हुन्छ; मनमा अनौठो किसिमको भयमिश्रित साहस हुन्छ; युद्धको समय हुन्छ; युद्धको बिगुलको आवाज बहादुर सिपाहीको कानमा गुञ्जन्छ; ऊ आँखा उघारेर अत्यन्त साहसका साथ बिलकुल निडर भएर लडाइको मैदानलाई नियाल्दछ । जब बिजुलीझैं चम्किला तलवार र संगीनहरू उसको आँखासामुन्ने हुन्छन्, जब मेघ गर्जनझैं पड्कने पहाडजस्तै आगोको गोला बर्साउने तोपहरूको आवाज उसले सुन्छ र जब आफ्नो साथीलाई रगतमा लतपतिएको अवस्थामा जमीनमा उदांगो परेको उसले देख्छ तब ए बहादुरहरूको पाखुराका शक्ति ! ए बहादुर साहसकी आमा ! तिम्रै कारणले विजयको अभिलाषाले उसको मनलाई हौसला दिन्छ ।

त्यो समाजसेवी आफ्नो समुदाय र समाजको कल्याणको लागि चिन्तित रहन्छ । दिनरात आफ्नो मन जलाउँछ । हर समय भलाईका उपायहरू पहिल्याइरहन्छ । त्यसको खोजीमा दुर्गम स्थलहरूको भ्रमण गर्छ । परिचित र अपरिचतलाई भेट्छ । प्रत्येकसँगको कुराकानीमा आफ्नो कामको कुराको खोजी गर्छ । तर, जसको भलाई चाहन्छ उनैलाई सत्रुको रूपमा पाउँछ । उनीहरूले नै उसलाई पागल र जंगली भन्छन् । मित्रहरूले उसलाई पागल ठान्छन् । धर्मविद्हरूले अधर्मी घोषित गरिने धर्मादेशको डर देखाउँछन् ।

वह भला किसकी बात माने हैं
भाई सैय्यद तो कुछ दीवाने हैं

अर्थात्– उसले कसको कुरा पो मानेको छ र ? ऊ त अलिक सन्की पो छ......।

साथीहरूले साथ दिन्छन् तर हाँ हाँ गरी मेहनत र अन्तरात्माबाट टाढा रहेर सहानुभूति जताउँछन् । उसले कहीँ चैन पाउँदैन । उसले कसैलाई आफ्नो हितैषी पाउँदैन । उसको मन कसैमाथि टक्क अड्न सकेन तर ए तडपिरहेको दिलको राहत र ए टुक्रिएको दिलको सान्त्वना ! तिमी हरदम मेरो साथ छौ । तिमी नै हाम्रो अन्तरात्माको खुशी हौ । तिमी नै हाम्रो संकटकालको सारथी हौ । तिम्रो हौसलाद्वारा हामी आफ्नो लक्ष्यसम्म पुग्छौं । तिम्रै कारणले हामी लक्ष्य पूरा गर्नेछौं । प्रिय आशा ! तिमी सदा हाम्रो मनको खुशी बनी रहू ।

ए अमर आशा ! जब जिन्दगी अन्तिम दोसाँधमा रहन्छ; सांसारिक जीवनको सूर्य अस्ताउनै लागेको हुन्छ; हातगोडामा ताप हुँदैन; रंग फिका पर्दै हुन्छ; मुहारमा मृत्यु छाएको हुन्छ, हावा हावामा, पानी पानीमा, माटो माटोमा बिलीन हुन आँटेको हुन्छ त्यति बेला तिम्रै सहाराले त्यो कठिन घडी सुगम बन्दछ ।

त्यस बखत मलिन अनुहार, बिस्तारै बिस्तारै हल्लिरहेका ओठहरू अचेतावस्थामा बन्द हुँदैगरेका आँखाहरू र अचेत अवस्थाको समुद्रमा डुबेको आत्मालाई तिम्रै सम्झना हुन्छ; तिम्रै उज्जवल मुहार सामुन्ने हुन्छ; तिम्रै आवाज कानमा पर्छ अनि एउटा नयाँ आत्मा तथा ताजा खुशी प्राप्त हुन्छ र एउटा नयाँ एवम् अमर जिन्दगीको आशा हुन्छ जसमा अनन्तकालसम्मको खुशी प्राप्त हुनेछ ।

यो दुःख कष्टको समय हाम्रालागि तिम्रै कारणले बसन्त ऋतु साबित हुन्छ । यस अमर खुशीको उम्मेदले तमाम सांसारिक दुःख, चिन्ता तथा शारीरिक कष्टहरूलाई भुलाइदिन्छ र दुःखी साँझलाई खुशीको बिहानीमा बदलिदिन्छ जबकि मृत्युले मानिसको मनमा अत्यन्त भयानक भावना पैदा गरिरहेकोहुन्छ ।

र, हाम्रो आँखाबाट ओझेलको अर्काे संसार जसमा हामीलाई सदाको लागि रहनुपर्नेछ, जहाँ सूर्य र युगयुगान्तरको लहर पनि पुगेको छैन त्यहाँ तिम्रो मार्ग तीन चिजले पूरा हुनेछ– आस्थाको उपहार, उम्मेदको मार्गदर्शक र मृत्युको सवारीले । तर, ती सबै चिजहरूलाई सबभन्दा बढी शक्ति प्राप्त हुन्छ त्यस आस्थाको सुन्दर छोरीबाट जसको प्यारो नाम हो ‘आशा’ । (यहाँ स्वर्गको परिकल्पना गरिएकोछ ।)

अविश्वासी (अल्लाहमाथि आस्था नभएका) हरूलाई मृत्युको कठिन घडिमा कुनै आशा हुँदैन भन्ने केही मानिसहरूको धारणा छ । तर, म देख्छु तिम्रो राज्य त्यहाँ पनि छ । प्रलयमाथि विश्वास नगर्नेहरूले पनि तमाम जिन्दगीका दुःख–कष्टहरू अब यहीँ समाप्त हुँदैछन् भन्ने ठान्दछन् । उनीहरू अब कुनै दुःख कष्ट हुने छैन भन्ने आशा गर्दछन् । ऊ अब त्यस कष्टकर नहुने जमानाको उम्मेदमा अत्यन्त खुशी हुन्छ र दुःखको यूगको अन्त्य हुने खुशीमा प्राण त्याग गर्छ ।

(अलिगढ युनिभर्सिटीका संस्थापक सर सैय्यद अहमद त्यसताका प्रख्यात विचारक, लोकप्रिय समाज सुधारक र क्रान्तिकारी व्यक्तित्व थिए । उनका निकै लोकप्रिय उर्दू पुस्तक सर सैय्यदका केही आलेखहरुबाट यो लेख अनुवाद गरिएको हो ।)
अनुवादः जाकिर हुसैन

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 14 माघ, 2066

लेखकका अन्य रचनाहरु