प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरी

- नरेन्द्रराज प्रसाई

ललितत्रिपुरसुन्दरीको जन्म १८५० सालमा भएको थियो । यिनका बाबुआमाको खुट्पत्तो नभए तापनि यिनी थापाछेत्रीकी छोरी हुन् भन्ने बेहोरासम्म सुनिन्छ । यिनको बिहे जनरल भीमसेन थापाका पहलमा राजा रणबहादुर शाहकी पाँचौं रानीका रुपमा भयो । तर बिहे गरेको अर्को वर्ष यिनका पतिको निधन भयो । जनरल थापाको सहृदयताले यिनले पतिसँगै चितामा बलेर सती जानु परेन । १८६३ सालदेखि यिनले बालविधवाका रूपमा आफ्नो जीवन व्यतीत गरिन् ।
नेपाली भाषासाहित्यमा पहिलोपल्ट अक्षर खेलाउने नारी ललितत्रिपुरसुन्दरी हुन् । साथै नेपाली भाषामा पहिलोचोटि कविता लेख्ने नारीस्रष्टा पनि यिनै हुन् । ‘महाभारत’लाई संस्कृत भाषाबाट नेपालीमा अनुवाद गर्ने क्रमको सिरानमा नै उनले नेपाली भाषामा आफ्नो मौलिकता प्रस्तुत गरिन् ।
ललितत्रिपुरसुन्दरीले पच्चीस वर्षजतिको आफ्नो नायबी राज्यकालमा देशको वस्तुस्थिति देखिन्, दुक्खसुख भोगिन् र सफलतापूर्वक राजकाज पनि गरिन् । उनले आफ्ना पतिको शासनको ज्ञान ग्रहण गर्न नपाए तापनि छोरा र नातिकी नायबी भएर शासन गरेपछि तत्सम्बन्धी ज्ञानगुनका धेरै कुरा जनसमक्ष ल्याइन् । नेपालको इतिहासमा आफ्ना नायबी कालमा अनेक ठाउँमा भाषिक शिलालेख अङ्कित गर्ने पनि उनी प्रथम नारी हुन् । विविध ठाउँमा उनले राखेका शिलालेखको अध्ययन गर्ने हो भने उनी नेपाली साहित्यप्रति रुचि राख्ने, मोह देखाउने र समर्पित हुने कोटिमा जाज्वल्यमान भएर स्थापित भइन् । नेपाली साहित्यप्रतिकोे निष्ठामा बाँधिएर नै त्यस बेला उनले कविता पनि लेखिन् । उनको त्यस घडीको लेखनको धारा नै कल्कलाउँदो भएर अविरल बगेको छ । उनको त्यही सृजनात्मक सक्रियतालाई स्वीकार्दै ईश्वरवल्लभ लेख्छन् ‘‘ललितत्रिपुरसुन्दरी नेपाली भाषासाहित्यको विशिष्ट पुरोधा नारीस्रष्टा हुन् ।’’
ललितत्रिपुरसुन्दरीले संस्कृत भाषामा लेखिएको ‘महाभारत’ शान्तिपर्वअन्तर्गतको अनुशासनपर्वको सरल नेपाली भाषामा अनुवाद गरिन् र त्यसलाई ‘राजधर्म’का नाउँबाट प्रस्तुत गरिन् । उनका नायबीकालका अनेक शिलापत्रहरूमा झैं यस ग्रन्थमा पनि उनको गतिलो भाषिक प्रस्तुति देखिन्छ । त्यसैले ‘राजधर्म’ले पाठकको मनलाई नेपाली भाषाको थप मोहमा तानेको पनि पाइयो । दिनेशराज पन्तका शब्दमा भन्ने हो भने “ ‘राजधर्म’को भाषा, शैली र प्रस्तुति अत्यन्तै मिठासपूर्ण छ । अहिलेका लेखकसाहित्यकारको भाषाभन्दा त्यस बेलाको भाषा नै सुन्दर थियो भन्ने बेहोरा ‘राजधर्म’ले प्रस्तुत गरेको छ ।”
ललितत्रिपुरसुन्दरीले राजदरबारको वातावरणमा हुर्केर पनि नेपाली भाषासाहित्यका लागि आफ्नो मन रोपिन् । अनि राजकाजको व्यस्त समयबाट उम्ँिकदै उनले नेपाली भाषाका मन्दिरमा एउटा बडेमाको ग्रन्थ चढाइन् । उनका पालामा उनले गरेका सबै राम्रा बेहोरालाई बिर्सिएरै पनि यही ‘राजधर्म’लाई मात्र समाउने हो भने पनि उनी प्रतिभासम्पन्न प्रथम नेपाली नारीस्रष्टा भएको बेहोरा नेपाली साहित्यको इतिहासमा अङ्कित छ । यसबारे मोदनाथ प्रश्रितले पनि उनको महिमा उल्लेख गर्दै भनेका छन् ‘‘अहिलेसम्म चर्चामा आएसम्म र सामग्री भेटेसम्म नेपालको प्रथम नारीसाहित्यकारमा ललितत्रिपुरसुन्दरीको नाउँ आएको छ । नेपाली साहित्यकारको सन्दर्भमा उनको भन्दा अर्को नाउँ भेटिएको छैन । त्यसै गरी श्यामदास वैष्णवले पनि उनको गरिमालाई आत्मसात् गर्दै मन्तव्य प्रकट गरेका छन् “निश्चय नै अग्रणी र गौरवमयी नारीस्रष्टा हुन् ललितत्रिपुरसुन्दरी ।” शान्ता श्रेष्ठले ‘‘त्यस्तो कालरात्रिको युगमा कृति लेखेर ललितत्रिपुरसुन्दरी सम्पूर्ण नेपाली नारीको गौरवको पात्र भइन्’’ भनेर उनको महिमा गाएकी छिन् ।
ललितत्रिपुरसुन्दरीले ‘राजधर्म’ १८८१ सालमा लेखिन् भन्ने जानकारी योगी नरहरिनाथले दिएका छन् । यसलाई सुन्दर अक्षरमा लिपिकार भुवनानन्दले १९३० सालमा सारेको यसको प्रति जगदम्बा प्रकाशनले भेट्यो र प्रकाशनमा ल्यायो । अनि नइ प्रकाशनले ललितत्रिपुरसुन्दरीलाई ‘राजधर्म’की लेखिका भनेर लिपीबद्ध गरिदियो । यही ओजिलो ग्रन्थमार्फत उनले नेपाली भाषाका मन्दिरमा दिएका योगदानको रेखाङ्कन गर्दै दयाराम श्रेष्ठले लेखे राजधर्म एउटा ऐतिहासिक उपहार हो । गोविन्द भट्टले पनि यसलाई नेपाली भाषाको ओजपूर्णको ग्रन्थ मानेका छन् ।
‘राजधर्म’ले नेपाली भाषासाहित्यको बौद्धिक चेतलाई क्रमशः आफूतिर आकृष्ट गरेको पाइन्छ । यसबारे चर्चा परिचर्चाको क्रम पनि निरन्तर बगिरहेको छ । यसै परिप्रेक्ष्यमा चिरञ्जीवीदत्त पाण्डेले लेखेका छन् ‘ललितत्रिपुरसुन्दरीले ‘राजधर्म’लाई संस्कृतबाट नेपालीमा अनुवाद गरेकी छन् ।’ यसैबारे जगदीशशमशेर पनि भन्छन् ‘‘...‘राजधर्म’ हेरेपछिमात्र मैले ललितत्रिपुरसुन्दरीबारे जानें । त्यस बेला यस्तो रोचक भाषामा, यत्रो साहित्यिक, धार्मिक र नैतिक परिवेशमा लेखिएको ग्रन्थ लेख्ने या लेखाउने या लिपिबद्ध गर्ने नारीलाई पुज्नु योग्य कार्य हो ।’’ यसबारे घटराज भट्टराईले पनि लेखेका छन् ‘राजधर्म’ नेपाली भाषामा पाइएको महŒवपूर्ण ग्रन्थ हो । राजनीतिक, भाषिक र साहित्यिक दृष्टिले पनि यस ग्रन्थले निकै महŒव राख्छ ।”
रणबहादुर शाहको हत्यापछि ललितत्रिपुरसुन्दरीले राष्ट्रमा सुधारका राम्राराम्रा काम गरिन् । त्यसैले एकल जीवनमा नै यिनको सर्वत्र प्रशंसा भएको थियो । यी अठार वर्ष पुगेका बेला नै यिनका प्रारम्भिक योगदानका बारे वाणीविलास पाँडेले वाग्मती पुलको स्तम्भमा यिनको स्तुति लेखेको बेहोरा ईश्वर बरालद्वारा सम्पादित ‘सयपत्री’मा अङ्कित छ ।
ललितत्रिपुरसुन्दरीको नायबीकालमा यिनका नाउँमा दुईवटासम्म टक चल्तीमा आएका थिए । त्यस बेहोरालाई सत्यमोहन जोशीद्वारा लिखित ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । साथै यसबारेको थप जानकारी बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली र प्रकाश ए. राजले पनि दिएका छन् ।
आफ्ना जीवनकालमा ललितत्रिपुरसुन्दरीले काशीमा ललिताघाटको निर्माण गरिन् । साथै यिनले नै पशुपतिनाथको देवल गुठीको स्थापना गरिन् । यिनैले गोरखामा गोरखकाली गुठी पनि बनाइन् । यिनैले त्रिपुरेश्वरको कालमोचनमा महादेवको निकै विशाल मन्दिर बनाइन् । यिनले ज्ञानेश्वर गौचरनमा पनि देवल बनाइन् । साथै यिनले काठमाडौं ललितपुर आवतजावत गर्नका लागि थापाथलीमा वाग्मतीको पुल हालिन् । यिनैले भीमसेन थापाप्रति कृतज्ञताज्ञापन गर्दै धरहरा पनि बनाएकी थिइन् । सुन्धारा बनाउने काम पनि यिनैबाट भएको थियो । यिनका नायबीकालमा मुलुकभित्र र मुलुकबाहिर अनेक ठाउँमा बनाइएका स्तम्भ, मन्दिर र देवलहरूमा सजिलो नेपालीे भाषामा कपिएका शिलालेखहरू स्थापित भएका छन् । वास्तवमा शिलापत्र राख्ने कार्यमा यी निकै जागरुक थिइन् । यसै पृष्ठभूमिमा यिनको जीवनका सफलताका गुन गाएर सुन्दरानन्दले ‘त्रिरत्नसौन्दर्यगाथा’मा यिनलाई एक रत्नका रूपमा जयजयकार गरेका छन् ।
ललितत्रिपुरसुन्दरी नेपाली भाषासाहित्यका देउरालीमा ढकमक्क फुलेर बसेकी छिन् । यिनको साहित्यप्रतिको समर्पणलाई राष्ट्रिय गरिमाले ढाकेको छ । यिनको साहित्यिक लेखनबारे शैलेन्द्र साकारले पनि लेखेका छन् “ललितत्रिपुरसुन्दरीलाई आजसम्म थाहा भएअनुसार प्रथम नारीलेखिका मानिएको छ ।” नेपाली साहित्यको नारीसृजनाका क्षेत्रमा उनी इतिहासको जग बनेकी छन् । उनको यसै परिवेशलाई बुन्दै मातृका गजमेरले लेखिन् “ललितत्रिपुरसुन्दरी पहिलो नेपाली विदुषी नारी थिइन् ।” यी सबै तथ्यको निचोडमा बालकृष्ण पोखरेलले लेखे ‘‘राजधर्मको अनुवाद ललितत्रिपुरसुन्दरीले गरेकी हुन् भनेर अधिकांश विचारकहरूले मानेका छन् ।’’
ललितत्रिपुरसुन्दरीको कलात्मक यात्राका एकएक कारण जोडिएर उनी नेपाली माटामा चिरञ्जीवी नारीपात्र भइन् । साहित्यिक यात्राले उनलाई नेपाली संसारमा जीवित बनायो । त्यसमाथि उनको स्तरीय लेखन स्वयम् उनको व्यक्तित्वको सिफारिस बन्यो । देवीप्रसाद सुवेदीका भाकामा बोल्ने हो भने ‘‘राजधर्मको प्रत्येक अध्यायको अन्त्यमा दिएको टुङ्ग्याउनी पद्यश्लोकले राजधर्मकी अनुवादक ललितत्रिपुरसुन्दरीको कवित्वशक्तिको परिचय पाइन्छ ।’’
जीवनको अन्त्य समयसम्म पनि ललितत्रिपुरसुन्दरी समाजसेवामा नै समर्पित थिइन् । जनकल्याणका काममा संलग्न हुँदाहुँदै अपर्झट उनी सिकिस्त भइन् । खास कुरा के हो भने त्यतिखेर नेपालमा बेलाबेला बिफर को महामारी आउँथ्यो । जनजीवनमा गाँसिएर सेवा गर्दागर्दै उनलाई पनि त्यस बिफरको महामारीले घुँडा टेकाएको थियो । अनि त्यही अस्वस्थताले संवत् १८८८ चैत १६ गते उनको भौतिक चोला उठ्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 मङ्गसीर, 2066

लेखकका अन्य रचनाहरु