भूगोलभरि गुञ्जिरहने नारायणगोपाल

- नरेन्द्रराज प्रसाई

एउटा मान्छेको मायाले कति फरक पर्द छ जिन्दगीमा
एउटा साथीको साथले कति फरक पर्द छ जिउनुमा ।

नारायणगोपालले गाएका प्रायः प्रत्येक गीतले जनजनको हृदयको ढुकढुकीलाई छुने गर्छन् । नेपाली गीतिसंसारमा नारायणगोपाल नै एउटा भाग्यमानी गायक हुन् जो नेपालका प्रत्येक गाउँबेसी, पहाडकन्दरा र तर्राई का घरघरमा सुपरिचित, श्रद्धेय र प्रिय छन् ।

नारायणगोपाल प्रसिद्ध सितारवादक आशागोपाल गुरुवाचार्य तथा रामदेवी गुरुवाचार्यका सुपुत्रका रूपमा काठमाडौँको किलागलमा १९९६ साल असोज १८ गते जन्मेका थिए ।

नारायणगोपालले सानै देखि सङ्गीतमा रुचि राखे । आफ्ना बाबु सङ्गीतका साधक भएको हुँदा नारायणगोपाललाई सानै देखि सङ्गीतमा पिङ मच्चाउने वातावरण पैदा भएको थियो । त्यसै वातावरणमा नारायणगोपालको सङ्गीतप्रतिको मोह, परिश्रम र लगनशीलता हुर्कंदै , झाङ्गिदै र मौलाउँदै जान थाल्यो । उनी शास्त्रीय सङ्गीतमा आराधना गर्दै जान थाले । त्यसपछि उनले क्रमशः शास्त्रीय र आधुनिक सङ्गीतमा सँगसँगै पाइला चाल्न थाले । परिणामस्वरूप उनले सर्बप्रथम रेडियो नेपालको स्टुडियोमा २०१७ सालमा एउटा आधुनिक गीत रेकर्डिङ गराए

स्वर्ग की रानी मायाकी खानी नजाऊ तर्के र
लाजै नमानी रिसाउने बानी छाडी आऊ फर्के र ।

नारायणगोपाल नेपाली आधुनिक गायनका महेश्वर थिए, उनी आधुनिक नेपाली गायनका शिखर थिए र उनी पृथ्वीमा सबै भन्दा मीठो नेपाली गीत गाउने साधक थिए । उनले जीवनको सम्पर्ूण्ा भाग नेपाली सङ्गीतको उत्थान, विकास र समृद्धिमा चढाएका थिए । उनले नेपाली आधुनिक गीतलाई देशदेशान्तरमा पुर्याएका थिए । संसारमा जहाँजहाँ नेपाली बस्छन् त्यहाँत्यहाँका नेपालीले नारायणगोपालका मधुर, कर्णप्रय र सुमधुर स्वर सुन्ने गर्छन् । उनी नेपाली स्वरका एउटा प्रतिनिधि गायक थिए, सर्वाधिक लोकप्रिय गायक थिए र ओजस्वी स्वरलहरीका गायक थिए । उनको स्वरमा जादु हुन्थ्यो । त्यसैले उनले गाएपछि जुनसुकै गीत पनि उच्चकोटिको हुन्थ्यो । वास्तवमा उनी शब्द चुनीचुनी गीत गाउँथे । उनी गीत गाउँदा जनभाका गाउँथे । त्यसैले उनका गीत श्रोताहरूले अत्यधिक मन पराए

आँखा छोपी नरोऊ भनी भन्नुपर्या' छ
मुटुमाथि ढुङ् गा राखी हाँस्नुपर्या' छ ।

नारायणगोपाल एउटा संवेदनशील सङ्गीतकार पनि थिए । उनले आफ्ना सङ्गीतमा पनि गीत गाए । केही वरिष्ठ गायकहरूले पनि उनीद्वारा सङ्गीतबद्ध गीत गाएका थिए । त्यतिमात्र होइन उनी सङ् गीतबारे लेखरचनाको निर्माण पनि गर्थे । उनले 'बागीना' -बाजा, गीत, नाच) त्रैमासिक पत्रिकाको पनि सम्पादन गरे । साथै उनी प्रशासनमा पनि रहे । अथवा भनौँ उनी सांस्कृतिक संस्थानका महाप्रबन्धक पनि भए । उनले त्रिभुवन विश्वविद्यालयअर्न्तर्गतको नेपाल ललितकला क्याम्पसमा सङ्गीतविषयमा प्राध्यापन पनि गरे । तर उनी चाहिँ स्नातक परीक्षा मात्र उत्तर्ीण्ा थिए । ''पढेर भन्दा परेर जानिन्छ'' भन्ने लोकोक्तिका उनी पनि एउटा नमुना थिए । त्यसैले उनले शैक्षिक प्रमाणपत्रको भन्दा व्यावहारिकतामा आधारित ओजपूर्ण काम गरे । उनी आफ्नो श्रुतिमधुर स्वरका कारणले 'स्वरसम्राट्'मा रूपान्तरित भए । नेपाली संसारमा उनको स्वर एउटा अपरिहार्य आविष्कार बन्यो

आजै र राति के देखेँ सपना मै मरिगएको
बतासबिना हाँगाको फूल भै झरिगएको ।

नारायणगोपाल नेपाली माटोमा एउटा होनहार प्रतिभा थिए । उनका लागि देशदेशान्तरका नेपाली पनि एउटै थिए । उनी जातीयतालाई समेत नेपालीत्वमा टयाप्पै बाँध्ने हिम्मती पुरुष थिए । त्यसै ले उनले दार्जी लिङकी पेमला लामासँग प्रेमविवाह गरे । एउटा कट्टर नेवार परिवारमा हुर्के का नारायणगोपाले २०२६ सालमा पेमला लामासँग हार्दि कताका साथ लगनगाँठो कसेका थिए ।

नेपाली साङ्गीतिक आकाशमा नारायणगोपाल एउटा अद्वितीय व्यक्तित्व थिए । उनी प्रस्ट व्यवहारका लखपति थिए । उनी मनमा कुरा लुकाउँदैनथे र भन्नुपर्ने कुरा प्याच्चै भनिदिन्थे । उनी नेपाल र नेपालीत्वप्रति सारै गर्व मान्थे । उनी राष्ट्रभाषा, राष्ट्रिय पोसाक र राष्ट्रिय नीतिका कट्टर पक्षपाती थिए । उनी अशिष्ट र छोटो प्रवृत्तिका मान्छेलाई पटक्कै पन पराउँदैनथे । उनी स्वयं सहृदयी, मिलनसार र सृजनशील थिए । उनी गायनका एउटा आदर्श प्रतिमूर्ति थिए । त्यति मात्र होइन उनी आफ्नै सङ्गीतमा भाका मिलाई मिलाई गीत गाउने सफल गायक थिए

दुइटा फूल देउरालीमा साथै राख्यौ जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिँडयौ जस्तो लाग्छ ।

नारायणगोपालले २०२३ सालको प्रतियोगितात्मक आधुनिक सङ्गीतसम्मेलनमा सर्वोत्कृष्ट सङ्गीतकारको पुरस्कार प्राप्त गरेका थिए । राजा महेन्द्रबाट उनले २०२४ सालमा गायनमा सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेका थिए । अनि यो क्षण उनको जीवनको एउटा चिरस्मरणीय सुखद घटना थियो । साथै उनी नेपाली सङ्गीत र स्वरका माध्यमबाट उत्कृष्टताको चुचुरोमा पुगेवापत रत्न रेकर्डिङ पुरस्कार, इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, जगदम्बाश्री पुरस्कार, छिन्नलता गीत पुरस्कार, प्रबल गोरखादक्षिणबाहु र विख्यात त्रिशक्तिपट्टबाट सम्मानित र विभूषित भए ।

नारायणगोपालले गायनका सिलसिलामा नेपालका विभिन्न जिल्लाहरूका अतिरिक्त भारत, बङ्गलादेश, बर्मा , चीन, थाइल्यान्ड, हङकङ, सोभियतसङ्घ, उत्तर कोरिया र पूर्व जर्मनी आदि मुलुकहरूको पनि भ्रमण गरेका थिए । उनी केवल गायक मात्र भएर देशविदेश घुमेनन् । उनी एउटा उच्च बौद्धिक व्यक्तित्व पनि थिए । उनी मुलुकको राजनीतिक, सामाजिक र आर्थिक पक्षको पनि गहिरो अध्ययन, विश्लेषण र चिन्तन गर्ने गर्थे ।

नारायणगोपालले आफ्नो योग्यताले नै गीतका सारा पारखीलाई रिझाएका थिए । आफ्नो मीठो स्वर प्रस्तुत गरेर नै यी सबैका आफन्त भएका थिए । त्यसैले यिनले पनि आफ्ना श्रोताहरूलाई धूमधाम मन पराए । यिनले ठूलालाई मन पराए, सानालाई मन पराए र आफ्नी प्रेयसीलाई झनै मन पराए

चिनारी हाम्रो धेरै पुरानो रहे झै लाग्दछ
नदेखे पनि भेट सधैँसधै भए झै लाग्दछ ।

नारायणगोपालले रेडियोमा मात्र गीत गाएनन् । उनले नेपालका विभिन्न ठाउँहरूका सङ्गीतप्रेमीहरूका माझमा उभिएर पनि गीत गाए र विदेशमा रहेका नेपालीहरूका सामुन्ने पुगेर पनि गीत गाए । उनले जीवनमा थुप्रै आधुनिक गीत गाए थोरै लोकगीत र केही नेवारी गीत पनि गाए । तर उनले जति गीत गाए अत्यन्तै राम्राराम्रा मात्र गाए । उनी गीत गाएर यस धर्तीका अविस्मरणीय प्रतिभा बने । उनको नेपाली सङ्गीतप्रतिको लगावले गर्दा उनी नेपाली सङ्गीतका विभूति बने । उनको शेषपछि राष्ट्रिय युवा सेवा कोषबाट उनका नाउँमा नारायणगोपाल युवा पुरस्कार स्थापित भयो । सो पुरस्कार हरेक वर्षउत्कृष्ट सङ्गीतकर्मीहरूले पाउन थाले । साथै नेपाल सरकारबाट उनको चित्र अङ्िकत हुलाक टिकटको पनि निर्माण भयो ।

नारायणगोपाल अत्यन्तै हक्की, झवाँक्की र स्वाभिमानी थिए । उनी प्रस्ट व्यवहारका धनी थिए । उनका मनमा, मस्तिष्कमा र व्यवहारमा नेपालको गहिरो छापा लागेको थियो । उनका लागि यो नेपाल नै विश्व थियो । उनले नेपाली भाषामा करिब एक सय पच्चीसवटा गीत गाए । गीत गाउँदागाउँदै नारायणगोपालले २०४७ साल मङ्सिर १९ गते आफ्नो जीवनलाई परलोक पुर्याए । तर उनी यस जगत् मा सधैँ श्रद्धेय, माननीय र चिरञ्जीवी छन् । उनी यही नेपाली माटोमा सधैँ बोलिरहेका छन् , उनी यही नेपाली धरातलमा सधैँ बाँचिरहेका छन् र उनी यही नेपाली साङ्गीतिक बगैँचामा स्वरसम्राट् भएर नै सधैँ गुञ्जिरहेका छन्

यो सम्झिने मन छ म बिर्सू कसोरी
तिमी नै भनिदेऊ ए ! जाने निठुरी ?

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 19 मङ्गसीर, 2066

लेखकका अन्य रचनाहरु