एउटी राजदूत डा.कमला

- नरेन्द्रराज प्रसाई

आजभन्दा ८० वर्ष पहिले भारतको दार्जिलिङस्थित कालेबुङमा एक जोर दलितका घरमा एउटी कमला जन्मेकी थिइन् । उनी यही २०६६ कात्तिक ८ गते त्यहीँको सिलिगुडीमा स्वर्गीय भइन् । नेपाली भाषासाहित्यमा ६५ वर्ष अक्षर खेलाउने विश्वविख्यात स्रष्टाले देह त्याग गर्दा नेपालका कुनै नेपाली भाषाका पत्रिकाले एउटा अक्षर लेख्न सकेनन् ।
एउटी टाइपिष्टको कर्म र भाग्य जोडिएर अन्ततः कमला नेपाली भाषासाहित्यका क्षेत्रमा सुप्रसिद्धिको शिखरमा उभिन पुगिन् । तत्कालीन सामाजिक परिवेशमा जातजातिका कारणबाट अछूत ठानिएको दर्जीकी छोरीले भारतका महापण्डितसँग वैवाहिक जीवन जोडेर आपूmलाई पनि महापण्डितनी बनाइन् । अनि सामान्य स्कुलबाट दस कक्षा पास गरेर टाइप हान्ने राम्रो जागिरको खोजीमा भौँतारिएकी एउटी किशोरीले पछि गएर पीएचडी. गरिन् । त्यसैले मान्छेले कर्म गरेपछि र त्यस कर्मलाई भाग्यले पनि साथ दियो भने कमला साङ्कृत्यायन पनि हुन सकिन्छ भन्ने प्रमाण बनेर कमला परियार जनसाक्षात् भइन् ।
चन्द्रमान परियार र चन्द्रमाया दर्जीकी छोरी कमलाले स्कुले शिक्षा सकेपछि मोनोटाइपको तालिम लिइन् र टाइप गर्न थालिन् । त्यसताका आफ्ना आमाबुबाका साथमा कमला पनि कालेबुङ बजारमा दुईवटा कोठा भाडामा लिएर गुजारा गरिरहेकी थिइन् । आमाबुबाको परम्परित जीविकाको साधन लुगा सिलाउनु थियो भने कमला त्यस परम्परालाई उछिनेर टाइपिस्टको कार्यमा लागेकी थिइन् । वास्तवमा त्यस बखत खास गरेर नेपाली मूलका दर्जी त्यहाँ पनि अछूतै मानिन्थे । त्यस्तो कठ्याङ्ग्रिएको परिस्थितिसँग सामना गर्दै कमला दसौँ कक्षा उत्तीर्ण भएपछि आफ्नो खुट्टा आपैmँ टेक्ने अभियानमा जुटेकी थिइन् ।
राहुल साङ्कृत्यायनको नाउँ त्यस बखत भारतको साहित्यिक सांस्कृतिक फाँटमा शिखरमा नै थियो । राहुल नेपाल र नेपाली भनेपछि पनि हुरुक्क हुने व्यक्तित्व थिए । राहुलका नेपाली मित्रहरूमा जनकलाल शर्मा पनि प्रिय थिए । तिनताका राहुल कालेबुङमा नै आई बसोबास गर्न लागेका थिए । यसै क्रममा उनले काठमाडौंका आफ्ना मित्र जनकलाल शर्मासँग आपूmलाई एउटा टाइपिस्टको अत्यन्तै खाँचो भएकाले सम्भव भएमा खोजिदिने आग्रहका साथ पत्राचार गरेका थिए ।
आफ्ना आदरणीय मित्रको चिठी प्राप्त गरेपछि राहुलको आवश्यकता अनुरूपको टाइपिस्टको खोजी गरिदिने अनुरोध गरेर जनकलाल शर्माले पनि कालेबुङमा रहेका आफ्ना एक जना मित्रलाई चिठी लेखे । संयोगवश जनकलालका तिनै मित्रकी छोरीकी साथी कमला परियार नै टाइपिस्ट रहिछन् । आर्थिक कारणले त्यस बखत कमलाका लागि पनि तुरुन्तै पैसा आउने काम समाउनुपर्ने वाध्यता थियो । त्यसैले कमलाले आपूm टाइपिस्टमा रही इमानदारीपूर्वक जागिर खाने वचन राहुललाई दिइन् । यसै वाचाबन्धनका साथ उनी राहुल साङ्कृत्यायनकी टाइपिस्टमा भर्ना भइन् ।
त्यस घडी राहुल साङ्कृत्यायन पनि एकल थिए । राहुलले आफ्ना बुबाआमाले उनी सानै हुँदा बिहे गरिदिएकी पत्नी पनि आपूmभन्दा प्रौढ भएका कारण तिनलाई अँगाल्न सकेका थिएनन् । साथै रुसमा बसेका बेला राहुलले आफ्नी पूर्वछात्रा इलिनासँग प्रेम गरेका थिए । प्रेममा डुबेर नै उनले इलिना नौबर्तोब्नासँग विवाह पनि गरेका थिए । तर उनकी ती मायालु पत्नीलाई रसियाले भारत प्रवेश गर्न अनुमति दिएन । त्यसैले त्यसताका राहुल पनि पत्नीविहीन भएर कालेबुङमा भौंतारिरहेका थिए ।
कमला र राहुलका मनले एकअर्कामा माया, विश्वास र आडको थकाइ मार्ने रीत पनि जारी नै थियो । त्यस बेला एकातिर कमला परियार समर्पित भएर राहुलका सेवामा तनमन खन्याउँथिन् भने अर्कातिर राहुलले पनि कमलालाई आफ्नो बौद्धिकताको ऋणले थिचिसकेका थिए । त्यतिमात्र होइन कमलालाई राहुलको व्यक्तित्वले नतमस्तक बनाएको थियो भने अर्कातिर राहुलले कमलालाई निक्कै माया पनि गर्ने गर्थे । समयको दौडमा त्यस घडी दुवैले एकअर्काको आवश्यकताबोध गरिसकेका थिए । त्यही परिणतिमा नै उनीहरूका प्रेमले जरा गाड्ने क्रमलाई दु्रततर गतिमा अघि बढाएको थियो । त्यसैले बीस वर्षीय कमला परियारले अन्ठाउन्न वर्षीय राहुल साङ्कृत्यायनसँग वैवाहिक सम्बन्ध गाँसेकी थिइन् ।
कमला साङ्कृत्यायन राहुलकी अर्धाङ्गिनी भएपछि उनको जीवनस्तर उठेर एक्कासि धरहराको टुप्पामा पुगेको थियो । त्यसपछि उनले शैक्षिक योग्यता पनि बढाउन थालिन्, सामाजिक इज्जत पनि पाउन थालिन् र आफ्नो व्यक्तित्व क्रमशः झाङ्गिँदै गएको पनि अनुभव गर्न थालिन् । सङ्गतगुनाको फलका कारणले उनी शैक्षिक योग्यता हासिल गर्ने परिपाटीमा पनि कस्सिन थालिन् ।
कमलाले आफ्ना पति राहुलको बौद्धिक लिस्नो चढेर हिन्दी साहित्यमा एम.ए. गरिन् । अनि बिहे गरेको नौ वर्षभित्रै यिनले आगरा विश्वविद्यालयबाट विद्यावारिधि गरिन् । त्यसपछि उनी ‘‘टा.कमला परियारबाट डा.कमला साङ्कृत्यायनमा अनुवाद भइन्’’ । जनकलाल शर्माका भाषामा भन्दा राहुलले कमलालाई विहे गरी माटोलाई सुनमा परिवर्तन गराइदिए । तर बूढो मान्छेसँग बिहे गरेका कारण उनी छिटै विधवा भइन् । वास्तवमा कमलाले राहुलको शेषपछि प्रायः दुक्खकै खेतीमा आपूmलाई मिसाइन् । वैधव्यका कारण उनले जीवनयात्राका कैयन् सङ्घर्षमा पनि एक्लै जुधिरहनुप¥यो ।
कमलाले दार्जिलिङको लरेटो डिग्री कलेजमा पढाउन थालेकी थिइन् । साहित्य, संस्कृति र कलाको प्रेममा उनी जति डुबिन् समाजसेवामा पनि त्यत्तिकै समर्पित भएर लागिन् । उनलाई चाखै नभएको विषयचाहिँ राजनीति थियो ।
कमलाको शिक्षा, साहित्य र समाजसेवालाई कदर गरेर अनि उनको जातीयताको पृष्ठमूमिका कारण भारतमा उनी ‘राष्ट्रिय अल्पसङ्ख्यक आयोग’की सदस्यमा पनि मनोनीत भइन् । त्यस अवधिमा उनले आफ्नो व्यक्तित्वलाई झनै चम्काउन पाएकी थिइन् । त्यसपछि उनी आफ्नै घर अर्थात् दार्जिलिङस्थित राहुलनिवासमा लेख्नुपढ्नुका साथै गार्हस्थ्यमा नै आबद्ध भइन् । लेखनका क्रममा उनले निबन्ध, प्रबन्ध, समालोचना र जीवनी गरी चौधवटा पुस्तकहरू लेखिन् । किताब लेख्ने क्रममा उनले आफ्ना पतिको व्यक्तित्व र कृतित्वको स्तुति गाएर दुईवटा पुस्तक लेखिन् ‘महामानव महापण्डित’ र ‘महापण्डित राहुल साङ्कृत्यायन’ ।
कमलाले नेपाली साहित्यको इतिहास पनि लेखिन् । नेपाली मूलका भारतीय लेखिकाले हिन्दी भाषामा लेखेको यो कृति पहिलो पनि हो ।
कमलाले आपूm वैवाहिक जीवनमा बाँधिएकै वर्ष आफ्नो साहित्यिक प्रकाशनको सुरुवात गरेकी थिइन् । यिनका विभिन्न पत्रपत्रिकामा चार सयजति निबन्ध, प्रबन्ध, कथा, लेख र समालोचना नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा प्रकाशित भएका छन् । आफ्नो विचार छिप्ँिपदै जाँदा यिनले जातीय र समाजसेवाका तात्पर्यमा पनि आफ्नो लेखनकार्य गरिरहिन् । जीवन र जगत्सँगको आत्मीयताले यिनका रचना राम्ररी रङ्गिएका हुन्छन् ।
कमलाले आपूmलाई साहित्यिक बनाएपछि चारैतिरबाट प्रोत्साहन पाइन् । उनले भारतको पश्चिम बङ्गाल सरकारबाट ‘भानु पुरस्कार’, कोलकाताबाट ‘रूपलेखा पुरस्कार’ र देहरादूनबाट ‘भानु पुरस्कार’ पाइन् । साथै उनी भारत सरकारबाट ‘राहुल साङ्कृत्यायन राष्ट्रिय पुरस्कार’बाट पनि सम्मानित भइन् । उनको योगदानको कदर गर्दै नेपालले उनलाई महाकवि देवकोटा शताब्दी सम्मान दियोे ।
कमलाको जीवनको अर्को रुचि भ्रमण गर्नु पनि थियो । नेपालको भ्रमण गरेर उनले बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, विश्वेश्वरप्रसाद कोइराला, जनकलाल शर्मा र धर्मरत्न यमीसँगको थप सौहार्द सँगालेकी थिइन् । काठमाडौंमा उनी हिसिला यमीको घरमा बस्थिन् । किनभने हिसिलाका बुबा धर्मरत्न यमी राहुलका प्रिय मित्र थिए । अनि यमीले आफ्ना घरमा ‘राहुल साङ्कृत्यायन सङ्ग्रहालय’ नै बनाएका थिए । राहुलले पनि ‘धर्मरत्न यमी’ शिर्षक दिएर यमीविषयक हिन्दीभाषामा एउटा किताब लेखेका थिए ।
कमला साङ्कृत्यायन एकातिर नारीजागरणकी प्रेरणा थिइन् भने अर्कातिर उनको साहित्यिक योगदानले नेपाली वाङ्मयको श्रीवृद्धिमा उच्च भूमिका खेल्यो । उनी नेपाली भाषाकी प्रचारक थिइन्, राजदूत थिइन् र सेतु थिइन् । त्यसैले जनकलाल शर्माले सधैं उनलाई नेपाली भाषाकी नारी सांस्कृतिक सहचारी भनेका थिए।

[email protected]


प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 23 कार्तिक, 2066

लेखकका अन्य रचनाहरु