मौन प्रतिध्वनी

- डा. मधु माधुर्य

डाँडा-पाखा र पर्वतको श्रृङखलाहरुमा
आकाससम्मै चुलिएको हिमाल हुँ म
पहिरो देखाउंदै
भूकम्प
मलाई जिस्क्याई रहन्छ
तर्साई रहन्छ

समथर आंग तन्काएर फैलिएको तराइ हुँ म
घामले पोलिरहन्छ, पानीले डुबाइ रहन्छ
पिउनु परे पनि अभिशप्त आँसु
पर्यटकको आँखामा स्वर्ग रंगिएकै छु
नयाँ नेपालको घुम्टो ओढाई
भाषा-भाषिमा
जात-जातमा
राज्य-राज्यमा
चोक्ट्याउदै छन् मलाई

यो चक्रब्युहबाट उन्मुक्ति दिन
गुहार सुनेर मलाई बचाउन
को सन्तान आयो आज?
फगत दागबत्ती दिंदै
दक्षिण बगाउन आतुर लाम मात्र देखिरहेछु
के इतिहासका दृष्टिभ्रम हुन् यी सारा
के यसैमा गर्ब गरूँ सन्तान छन् भनेर मेरा ?.......

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 13 मङ्गसीर, 2066

लेखकका अन्य रचनाहरु