>

 Subscribe in a reader

नयाँ रचनाहरु तपाईको ईमेल ईनबक्समै प्राप्त गर्नुहोस ।

Follow us on twitter

साहित्यकार मोमिलासँग साहित्यिक कुराकानी

कृष्ण बजगाईं

वि.सं. २०२४ सालमा धनकुटामा जन्मनुभएकी युवा पुस्ताकी सक्रिय र चर्चित नारी साहित्यकार मोमीला जोशी परिचित नाम हो । उहाँले प्रज्ञापदक २०५५, शताब्दी युवा सम्मान २०५७, युवा वर्ष मोती पुरस्कार २०६३, देवकोटा शताब्दी काव्य पुरस्कार २०६६ लगायत थुप्रै पुरस्कार र सम्मान प्राप्त गर्नु भएको छ । पैयुँ फुल्न थालेपछि (कवितासङ्ग्रह), २०५२,नीलो–नीलो आकाश र दुई थोपा आँसु (निबन्ध–कवितासङ्ग्रह), २०५२, सहलेखन, जूनकीरीहरू ओर्लिरहेछन् (कवितासङ्ग्रह), २०५५, दुर्गम उचाइमा फूलको आँधी (कवितासङ्ग्रह), २०६०, ईश्वरको अदालतमा आउटसाइडरको बयान (निबन्धसङ्ग्रह), २०६३ प्रकाशित उहाँका प्रकाशित कृतिहरु हुन् । हाल कलाश्री साहित्य वार्षिकी, नोबेल साहित्य वार्षिकी, www.nepalikalasahitya.com(विशुद्ध साहित्यिक वेब पत्रिका) सम्पादन गरिरहनु भएको छ । "सगरमाथाको नृत्यमग्न आत्मा" (प्रतिनिधि आधुनिक नेपाली कविता) उहाँको सम्पादनमा प्रकाशित भएको पछिल्लो कविता संग्रह हो । प्राध्यापन पेशामा संलग्न रहेर पनि थुप्रै साहित्यिक तथा सामाजिक संघसंस्थामा उहाँको सक्रियता देख्न सकिन्छ । उहाँसँग समकालीन डट कमका लागि सम्पादक कृष्ण बजगाईले गर्नु भएको कुराकानी ।

१.तपाईको सम्पादनमा पछिल्लोपटक प्रकाशित भएको “सगरमाथाको नृत्यमग्न आत्मा” कविहरूका कविता संग्रहले निकै चर्चा बटुल्यो । नेपाली कविता भण्डारमा यो कोसे ढुङ्गा हो । त्यसमा तपाईँले गर्न नसक्नुभएको, नभ्याउनुभएको वा छुटेको केही छ कि ?
नेपाली कलासाहित्य डट कम प्रतिष्ठानद्वारा प्रकाशित “सगरमाथाको नृत्यमग्न आत्मा” नामक स्रष्टा र सृष्टि उपनाम भएको गोपालप्रसाद रिमालदेखि श्रवण मुकारुङ्सम्मका १३५ जनाका ३०६ ओटा कविताहरू सङ्कलित प्रतिनिधि आधुनिक नेपाली कविताग्रन्थले कोसे ढुङ्गाको उपमासहित निकै चर्चा बटुल्यो । यद्यपि सम्पूर्णता कहीँ पनि प्राप्त गर्न नसकिँदो रहेछ । यथार्थतः जति नै हिँडे पनि कहीँ पुगेजस्तो नलाग्नु, अनुभूतिको विस्तारमा अन्तिम सिमाना कोर्न नसक्नुजस्ता यथार्थहरू नै कहीँ पनि सम्पूर्णता प्राप्त गर्न नसकिने सत्यका बहुरङ्गी प्रकाशन हुन् । यसैले यो कृति पूर्ण छ म भन्न सक्दिनँ । केही छुटेको हुन सक्छ, केही नभ्याएको हुन सक्छ । फेरि म जे बुझ्छु, अर्काले त्यही नबुझ्न सक्छ; मलाई जुन कुरा सुन्दर लाग्छ, अर्कालाई सुन्दर नलाग्न सक्छ । त्यतिमात्र होइन आज हराएको मेरो प्रिय बस्तु भोलि बिहान भेट्दा मेरै प्रियताको रङ्ग बदलिसकेको हुन सक्छ । अर्थात् जे नै गरे पनि, जसो नै गरे पनि, जति नै गरे पनि प्रश्नहरू त बाँकी नै रहन्छन्; र... त सभ्यता गतिशील बगिरहन्छ । यसर्थ म कृतिगत सम्पूर्णताको दाबी गर्न चाहन्नँ तर अधूरोपन कोट्याएर राष्ट्रका लागि त्यसको समष्टिगत उपलब्धिलाई धमिल्याउन पनि चाहन्नँ किनकि यसकार्यसँग सम्बद्ध सबैजनाले यथासम्भव त्रुटिहीन बनाउने प्रयास गरेका छौँ । बरु, हर आगामी क्रियाशीलतामा अझ सम्पूर्णताको प्रयास जारी रहनेछ ।

२. तपाईँ साहित्यका धेरै विधालगायत अन्य क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । आफूलाई के भनेर चिनाउन चाहनुहुन्छ ?
वास्तवमा जीवनको रङ्गमञ्चमा जस्तोसुकै भूमिका होस्, यदि इमान्दारिताका साथ आफ्नो भूमिका निर्वाह गरिन्छ भने अन्जानमै सम्बद्ध अभिनेताले सगर्व विधिको दस्तुर तिरिरहेको हुन्छ । यसर्थ मभित्रको ईश्वरको अदालतमा उभिएर भन्नुपर्दा जम्मामा म कलासाधक, कलापारखी, कलाप्रेमी र कलासेवी भनेर चिनाउन चाहन्छु ।

३. तपाईँका कुनै कृति वा तपाईँ आफैले कुनै पुरस्कार वा सम्मान प्राप्त गर्नु भएको छ कि ?
मेरो ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ निबन्ध सङ्ग्रहका लागि सम्पदा राष्ट्रिय अवार्ड प्राप्त भएको छ भने अन्य सात ओटा साहित्यिक पुरस्कारहरू पनि प्राप्त भएका छन् ।

४. एउटा साहित्य सिर्जना गर्न सजिलो कि सम्पादन ?
चाहे सिर्जना होस् चाहे सम्पादन होस् विशिष्ट गुणस्तरको कार्य गर्ने हो भने दुवै सजिलो छैन । दुवैका लागि साधनाले विशेष ओज प्रदान गर्न सक्छ भन्ने कुरामा म विश्वस्त छु ।

५. तपाईं साहित्य सिर्जना गर्दा सन्तुष्ट हुनुहुन्छ कि सम्पादनमा ? किन ?
आजसम्मको सिर्जना र सम्पादन दुवैमा मेरो सन्तुष्टिको पूर्णविराम लागेको छैन । सायद, यसभन्दा पर मैले अझ उत्कृष्ट सिर्जना र सम्पादन गर्नु छ ... ।

६. तपाईँ नेपाली कला साहित्य डट कमको सम्पादक हुनुहुन्छ । यसले समेट्ने विषयहरू के के हुन् ?
www.nepalikalasahitya.com(www.nepaliartnliterature.com) मा समेट्न खोजिएको मुख्य विषयहरू साहित्य, सङ्गीत र चित्रकला हुन्, तर हाल साहित्य, चित्रकला र फोटोकला समेटिएका छन् ।

७. किन तपाईँले वेब पत्रिकाको सुरुवात गर्नु भएको हो ?
नेपाली साहित्यलाई विश्वसाहित्यमा प्रवेश गराउने धावनमार्गको खोजी गर्दै नेपाली र अङ्ग्रेजी दुवै भर्सनमा संसारका कुनै पनि कुनामा बसेर पढ्न सकिने, सुन्न सकिने, हेर्न सकिने वेब–पत्रिका सुरुवात गरिएको हो ।

८. साइवर साहित्य भनेको के हो ?
जुनसुकै भूगोलमा बसेर पनि अत्याधुनिक सूचनाप्रविधिको सञ्जाल इन्टरनेटमा पढ्न सकिने, विचरण गर्न सकिने साहित्य नै साइबर साहित्य हो ।

९. साइवर साहित्य र मुद्रण साहित्यको स्वादमा के फरक हुन्छ ?
साइबरसाहित्य र मुद्रणसाहित्यको स्वादमा जरुर फरक छ । उद्देश्य दुवैको आनन्द भए पनि माध्यम फरक भएकाले यसको सुल–तालमा नै फरक छ भन्नुपर्ला !

१०. नेपाली साहित्यलाई साइवर साहित्यमा कसरी उपस्थित गराउनुपर्ला ?
नेपाली साहित्यलाई साइबर साहित्यमा उत्कृष्टताका आधारमा उपस्थित गराउन सके बढी फलदायी हुने थियो कि !

११. अझ पनि नेपाली साहित्यमा मात्र होइन साइबर साहित्यमा नारी हस्ताक्षरको उपस्थिति एकदमै कमजोर छ । पुरुष समकक्षीसम्म पुग्न केले बाधा गरेको छ ?
मेरा विचारमा चाहे साइबरमा होस् चाहे मुद्रणमा होस् नारी हस्ताक्षरको उपस्थिति कमजोर भन्नुभन्दा पनि न्यून छ भन्नुपर्ला । फेरि पुरुष समकक्षी सङ्ख्यामा पुग्नुलाई म त्यति महत्त्व दिन चाहन्नँ, तर स्तरीयतामा अर्थात् विशिष्टतामा हेर्ने हो भने नारीलेखन पुरुष समकक्षी छैन भन्न मलाई कदापि मञ्जुर छैन । यसैले बाधाको के कुरा भो र ! जब कि राष्ट्रकवि माधव घिमिरेले भन्नुभएको छ—
ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल
सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल

१२. उनीहरूलाई तपाईँको कुनै सुझाव छ कि ?
यदि दुःखहरू नै बाधक बन्छन् भने दुःखलाई नै प्रेम गरौँ अर्थात् दुःखदेखि भागेर दुःखबाट मुक्ति मिल्दैन । यसैले भागेर होइन दुःख छिचोलेर नै दुःखबाट मुक्ति मिल्दछ र सफलताको शिखर चुम्न सकिन्छ । म यही आग्रह गर्न चाहन्छु, तर सुझाव होइन ।

१३. नारीवादी साहित्य भनेको के हो ?
संसारमा रहेका मान्छेको प्रमुख दुई ओटा जात नारी र पुरुषमध्ये नारी जातिको स्वाभिमान, आदर्श, पीडा, त्याग, समर्पण आदिलाई सजातीय अनुभूतिका आधारमा आस्तित्विक रङ्गलाई महत्त्व दिएर सिर्जना गरिएका साहित्य नै मेरो विचारमा नारीवादी साहित्य हो ।

१४. नेपालमा नारीवादी साहित्यिक आन्दोलनको आवश्यकता कत्तिको देख्नुभएको छ ? किन ?
नेपालमा आन्दोलनभन्दा पनि नारीवादलाई गम्भीर ढङ्गले बुझेर नारीवादको सही व्याख्या गर्नु या व्याख्या हुनु जरुरी देखिएको छ । किनकि गलत बुझाइबाट समाजको आधा हिस्सा नारीप्रति नै गलत धारणा र गलत परिणामको सञ्चारण हुन सक्छ ।

१५. भविष्यको कुनै विशेष लक्ष्य ?
आफैसँग आफ्नो अस्तित्वको प्रश्न र खोजी ।

१६. नेपाली कविताविधाका वर्तमान प्रवृत्ति र आयामहरूबारे केही बताइदिनुहुन्छ कि ?
नेपाली कविताविधाको प्रवृत्ति सरलता र गहनतातर्फ उन्मुख रहेको पाउँछौ तर कतै दुई नेपालीको मृत्यु हुन्छ त कतै हामी निर्धक्क दुइटा माला लगाइरहेको हुन्छौँ । वरिष्ठ कवि ईश्वर वल्लभले भन्नुभए जस्तै यसरी हामी मानौँ आफ्नै मृत्यु उत्सव मनाइरहेछौँ । यस्तो परिवेशमा विसङ्गतिको चरम उत्कर्षमा नेपाली कविताको आयाम जीवनको गहिराइ खोज्दै, पीडाको सामान्यीकरण गर्दै पीडाकै विविध वान्कीहरूमा विसंरचित हुँदै गइरहेछ ।

१७. तपाईँ आफ्ना कविताहरूमा एवं निबन्धहरूमा वैचारिक आग्रह लेख्नुहुन्छ या अनुभूतिको सम्प्रेषणमात्र गर्नुहुन्छ ?
पारिजातले भन्नुभएको छ— साहित्यमा विचार मात्र भएर हुँदैन, कला पनि चाहिन्छ र कला मात्र भएर हुँदैन, विचार पनि चाहिन्छ । यसर्थमा अनुभूतिको सम्प्रेषण भनेको संचेतनाको प्रथम तह हो, जसबाट केही पर विचार छ, अझ पर चिन्तन छ र त्यसपछि दर्शन रहेको छ । जो साहित्यमा निश्चित धर्मका साथ संरचित भएर आउँछ यद्यपि त्यहाँ कला पहिलो शर्त हुनुपर्छ अर्थात् अनुभूतिका नाममा पागलप्रलाप होइन र त्यसभन्दा माथिको सम्प्रेषण सन्देशका रूपमा होइन । लाग्छ, चेतनाले भ्याएसम्म म आफ्नो लेखनमा आफ्नो मान्यताप्रति इमान्दार छु ।

१८. तपाईँले चित्रकलामा आधारित कविताहरू पनि सिर्जना गर्नुभएको छ । चित्रकला र काव्यकलामा के समानता पाउनुहुन्छ ?
शब्दहोस्, रङ्ग होस्, धुन होस् या कुनै भङ्गिमा होस्, जुनै रूपमा अभिव्यक्त भए पनि त्यहाँ आधारभूत मानवीय संवेदना जीवित रहन्छ अर्थात् कुनै पनि कला मान्छेको गहनतम अन्तर्चेतनाको मुलभूत ढाँचामा संरचित हुन्छ । यसैले कुनै पनि कलाकृति निश्चित सीमा र समयबद्ध छैन र जुनसुकै समयमा पनि त्यत्तिकै सान्दर्भिक र प्रासङ्गिक बन्छ । जम्मामा रङ्गधर्मी चित्रकला या अन्य कला र शब्दको जादुगरी उन्मादमय काव्यकलाबीच मुलभूत अन्तर भन्नु नै माध्यम वा साधन र समानता भन्नु नै साध्य र मूलभूत संवेदना हो ।

१९. समाज अहिले सङ्क्रमणकालीन विसङ्गतिहरूले पीडित छ, आफ्नो लेखनबाट समाधान खोज्ने सोचमा हुनुहुन्छ कि !
हो, समाज अहिले सङ्क्रमणकालीन विसङ्गतिहरूले पीडित छ र म यो समाजमा लेखकीय अभिनेता बनेको छु, जुन भूमिकामा म इमान्दार छु । निश्चय नै मेरा लेखनहरू त्यस्ता विसङ्गतिहरूका सूचक हुन् तर समाधान होइनन् । किनकि सिर्जना तिर्खा हो, प्यास हो तर पानी होइन । यद्यपि प्यासको बोध गराउनु र पानीको आवश्यकता महसुस गराउनु पनि ठूलो प्राप्ति हो । यसर्थमा कि राजनीतिले शब्द र बोली परिवर्तन गर्न सक्छ तर साहित्यले मान्छेको हृदय नै परिवर्तन गरिदिन सक्छ । मेरो लेखकीय सोच यसै सत्यमा केन्द्रित छ ।

२०. तपाईंको पछिल्लो सिर्जना ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ बारे भन्नुपर्दा ?
ईश्वरको अदालतको कठघरामा उभ्याइएको आउटसाइडर मेरो उत्कर्ष प्रिय पात्र; जो आफूभित्रका सारा वजनहरूलाई जलाउन चाहन्छ, आफूलाई आफूभित्रै रित्याउन चाहन्छ, ता कि रित्तिएको देह मृत्युलाई सहर्ष अर्पण गर्न सकियोस्, मृत्युको अफसोसलाई सहज वरण गर्न सकियोस् र मृत्युपछि चिता जल्नुमा आफैबाट कुनै प्रतिवाद नहोस्; जहाँ जलाउनका लागि कुनै बोझ चितालाई बाँकी नरहोस् । आज म पनि उनै आउटसाइडरमा अनूदित भएर सम्पूर्णतः रित्तिन चाहन्छु । क्रमशः सम्पूर्ण रित्तिएर आफूभित्र यस्तो महाशून्य सिर्जना गर्छु; जतिखेर मलाई मृत्युपछिको शून्य सम्झेर कहाली लाग्नेछैन; जतिखेर कलामा सम्पूर्णतः रित्तिइसकेर संसारकै सबैभन्दा हलुका वस्तु हुनेछु र ब्रह्माण्डको अनन्त यात्रामा उड्नेछु । अन्ततः जिन्दगीको यही उपसंहारमा या यही मोक्षयात्रामा समाधिस्थ हुनेछु ।

हुन सक्छ, यहाँ बाँच्नु नियमबद्ध छैन किनकि प्रकृतिको÷अस्तित्वको कुनै लिखित संविधान छैन । जिन्दगी बडो तान्त्रिक छ, सुरुचिपूर्ण छ । कुनै पनि ग्रन्थहरूमा नभेटिइने रहस्यजस्तो यो जादुमय छ । यसैले त कसैको श्राप सुनेर झन जिन्दगी जिउने रहर जाग्दछ । उनलाईजस्तै मलाई पनि जिन्दगीको यही बहुलट्टीपन मन पर्छ । यसको रूप, रङ्ग, गीत, सङ्गीत, भाव, भङ्गिमा, चित्रकारिता, नृत्य, अहम्, हठ मन पर्छ ! हो, मलाई फूल मन पर्छ, फूलभन्दा कता–कता भूल मन परिदिन्छ । यसैले कि भूलको बोधपश्चात् नै आगामी फूलको जिन्दगी नृत्यमग्न र सुरक्षित रहन सक्छ । मलाई जिन्दगीको मौनता सबैभन्दा मन पर्छ । यसैले म मेरै मौन जिन्दगीको खुला लुटेरा हुँ । भ्यानगगको मौन चित्र अनि मौन चिहानशाला मन पराउने नजरमा म पनि एक आउटसाइडर हुँ ।

यसरी पितृसत्ताको सामाजिक नजरमा छोरीमान्छे भएर मजस्तै जिन्दगीलाई गजबसित, मस्तसित हाँसेरै उत्सवमय बनाई बाँचेकोमा आउटसाइडरलाई अपराधीका रूपमा ईश्वरको अदालतको कठघरामा उभ्याइएको न हो ! तर, केही छैन उनीमाथि अर्थात् ममाथि लगाइएको यी र यस्ता गजबका रोचक अपराधका आरोपहरू सहर्ष स्वीकृत छन्; सारा बकम्फुसे आरोपहरू बेहिसाव स्वीकृत छन् । सबैलाई अवगत भएकै कुरा हो; यस जगत्मा सम्पूर्ण कुराहरू नाशवान् छन् । सम्पूर्ण कुराहरू आफैमा पूर्ण छैनन्; सब सापेक्षिक छन् । सम्पूर्ण पदार्थ, सम्बन्ध, आवेग, ज्ञान, समय, सत्य क्षणिक छन् । यौवन, अहङ्कार, धन, प्रतिष्ठा सबै अस्थायी अतिथि हुन् । यसैले म परम्परागत पात्रजस्तो आदर्श, सिद्धान्त, विचार, मान्यता, पद इत्यादिलाई च्यापेर स्थिर हुन चाहन्नँ । बगिरहेको पहाडी नदीजस्तो छङछङी रोमाञ्चकारी यात्रामा हिँड्न चाहन्छु र हिँडिरहेछु; आफ्नै गतिमा सङ्गीतमय बग्न चाहन्छु र बगिरहेछु । यावत् दर्शनशास्त्र, नीतिशास्त्र, मान्यता, परम्परा, आदर्श इत्यादिहरू च्यापेर पन्छिएको एकोहोरो किनाराजस्तो त्यसको अनुयायी होइन, फलोअर (follower) होइन बरु आफ्नै मोसन र सदाबहार गतिमा फ्लो(flow) हुन चाहन्छु ।

यसरी ठोक्करबाट निस्केको सङ्गीतमय निष्कर्षजस्तो जीवनका दुःख, पीडा, यातनाहरू र विशृङ्खलताहरूद्वारा सारगर्भित म यस्तै कवितात्मक जीवनको प्रमोच्चारणमा झङ्कृत हृदयवादनसँगै पुलकित छु; सायद, मोक्षयात्रामा छु ...!!

२१. अन्त्यमा, समकालीन साहित्य डट कम मार्फत् विश्वभर रहेका नेपाली साहित्यका पाठकहरूलाई केही भन्नु छ कि ?
म आफ्नो लेखकीय अस्तित्वमा तपाईँहरूमाझ दयाको होइन मायाको पात्र बन्न चाहन्छु । सम्भव भएसम्म सच्चा श्रद्धाको आँखा लगाएर मलाई पङ्क्तिका बीच–बीचमा पनि पढिदिनुहुनेछ । सदा मेरै सच्चा भावकबीच मेरा संवेदनाहरू जीवित रहनेछन् । र अन्त्यमा मेरा लागि अवसर बनेको समकालीन साहित्य डट कम अझ बढी मौलाउँदै जाऊन ।

यस साईटमा यो रचना प्रविष्ट गरिएको मिति : Sunday, January 10, 2010, 6:23 am

यस्तै प्रकारका अन्य रचनाहरु

  1. बरिष्ठ निबन्धकार, समालोचक तथा सम्पादक राजेन्द्र सुवेदीसँग कुराकानी
  2. प्रसिद्ध प्रगतिवादी साहित्यिकार आनन्ददेव भट्टसँग कुराकानी
  3. असमका साहित्यकार युद्धवीर राणासँग कुराकानी
  4. साहित्यकार मोमिलासँग साहित्यिक कुराकानी
  5. नारी साहित्यकार तथा समालोचक डा.ज्ञानू पाण्डेसँग कुराकानी